‘उन्नाईस सय चौरासी’ (१९८४) जर्ज ओरवेल (२५ जुन १९०३- २१ जनवरी १९५०) को एक प्रसिद्ध उपन्यास हो । उनको वास्तविक नाम एरिक अर्थर ब्लेयर थियो । उनको जन्म ब्रिटिश शासित भारतको मोतिहारी, बिहारमा भएको थियो । जर्ज ओरवेल उनको छद्म नाम थियो, यो नाम उनले इङ्ल्याण्डको एउटा नदी ओरवेलबाट प्रेरित भएर राखेका थिए । उनी लेखक, साहित्यकार, पत्रकार, समालोचक र सामाजिक चिन्तकसमेत थिए । उनले ब्रिटेनको प्रतिष्ठित इटन कलेजमा साहित्य र इतिहासको शिक्षा लिए । पढाईपछि उनले भारतीय पुलिस सेवामा सन् १९२२ देखि १९२७ सम्म बर्मामा काम गरे । सन् १९३६ को स्पेनको गृहयुद्ध कालमा ओरवेल त्यहाँको फासीवादको विरुद्धमा पनि लडेका थिए ।

जर्ज अर्वेल

ओरवेलका कृतिहरूले सर्वसत्तावाद, अधिनायकवाद, स्वतन्त्रता र सत्यको अवधारणामा गहन विश्लेषण गर्छन् । उनका रचनाहरूमा ‘उन्नाईस सय चौरासी’ बाहेक ‘डाउन एण्ड आउट इन पेरिस एण्ड लण्डन’ (१९३३), बर्मीज डेज (१९३४), ‘द रोड टु विगन पियर’ (१९३७), ‘होमेज टु क्याटालोनिया’ (१९३८) र ‘एनिमल फार्म’ (१९४५) हुन् । ‘डाउन एण्ड आउट इन पेरिस एण्ड लण्डन’ मा गरीबीमा बिताइएका दिनहरूको यथार्थ चित्रण गरिएको छ । ‘एनिमल फार्म’ ले सत्ताको दुरुपयोग र अधिनायकवादको आलोचना गर्छ । ‘होमेज टु क्याटालोनिया’ ले स्पेनिश गृहयुद्धमा ओरवेलका आफ्नै अनुभव र समाजवादी आन्दोलन भङ्ग भएको वास्तविक कथाको विवरण प्रस्तुत गर्दछ । ‘बर्मीज डेज’ ले ब्रिटिश औपनिवेशिक शासनको नस्लवादी र दमनकारी मानसिकताको आलोचना गर्छ ।

ओरवेल समाजवादी थिए तर अधिनायकवादी शासनको भने विरोधी थिए । उनले साम्राज्यवाद र फासीवादको विरोध गरे । उनको लेखन सरल, स्पष्ट र नैतिक साहसले भरिएको देखिन्छ । लण्डन र पेरिस बस्दा उनले घरबारविहीन तथा श्रमिकहरूको दयनीय जिन्दगीलाई प्रत्यक्ष रूपमा देख्ने मौका पाएका थिए, जसको प्रभाव उनका लेखनमा देखिन्छ ।
ओरवेलको ‘उन्नाईस सय चौरासी’ उपन्यास पहिलोपटक सन् १९४९ मा प्रकाशित भएको थियो । यसलाई राजनीतिक भयानकतामा आधारित शास्त्रीय रचना मानिन्छ । यसले अधिनायकवाद, सर्वसत्तावाद, निगरानी राज्य र सत्यको हेरफेरको भयावह तस्विर प्रस्तुत गर्छ । यो उपन्यासले आफ्नो समयको राजनीतिक स्थितिलाई प्रहार गरेको छ र आज पनि यसको प्रासङ्गिकता उत्तिकै देखिन्छ ।

यो उपन्यास इटालीको फासीवाद, नाजीवादी जर्मनी, स्पेनको तानाशाही व्यवस्था, ब्रिटिश साम्राज्यवाद र रूसको स्टालिनकालीन शासनव्यवस्थाबाट प्रेरित भएर लेखिएको देखिन्छ । लेखक स्वयं स्पेनिश गृहयुद्धमा समाजवादी आन्दोलनसँग जोडिएका थिए । यो उपन्यासमा ‘बिग ब्रदर’ र ‘विचार पुलिस’ जस्ता सत्ता प्रतीकले सत्ताको निरङ्कुश दुरुपयोगलाई दर्शाउँछन् । यद्यपि ओरवेलले समाजवाद र सर्वसत्तावादको बीचमा अन्तरलाई धुमिल बनाइदिएक देखिन्छ, जसबाट पूँजीवादी प्रचारकहरूले यसलाई समाजवाद विरोधी हतियारको रूपमा प्रयोग गरे ।

यो उपन्यासमा ‘टेलीस्क्रिन’ र ‘विचार-अपराध’ जस्ता तत्त्वद्वारा नागरिकलाई नियन्त्रण गरिएको कुरा देखाइएको छ । यहाँ ‘न्यूज स्पिक’ र ‘द्वैध चिन्तन’ को माध्यमबाट सच्चाईलाई पुनर्परिभाषित गरिने कुरा दर्शाइएको छ । यसमार्फत् युद्ध शान्ति हो, स्वतन्त्रता दासता हो र अज्ञानता शक्ति हो जस्ता विरोधाभासपूर्ण भाष्य सिर्जना गरी जननियन्त्रण गरिने कुरा बताइएको छ । ओरवेलले जसरी सत्ताको सर्वशक्तिलाई देखाए, त्यसको मानवीय प्रतिरोधको सम्भावनालाई बेवास्ता गरेका छन् । उपन्यासमा विन्स्टन र जुलियाको प्रेममा विद्रोही भावना छ तर उनीहरूको प्रेमको अर्थहीन अन्त्य गरिएको छ । लेखकले मानवीय भावनाको शक्तिलाई रेखाङ्कित गरेका छन् तर उपन्यास निराशावादमा गएर टुङ्गिएको छ । यसले पाठकलाई अन्तमा गएर निराश बनाउँदछ ।

