नेपाली साहित्यिक क्षेत्रमा उमा सुवेदी परिचित नाम हो । उहाँ साहित्य क्षेत्रमा निरन्तर साधनारत व्यक्ति हो भन्नलाई उनका आधा दर्ज प्रकाशित कृति आधार हुन् । गजलसङ्ग्रह `तप्किएर अञ्जुलीमा´ (२०६६) बाट साहित्यको पथमा हिँडेकी उनले“तिर्सनाका छालहरू (गीतिसङ्ग्रह-२०६८) सँगै निरन्तरता दिइन् । त्यसपछिका वर्षहरूमा काव्य विधाबाट हाम फालेर आख्यानमा उनको कलम दरिलो देखियो । उनले `तोदा´( उपन्यास – २०७०), इति (उपन्यास-२०७३), सयौं पुतली (कथासङ्ग्रह- २०७५) प्रकाशित गरिसकेकी छिन् भने गएको सप्तान्तमा मात्रै थप नयाँ उपन्यास `परिधि´ (उपन्यास-२०८२) प्रकाशित भएको छ ।
प्रस्तुत छ, नव-उपन्यास `परिधी´का सेरोफोरोमा रहेर सुवेदीसँग साहित्यपोस्टका लागि जनक कार्कीले गरेको संवादको सम्पादित अंशः
===
`परिधि´ उपन्यास के भन्न आएको हो ?
यो हाम्रै समाजभित्रकै घटनाक्रम, कथा र पात्रहरूको मनोदशा समेटिएको उपन्यास हो । तर यो उपन्यासका घटनाक्रमहरू फरक ढङ्गले घटेका छन् । यसभित्रका कथा र तिनको प्रस्तुति नितान्त फरक छ । पात्रहरू हाम्रै छेउछाउका लाग्छन्, तर तिनका भोगाइ र सोचाइले तिनलाई पनि अरु आम पात्रभन्दा बिल्कुलै फरक बनाउँछ । यो उपन्यास पाठकहरूमाझ परम्परागत शैलीमा कथा सुनाउन आएको होइन । यसले मानिसभित्रको मन, मस्तिष्क र चेतनाको कुरा बताउन या भन्न आएको हो ।
परिधिलाई स्वतन्त्र बनाउन यहाँले लेखन शिल्प र कथाको विषयवस्तुमा मिहिनेत गर्नुभएको कुनै प्रमाण माग्यौं भने कसरी सावित गर्नुहुन्छ ?
मैले यो यो विषयमा यहाँ यहाँ मिहिनेत गरेँ, यसरी यसरी मेहनत गरेँ भनेर आफ्नै बढाइचढाइ गरिरहनुभन्दा यसको विषय, प्रस्तुतिले नै पाठकलाई मैले गरेको मिहिनेतको आभास हुने छ भन्ने मलाई लाग्छ । यसमा मैले आफ्नै अघिल्ला लेखनको शिल्प, शैली र प्रस्तुतिको बान्कीलाई भत्काउने प्रयास गरेकी छु भन्ने कुरा पनि पाठकले पक्कै महसुस गर्नु हुनेछ ।
यस उपन्यासको रचना गर्भ बताइदिनोस् न ?
कोरोनाकालमा एउटा अल्पकालीन जागिरका क्रममा दुई वर्ष जति सुदूरपश्चिममा बसेँ । लकडाउनका बेला हामी सबैले भोगेको साझा कुरा थियो– एक्लोपन । त्यो एक्लोपनले आफूभित्र नियाल्ने अवसर दियो । यसक्रममा त्यहाँ एकजना अनौठो पात्र भेटेँ । उनको संसार र मेरो संसार एउटै थिएन । उनीसितको भेटले त्यो एक्लोपनको बेलामा मन, मस्तिष्कमा लगातार झड्का दिइरह्यो । हामीले आफूले देखिरहेको जगतको कुरा त कति लेख्छौँ कति, तर आफ्नै मस्तिष्कभित्रको संसारप्रति अनभिज्ञ नै भैदिन्छौँ । अझ त्यो संसारको कुरा गर्नु समाजले वर्जितजस्तै पनि गरेको छ । त्यस्ता कुरा गर्नेलाई समाजले पागलको ट्याग भिराइदिने गरेको पनि हामीले देखेकै हो । तर मलाई लाग्यो, हामीलाई आफ्नो दृश्यवान् संसार रोचक लागेझैँ कसैलाई आफ्नो मस्तिष्कभित्र निर्माण भएको समानान्तर संसार पनि रोचक लाग्दो होला । उसलाई त्यही संसार नै प्रिय लाग्दो होला । यही सोचबाट यो उपन्यास लेखनको शुरुवात भएको हो । पात्र सुदूरपश्चिममा भेटेँ । त्यहाँबाट आफ्नो मनभित्र ती पात्रलाई बोकेर काठमाण्डौं आएँ । उपन्यासले अन्तिमरूप काठमाण्डौंमै पायो ।
यो उपन्यास लेख्ने प्रक्रियामा यहाँले अनुभव गर्नुभएका केही रोचक किस्सा भए साझा गर्नोस् न ?
