गाजल बनेर तिम्रा आँखामा बस्न देऊ मलाई
लाली बनेर तिम्रो ओठमा लिपिन देऊ मलाई

पाउजु बनेर तिम्रा पाउमा बाँधिन देऊ मलाई
चुरा बनेर तिम्रा कलाईमा बज्न देऊ मलाई

हार बनेर तिम्रो गलामा झल्कन देऊ मलाई
ताज बनेर तिम्रो शिरमा टल्कन देऊ मलाई

बिन्दी बनेर तिम्रो निधारमा टाँसिन देऊ मलाई
सोह्रै शृङ्गार बनेर तिम्रो बदनमा सजिन देऊ मलाई

चपलता बनेर तिम्रा नयनमा नाच्न देऊ मलाई
मुस्कान बनेर तिम्रो अधरमा खेल्न देऊ मलाई

लज्जा बनेर मुहारमा लाली चढ्न देऊ मलाई
यौवन बनेर तिम्रो सौन्दर्य बढाउन देऊ मलाई

श्वास बनेर प्राण सञ्चार गर्न देऊ मलाई
रक्त बनेर नसा–नसामा बहन देऊ मलाई

प्रेम बनेर तिम्रो हृदयमा धड्किन देऊ मलाई
चैतन्य बनेर तिम्रै देहमा मिल्न देऊ मलाई