यो उपन्यास मुख्यगरी तीन भागमा लेखिएको छ, जसमा विन्स्टनको असन्तोष, विन्स्टन र जुलियाको प्रेम सम्बन्ध तथा गिरफ्तारी, यातना र आत्मसमर्पण रहेका छन् । विन्स्टन स्मिथ ओसिनियामा बस्ने एक व्यक्ति हो । त्यहाँ ‘बिग ब्रदर’ को नेतृत्वमा रहेको पार्टीले हरेक क्षेत्रमा नियन्त्रण कायम राखेको छ । उसले निगरानी र प्रचारप्रसार दुवै गर्ने ‘टेलीस्क्रीन’ को माध्यमबाट सबैलाई लगातार नियन्त्रणमा राख्छ । विन्स्टनको काम पार्टाका हरेक भविष्यवाणी र कार्यलाई सही सावित गर्नको लागि पुराना अखबार र दस्तावेजहरूलाई संशोधन गर्नु हो । विन्स्टन भित्रभित्रै पार्टीप्रति असन्तुष्ट छ । ऊ गोप्य रूपमा एउटा डायरी लेख्न शुरु गर्छ, जुन पार्टीको विरुद्ध एक अपराध हो । पार्टीमा आन्तरिक वर्ग, बाह्य वर्ग र प्रोल्स (आम जनता) गरी तीन वर्ग छन् । पछि ऊ प्रोल्सको बस्तीमा जान्छ र त्यहीँ उसको पहिले जासूस ठानेकी जुलियासँग भेट हुन्छ ।

जुलिया र विन्स्टन गोप्य रूपमा भेट गर्छन् र उनीहरूको एक-अर्कोसँग प्रेम हुन्छ । पछि उनीहरूले ओब्रायनलाई भेट्छन्, जसले आफूलाई पार्टीको विरुद्धमा खोलिएको एउटा गुप्त संगठन ‘ब्रदरहुड’ को सदस्य बताउँछ । ओब्रायनले पार्टीको विरुद्ध लेखिएको गोल्डस्टिनको एक विद्रोही पुस्तक दिन्छ । त्यसलाई विन्स्टनले पढ्छ । त्यसपछि उनीहरू पार्टीको शासन उखेलेर फ्याँक्न सक्षम हुने कुरा महसुस गर्छन् । तर विन्स्टन र जुलियालाई ‘थाउट-पुलिस’ ले पक्रिन्छ । ओब्रायनले उनीहरूलाई फसाएको कुरा थाहा हुन्छ । त्यसपछि विन्स्टनलाई प्रेम मन्त्रालयमा यातना दिइन्छ । त्यहाँ उसलाई यातनाको माध्यमबाट द्वैध-चिन्तन वा दुई विरोधाभासी विचारलाई एकसाथ मान्ने क्षमता सिकाउनुका साथै पार्टीप्रति निष्ठा राख्न पनि सिकाइन्छ । अन्तमा विन्स्टनको दिमागी पुनर्निमाण हुन्छ र उसको स्वतन्त्र सोच पूर्ण रूपले नष्ट हुन्छ ।

यो उपन्यासले एक नियन्त्रित समाजको जटिल स्थितिलाई देखाउँछ । यसले स्वतन्त्रताको हननलाई राम्रोसँग देखाउने प्रयास गरेको छ । यहाँ पार्टीको हरेक आदेश अन्तर्गत व्यक्तित्व र विचारको नियन्त्रित अवस्थालाई देखाइएको छ । यहाँ विन्स्टन स्मिथ नामक पात्रले स्वतन्त्रता र मानवअधिकारको लागि संघर्ष गर्छ । यो उपन्यासले स्वतन्त्रता र सङ्घर्षलाई मात्र दर्शाउँदैन, यसले स्वतन्त्रता कायम राख्नलाई सतर्क र सहज रहने कुरालाई पनि बताउँछ । यसले हरेक व्यक्तिलाई सामाजिक र मानसिक दमनबाट बच्नको लागि जागरूक बनाउने प्रयास गर्छ । राज्यसत्ता निरङ्कुक भएपछि त्यसले नागरिकरूको विचार, भाषा र सच्चाईमाथि पनि नियन्त्रण कायम गर्छ, त्यसपछि स्वतन्त्रता, सत्यता र मानवीय गरीमाको अन्त्य हुनजान्छ; यही नै यो उपन्यासको सन्देश हो ।

उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा

भाग एक : व्यवस्थाको परिचय र विन्स्टनको व्याकुलता

उपन्यासको कथाको शुरुवात १९८४ मा कुनै बेला इङ्ग्ल्याण्डमा रहेको स्थान एयरस्ट्रिप वान नामक स्थानबाट हुन्छ, जुन ओसिनिया नामक महाशक्तिको एउटा प्रान्त हुन्छ । समाज पूर्ण रूपले एक अधिनायकवादी सरकारको नियन्त्रणमा छ । उपन्यासको मुख्य पात्र विन्स्टन स्मिथ हो । ऊ पार्टीको अधीनस्थ रहेको सत्य मन्त्रालयमा काम गर्छ । उसको काम ऐतिहासिक दस्तावेजहरूलाई पार्टीको वर्तमान विचारधारा अनुसार बदल्नु हो, ताकि विगत वर्तमान अनुरूप कामय रहोस् । ओसिनियाको सरकारलाई पार्टी भनिन्छ । यो पार्टीको सर्वोच्च नेता ‘बिग ब्रदर’ हो । सबैतिर उसका तस्विरहरू टाँगिएका छन् र त्यसको तल लेखिएको छ – ‘बिग ब्रदर’ ले तिमीलाई हेरिरहेका छन् । हरेक घर तथा कार्यालयमा एउटा ‘टेलीस्क्रिन’ लगाइएको छ, जसले सूचना प्रसारण गर्नुका साथसाथै हरेक व्यक्तिमा निगरानी पनि राख्छ । विन्स्टन बाहिरबाट आज्ञाकारी छ तर भित्रैदेखि भने ऊ पार्टीको विचारधारासँग असहमत छ । ऊ पार्टीले सत्यलाई दबाइरहेको छ, इतिहासलाई तोडमरोड गरिरहेको छ र जनतालाई भ्रममा राखिरहेको छ भन्ने महसुस गर्छ । यही असन्तोषलाई उल्लेख गर्नको लागि ऊ गोप्य रूपमा एउटा डायरी लेख्न शुरु गर्छ । तर यो एक गम्भीर अपराध हो । यो अपराधलाई विचार-अपराध भनिन्छ । यसको सजाय मृत्युदण्ड वा पूर्ण विलोपीकरण हुन्छ; त्यसमा व्यक्तिको अस्तित्वसम्मलाई मेटाइन्छ ।

