लियो टोल्सटोय

जीवनको उत्तरार्धतिर लियो टोल्सटोयले अध्यात्मको बाटो समाते, त्यो बेला उनले वेदान्त, बुद्ध र लाओत्से हेर्न थाले । जब उनले तिनलाई बुझे, त्यसपछि बल्ल जिसस क्राइस्टलाई बुझेँ भन्न थाले ।

१९ औँ शताब्दीका महानतम् साहित्यकारका रूपमा लियो टोल्सटोयलाई मानिन्छ । आज पनि उनका कृतिहरू अन्ना करेनिना र वार एन्ड पिस त्यस शताब्दीका सबैभन्दा महान् सिर्जनाका रूपमा लिइन्छ । तर टोल्सटोयको निजी जीवन र दर्शन उनको निजी जीवनभन्दा निकै भारी थियो । कतिसम्म भनने टोल्सटोय ज्यूँदै छँदा रूस र अन्यत्र पनि टोल्सटोयवादले जन्म लिइसकेको थियो । संसारमा निकै कम साहित्यकार छन्, जसले समकालीन समाजालाई यो हदसम्म प्रभावित तुल्याएका होऊन् । साथै प्रचलित नैतिकता र जीवनका कैयन् अस्तित्ववादी प्रश्नको जरासमेत हल्लाइदिएका होऊन् ।

‘विज्डम अफ चिल्ड्रेन’ नामक पुस्तकमा उनले बडो रोचक तरिकाले यस्ता प्रश्नहरू उठाएका छन्, जसको उत्तर खोज्न ज्ञानीहरूलाई पनि गाह्रो हुन्छ । हिन्दू सभ्यतामा ऋतुजा जसलाई भनिन्छ र त्यो जुन आध्यात्मिक उचाइ हो त्यो, टोल्सटोयमा पाइन्छ । जुन उपनिषद्का ऋषिहरूदेखि लिएर गौतम बुद्धसम्म त्यो उचाइ देखिन्थ्यो ।

त्यो बेला अन्य पश्चिमी विचारकहरूलाई झैँ टोल्सटोयलाई पनि पूर्वीय ज्ञान र चिन्तनले स्वाभाविक रूपमा आकर्षित गरेको थियो । उनका सर्कल अफ रिडिङ, क्यालेन्डर अफ विज्डमजस्ता टिपोटमा वेद, उपनिषद् तथा हितोपदेशका कयौँ सूत्रहरू टिपोट गरेका छन् । आखिर उनले ती टिपोट किन गरेका थिए त ? बौद्धिक ज्ञान बढाउनका लागि त्यो पक्कै थिएन किनभने त्यो बेला उनी जीवनकै घनघोर अँध्यारा दिनहरूमा थिए, निराशाका दिनहरूमा थिए । निराशा र अस्तित्ववादी संकटको समयमा थिए । स्थिति कतिसम्म विकट थियो भने उनले आफ्नो बन्दुकलाई आफैँलाई झिक्न गाह्रो हुने गरी ताल्चा ठोकेका थिए ताकि खुरूक्क निकालेर आफैँमाथि गोली हान्ने झ्वाँक नचलोस् !

एकातिर उनी संसारकै उच्च साहित्यकारहरूले उनलाई आँखाको नानी बनाएका थिए भने अर्कोतर्फ उनको भागमा ६ हजार गाउँ उनको अंशमा परेको थियो । ठीक त्यही बेला उनी आफ्नो जीवनको वास्तविक अर्थ खोजिरहेका थिए । उनले त्यो बेलाका संसारका नामी कयौँ वैज्ञानिक, दार्शनिक र धार्मिक नेतासँग संवाद गरेका थिए । संवादको मूल थियो कि कसैले उनलाई जीवनको अर्थ, उद्देश्य र जीवन हुनुको मूल के हो भनी बुझाइदियोस् ।

पदार्थवादी विज्ञान, तर्कवादी दर्शन (फिलोसफी) र धर्मको प्रचलित ईसाई व्याख्याले उनलाई सन्तुष्ट बनाउन सकेको थिएन । बरू उनका प्रश्नले त्यस समयका कुलीनहरूमा ग्लानि, अपराधबोध र निरर्थकता भर्न थालेको थियो ।

