
सुशील नेपाल
हिमाल चुलिएको चूलिएकै छ,
भोको पेट पनि दनदन बलेको बलै छ,
धरहरा ढलेको ढलै छ,
ढुकुटी रित्तिएको रित्तिएछ,
वे मौषमको उत्सवमा रत्यौली खेलेर,
खादा आफैँलाई ओढाएर,
आफूले आफैँलाई धाप मारेर,
चोखो हुने युक्ति गरिएकै छ,
यो नेपाल हो,
नयाँ नयाँ गफाडीहरू,
हूलका हूल जम्मा भएर,
आ-आफ्नै भजन गाएका गाएै छन्
निर्वाध,
उता एकनासले हिमाल चुलिएको चुलियैछ,-
भष्मासुरहरु दाउमा छन्,
एकले अर्काको पिठ्यूँमा छुरा धसेर,
सेतोलाई कालो बनाउने खेलमा,
मुकुन्डोभित्र को होला भन्न गाह्रो छ,
र यो पनि यथार्थ हो-
थापाथलीमा एकथरी इमान्दारहरू,
त्यो असभ्य नग्नताको कुरा उठाउँदा,
खिसी गरेको अपमान सहन बाध्य छन्
अर्काथरी-
शितल निवासको न्यानो ओछ्यानमा,
मरेको खसमलाई स्याबासी दिंदै,
दरबारको सयलमा गमक्क परेर,
अतीतलाई पर्दा पछाडि छेलेर,
सपनाको स्वर्ग,
विपनामा भोग्दै छन् ,
मान्छेको रूप भएका राक्षसहरु,
सत्र हजारको श्राद्धमा,
काँचो र पाकेको मासुको भोज गरेर,
लम्पट छन् र-
रक्सीको खोलो बगेको बग्यै छ,
उता हिमाल एकनासले चुलिएको चुलियै छ,
यता भविष्यले, वर्तमानलाई दोषी ठान्ने ,
डर छ भने,
सुनिन्छ, कलममा मसी होइन रक्सी भरेर,
आ-आफू अनुसारको कुरो लेखाइँदैछ,
तर नठाने हुन्छ,
सबका सबको पेट हिमालको उचाइले भरेको छ भनेर,
कहिले उत्तरले,
त कहिले दक्षिणले पेलेको पेलै छ,
तर हिमालले मात्र आफ्नो काम इमानन्दारीले गरेको छ,
कतै राजा ढलेको छ,
कतै प्यादा राजा भएको छ,
यी यस्तै छ,
अब त, साँचो के हो,
सबैलाई थाहा छ, र
दिन फुत्तफुत्त बितेकै छ !
राजमित्र प्रांगण,
माल्डेन, वोस्टन
अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२२ असार २०८३, सोमबार 









