
::खण्ड १::
::परिच्छेद २::
अन्ना पाभ्लोभ्नाको स्वागतकक्ष विस्तारै भरिदै थियो । पिर्टसबर्गका विशिष्ट पाहुनाहरु त्यहाँ जम्मा भएका थिए । राजकुमार भासिलीकी सुन्दरी छोरी हेलेन आफ्नो विशिष्ट पोशाकमा सजिएर आफ्ना बाबुलाई बेलायती राजदूतको भोजमा सरिक हुनु पर्ने भएको हुँदा लिन आई ।
गएको बसन्तमा विवाहबन्धनमा बाँधिएकी र सानातिना कार्यक्रममा सरिक नहुने पिर्टसबर्गकी सर्वश्रेष्ठ सुन्दरी भनेर कहलिएकी राजकुमारी बोल्कोन्सकाया गर्भिणी अवस्थामा भए पनि त्यहाँ उपस्थित थिई । त्यस्तै मोटर्माटका साथ राजकुमार भासिलीको छोरा हिप्पोलाइत, आवेमोरियो र अन्य थुप्रै विशिष्ट पाहुनाहरू पनि आएका थिए ।
प्रत्येक नयाँ आगन्तुकलाई अन्ना पाभ्लोभ्नार्ले तपाईंले मेरी फुपूलाई चिन्नु भएको छैन ?’ भन्दै लामो रिबनले बाँधेको टोपी लगाएर अर्को कोठाबाट फुत्त निस्केकी एउटी वृद्ध महिलासँग परिचय गराई ।
बूढी फुपूले पनि सबै पाहुनाहरुसँग आफ्नो र महारानीको (जो भगवानका कृपाले आज केही स्वस्थ थिई ) स्वास्थ्यबारे कुरा गरी तर कसैले पनि उसलाई खास वास्ता गरेनन् । (यसो गर्दा पाभ्लोभ्नाको मन अमिलो भएको थियो ।) उनीहरुले बरु मुस्किलसँग छुटकारा पाएको महसुस गर्दै ऊसँग छुट्टिए र पुरा रात ऊतर्फ फर्केर एक नजर पनि लगाएनन् ।
राजकुमारी बोल्कोन्सकाया सुनको जरीजडित् मखमलको एउटा झोलामा केही काम पनि लिएर आएकी थिई । उसको सुन्दर र माथिल्लो ओठ, जसमा नजानिँदो र अत्यन्त मिहिन काला रौँ गोचर हुन्थे र, जसले दाँतलाई ढाक्दैनथे तर घरीघरी तल्लो ओठसँग जोडिँदा झन मोहक र हृदयहारी देखिन्थे । खोट भनौँ – उसको माथिल्लो ओठको लम्बाईको कमी र अर्ध खुला खाने मुख नै उसको सौन्दर्यको आफ्नै प्रकारको विशेषता थियो । यति सानै उमेरमा आमा बन्न लागेकी, रुप र जवानीको ज्वलन्त प्रतिमूर्ति , उसका सामु पर्दा जो–कोही पनि घायल–कायल हुन्थे । उसलाई देखेपछि, एकछिन सँगै बसेपछि वा दुई चार कुरा गरेपछि बुद्ध हुन् वा झ्याउरे युवक नै किन नहुन् यस्तो महसुस गर्थे मानौँ उनीहरु पनि ऊजस्तै आरोग्य, जीवन्त र अनुप्रणित भइरहेछन् । एकपटक उसको मृदृवाणी श्रवण गरेपछि र उसको प्रत्येक शब्दमा प्रकट हुने शुभ्र मुस्कानको दर्शन गरेपछि जसलाई पनि दिनभरि नै शुभलाभ प्राप्त भइरहेझैँ लाग्थ्यो ।