पार्टीले समाजलाई चार मन्त्रालयको माध्यमबाट नियन्त्रित गर्छ । पहिलो, सत्य मन्त्रालयले प्रचारप्रसार र इतिहासलाई बदल्ने काम गर्छ । दोस्रो, शान्ति मन्त्रालयले युद्ध सन्चालन गर्छ । तेस्रो, दण्ड र यातनाको लागि प्रेम मन्त्रालय छ । चौथो, छलकपट र आपूर्तिको नियन्त्रणको लागि प्रचूरता मन्त्रालय छ । समाज तीन वर्गमा बाँडिएको छ । पहिलो वर्ग आन्तरिक पार्टी हो, जुन कुल जनसङ्ख्याको केवल दुई प्रतिशत छ । दोस्रो वर्ग बाह्य पार्टी हो, जसमा विन्स्टन जस्ता व्यक्ति पर्दछन् । तेस्रो ‘प्रोल्स’ आम जनताको वर्ग हो, जसमाथि प्रत्यक्ष निगरानी हुँदैन तर उनीहरूलाई अज्ञानतामा राखिन्छ । पार्टीले एउटा नयाँ भाषा पनि लागू गरिरहेको छ । त्यसको नाम ‘न्यू स्पिक’ राखिएको छ । यो भाषाको उद्देश्य मानिसले स्वतन्त्र रूपले सोच्नै नसकून् भनेर शब्दहरूलाई सीमित बनाउनु हो । विन्स्टन आफ्नो डायरीमा लेख्छ – ‘बिग ब्रदर’ को अन्त होस् । यो एक मानसिक विद्रोह हो । यो एक्लो व्यक्तिद्वारा तानाशाही सत्ताको विरुद्ध गरिएको पहिलो विचार हो ।
एकपटक विन्स्टन स्मिथ आफ्नो एपार्टमेन्टबाट बाहिर निक्लिन्छ । उसलाई तुरुन्तै आफ्नो भवनकी एउटी महिला श्रीमती पार्सन्सले बोलाउँछिन् । त्यसपछि ऊ उनको फ्ल्याटमा पाइपलाइनको मर्मतको लागि जान्छ । श्रीमती पार्सन्स पार्टीको एक कर्मचारी टोम पार्सन्सकी पत्नी हुन्छिन् । उनको एपार्टमेन्ट अव्यवस्थित छ, पर्खालमा ‘बिग ब्रदर’ को तस्विर र बच्चाहरूका पोस्टर टाँसिएका छन् । त्यहाँ विन्स्टनले पार्सन्सका छोराछोरीलाई भेट्छ । दुवै बच्चा स्पाइस संगठनका सदस्य हुन् । यो एउटा यस्तो सङ्गठन हो, जसमा बच्चाहरूलाई आफ्ना मातापिता एवम् छिमेकीहरूको निगरानी गर्न र कुनै पनि पार्टी विरोधी गतिविधिको रिपोर्ट गर्न सिकाइन्छ । बच्चाले विन्स्टनलाई शङ्काको दृष्टिले हेर्छन् । उनीहरू सार्वजनिक फाँसी हेर्नको लागि जान चाहन्छन् । यसपछि विन्स्टन पार्टीले बच्चासम्मलाई आफ्नो नियन्त्रणमा लिएको छ भन्ने महसुस हुन्छ ।

अब विन्स्टन फ्ल्याटबाट बाहिर आउँछ । पछाडिबाट त्यहाँको केटाले उसलाई एउटा खेलौना पेस्तोलले हान्छ र गद्दार भन्छ । विन्स्टन अब बच्चाबाट पनि खतरा छ भन्ने महसुस गर्छ । विचारापराधको पक्रिने प्रणाली अब केवल ‘टेलीस्क्रीन’ वा ‘विचार पुलिस’ सम्म मात्र सीमित छैन । यसले समाजका जरासम्मलाई समाइसकेको छ । यसपछि विन्स्टन आफ्नो घर फर्किन्छ । एकपटक फेरि ऊ ‘टेलीस्क्रीन’ को अगाडि हुन्छ । त्यहाँबाट लगातार पार्टीको प्रचारप्रसार भइरहेको छ । विन्स्टन मनमनै के स्वीकार गर्छ भने वास्तविक खतरा शारीरिक दमन नभएर आन्तरिक दमन हो । पार्टीले केवल व्यवहारलाई मात्र नियन्त्रित गर्दैन, बरु सोच्ने क्षमतालाई पनि खत्तम गरिदिन्छ ।