रोचक होइन, यो उपन्यास मैले पीडामा गुज्रिएर लेखेकी हुँ । आफ्नो अघिल्ला लेखनको शिल्प र शैलीबाट अलग्गिनु नै अतिशय गाह्रो काम थियो । त्यसपछि उपन्यासका अजिब लाग्ने परिवेश र पात्रलाई आफ्नो दिमागमा धारण गरेर हिँड्नु थप पीडादायक थियो । यो उपन्यासको प्रत्येक अनुच्छेदले मलाई पीडामा डुबाएको छ । तर, त्यसरी डुब्न र पीडित हुन तयार भएरै मैले यो उपन्यास लेख्ने आँट गरेकी हुँ ।
उपन्यास लेख्न कति समय लगाउनुभयो ? उपन्यास लेख्ने प्रक्रियामा कुन पक्षमा काम गर्दा धेरै समय लगाउनुभयो ?
लगभग पाँच वर्ष मैले पूर्णतः यही उपन्यासमा काम गरेँ । कतिपटक लेखेँ, र फेरि लेखिसकेकाका कुरालाई भत्काएँ । कथालाई कहिले मध्यबाट शुरु गरेँ, कहिले अन्त्यबाट । फरक खालका पात्रहरूको कथा भएकाले स्वभावतः यो उपन्यासले शैली र शिल्प पनि नयाँ र फरक खोजिरहेको थियो । पात्रको निर्माण, परिवेशको नवीनताको खोज, कथावाचनको शैली र प्रस्तुतिमा मैले सबैभन्दा बढी समय खर्चिएकी छु ।
उपन्यासको पाण्डुलिपि तयार गरिरहने यात्रामा यहाँ आफू के कस्तो मनस्थिति र व्यवहारबाट गुज्रिनु भएको हुन्छ ?
हामीले नियमित देखिरहनेभन्दा फरक पात्र र परिवेशमा काम गरेको हुनाले कतिपटक त आफू स्वयम् नै अर्कै लोकमा पुगेको आभास हुन्थ्यो । कहिलेकाहीँ अतिशय शून्यताले गाँज्थ्यो । तर, आफूले लेखिरहेको विषयमा अरुसित खासै कुराकानी नगर्ने बानी छ मेरो । त्यसैले जे भोगेँ एक्लै भोगेँ । यो उपन्यासको कथालाई र पात्रलाई मैलै एक्लै भोग्नु जरुरी पनि थियो ।
यहाँको जीवन कलासाहित्य प्रवेश भएपछि आफूमा के–के परिवर्तन भेटाउनुभयो ?
खै, त्यस्तो स्थूल खालको परिवर्तन त खासै के नै होला र ! तर, साहित्यमा लागेपछि आफ्ना हरेक सुखदुःख र भोगाइ पनि लेखनकै विषय हुन् भन्ने लाग्ने रहेछ । त्यसले आफूलाई अविचलित, धैर्यशील र सहज बन्न सजिलो बनाउने रहेछ ।
उपन्यास शुरु गरेको पहिलो दिन र उपन्यास अन्त्य भएको दिनको मनस्थितिमा के समानता र के भिन्नता हुन्छ ?
पहिलो दिन अतिशय उत्साहसाथ लेख्न बसेको थिएँ । दिनैपिच्छे लेख्थेँ र आफूले लेखेका हरेक कुरा अद्भूत लाग्थे । तर, पन्ध्र दिनपछि मैले आफूले लेखेका सबै कुरालाई मेटिदिएँ । जे लेखेकी थिएँ, वाहियात लेखेँ भन्ने लागेको थियो । त्यसैले यो उपन्यास लेखनमा मैले पहिलो दिन भन्ने नै अनुभूत गर्न पाइनँ । अन्तिम दिनको कुरा पनि लगभग त्यही हो । कथानक यहाँ अन्त्य भयो भनेको करीब दुई महिनापछि पाण्डुलिपि प्रकाशक साँग्रिला बुक्सलाई बुझाएँ । तर, बुझाउने अघिल्लो दिनसम्म पनि म उपन्यासमा काम गरिरहेकै थिएँ । उपन्यास थाल्दाको पहिलो दिन केही उत्साहित थिएँ, अन्तिम दिन भने तनावमा थिएँ । किनभने उपन्यासको विषय नै त्यस्तै छ । आफ्नै उपन्यासको विषयले दिएको तनाव त अहिलेसम्म पनि भोगिरहेकै छु ।
तपाईं उपन्यास किन लेख्नुहुन्छ भनेर सोधेँ भने के भन्न मन पराउनुहुन्छ ?
