अनेसास न्यूह्यामसायरले भव्य समारोहका बिच २१० औँ भानु जयन्ती मनाएको छ । अनेसासले हुक्सेट पब्लिक लाइब्रेरीमा २१० औँ भानु जयन्ती मनाएको हो ।

अनेसास केन्द्रका अध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता र महासचिव विमला निरौलाको विशेष उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता च्याप्टर अध्यक्ष हरिमाया अधिकारीले गरेकी थिइन् ।

प्रमुख अतिथि अध्यक्ष गोवर्द्धन पूजाले अनेसास न्यूह्याम्पसायरले नियमित र व्यवस्थित कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिँदै संसारभर अनेसासको नेतृत्वमा भानु जयन्ती मनाइएको बताए। त्यस्तै, महासचिव विमला निरौलाले भाषा र साहित्यको विकाससँगै बालबालिकाहरूलाई नेपाली भाषा सिकाउनु पर्नेमा जोड दिइन् ।

नेपाली र अमेरिकी राष्ट्रिय गानसँगै भानुभक्तको फोटोमा माल्यार्पण गरी सुरू भएको उक्त कार्यक्रममा कवि रामचन्द्र भण्डारी तथा तारादेवी न्यौपानेले श्लोक वाचनसहित भानुभक्तको छोटो परिचय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशिष्ट साहित्यिक व्यक्तित्वहरू शिवकुमार राई, लालगोपाल सुवेदी, सुशील नेपाल, अनु शाह, ईश्वरी भट्ट, डा. रूद्र अर्याल, नेपाली समाज न्यूह्याम्पसायरका अध्यक्ष लाक्पा शेर्पा, राई समाज अमेरिकाका महासचिव मुक्ति नारायण राई, बिओटी खडिमान राई, मोहन निरौला, बिडीए अध्यक्ष डम्बर कडरिया, एनआरएन च्याप्टर अध्यक्ष कमल ढुङ्गाना, सृजना शर्मा, सदस्य उषा गुरूङ, चन्द्र कडरिया, जुनु कडरियालगायतको उस्थिति रहेको थियो । उपस्थित व्यक्तित्वहरूले भानुप्रति श्रद्धासुमन व्यक्त गर्दै भानुभक्तको कृतित्व र व्यक्तित्वबारे चर्चा गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका प्रधानसम्पादक ईश्वरी भट्टले गरेकी थिइन् ।