एकपटक विन्स्टन स्मिथ निद्रामा थियो । उसको सपनामा पटक-पटक एउटै दृश्य आइरहन्छ; त्यो उसको बालककाल, परिवार र समुद्रको किनारामा एउटा खुला तथा शान्त क्षेत्र थियो, जसलाई ऊ ‘गोल्डेन कन्ट्री’ भन्छ । विन्स्टनलाई स्मरण हुन्छ, ऊ बालककालीन अवस्थामा भएको बेला उसकी आमा र बहिनी गरीबी र सन्त्रासमा बाँचिरहेका थिए । एक दिन ऊ घरबाट रेशम चोरेर भाग्यो तर ऊ फर्किंदा दुवै बेपत्ता थिए । उसलाई के लाग्छ भने त्यो पनि पार्टी क्रान्तिकै एक नतिजा थियो, जसले पुराना सम्बन्ध, भावना र नैतिक मूल्यलाई मेटाइदियो । अब ऊ ‘टेलिस्क्रीन’ को आवाजबाट ब्युझिन्छ । एउटा ठूलो आवाजले उसलाई व्यायाम गर्ने आदेश दिन्छ । यो पार्टीको अनिवार्य शारीरिक अभ्यास हो । विन्स्टन यन्त्र जसरी उठ्छ र निर्देशनको पालना गर्छ । तर उसको दिमागमा पार्टीको वास्तविक उद्देश्य के हो भन्ने कुरा खेलिरहेको छ ।

यसपछि यहाँ ‘द्वैध चिन्तन’ प्रक्रिया शुरु हुन्छ । यो एक यस्तो मानसिक प्रक्रिया हो, जसमा एकै समयमा दुई विरोधाभासी विचार मान्नु र तिनीहरूलाई साँचो मान्नु पनि अनिवार्य हुन्छ । उदाहरणको लागि युद्ध नै शान्ति हो, स्वतन्त्रता नै दासता हो, अज्ञानता नै शक्ति हो । द्वैध चिन्तन पार्टीको विचारधाराको जग हुन्छ । यसले व्यक्तिको सोचलाई भ्रमित बनाउँछ र उसलाई हरेक अवस्थामा पार्टीका कुराहरूमा विश्वास गर्नको लागि बाध्य बनाउँछ, चाहे त्यो झुट नै किन नहोस् । विन्स्टनलाई यी सबै कुरा सोच्दा डर लाग्छ तर ऊ स्वयं स्मरण गर्छ, यदि कतै सच्चाई बाँकी रहेको छ भने त्यो मानिसभित्र नै छ ।

विन्स्टन स्मिथ आफ्नो दैनिक कार्यमा छ । ऊ सत्य मन्त्रालयमा काम गर्छ । यो मन्त्रालयको वास्तविक कार्य झुटको निर्माण गर्नु वा विगतलाई पुनः गणना गर्नु हो, ताकि त्यो वर्तमान दिशा अनुरूप होस् । ऊ रहेको विभागमा दिनभरी पुराना समाचारपत्र, पत्रिका, दस्तावेज र भाषणहरूलाई सम्पादित गरिन्छ । यदि कुनै नेताको भविष्यवाणी गलत सावित भयो भने त्यसलाई नयाँ सिराबाट लेखिन्छ । यो प्रक्रियलाई अभिलेख विभागको संशोधन कार्य भनिन्छ । आफूले झुटको रचना गरिरको विन्स्टनलाई थाहा छ तर पार्टीको विचारधारा यही नै हो । रेकर्डमा भएको कुरा नै साँचो हुन्छ र रेकर्ड पनि आफैले तय गरेको मात्र हुनेछ । उसले एक विशेष भाषामा काम गर्छ । ‘न्यू स्पिक’ को उद्देश्य भविष्यमा यति सीमित भाषा तयार गर्नु हुन्छ कि कुनै व्यक्तिले विरोध वा स्वतन्त्र विचार गर्नै नसकोस् ।

विन्स्टनको काम अत्यन्तै यान्त्रिक छ तर यसमा एक विशेष खतरा छ । यदि कुनै गल्तीले पार्टीको कार्यदिशा विरुद्धमा केही छोडियो भने उसको अस्तित्व पूर्ण रूपले मेटाइनेछ । यो सम्पूर्ण व्यवस्था यति सुव्यवस्थित छ कि आम नारिकलाई कहिल्यै पनि इतिहासलाई बदलिएको छ भन्ने महसुस हुँदैन । मानिस त्यही मान्छन्, जुन पार्टीले बताउँछ । विन्स्टन मनमनै सोच्छ, पार्टीको सबभन्दा ठूलो दावी के छ भने जसले अतीतलाई नियन्त्रित गर्छ, उसले भविष्यलाई पनि नियन्त्रित गर्छ र जसले वर्तमानलाई नियन्त्रित गर्छ, उसले अतीतलाई पनि नियन्त्रित गर्छ ।

एकपटक विन्स्टन सत्य मन्त्रालयको क्यान्टिनका दुई प्रमुख व्यक्ति साइम र पार्सन्ससँग बस्छ । साइम पार्टीको कर्मचारी हो । ऊ ‘न्यू स्पिक’ शब्दकोशको संशोधित संस्करणमाथि काम गरिरहेको छ । ऊ भाषाको विशेषज्ञ हो र ‘न्यू स्पिक’ को कट्टर समर्थक पनि हो । ‘न्यू स्पिक’ एउटा यस्तो कृत्रिम भाषा हो, जसलाई पार्टीले विस्तारै-विस्तारै पुरानो भाषाको ठाउँमा ल्याइरहेको छ । यसको मुख्य उद्देश्य शब्दहरूको संख्यालाई धेरै घटाउनु हो, जसबाट कुनै प्रकारको स्वतन्त्रता सम्भव हुन नसकोस् । साइम गर्वपूर्वक कसरी ‘न्यू स्पिक’ को एघारौं संस्करणमा हजारौं शब्द हटाउने भन्ने कुरा गर्छ । उसको तर्कअनुसार कुनै शब्द नै नभएको खण्डमा कुनै विचार पनि हुनेछैन । जस्तो कि स्वतन्त्रता जस्तो शब्द भविष्यको भाषमा अस्तित्वमा नै रहनेछैन । विन्स्टनलाई थाहा छ, साइम धेरै होशियार छ तर ऊ धेरै बोल्छ । शायद यही कारणले गर्दा पार्टीले एकदिन उसको अस्तित्व नामेट बनाइदिनेछ ।