पाखुरामा झोला च्यापेर, शरीरको पोशाक फिँजाउँदै र सानासाना र छिटोछिटो पाइलामा लच्कँदै चाँदीको चिया कलशनजिक ऊ एउटा सोफामा गएर बसी । ‘म त काम लिएरै आएकी छु,’ उपस्थित सबैलाई आफ्नो झोला देखाएर उसले फ्रान्सेली भाषामा भनी । ‘हेर है आनेत्ती, तिमीले मलाई छल गरेजस्तो छ,’ उसले थपी। ‘निम्तो पत्रमा सानोसानो भेला मात्र हो भनेर लेखिथ्यौ, लौ हेर त म कस्तो नराम्रो लुगा लगाएर आएकी छु,’ आफ्नो पहिरन देखाउँदै उसले भनी ।
‘होइन लिजे, तैपनि सबैभन्दा राम्री तिमी नै छौ,’ आन्ना पाभ्लोभ्नाले जवाफ दिई ।
‘तिमीलाई थाहा छ– मेरो श्रीमान् मलाई छोडेर जाँदै हुनुहुन्छ,’ उही ताल र लयमा उसले फेरि पनि फ्रान्सेली भाषमै भनी । उहाँ आफैँलाई मार्न जाँदै हुनुहुन्छ । कस्तो होला यो अभागी युद्ध पनि, भन त ? ’ राजकुमार भासिलीलाई सम्बोधन गर्दै र उसको प्रत्युत्तर पनि सुन्ने चेष्टा नगरेर उसकी सुन्दरी छोरी हेलेनतर्फ फर्केर उसले थपी ।
‘यी फुच्ची राजकुमारी कति रमाइली रहिछन्, बा !’ राजकुमार भासिलीले अन्ना पाभ्लोभ्नालाई भन्यो ।
अर्का थरीका आगन्तुकहरुमध्ये छिमलेको कपाल भएको, आँखामा चश्मा, हल्का रङको ब्रिचिस र फ्रुसो रङको कोट लगाएको, निकै बलिष्ठ तथा गठिलो शरीर भएको एक जना तन्नेरी पनि थियो । ऊ रानी क्याथरिनको समयको प्रसिद्ध भारदार काउन्ट बेजुकोभ, जसको चिहान मास्कोमा छ, यसैको मठ्याहा छोरो थियो । भर्खरै तेस्रो देशबाट अध्ययन सकेर आएको हुँदा उसको कुनै जागिर पनि थिएन र यस्तो सभा–समारोहमा यो नै पहिलो उपस्थिति थियो । अन्ना पाभ्लोभ्नाले उसलाई अलि हेयका दृष्टिले हेर्दै स्वागत गरी । तर त्यही अवसरमा उसको आँखा अगाडि पियेरेले प्रवेश गर्दा चिन्ता र भयले उसको अनुहार छोपियो । उपस्थित व्यक्तित्वहरुभन्दा निश्चय पनि ऊ केही ठूलो थियो तर चलाख भए पनि लजालु, सूक्ष्मदृष्टि र अस्वाभाविक आकृतिका कारण ऊ अरुभन्दा भिन्न देखिन्थ्यो ।
अलि हडबडाएको अवस्थामा फुपूसँग परिचय गराउँदै अन्ना पाभ्लोभ्नाले भनी, ‘महाशय पियेरे, मजस्तो दुःखीको निमन्त्रणा स्वीकार गरेर यहाँ आउने कष्ट गर्नु भएर मलाई ठूलो गुन लगाउनु भयो ।’
पियेरेले केही अबोध्य शब्दहरु बर्बराउँदै केही खोजे जस्तो गरी चारैतिर नजर मात्र लगाइरह्यो । बूढी फुपूलाई भेट्ने क्रममा उसले पूर्वपरिचितलाई जस्तै झुकेर सानी राजकुमारीलाई अभिवादन गर्यो ।’
अन्ना पाभ्लोभ्नाको शङ्का प्रमाणित भयो किनभने पियेरे बूढी फुपूबाट महारानीको स्वास्थ्यबारे सुन्न नपाउँदै उनसँगबाट अलग्गियो । विस्मित भएर आन्ना पाभ्लोभ्नोले उसलाई रोकेर भनिन्, ‘आवे मोरियालाई चिन्नु हुन्छ ? उहाँ साह्रै नै रमाइलो मनुवा हुनुहुन्छ ।’
‘हो, मैले उहाँको दीर्घकालीन शान्ति योजनाका बारेमा सुनेको छु र यो असाध्य रोचक पनि छ । तर यसको सम्भाव्यता भने क्षीण छ ।’