यस्तो बेलामा उपनिषद्, बुद्ध र लाओ त्सेका चिन्तनले टोल्सटोयलाई धर्म र श्रद्धाको एउटा नयाँ अर्थ खोज्न सहयोग गर्यो । टोल्सटोयले रामायण र महाभारत पढे । तर जब शोपनहारको दर्शनले उनलाई छोयो, त्यसका पछाडि उपनिषद र बुद्धका चिन्तनले नै छोएको मान्नु पर्छ किनभने शोपनहार उपनिषद र बुद्धबाट अत्यधिक प्रभावित थिए र उनले तिनैका टिप्पणीमाथि लेखेका थिए । त्यसैले जब तत्वज्ञानको साटो टोल्सटोयले अध्यात्मको बाटो समाए, उनले सिधा वेदान्त, बुद्ध र लाओ त्सेतिर हेर्न थाले । जिसस क्राइस्टको सही मर्म उनले त्यतिबेला नै जाने । त्यसपछि उनमा निश्छल श्रद्धाको एउटा यस्तो स्वरूप देखे, जसका कारणले समाजको सबैभन्दा तल्लो तप्काको जीजिविषा कठिन भन्दा कठिन परिस्थितिमा पनि किन मर्दैन भन्ने बुझे । यसरी अहिंसा, त्याग, मानव सेवा, ब्रह्मचर्य, करुणा, निर्भयता, शरीर-श्रम र असंग्रह जस्ता विचारहरूले टोल्सटोयको जीवनलाई एउटा नयाँ बाटो दियो ।

तर विडम्बना के थियो भने एकातर्फ उनले व्यक्तिगत स्तरमा आफ्ना प्रश्नका उत्तर पाउँदै जान थालेका थिए भने अर्कोतर्फ उनको गृहस्थ जीवन भावनात्मक झंझावातहरूको शिकार हुँदै जान थालेको थियो । सत्यलाई जीवनमा अँगाल्ने अभ्यासमा लागेका जो कसैको जीवनमा पनि यस किसिमको समस्या आउँछ नै ।

टोल्सटोयले त्यो बेला संसारकै सबैभन्दा बढी रोयल्टी पाउँथे । तर जब उनले नै ती रोयल्टीलाई एक प्रकारको चोरी र अकर्मण्यताजस्तै हो भन्ने प्रतिक्रिया दिएर आइरहेको पैसालाई पनि लात हान्न थाल्यो भने परिवार, श्रीमती र सन्तानले के ठान्छन् ?

टोल्सटोयलाई आफ्ना सिद्धान्त र व्यवहारका बीचको खाडलले निचोर्न थालेको थियो । उनी चाहन्थे, जुन उपदेश उनी समाजलाई दिइरहेका थिए, त्यसलाई सबैभन्दा पहिले उनले आफ्नै जीवनमा लागू गर्नुपर्छ । फेरि निर्भीक पनि कति थिए भने मजदुर, किसान या गोठालोको जीवन रोज्नका लागि उनलाई न त कुनै लोकलाज न त कुनै सुखसुविधा खोसिने डर थियो । तर उनको यस्ता केही प्रयासलाई उनका आफन्त र साथीले सनक र पागलपन भन्दै दुत्कारे भने किसान र गोठालाहरूले एउटा धनीमानीको नयाँ किसिमको ढोंग या सोख नै माने । उनको त्यस कार्यलाई त तत्कालीन पोपले क्राइस्टविरोधी भन्दै बहिष्कार नै गरे । तर टोल्सटोयले हार मानेनन्, हार मान्ने किसिमका थिएनन् पनि । निजी सम्पत्ति र संग्रहबाट छुटकारा पाउनका लागि उनले आफ्नो सम्पत्ति र साहित्यका सारा अधिकार पत्नीको नामसारी गरिदिए । तर उनी उमेरको जुन तहमा पुगेका थिए, त्यसमा उनले निर्णय लिन केही ढिला अवश्य गरेका थिए ।