अर्कोतिर पार्सन्स पार्टीको अन्धभक्त र मूर्ख प्रकारको नागरिक हो । ऊ आफ्नी पत्नी र बच्चामाथि गर्व गर्छ । उनीहरू ‘स्पाइस सङ्गठन’ मा छन् र लगातार मानिसहरूको जासूसी गर्छन् । पार्सन्सले क्यान्टिनमा एउटा अर्को कुरा पनि भन्छ, आफ्ना बच्चाले भर्खरै एउटी छिमेकी महिलालाई विचार-अपराधको आरोप लगाउन लागेका थिए । यो आरोप केवल उनी पार्टीप्रति धेरै उत्साहित थिइनन् भन्ने आधारमा लगाउन लागिएको थियो । यो सम्पूर्ण कुराकानी विन्स्टनको लागि एउटा अर्को सङ्केत थियो, अब मानिस शब्द, विचार, भाषा र यहाँसम्म कि आफ्नै सन्तानबाट पनि सुरक्षित छैनन् ।
यही बीचमा टेलीस्क्रीनमा ओसियानाले युरेशियाको मोर्चामा एउटा अर्को महान विजय प्राप्त गरेको खबर आउँछ । हरेकले ताली बजाउँछन्, ‘बिग ब्रदर’ अमर रहून् भनेर नारा लगाउँछन् । विन्स्टन यो भीडको हिस्सा भएर पनि मनमनै यो सबै झुट र नियन्त्रणको एक जाल हो भन्ने महसुस गर्छ । ‘न्यू स्पिक’ भाषाको माध्यबाट विचार नियन्त्रणको उपकरण बनिसकेको छ । पार्टीप्रति बफादारी अब केवल व्यवहार वा शब्दबाट मात्र नभएर सोच र मस्तिष्को संरचनाबाट पनि आँकलन गरिन्छ ।

विन्स्टन आफ्ना विगतका घटनामध्ये एउटा अनुभवलाई स्मरण गर्छ । यो एक यस्तो घटना हुन्छ, जसले पार्टीको यौन नीतिलाई उजागर गर्छ । एकपटक उसले एक यौनकर्मीसँग सम्बन्ध कामय गरेको थियो । यो कुरा ऊ किन स्मरण गर्छ भने पार्टीको शासनमा यौन सम्बन्धलाई कडाईपूर्वक नियन्त्रित गरिएको छ । पार्टीको यौन नीतिको उद्देश्य सबै शारीरिक इच्छालाई दबाउनु र केवल प्रजननको लागि विवाहलाई मान्यता दिनु हुन्छ । आनन्द, आकर्षण, प्रेम जस्ता सबै कुरा पार्टीको हिसाबले विकृति हुन् । विन्स्टनकी आफ्नी पूर्वपत्नी क्याथरिन पार्टीकी आदर्श नागरिक थिइन् । उनी केवल प्रजननको उद्देश्यले मात्र शारिरिक सम्बन्ध कायम राख्न चाहन्थिन् र त्यसलाई कर्तव्यको नाममा गरिएको काम मान्थिन् । विन्स्टनलाई के महसुस हुन्छ भने पार्टीले यौन इच्छालाई दबाएर मानिसको ऊर्जालाई पार्टीको भक्तिमा बदल्न चाहन्छ । उसलाई थाहा छ, यदि मानिसको व्यक्तिगत जीवन, व्यक्तिगत प्रेम र स्वतन्त्रताको अन्त्य गरियो भने व्यक्ति पूर्ण रूपमा सत्ताको अधीनस्थ हुन्छ । उसले के कुरा पनि महसुस गर्छ भने आफूले यौनकर्मीसँग गरेको कार्य शारीरिक क्रिया मात्र नभएर पार्टी नियमको विरूद्ध एकप्रकारको विद्रोह थियो ।

पार्टीले विचार र भाषामा मात्र नियन्त्रण चाहँदैन, बरु मानिसको शरीर, भावना र इच्छामा पनि एकाधिकार चाहन्छ । विन्स्टनको त्यो एकल अनुभव एक साधारण नागरिकको आन्तरिक विद्रोहको सङ्केत बन्छ । विन्स्टले आफ्ना विचारलाई गहिराईपूर्वक उल्लेख गर्छ । उसको मान्यता अनुसार यदि कुनैबेला पार्टीलाई पराजित गर्नसकियो भने त्यो शक्ति केवल प्रोल्स (समाजका निम्न वर्ग) सँग हुन्छ । प्रोल्स अर्थात् ओसिनियाका निम्न वर्ग भनिने पचासी प्रतिशत जनता हुन् । उनीहरूमाथि पार्टीले प्रत्यक्ष नियन्त्रण राख्दैन । पार्टीले उनीहरूलाई अज्ञानी बनाएर राख्छ । उनीहरूलाई खेल, चिठ्ठा, यौन र मनोरञ्जनमा अल्झाएर उनीहरूभित्र विद्रोहको भावना उत्पन्न हुनै दिइंदैन । विन्स्टन लेख्छ, यदि कुनै आशा छ भने त्यो प्रोल्समा हुनसक्छ । तर उसलाई के कुरा पनि थाहा छ भने प्रोल्सले सत्यलाई नबुझुन्जेलसम्म सङ्घर्षलाई बुझ्न सक्दैनन्; त्यतिबेलासम्म उनीहरूले केही पनि बदल्न सक्दैनन् ।

विन्स्टनले एउटा पुरानो फोटो स्मरण गर्छ । त्यसलाई उसले एकपटक संयोगले देखेको थियो । त्यसमा पार्टीका तीन पुराना नेता जोन्स, आरोनसन र रदरफोर्ड न्यूयोर्कमा एक पार्टी कार्यक्रमा उपस्थित देखिएका थिए, जबकि त्यसबेला उनीहरू देशद्रोहमा व्यस्त थिए भन्ने पार्टीको दाबी थियो । यो फोटो पार्टीको इतिहासलाई तोडमरोड गरेर पेश गर्ने प्रमाणको रूपमा काम लाग्न सक्थ्यो तर डरको कारणले विन्स्टनले त्यो फोटो नष्ट बनाइदियो । यो घटनाले विन्स्टनभित्र एक दृढ विश्वासलाई जन्म दिन्छ; पार्टीले झुट बोल्छ, इतिहासको रचना गर्छ र सत्यलाई मेटाउँछ । तर पनि उसको कुनै ठोस मार्ग छैन । उससँग समर्थन छैन, न सङ्गठन नै छ । ऊसँग केवल विचार छ र यो विचार नै उसको लागि एक जोखिम हो ।

