हे आस्थाका भगवान्हरू !
देवदेवीहरू !
मन्दिर र गिर्जाघरमा, मस्जिद / सिनेगगमा
गुम्बा र गुरुद्वारामा जहाँ जहाँ आसीन छौ
सबैसँग म बिन्ती गर्दछु
कृपा गरेर मलाई अमुक बनाइ देऊ !
अन्धो र बहिरा बनाइ देऊ !
लङ्गडो र अपाङ्ग बनाइ देऊ !
मलाई मस्तिष्क रहित
चेतनाशून्य बनाई देऊ !

त्यसपछि
कुनै पनि स्थान र समयमा
मेरा कानले कसैको क्रन्दन
रोदन र चिच्याहट सुन्ने छैनन्
आँखाले आफ्नै अगाडि भएका अपराधहरू
हिंसा र हत्या सुन्ने र देख्ने छैनन्।

के त्यसपछि यावत् समस्याको
समाधान भयो त यो सृष्टिको ?
हो, म यो ब्रह्माण्डको पूर्ण
र सूक्ष्म अंश हुँ
ती सबै कर्तुतबाट विमुख हुन सक्छु त ?
तिमीले चेतनाशून्य बनाए पनि
अझै चेतना बाँकी हुनेछ ।
र म संवेदित र पीडित नै हुनेछु!

यसैले हे विश्वास र आस्थाभन्दा
धेरै पर चेतनामा रहने ईश्वर !
भो, मलाई सबै भ्रमबाट फर्काइ देऊ।
अझ पनि, फेरि पनि
यी मेरा आँखाले भयावह अपराधमा
टुलुटुलु हेर्नेमात्र गर्छन् भने के यी आँखा हुन् र ?
कुनै सिसाबाट या धातुबाट बनेका

गोला वस्तुभन्दा के फरक भएर ?
अत्याचारको पराकाष्ठा हुँदा पनि
मेरो आवाज निस्कँदैन भने के म अझै जीवित छु र !
ती हिंसा र दमनबाट
अबोधहरू मारिँदा
फुल्ने रहर साँचेका
प्रकृतिका उपहार कोपिलाहरू चुँडिँदा,
फुल्दै गरेको फूलहरूमाथि
मत्त हात्ती र साँढेले बुर्कुसी मार्दा
मभित्र कुनै आक्रोश जाग्दैन
कुनै करुणा पलाउँदैन
उद्धारका र रोकावटका लागि
मेरा पाइला चल्दैनन् भने
निर्दोषहरूमाथि बर्सिएका कोर्रा,
बुट र बन्दुकका कुञ्जा र गोलीहरू रोक्न
मेरा हात उठ्दैनन् भने म अझै मानव नै हुँ र !
अझै ममा मस्तिष्क, मन र विवेक छ र !

म यन्त्रजस्तै बनिइसकेको छु !
यन्त्रहरूमा भजन बजे जस्तो ।
यो यन्त्रलाई कसले बोकेको छ ?
कता लगेर बजाइँदै छ ?
यो मानव यन्त्रलाई केही थाहा हुँदैन !
रिमोटले टाढाबाट चलाउँदा,
म यन्त्र भइसकेको मानव ट्याउँट्याउँ गर्न थाल्छु,
अरूले रेकर्ड गराइ दिएका कुरामात्र ओकल्छु
वादका कुरा, विचारका कुरा, दर्शन
र दृष्टिकोणका तथाकथित ठूला कुरा !

तर ती चाहिँ होइनन् जो सुन्दर
मौलिक एवम् नूतन कला र सिर्जना
अनि आधुनिक कथा र वैज्ञानिक
परिकल्पनाहरूले वास्तविक भएर
आश्चर्यमा रूपान्तरण भइसकेका छन् !
वाह ! क्या बात ! अब त मेसिनले नै पो
आत्माका कुरा र संवेदनाहरू सिकाउन थालेछ।

तर के गर्नु ?
रेकर्डका ती कुरा बजिसकेपछि
म पुनः यन्त्रजस्तै बन्द हुन्छु !
अनि त्यसमा माया, दया, करुणा,
विवेक र जीवनका कुनै रस हुँदैनन्।

अब भन मलाई ।
के अझै पनि म मान्छे नै हुँ ?
मेरो अन्तस्करणको चक्षु
ओमकार चैतन्यका नादहरू,
क्वान्टमका तरङ्गहरूबाट पनि
मलाई मेटाइ देऊ !
हे भगवान् !
मलाई अन्धो, बहिरा, लाटो र लङ्गडो बनाई देऊ !
बिन्ती प्रभु !
मलाई मस्तिष्क रहित, चेतना शून्य बनाई देऊ !
के यो सम्भव छ?

अब कुनै भगवान्को भर नपर,
ए मान्छे !
आफैँ भित्रको दिव्य चेतनाको भगवान् भएर

अब प्रेम र करुणाको सन्देश लिएर
विश्व भ्रमण गर,
सारा विश्वको कल्याण त्यहीँ छ !