त्यसैले त उनले ‘स्त्री-पुरुष सम्बन्ध’ नामक पुस्तकमा उनले ब्रह्मचर्य र आत्मसंयममा जोड दिएका थिए । त्यसो भनिरहँदा उनका भने १३ सन्तान थिए । यस किसिमको वास्तविकताले उनलाई सधैँ चिमोटिरह्यो । उनले सो पुस्तकमा एक ठाउँमा लेखेका छन्, ‘जब मनुष्य जीवनभर (अज्ञानताको) अँध्यारोमा बस्छ, उसले कतै अचानक (ज्ञान की) प्रकाश देख्यो भने निकै खुसी हुन्छ । तर उसले अहंकारवश उसले जीवनभर एउटा पशुको जीवन बिताएको थियो र अब यतिबेला उसले आफ्नो अतीतलाई मेट्न सक्दैन भन्ने गुन्न थाल्छ, त्यो सोच र गुनाइले उसलाई निकै ठूलो दुःख दिन्छ । दुःख यस कारणाले पनि हुन्छ, मानिसले भन्नेछन्, तँ त अब चिहानघारी पुग्ने बेला भो बूढा, त्यसैले तैँले त्यसो भन्नु ठीकै हो । तँ आफैँले चाहिँ कस्तो जीवन बाँचिस् त ? हामी पनि तँ जस्तै बूढा हुन्छौँ र तँजस्तै कुरा गरौँला ।’ तर पछि जब जब उनको आध्यात्मिक परिपक्वता दृढ हुँदै गयो र सत्यसँगको साक्षात्कार बढ्दै जान थाल्यो, उनमा भरिएको द्वन्द्व र ग्लानि पनि क्रमशः हराउँदै जान थाल्यो ।

एउटा राजसी जीवन जिउने युरोपेली गृहस्थ भौतिक जीवनको उत्कर्षमा पुगेर जब अचानक संन्यासी जस्तो व्यवहार गर्न थाल्छ, त्यस्तो बेलामा उसकी पत्नीलाई कति पीडा हुन्छ ! शुरुआती प्रेमालापलाई छाड्ने हो भने उनकी पत्नी सोफियासँग प्रायः झैँझगडा नै हुन्थ्यो तर सोफियाले टोल्सटोयका अनुपम कृतिका पाण्डुलिपिका नक्कल र सम्पादन पनि जसरी गरिन् र जुन व्यवस्थित रूपबाट गरिन्, त्यस किसिमको सचेतना कमै पत्नीहरूमा पाइन्छ । उनले टोल्सटोयको दैनिकीलाई उचित तवरले मिलाइदिएकी थिइन् । यस्तो लाग्छ, टोल्सटोयसँग कयौँ किसिमका मतभेद भए पनि सांसारिक उहापोहका बावजुद सोफियाले टोल्सटोयको आध्यात्मिक उचाइका बारेमा क्रमशः बुझ्न थालेकी थिइन् ।

टोल्सटोयका लागि आफ्नो दाम्पत्य जीवनको कठिन गुत्थी सुल्झाउनु त्यही सहज थिएन । नाटकका रूपमा लेखिएको उनको अन्तिम साहित्यिक रचना ‘द लाइट साइन्स इन द डार्कनेस’ (अँधेरोमा उज्यालो) मा उनले पारिवारिक जीवनका कटु सत्यलाई जीवन्त बनाएका छन् । टोल्सटोयको निजी जीवनजस्तै यो रचना पनि सांसारिक रूपमा दुखान्त थियो तर आध्यात्मिक रूपमा सुखान्त नै भन्न सकिन्छ । टोल्सटोयले यस नाटकको क्लाइमेक्स पूर्ण रूपमा लेख्न पाएका थिएनन् । उनले डायरीमा टिपेका नोटका आधारमा यसलाई पूरा गरिएको थियो ।