विन्स्टन अब केवल विरोधको सोच मात्र राख्दैन, उसले इतिहास र यथार्थको झुट निर्माणलाई पहिचान गरिसकेको छ । तर पनि ऊ एक्लै छ । ऊ जागरुक छैन र पार्टीको शक्ति अपार छ । विन्स्टन अब आफ्नो सामान्य दिनचर्याबाट अलग भएर पार्टीको क्षेत्रबाट बाहिर निक्लिन्छ र प्रोल्सको बस्तीमा जान्छ । यी इलाका पार्टीको प्रत्यक्ष निगरानीमा हुँदैनन् । यहाँ मानिस आफ्नो व्यक्तिगत जीवनमा व्यस्त छन्; झगडा, बजार, मदिरा र घरेलु क्रियकलापमा । यहाँको जीवन फोहर र गरीबीले भरिएको छ तर यी क्षेत्र केही हदसम्म स्वतन्त्र देखिन्छन् । विन्स्टन यहाँ एक बुजुर्व प्रोल्स व्यक्तिसँग कुरा गर्छ । ऊ पार्टी आउनुभन्दा पहिलेको यहाँको जीवन कस्तो थियो भन्ने कुरा थाहा पाउन चाहन्छ । तर बूढो व्यक्तिले कुनै स्पष्ट उत्तर दिनुको साटो केवल मदिरा, पैसा र पुराना किस्साहरूको कुरा गर्छ । विन्स्टन निराश हुन्छ । ऊ ठान्छ, प्रोल्स अझै पनि इतिहासको बोधबाट बञ्चित छन् । उनीहरू अतीतलाई भावनात्मक रूपले स्मरण गर्छन् । तर कुनै राजनीतिक चेतना वा विश्लेषण उनीहरूमा छैन ।

यसपछि विन्स्टन एउटा पुरानो दोकानमा जान्छ । त्यहाँ उसले पहिले आफ्नो डायरी किनेको थियो । यहाँको दोकानदार मिस्टर चारिङ्गटनले उसलाई एउटा प्राचीन काँचको पेपरवेट देखाउँछ, जसलाई विन्स्टनले किन्छ । त्यो दोकानदारले उसलाई माथिल्लो कोठामा पनि लैजान्छ । त्यो कोठामा कुनै ‘टेलीस्क्रीन’ छैन र यो एउटा यस्तो ठाउँ हो, जसले उसलाई शान्ति र व्यक्तिगत स्वतन्त्रताको भ्रम प्रदान गर्छ । यो कोठामा पुरानो समयका चीजहरू छन् । पर्खालमा एउटा कविता लेखिएको छ । यहाँ एउटा झ्याल पनि छ, जसबाट बाहिर चियाउन सकिन्छ । विन्स्टन अब सोच्न लाग्छ, यो स्थान भविष्यमा उसका गोप्य विचार र मिलनको लागि उपयुक्त स्थान हुनसक्छ । अन्तमा फर्किंदै गर्दा उसले टाढाबाट एउटी युवतीलाई देख्छ । उनी त्यही युवती थिइन्, जसलाई उसले पहिलेदेखि नै शङ्कास्पद दृष्टिले हेरिरहेको थियो । उनलाई देखेर ऊ झस्किन्छ । उसलाई लाग्छ, शायद उनी जासूस हुन् र मेरो पीछा गरिरहेकी छिन् । विन्स्टनको एक्लोपना, उसको इतिहासप्रतिको मोह र सत्यको खोज एवम् विद्रोहको गुप्त आकाङ्क्षा सामुन्ने आउँछ । उसलाई आफू खतरामा छु भन्ने कुरा थाहा छ, तरपनि झुटबाट अलग कुनै जीवनको कल्पना गर्न छोड्दैन ।

भाग दुई : विद्रोह, प्रेम र आशा

अब एक निर्णायक मोडको शुरुवात हुन्छ । विन्स्टनले ती युवतीलाई पुनः देख्छ, जसलाई उसले पहिलेदेखि नै पार्टीकी जासूस मान्दै आएको छ । तर यो पटक उसले उनलाई गल्लीमा लड्खडाउँदै गरेको देख्छ र उनले विन्स्टनलाई चुपचाप एउटा कागजको टुक्रा दिन्छिन् । विन्स्टनले एकान्तमा त्यो कागजलाई खोल्छ । त्यसमा लेखिएको हुन्छ, ‘म तिमीलाई प्रेम गर्छु’ । यो वाक्यले विन्स्टनलाई स्तब्ध बनाइदिन्छ । पार्टीद्वारा नियन्त्रित संसारमा यो एक अकल्पनीय वाक्य हो । ऊभित्र कयौं भावना उत्पन्न हुन्छन्; डर, आशङ्का, रोमान्स र विश्वास । यसपछि एक खतर्नाक प्रयास शुरु हुन्छ । अब त्यो केटीसँग गोप्य रूपमा विन्स्टनले सम्पर्क स्थापित गर्नाथाल्छ ।

