यो एउटा सारै नमीठो यथार्थ छ, कि कविहरू सीमान्तकृत माथि कविता लेख्छन् तर केन्द्रीकृत भइरहन्छन् । यस्तो डरलाग्दो अवस्थाबारे चैं लेखकहरू संयमित हुनुपर्छ । जसको विषयमा लेखिरहनुभएको छ, उहाँहरूसँगको साक्षात्कार आवश्यक छ ।
००००
खोटाङमा जन्मिएकी कवि शकुन आँसुको एक दशक समय कोरियामा रोजगारी गरेर बित्यो ।
कोरियामा कामसँगै साहित्यिक कर्मलाई पनि उत्तिकै सक्रियताका साथ अगाडि बढाउने क्रममा संयुक्त कवितासंग्रह `यो मेसिनको शहर हो´ (नेपाली र कोरियन भाषामा) र `इतर´ कविता संग्रह प्रकाशित भएका छन् ।
भर्खरै उहाँको एकल कवितासंग्रह `नवयुगकी सुम्निमा´ प्रकाशित भएको छ । आजको पुस्तक वार्तामा जनक कार्कीले उहाँसँग यसै संग्रहसँग सम्बन्धित भएर विविध पक्षमा गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
‘नवयुगकी सुम्निमा’ कवितासंग्रह मार्फत् यहाँले नेपाली साहित्यको भण्डारमा एउटा कृति थप्नुभएको छ । यस संग्रहमा अटाएका कविताले के भन्न चाहिरहेका छन् ?
– ‘नवयुगकी सुम्निमा’ पहिलो कुरा सीमान्तकृत आवाज हो । आम सुम्निमाहरूले बाँचेको परिवेश, भोगेको सकस यसभित्र रहेको छ । समाजले देख्दै आएको सुम्निमाहरू माथिको गलत दृष्टिकोण माथि वकालत पनि गरेको छ ।
‘नवयुगकी सुम्निमा’ ले सपना, विचार, दृष्टिकोण, चेतना आदि विषयमा के भन्न खोजिरहेकी छिन् ? उनी प्राचीन सुम्निमा भन्दा के-के कुरामा फरक छिन् ? को हो नवयुगकी सुम्निमा ?

शकुन आँसु
– यो जवाफ माथि नै आइसक्यो होला । कवितामा पात्रको रूपमा आए पनि यथार्थमा त सुम्निमा आदिम सत्य हुन् । किराती आस्थासँग जोडिने बिम्ब, मिथक हुन् । प्राचीन र नवयुग भन्नुबित्तिकै फरक यहीं छ नि । थप व्याख्या आवश्यक छैन होला ।
लामो समयसम्म यहाँ वैदेशिक रोजगारीको सिलसिलामा परदेशमा बस्नुभयो । परदेशले यहाँलाई दिएको र खोसेको कुराहरू के-के हुन् ? परदेशले यहाँलाई सिर्जनात्मक बन्न कत्तिको मद्दत गर्यो ?
– एक दशक समय चानचुने होइन । हो, त्यो निकै लामो र महत्त्वपूर्ण समय मैले परदेशमा बिताएँ, यो अवधि मेरो लागि ठूलो पाठशाला बन्यो । यस शीर्षकमा मैले कविता नै लेखें । परदेश भन्नु अर्को भाषामा विश्वविद्यालय रहेछ । चाहेर नचाहेर जिन्दगी पढिरहनुपर्ने । सन्तुष्टि हुनु भन्दा पनि गुमाउनुमा बढी चुक्चुकाउने मानव स्वभाव भएर होला, आफैंलाई खोसिदियो झैं लाग्छ घरीघरी र मैले पढ्दै गरेको किताब खोसिदियो । परदेशले दिएको धेरथोर मध्ये अमूल्य उपहार चैं ‘नवयुगकी सुम्निमा’ नै हो । यति भनिसकेपछि थप सिर्जनात्मक प्रसङ्ग नजोडौं होला ।
यहाँको जीवनमा कविता कसरी प्रवेश गर्यो ?
– गजल, मुक्तक लेख्दै शब्दसँग नजिक भएकी मलाई एकदिन कसैले प्रतियोगिताको लागि कविता लेख्न हौस्यायो । कनीकुथी लेखेर प्रतियोगितामा सहभागी भएकी मलाई फ्याट्ट तेस्रो स्थानमा पुरस्कृत गराइदिए । हर्ष न बिस्मात मूर्तिवत भएँ म, कि मैले कुनै पनि स्थान पाउनु कल्पना भन्दा परको कुरा थियो । वरिपरि भयङ्कर कविहरूको अगाडि मेरो केस्रा कविता तेस्रो हुनु भनेको साह्रै लज्जास्पद थियो । सबैले बधाई दिए, त्यसपछि लाग्यो, अब त साँच्चै लेख्नुपर्छ, त्यो नै थियो शुरूवात ।
कहिले सोच्नुभएको छ, कविता किन लेख्छु भनेर ?