‘तपाईंलाई त्यस्तो लाग्छ ?’ केही बोलेर त्यहाँबाट चिप्लिने र अन्य पाहुनाहरुको खातिरदारी गर्नतिर लाग्ने हेतुले पियेरेले पनि अशिष्टताको परिचय दियो । पहिलो–आफूसँग कुरा गर्न इच्छुक महिला (फुपू बूढी) लाई आफैँले छोडेर हिँडयो । दोस्रो- उससँग कुरा गर्न नचाहेका महिलासँग कुरा गरिरहन खोज्यो । शिर निहुराउँदै खुट्टा फट्टाएर उभियो र आवेको योजना मनगढन्त र काल्पनिक हो भनेर प्रमाणित गर्ने तर्कहरु आविष्कार गर्न लाग्यो ।
‘यस बारेमा हामी पछि कुरा गरौँला,’ मुस्कुराउँदै आन्ना पाभ्लोभ्नाले भनी ।
शिष्ट व्यवहार गर्न नजान्ने यस जवान मानिससँगबाट छुटकारा लिएपछि आन्ना पाभ्लोभ्ना पुनः पाहुनाहरुका माझमा मिसिई र उसले अतिथि व्यवस्थापन हेर्ने, सबैको कुरा सुन्ने र छलफलका सिलसिलामा केही मतमतान्तर र भनाभन हुन थाल्यो भने मध्यस्थता गर्ने पनि गर्न थाली । एउटा कपडा मिलको नाइके मिस्त्रीले जसरी मेसीन चालु गरेपछि राम्ररी चलेको–नचलेको, पार्टपुर्जाहरु टुट–फुटेको, ज्यामी र अन्य मिस्त्रीहरुले ध्यानपूर्वक काम गरे–नगरेको निरीक्षण गर्छ, त्यसरी नै आन्ना पाभ्लोभ्नाले स्वागतकक्षमा व्यस्त पाहुनाहरुको आवश्यक व्यवस्थापन गरी । विस्तारै बोल्ने, बोल्दै नबोल्ने वा ठूल्ठूलो स्वरमा बोल्ने हरेक प्रकारका पाहुनाहरुलाई उसले यथोचित स्थानमा राखी । तर यति गर्दा पनि उसको अनुहारमा पियेरेको पक्षबाट सिर्जित चिन्ता प्रष्ट रुपमा देखिन्थ्यो । घरि मोर्टमार्टको समूहमा छिरेर कान थाप्ने र घरि आवे केन्द्र पुरुष भएको समूहमा सम्मिलित भएर कुरा सुन्ने पियेरेतर्फ उसको ध्यान केन्द्रित थियो ।
पियेरे तेस्रो मुलुकमा शिक्षा प्राप्त गरेको मानिस हो र रसियामा उसले सहभागिता जनाएको अन्ना पाभ्लोभ्नाद्वारा आयोजित यो प्रीतिभोजको कार्यक्रम नै उसका लागि पहिलो अवसर थियो । यहाँ पिटर्सबर्गका सम्पूर्ण बौद्धिक वर्गको जमघट छ भन्ने उसलाई थाहा थियो । र, खेलौना पसलको थुप्रोबाट कुन चाहिँ खेलौना छान्ने भनेर निर्णय गर्न असमर्थ बालकजस्तै महत्त्वपूर्ण विषयमा समयसापेक्ष विश्लेषण गर्ने समूह पहिल्याउन नसकिने हो कि भन्ने भयले ऊ दिग्भ्रमित थियो । अन्त्यमा ऊ मोरियो भएको ठाउँमा पुग्यो । त्यहाँ चलिरहेको कुराकानी उसलाई खुब मन पर्यो । अति सामान्य युवापुस्ताले जस्तै आफ्नो पनि दृष्टिकोण प्रकट गर्ने अवसर पर्खेर ऊ उभियो ।
(क्रमशः अर्को सोमबार)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 