विन्स्टन धेरै दिनसम्म त्यो केटी एकान्तमा होस् र क्यामराको दृष्टिभन्दा टाढा एक क्षण भेट गर्न सकियोस् भनेर प्रतीक्षा गर्छ । अन्ततः क्यान्टिनमा एकपटक उसलाई मौका मिल्छ, जहाँ दुवैले गुप्त भाषामा एक विशिष्ट स्थान ‘भिक्ट्री स्क्वायर’ निकट एक जनसभा भएको बेलामा भेट गर्ने कुरा तय गर्छन् । यो सञ्चार धेरै सतर्कतापूर्वक हुन्छ । यसमा कुनै भाव हुँदैन, कुनै आँखाको सम्पर्क हुँदैन, यहाँ केवल साधारण कुराकानीभित्र गुप्त सङ्केत हुन्छ । उनीहरूको कुराकानीले दुवैजना पार्टी व्यवस्थाबाट असन्तुष्ट छन् र कुनै सच्चा व्यक्तिगत सम्बन्धको खोजमा छन् भन्ने सङ्केत गर्छ । यसमा पार्टीको नियन्त्रणभन्दा बाहिर एक व्यक्तिगत सम्बन्धको सम्भाव्यताको शुरुवात हुन्छ ।

विन्स्टन र युवतीको बीचमा बढ्दो निकटता केवल आकर्षण मात्र हुँदैन, यो त सत्ताको विरुद्ध एक व्यक्तिगत विद्रोहको बीज पनि हुन्छ । एकपटक निर्धारित स्थानमा ‘भिक्ट्री स्क्वायर’ निकट एउटा कैदी रक्षक दल अगाडि बढिरहेको बेला भीडको लाभ उठाएर उनीहरूले आपसमा सम्पर्क स्थापित गर्छन् । त्यसपछि उनीहरूले शहरबाट टाढा सुरक्षित सुनसान एक वनक्षेत्रमा भेट गर्ने कुरा तय गर्छन् । यो स्थान टेलिस्क्रीन र माइक्रोफोनबाट टाढा छ । त्यहाँ पुगेर उनीहरू पहिलोपटक खुलेर कुरा गर्छन् । विन्स्टनले युवतीको नाम जुलिया भएको थाहा पाउँछ । जुलियाको उमेर करिब २६ वर्ष छ । उनी सचेत रूपले पार्टीको द्वैध जीवन जिउँछिन् । बाहिरी रूपमा उनी पार्टीको अनुशासन पालना गर्छिन् तर आन्तरिक रूपमा उनी पार्टीलाई घृणा गर्छिन् । जुलियाले पहिले पनि पार्टी नियम तोडेको कुरा बताइन् । उनी यो व्यवस्थाको नैतिकता र यौन प्रतिबन्धलाई पनि अस्वीकार गर्छिन् ।

यहाँ दुई प्रमुख विचार उत्पन्न हुन्छन् । पहिलो, पार्टीले व्यक्तिगत सम्बन्धलाई नियन्त्रित गरेर मानिसलाई नियन्त्रणमा लिन्छ । उसको मान्यता अनुसार प्रेम र वासनाको माध्यमबाट निजी निष्ठा हुर्किनसक्छ, जुन पार्टीको लागि खतरा हुन्छ । दोस्रो, जुलिया र विन्स्टनको निकटता केवल व्यक्तिगत आकर्षण मात्र होइन, यो त राजनीतिक विद्रोहको रूप पनि हो । जङ्गलमा उनीहरूको बीचमा शारीरिक सम्बन्ध पनि हुन्छ । यो पार्टीको व्यवस्था अनुसार धेरै ठूलो अपराध हो । किनकि यो व्यक्तिगत इच्छा, स्वतन्त्रता र विद्रोहको प्रतीक हो । विन्स्टनले यो अनुभवलाई भावनात्मक र वैचारिक रूपसँगै क्रान्तिको रूपमा महसुस गर्छ ।

विन्स्टन र जुलियाको मिलन, व्यक्तिगत स्वतन्त्रता र राजनीतिक विद्रोह कसरी आपसमा जोडिन्छन्, जुन समाजमा भावना र इच्छा अपराध हुन्छ ? यो एक मौन विद्रोहको उदघोष हो । केही दिनपछि उनीहरू हरेकपटक कुनै न कुनै सार्वजनिक स्थलमा एक-अर्कोसँग गोप्य रूपले नियमित भेट गर्न लाग्छन् । त्यहाँ भीड वा वातावरणले उनीहरूलाई केही समयको लागि लुक्ने अनुमति प्रदान गर्छ । जुलियाको सोच र विचारधारा अझ बढी स्पष्ट हुन्छ । उनी पार्टीलाई घृणा गर्छिन् तर उनको विद्रोह व्यावहारिक र व्यक्तिगत स्तरमा हुन्छ, कुनै सङ्गठित राजनीतिक आन्दोलनको रूपमा होइन । उनको मान्यता अनुसार ठूलो परिमाणमा विद्रोह असम्भव छ र यो व्यवस्था सम्भवतः कहिल्यै बदलिंदैन । तर तिनको विरोध क्षणिक र सीमित नै भएपनि पार्टीलाई धोका दिनु नै जित हो भन्ने विचारमा आधारित छ । अर्कोतिर, विन्स्टनको दृष्टिकोण जुलियाको भन्दा केही फरक छ । ऊ पार्टीलाई पूर्ण रूपमा खत्तम भएको हेर्न चाहन्छ । उसको के विश्वास छ भने अतीत, इतिहास र सच्चाईलाई फेरि पुनर्स्थापित गर्न सकिन्छ । त्यसकारण जुलिया र विन्स्टनको यो सम्बन्ध केवल दुई व्यक्तिहरूको बीचमा सम्बन्ध मात्र होइन, बरु एक गोप्य राजनीतिक असहमति हो । यसले सत्ताको मूल अवधारणालाई चुनौती दिन्छ ।