दुखान्त र सुखान्तको यस किसिमको आध्यात्मिक विरोधाभास उनका सन्तानसँगको व्यवहारमा पनि देखिन्थ्यो । १३ सन्तानमध्ये ज्यूँदा बचेका ८ सन्तानमध्ये जुन छोरीलाई उनी सबैभन्दा बढी माया गर्थे, उनकत्र नाम मारिया थियो । रूसी उच्चारणको घरेलु शैलीमा उनले प्रेमपूर्वक माशा भनेर बोलाउँथे । रूसी भाषामा ‘माशा’ शब्दको अर्थ, महान् या शक्तिशाली महिला हुन्छ । माशा नाम उनका लागि यति प्रिय थियो कि उनका अधिकांश कथामा महिला पात्र कहीँ न कहीँ माशा नै हुन्थे । छोरी माशाका साथ उनको यो गहन भावनात्मक सम्बन्ध आध्यात्मिक गहिराईको आदान-प्रदानसम्म पुग्यो । हुन त माशाको जीवन सांसारिक दृष्टिबाट हेर्दा दुखान्त नै रह्यो ।

पिताले हालेको आध्यात्मिक संस्कारले विवाहपछि पनि माशा कुलीन र सजावटी बुहारी वा पत्नीका रूपमा बनिरहन दिएन । राजकुमारी भएर पनि किसान तथा मजदुरहरूसँग दिनभर उनीहरूसँगै उनीहरूजस्तै काम गरेर र भएर बसिन् । एक पटक गाउँमा आगो लाग्यो । उनी आगो निभाउन दौडिएर गइन् र बाल्टीभरि पानी लिएर हालिन् । शायद यही कारणा गर्भवती माशाले जीवित सन्तान जन्माउन सकिनन् । यसपछि उनी कयौँ पटक गर्भवती भइन् तर गर्भ अडिन सकेन । आमा सोफियालाई लाग्थ्यो, पिता टोल्सटोयका कारण शुद्ध शाकाहारी बनेकी माशाको गर्भ नटिक्नुको एउटा कारण शाकाहारी हुनु पनि हो । टोल्सटोयले छोरी माशालाई लेखेको अन्तिम पत्रमा कारुणिकता झल्कन्छः ‘सांसारिक दृष्टिले यो एउटा दुःखद् घटना भए पनि तिम्रो आध्यात्मिक जीवनका लागि निस्सन्देह फाइदाकै कुरा हो ।’

तर दुःखको कुरा निमोनियाका कारणा ३५ वर्षको उमेरमा नै उनकी प्यारी छोरीले पिताकै काखमा प्राण त्याग्न पुगिन् ।

सांसारिक भोग-विलासको जीवनबाट टोल्सटोयलाई वितृष्णा भएपछि उनी पटक पटक घर छोडेर हिँड्ने कुरा गर्थे । उनको स्वास्थ्य राम्रो थिएन । हुन त उनकी पत्नी सोफियाले सेवा-सुश्रूषामा कुनै कमी गरेकी थिइनन् तर सारा आध्यात्मिक पक्ष बुझेर पनि एक भिखारीजस्तै एक्लै घर छोडेर अन्त कतै जाने कुरामा सोफियाको विमति मात्र होइन, जिम्मेवारहीन व्यक्तिको अभिव्यक्ति लाग्थ्यो । उनी कुन बेला घर छाडेर भाग्ने हुन्, त्यो पनि जीर्ण शरीर र रोग बोकेर भन्ने डरका कारण उनलाई कडा पहरामा राखिएको थियो । कडा पहराका बाबजुद टोल्सटोय घरबाट भागेर संन्यास धारण गर्ने इच्छा पूरा गरी छाडे ।

सन् 1897 मा उनले पत्नी सोफियालाई एउटा पत्र लेखेका थिए तर पठाउने मन गरेनन् । चिठ्ठीको माथि लेखिएको थियोः ‘मेरो मृत्युपछि मात्र दिइयोस् ।’ चिठ्ठीमा लेखिएको थियोः