– हामी मानिस सामाजिक प्राणी हौं । रहनु, बस्नु यहीं छ, यो समाज सहजले मात्र चलिरहेको हुँदैन । त्यहीं बेमेल र अप्ठ्यारो असामाजिक गतिविधि देखेर छटपटी हुन्छ, बेचैन हुन्छ । र आफूलाई दिइने सान्त्वना स्वरूप कविता लेख्छु । कविता लेखिसकेपछिको जुन खाल्को आनन्दानुभूति महसूस गर्छ आत्माले तब लाग्छ, आत्मा सन्तुष्टिको लागि लेख्छु ।
कवितासँग जीवन बाँच्दा कस्तो लाग्छ ?
– एउटा कवि हरदम कविताभित्र बाँच्छ लाग्दैन मलाई । जसभित्र म पनि पर्छु । म एक आम मानिस भएको नाताले जतिसक्दो मान्छे भएर बाँच्ने कोशिश हरदम रहन्छ । तर मान्छे भएर बाँच्ने क्रममा आइपर्ने अप्ठ्यारोहरूमा चैं कविता नै रोज्छु । कि पढ्छु, कि लेख्छु । यसर्थ लाग्छ कविता जीवन बाँच्नु भनेको अलि सहज अनुभूत गर्नु हो ।
कविता लेख्न शुरू गरेको दुई दशकमा पुस्तकको रूपमा आएको छ, यो ढिलो गर्नुभएको हो कि छिटो ?
– व्यक्तिगत रूपमा मलाई ढिलो, छिटो भन्ने लाग्दैन । तर शुभचिन्तकहरूको चिन्तन चैं ढिलो भइसक्यो है, भन्ने नै थियो ।
कवितामा कला र बिचारको सन्तुलनलाई कत्तिको ख्याल गर्नुभएको छ ?
– कविता कुन विषयमा लेखिरहेको छु, विषयगत कुरामा ध्यान दिन्छु । सोही अनुरूप लेख्दै जाँदा कुनै कविताले विचार राखिदिन्छ, कुनै कविता कलात्मक बनिदिन्छ । शीर्षक बाहिर रहेर बिचार कि कला भनेर डट्पेन टोकेर सोचिबस्दिनँ ।
यो समाजलाई कविताको आवश्यकता किन छ ?
– कविताले जहिलै पनि सामाजिक विकृति माथि आवाज बुलन्द गर्ने हुनाले समाज सुमार्गको बाटोमा हिंड्न र हिंडाउन कविताले सहयोग गर्छ, गरिरहेको छ । तर यो पछिल्लो समय स्रष्टाहरूमा इमानदारिता कम हुँदैछ कि, भन्ने पनि लाग्छ । कवि, स्रष्टा जति इमानदार कविता लेख्नुहुन्छ, कविता जस्तो इमानदारी भइरहेको चैं देखिंदैन । यसले गर्दा समाजमा कविता र कवि प्रतिको नकारात्मक प्रभाव परिरहेको छ कि जस्तो लाग्छ ।
कविताको शक्तिलाई कसरी व्याख्या गर्नुहुन्छ ?
– कविताले कुनै एउटा निश्चित समुदाय, कुनै एउटा वर्ग, कुनै एउटा व्यक्तिलाई निस्सासिंदो अवस्थाबाट उकासेर सहजले सास फेर्न मद्दत गर्छ भने त्यो कविताको शक्ति हो ।
दुनियाँ डिजिटल बन्दै गयो । आजभोलि किताबलाई उपेक्षा गर्न पनि थालियो । यस्तो अवस्थामा पठन संस्कृति जोगाउन र बढाउन के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
– किताबलाई उपेक्षा गर्न थालियो भन्ने कुरामा असहमत छु म । दुनियाँ डिजिटलको बाटोमा भएरै त प्रकाशित पुस्तकहरू बारे हरकोही जानकार हुन्छन् । किताब सम्प्रेषणको बाटो नजिक भइदिएकोछ । अनलाइन पेजहरू पढिरहनुभएको छ । सकारात्मक बनौं न, युवापुस्ताले झन् धेरै किताब किनिरहेको छ, पढिरहेको छ जस्तो लाग्छ । पठन संस्कृति घटिहालेको छैन होला । थप बढाउनको लागि चैं, लेखकले पुराना विषय र ढाँचाशैली त्याग्नुपर्छ होला ।
हामी सीमान्तकृतका कविता लेख्छौं तर ती कविता सीमान्तकृत सम्म कहिल्यै पुग्दैन । यस्तो खाडल पूर्ण के गर्नुपर्ला ?
– हजुर, यो एउटा सारै नमीठो यथार्थ छ, कि कविहरू सीमान्तकृत माथि कविता लेख्छन् तर केन्द्रीकृत भइरहन्छन् । यस्तो डरलाग्दो अवस्थाबारे चैं लेखकहरू संयमित हुनुपर्छ । जसको विषयमा लेखिरहनुभएको छ, उहाँहरूसँगको साक्षात्कार आवश्यक छ ।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न, मन लागेको उत्तर दिने सुविधा छ ।
– माथिका सबै प्रश्नको लागि तपाईं तथा साहित्यपोस्टलाई धन्यवाद । भरखरै बजारमा आएको कविता कृति ‘नवयुगकी सुम्निमा’ सबैले पढिदिनुहोला, धन्यवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१६ असार २०८३, मंगलवार 








