
यकिना अगाध
दुःखलाई झेलाएर आतांकलाई थिचाएर हिंसालाई चिथोराएर
उज्यालो खोसेपछि
रातको पारखीहरु
अन्धकारमा डुबेको पृथ्वीको दुःखद् वर्णन गर्ने छैनन्
उनीहरु
आफ्नो वास्तविक धरातल लुकाउने छन्
र टाढाको आकाशलाई देखाएर भन्नेछन्
उ त्यहाँ जून हेर त
कस्तो उज्यालो
कस्तो सित्तल
टहटह जून चम्किनु
आहा ! कति रमाईलो होईन त
जून हेरेर जब हामी थकित हुने छौं
फेरि भन्ने छन्
आकाशलाई हेर त आकाशलाई
लाखौ ताराहरुको लहर
कति झिलिमिली त
कसले पो गन्न सक्लान् र खै त्यत्रो तारा
आहा ! नौलाख तारा
पक्कै त्यो स्वर्ग हुनुपर्छ
हैर्दैमा कस्तो स्वर्गीय आनन्द होईन त
अझ उनीहरुले हामीलाई फकाउँदै धम्क्याउँन
यो पनि भन्न बिर्सने छैनन् कि
मरेर गएका जो जो छन्
हाम्रा बुबा आमा बाजे बज्यै जिजुबा जिजुआमा
पुर्खा र प्रिय आफन्तजनहरु
सबै सबै त्यतै बसेर हामीलाई हेरिरहेका छन्
उहाँहरुको कृपाको लागि
हामीले ईश्वरको लागि विश्वास गर्नुपर्छ
तब पो हामीलाई उहाँहरुले स्वर्गको बाटो खोल्नेछ
कस्तो नरमाईलो हो नि त हगि
ईश्वरको विश्वास नगर्नेहरु नर्कमा धकेलिने छन्
जब नौलाख ताराको झिमझिमसँगै
उनीहरुले देखाएको
स्वर्ग र नर्क पाप र धर्मले
आकाशको उज्यालो हेरेर थाकेको हाम्रो गर्दन
र मनलाई भुलाउन सक्ने छैनन्
हामीले आफू बसेकै धर्तीमा उज्यालो खोज्ने छौं
स्वर्ग र नर्क आफैले बनाउने संकल्प गर्ने छौं
उनीहरु धर्तीमा बसेर हामीलाई स्वर्गमा जान उत्प्रेरित गर्दा
जब हामीले पनि धर्तीमै बस्ने ढृढ प्रण लिने छौं
उनीहरुले भन्ने छन्
उज्यालो खोसेर
अन्धकारमा डुबाएको पृथ्वीलाई देखाएर
आहा ! कस्तो स्निग्ध वातावरण
न मान्छेहरुको चिच्याहट छ
न त चराचुरुङ्गी र जनावरहरुको कोलाहल छ
कति शान्त त
शान्ति नै मानिसको अभिलाषा हो
शान्ति पाउनु नै मानिसको लागि अपूर्व जीत हो
उज्यालोमा कहाँ पाउनु होईन त यी सबै सबै सुखद् क्षण
रातको पारखीहरु
यो भन्ने छैनन् कि
मान्छेको लागि रात कति डरलाग्दो हुन्छ
चराचुरुङ्गी र जनावरहरुको लागि रात कति अहितकर हुन्छ
रातले कसरी आफ्नो छातीभरि हिंसा बोकेर सिकार खेल्छ
अन्धकारमा बसेर टाढाको उज्यालो हेर्नु कति पीडादायिक हुन्छ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 









