पुड्का आँखा टेकेर
झुस्स दारी खेपेर
पश्चिमतिर हिंड्छस्
अनि आफूलाई
अग्लो
नटुक्क्रिएको सग्लो
भन्दै पूर्व जान्छु भन्छस्
ए जगु, थाहा छ
तँ आजकल सारै नक्कली भाछस्

घर बनाएँ भन्छस्
तँ केटाकेटी छँदा
कति ठूलो विश्वासको घर थियो
तेरो छातीमा हेक्का राखेको छस्
फूल सारें भन्छस् घरको बलेनीमा
कति रङ्गीबिरङ्गी फूल फुल्थे
तेरो ओठमा
तिनलाई कुन आँखाका ढकनीले छोपिस्
या काँडैकाडा उधाएर हिंडिस् निधारमा ?

पाँच पैसा बाटोमा भेट्दा
पचास पटक मुस्कुराउँथिस् जगु
अहिले पचास् करोड पाए पनि
पाँच पैसा जति ओठ फुकाउन सक्दैनस्
कता भासियो तेरो हाँस्ने थुतुनो ?

सानु ढुङ्गा चौरमा ओल्टाइपल्टाइ हेर्दा
त्यही ढुङ्गालाई भगवान् सम्झेर ढोग्दा
बादलको पछिपछि चङ्गाझैं उड्दा
उडेको चरी छोप्न
दुइ बित्ता धर्ती छाडेर उफ्रिंदा
तेरो उचाइ कति अग्लो हुन्थ्यो होइन ?
तँ भाँडाकुटी खेल्ने उमेरमा
तेरा हातभरि जून पोखिएका हुन्थे
तेरा आँखाभरि भरोसाका सितारा जडिएका हुन्थे
कता हराए विश्वासका ती विश्वासहरू ?

तेरो हाँसो फुल्ने ओठको बगैंचा
कहिलै गोडमेल गरिस्
कहिल्यै गरिनस् जगु !

बरू उमारिस् अविश्वासका गनाउने झारहरू
लटरम्मै छरिस् ईर्ष्याका कोप्ने तारहरू
पैसाका नाममा नाता बेचिस्
लोभका आँखाले वाचा बेचिस्
बेचेर मुस्कानको बडेमाको फाँट
किने भन्छस् दुःखको बगरे माटो/घडेरी

कोकिलले कहिल्यै मान्छे बेचेको सुनिस् ?
तर तँ हावा पनि बेच्न हिंडिस्

पृथ्वी टुक्रा पारिस्
नदी सुख्खा पारिस्
कहिल्यै सोचिस् आकाशका आँखा कति गहिरा छन्
कहिल्यै गनिस् ताराका ताराहरू कति छन्
कहिल्यै सोधिस् रूखलाई
रूख हुन कति बित्ता जरा भासिनुपर्छ जमीनमा
समुन्द्रलाई सोधिस्
छातीले कति ज्वारभाटा खेप्नुपर्छ समुद्रका नाउँमा
छैन जगु छैन !

नदीछेउ पुगेर बन्द आँखाले हेरिस् पानीको जल
हिमालतिर फर्केर कहिल्यै नापिस् छातीको उचाइ
बगैंचाको फूललाई सोधिस् कति सुखद हुन्छ कोमलता
छैन जगु छैन !

तैंले त बस्
बेच्दाबेच्दा जिन्दगी
आफ्नै मूल्य समाप्त पारिस्
कति किनिस् घाँटी बिझाउने दुःखका गाँसहरू
कति बेचिस् निधार खुम्च्याउने सुखका बासहरू
सब नाटक हुन् जगु !
सब भ्रम !
आखिर तँ एक मुठी सास पनि सित्तैमा बुझाएर
शून्यशून्य फर्किनेछस् आकाशमा
फेरि पनि
किन ठूलो हुन्छस् जगु ?

अमेरिका