ठान्या होला यो बाटा लागे राम्रो झन् अर्को आउँछ
थाहा नहोला अर्कोसँग झन् झर्कोफर्को आउँछ।
समयमै विचार पुर्‍याएनौ भने हेर जीवनमा
अर्को सँगसँगै समस्याहरूको झन् लर्को आउँछ।

झुपडबस्तीहरूमा विकासको लहर आएको छ
बेरोजगारले रोजगारसँगै मासुभात पाएको छ ।
यस्तो समृद्धिको माहोल हरेक वर्ष आइदिए हुने
नेताले खेतमै गएर हलीसँग मित लाएको छ ।

कहिले पापी पेटका लागि जिउन भातसँग लडेँ
कहिले चुहिएको छानोमा अनिदा रातसँग लडेँ।
लड्नु, उठ्नु र तिखार्नु  नै जिन्दगी रहेछ साथी
कहिले आफन्त भन्नेहरूले दिएको घातसँग लडेँ।