जब युद्धका ट्याङ्कहरूले सडक चिथोर्छ,
आत्माले आस्थाको आलोक बाल्दछ
बारुदको बर्बर बास्नाले आकाशलाई कालो पार्दा
एक मौन प्रार्थना प्रेमको बादल बन्छ
युद्धको गर्जनले गगन थर्काउँछ
तर आत्माको कँपाइ करुणाको कथा सुनाउँछ
ध्वंशको नाङ्गो नृत्यमा पृथ्वी रुँदै गर्दा
एक ओठले “शान्ति” उच्चार्दै शून्यतामा फूल फुलाउँछ
युद्ध केवल हतियारको होड होइन
यो आत्माको आस्था परीक्षण हो
जब मृत्युको सन्नाटा चिच्याउँछ
जीवनको लहरोले विश्वासको गीत गाउँछ
रगतको रातमा जब मानवीयता मर्छ
मौन आत्माले करुणाको ज्योति राख्दछ
घृणाको गर्तमा जब मानिसहरू डुब्छन्
प्रेमको पुल आत्माले बनाउँछ
धेरैलाई युद्धले पराजित गरे पनि
शान्तिको स्वास आत्मामा शाश्वत रहन्छ
बमको बर्बरताबीच बालकको हाँसो
एक निर्दोष सन्देश बनेर आकाश चुम्दछ
आफ्नै कञ्चन आँशूमा आत्माले
ईश्वरको समीपता खोज्दछ
रक्त र खरानीको बीच,
उज्यालोको गुलाफ आत्माले उमार्दछ
युद्धले विनाशको हल्ला मच्चाउँछ
तर आत्माले मौन भएर प्रतिरोध गर्छ
त्यो मौन प्रतिरोधको संगीत
शान्तिको दिव्य स्वर बनेर फैलिन्छ
शक्ति भनेको बन्दुकको घमण्ड होइन
शक्ति भनेको करुणाको साहस हो
विनाशको भीडमा आत्माको शून्यता
ईश्वरसँगको एकता हो
जब संसार क्रुद्ध आँधीमा बग्छ
आत्मा प्रेमको पंखमा उड्छ
जब बारुदले रात कालो बनाउँछ
आत्मा प्रार्थनामा प्रकाश रोप्छ
युद्धले शरीरलाई थकाउँछ
तर आत्मालाई चेतनामा उचाल्दछ
शान्ति बाहिर खोजिने चीज होइन
शान्ति भित्रको चेतनामा बस्दछ
युद्धको हल्लामा जब सबै लाचार हुन्छ
मौन आत्माले विजयको स्वर गुञ्जाउँछ
युद्ध र आत्मा सधैं द्वन्द्वमा हुन्छन्
तर अन्तिम विजय प्रेमको हुन्छ।
-प्रमुख कोष नियन्त्रक
कोलेनिका, मोरङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 