प्रिय सोफिया,

मेरो धार्मिक सिद्धान्त र मेरो जीवनमा जुन विरोधाभास छ, त्यसले मलाई धेरै दिनसम्म मानसिक पीडा दिइरह्यो । मैले न त तिमीलाई तिम्रो जीवनशैली त्यागेर मैले चाहेजस्तो जीवनमा रमाऊ भनेर मनाउन सकेँ, न त म नै रमाउन सकेँ । मैले तिमीलाई मैजस्तो जीवनमा रमाऊ भन्न नसक्नुमा म आफैँले तिमीलाई त्यो जीवनशैलीमा अभ्यस्त तुल्याएको थियो । तर म अब त्यही गर्न चाहन्छु, जसका लागि म तीव्र रूपमाम बेचैन छु । म तिमीहरू सबैसँग बिदा लिएर कतै जान चाहन्छु । यसका केही कारण छन् । पहिलो त, वृद्धावस्थाका कारण जीवन पीडादायी महसुस हुन थालेको छ र एकान्तमा बस्ने इच्छा प्रवल हुँदै जान थालेको छ । दोस्रो चाहिँ, हाम्रा छोराहरू हुर्किसके र म घरैमा बस्नुपर्ने बाध्यता रहेन । तेस्रो कारण चाहिँ, जसरी हिन्दुहरू ६० वर्षको उमेरपछि जंगल पस्छन्, त्यसरी नै म पनि आफ्नो जीवनको अन्तिम दिनमा ईश्वरको नाम स्मरण गर्दै बिताउन चाहन्छु । मैले यो कुरा खुलेर भनेँ भने सबैले रोक्ने प्रयास गर्नेछन्, मलाई कहीँ कतै नजान बिन्तीभाउ चढाउने छन् र कतै नजानका लागि सम्भव सबै प्रयास अपनाउने छन् । मेरो घर छाड्ने निर्णयका कारण तिमीलाई जुन पीडा दिँदैछु, त्यसका लागि मलाई क्षमा दिनू । मलाई खुसीखुसी वन जाने स्वीकृति देओ । मेरो खोजी नगर । र, सारा कुराका लागि ममाथि दोष नथोपर ।

तिम्रो स्नेही
लियो टोल्सटोय

अन्ततः १० नोभेम्बर १९१० मा ८२ वर्षको उमेरमा आधा रातमा उनी खुसुक्क कसैलाई केही नभनी घरबाट निस्किए । त्यो रात भयानक चिसो थियो । उनको काँधमा एउटा सानो पोको थियो, जसमा उनका केही लुगा र खान्कीका सामग्री थिए । त्यो वृद्धावस्थामा उनको साथी भनेको एउटा लाठी मात्र थियो । रेलमा बसेर उनी दक्षिणतर्फ लागे । आम मानिसले उनलाई चिन्नु सहज थिएन । उनले त्यो बेला रेलमा भएका सर्वसाधारणसँग आत्म-संयम, त्याग, शरीर-श्रम, मानव-सेवा, मानवीय व्यवहार, शान्ति र अहिंसाजस्ता विषयमा आफ्ना धारणाहरू राखे । दस दिनपछि कुनै सानो स्टेसनमा उनी अचेत अवस्थामा फेला पारिए ।

टोल्सटोयको घनघोर प्रशंसक भएका कारण रेल स्टेशनको एक कर्मचारीले उनलाई चिन्थ्यो । टोल्सटोय जस्तो जीवन बाँच्न चाहन्थे, त्यस्तो जीवन बाँच्न त पाएनन् तर मृत्यु जस्तो चाहेका थिए, त्यसैगरी आयो । उनको सतगतका लागि हजारौँ प्रहरी खटाइएको भए पनि अन्त्येष्टिमा हजारौँ किसान र मजदुर अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए । विडम्बना के भने तीमध्ये अधिकांशलाई साहित्य र जीवनका बारेमा केही पनि थाहा थिएन । उनीहरूका लागि त एक प्रसिद्ध काउन्ट (कुलीन)को मृत्यु भएको थियो र सम्मानस्वरूप उनीहरू श्रद्धाञ्जली व्यक्त गर्न पुगेका थिए । केही किसानसँग भने टोल्सटोयसँग भलाकुसारी गरेका केही निजी अनुभव भने अवश्य थियो । केहीसँग निकै कारूणिक कथा पनि थिए । शायद यही कारण पनि बोल्सेभिक क्रान्तिको प्रचण्ड समयमा पनि टोल्सटोय परिवारलाई कसैले छुने हिम्मत गर्न सकेन ।