पहिलो कुरा त लेखनमा बानी बस्यो । लेख्दा मनभित्रका तमाम कुराहरूले निकास पाएजस्तो लाग्छ । नत्र अनेक खालका पात्र र कथानकहरूले तनाव दिइरहकै हुन्छन् । लेखन प्रकारान्तरले आफ्नै मनको तनाव बिसर्जनको एउटा प्रक्रिया पनि हो । त्यसबाहेक कतिपय कुराहरू मैले नै लेख्नुपर्छ । मैले लेखिनँ भने त्यो फेरि कसैले लेख्ने छैन भन्ने पनि लाग्छ । हुन त यो भ्रम नै हुनसक्छ । भ्रम नै भए पनि भ्रममा बाँच्नु पनि रमाइलो हुन्छ । त्यसका लागि पनि लेख्छु ।
आफूभित्रको लेखकलाई बचाउन यहाँले के कस्तो प्रयास गर्नुभएको छ ? यो उपन्यास तयार पार्दा यसका पात्रहरूसँगको ह्याङ्ओभरमा पर्नुभयो ? यदि पर्नुभएको भए अनुभव साट्नोस् न ?
सम्भवतः लेख्ने क्रममा हामी सबै लेखकहरू समान प्रक्रियाबाटै गुज्रिरहेका हुन्छौँ । त्यसैले मैले अरुभन्दा विशिष्ट कर्म गरिरहेकी छु भनेर भन्न मिल्दैन । मैले सधैँ लेखिरहनु पर्छ भन्ने छैन । तर, समाजसित अन्तर्क्रिया गरिरहन पनि मैले आफूभित्रको लेखकलाई जीवित राख्न जरुरी हुन्छ । जहाँसम्म ह्याङ्गओवरको कुरा छ, यो सिङ्गै उपन्यास ह्याङ्गओवरकै उपज हो । म हरेक दिन ह्याङगओवरमै थिएँ । उपन्यास पढ्नु भयो भने, तपाईंले यसको प्रमुख पात्र आर्यालाई राम्ररी बुझ्ने प्रयास गर्नुभयो भने तपाईंले बुझिहाल्नु हुन्छ, म कुन हदसम्म ह्याङ्गओवरमा रहेँ भन्ने ।
एउटा आख्यान लेख्दा पात्र अनुसारको मनोविज्ञान, चरित्र, प्राविधिक विषयवस्तु लगायत धेरै कुरामा प्रवेश गर्नपर्ने हुन्छ । उदाहरणका लागि कुनै चिकित्सक पात्र छ भने चिकित्सकको सोच्ने शैली, प्रयोग गर्ने औजार, उसको परिवेश, उसले शल्यक्रिया गर्दै गरेको छ भने त्यहाँको माहौल आदि कुराको न्यूनतम ज्ञान भयो भने चिकित्सा क्षेत्रका विम्ब र प्रतीकसहित दरिलो गरेर कथामा प्रवेश गराउन सकिन्छ । यहाँका कथामा पनि अनेक पात्र होलान्, त्यो पात्रसँग भिज्न यहाँले के कस्तो रिसर्च वा संगत गर्नुभएको छ ?
माथि नै पनि लगभग यो प्रश्नको जवाफ दिइसकेकी छु । यो उपन्यास, यसभित्रका पात्र नै तपाईंहामीले भोगिरहेको दुनियाँका भन्दा पृथक् दुनियाँमा बाँचिरहेका पात्रहरू भएको हुनाले मैले हरेक समय तिनीहरूको दुनियाँ प्रवेश गरिरहनु जरुरी थियो । मेरो आफ्नै दुनियाँ र पात्रहरूको दुनियाँमा आउजाऊ गरिरहँदा कहिलेकाहीँ आफूलाई अन्तरीक्ष यात्री पो हुँ कि भन्ने ठान्थेँ । किनभने म लेख्न बस्नासाथ अर्को दुनियाँमा पुगिहाल्थेँ ।
प्रशंसा त धेरैले गरिदेलान्, तपाईं स्वयंले आफ्ना सिर्जनाको आलोचना गर्नुपर्यो भने कसरी गर्नुहुन्छ ?
लेखक आफ्नै लेखनको सही आलोचक हुनसक्ला भन्ने लाग्दैन मलाई । बुद्धिविलासका लागि त जे उत्तर दिए पनि भयो । तर, हरेक लेखक आफ्ना रचनाहरूबाट सन्तुष्ट भएर नै त्यसलाई प्रकाशनसम्म पुर्याउँछ । तर, किताब छापिएर आइसकेको केही कालखण्डपछि भने त्यही किताब फेरि पढ्दा यहाँनिर यस्तो यस्तो गर्न सकिन्थ्यो भन्ने चाहिँ लागिरहन्छ मलाई । लेखक यसरी आफ्नै लेखनसित असन्तुष्ट भैरहन्छ र त अरुअरु विषयमा काम गर्न थाल्छ । लेखक आफ्नै लेखनसित तृप्त भएको दिन त उसको मृत्यु दिवस नै हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










