मनमा सागर आँखामा पानी कस्को पो नहोला
यो जिन्दगी हो बेग्लै कहानी कस्को पो नहोला ।

संसारमा थोरै खुसी थोरै पिर सबैको हुँदोरहेछ
यहाँ बिछोड र मिलन आखिर सबैको हुँदोरहेछ ।

यति सुरिलो छ यात्रा यसको धुन गाएर सकिँदैन
जे छ मनमा छ मोतिका दाना बगाएर सकिँदैन ।

पराइभन्दा आफन्त बेइमानी कस्को पो नहोला
यो जिन्दगी हो बेग्लै कहानी कस्को पो नहोला ।

यहाँ हिँड्दै जाँदा डाँडा र भीर सबैको हुँदोरहेछ
मनै त हो यो चञ्चल र स्थिर सबैको हुँदोरहेछ ।

बुझ्नेले बुझ्छन् नबुझ्नेलाई गुन लगाएर सकिँदैन
मुर्दा ब्युँझन्छ बरु जिउँदोलाई जगाएर सकिँदैन ।

कहिले लाभ कहिले हानि कस्को पो नहोला
यो जिन्दगी हो बेग्लै कहानी कस्को पो नहोला ।