जुलिया र विन्स्टनको सम्बन्ध यो अधिनायकवादी ढाँचामा एक अवज्ञाको कार्य बन्छ । विस्टन एक पुरानो प्रोल्स क्षेत्रमा अवस्थित त्यो दोकानमा पुनः जान्छ, जहाँ उसले पहिले एउटा सुन्दर काँचको पेपरवेट किनेको थियो । उसले दोकानको मालिक मिस्टर चारिङ्गटनको भन्दा माथिल्लो कोठा भाडामा लिने कुरा गर्छ । यो त्यही कोठा हो, जहाँ न कुनै टेलिस्क्रीन छ र न कुनै स्पष्ट निगरानी नै हुन्छ । विन्स्टनले यसलाई जुलियासँग भेट गर्नको लागि एक सुरक्षित स्थानको रूपमा हेर्छ । मिस्टर चारिङ्गटन यो कोठा भाडामा दिनको लागि तयार हुन्छ । पुरानो समयका चीजहरूले भरिएको यो स्थान विन्स्टनको लागि एक भूतकालको प्रतीक बन्छ । यो कोठाको सबभन्दा महत्त्वपूर्ण पक्ष के छ भने यो पार्टीको नियन्त्रण व्यवस्थाभन्दा बाहिर प्रतीत हुन्छ । यो स्थान विन्स्टनलाई एउटा सानो स्वतन्त्र संसार जस्तै लाग्छ । अन्ततः जुलिया पनि त्यहाँ आउँछिन् । उनले केही खानेकुरा ल्याउँछिन्, जसमा शुद्ध कफी र चिनी पनि छ । यो सामान्य नागरिकहरूले प्राप्त गर्ने कुरा लगभग असम्भव हुन्छ । पहिलो पटक दुवै एक निजी स्थानमा कुनै भय र निगरानीबिना समय बिताउन पाउँछन् । यो स्थानको महत्त्व प्रतीकात्मक पनि हुन्छ । अब विन्स्टन र जुलिया एक निजी संसारको रचना गर्न चाहन्छन्, जुन पार्टीको दृष्टिबाट टाढा होस् । तर यो स्वतन्त्रता केवल देखावटी मात्र हो, किनकि वास्तविकतामा पार्टीको पक्कड धेरै गहिरो छ ।

विन्स्टन र जुलिया अब त्यो भाडाको कोठामा नियमित रूपले भेट गर्न लाग्छन् । यो कोठा अब उनीहरूको एकान्त र स्थिर स्थान बनिसकेको छ, जहाँ उनीहरू एक-अर्कोलाई भेट्ने मात्र गर्दैनन्, बरु पार्टीको नियम र समाजको दबावभन्दा अलग्गै एउटा संसारको कल्पना पनि गर्छन् । जुलियाले यहाँ केही बजारका चीजहरू ल्याउँछिन्, जसमा शुद्ध कफी, साबुन, सौन्दर्यका सामान र अन्य दुर्लभ वस्तुहरू छन् । उनी पहिलो पटक त्यहाँ सौन्दर्यका सामान प्रयोग गर्छिन् । यसबाट विन्स्टनलाई उनी पुरानो संसारकी महिला जस्ती लाग्छिन् । त्यो संसारलाई पार्टीले लगभग नष्ट बनाइदिएको छ । दुवैको सम्बन्ध शारीरिक मात्र नभएर मानसिक र वैचारिक रूपले पनि गहिरो छ । उनीहरू आफ्नो अन्त्य कसरी हुन्छ भन्ने कुरा पनि स्वीकार्छन्; त्यो पक्राउ खानु, यातना पाउनु र मृत्यु पनि हुनसक्छ । तरपनि उनीहरू मान्छन्, जबसम्म उनीहरूले एक-अर्कोलाई आन्तरिक रूपले धोका दिंदैनन्, तबसम्म पार्टीले वास्तवमा उनीहरूलाई हराउन सक्दैन ।
विन्स्टन अतीत, इतिहास, सच्चाई र पार्टीद्वारा गरिएको इतिहासको पुनर्लेखनमाथि पनि चिन्तन गर्छ । यदि पार्टीले आजलाई नियन्त्रित गर्छ भने त्यसले अतीतलाई पनि नियन्त्रित गर्नसक्छ र अन्ततः सच्चाईलाई पनि नियन्त्रित गर्छ । सत्ता केवल बाहिरी नियन्त्रण मात्र होइन, यसले आन्तरिक विश्वास र स्मृतिमाथि पनि अधिकार जमाउने प्रयास गर्छ । विन्स्टन र जुलिया यो नियन्त्रणको विरुद्ध आफ्नो व्यक्तिगत सत्य र सम्बन्धलाई बचाउने प्रयास गरिरहेका छन् ।

विन्स्टनको गल्तीपूर्वक एकदिन एक शङ्कास्पद व्यक्तिसँग जम्काभेट हुन्छ, जसमाथि उसले पहिलेदेखि नै शङ्का गर्दै आएको थियो । त्यो व्यक्ति ओब्रायन थियो । ओब्रायन पार्टीको एउटा बरिष्ठ सदस्य हो तर उसका कुरा र व्यवहारले विन्स्टनलाई ऊ पार्टीको विरुद्ध हुनसक्छ भन्ने सङ्केत गर्छन् । यसपटक ओब्रायनले विन्स्टनसँग आफै कुरा गर्दछ । उसले विन्स्टनलाई भन्छ, मलाई ‘न्यू स्पिक’ को सम्बन्धमा कुनै जानकारी आवश्यक छ । यही बाहनामा उसले विन्स्टनलाई आफ्नो फ्ल्याटमा आउने निमन्त्रणा गर्छ । त्यसपछि उसले आफ्नो ठेगाना पनि दिन्छ । यो सानो घटना विन्स्टनको लागि एउटा ठूलो सङ्केत बन्नजान्छ । ओब्रायन पनि पार्टीको विरुद्ध छ भन्ने कुरामा अब विन्स्टनको विश्वास अझ गहिरो हुन्छ ।

अब उसलाई आफू एक्लो नभएको महसुस हुन्छ । उसलाई लाग्छ, कुनै ‘ब्रदरहुड’ जस्तै कुनै गोप्य सङ्गठन विद्यमान हुनसक्छ र ओब्रायन त्यसको हिस्सा हुनसक्छ । यद्यपि अझै कुनै खुलासा हुँदैन । तर ओब्रायनको यो आमन्त्रण विन्स्टनको लागि आशाको प्रतीक बन्छ । यो समयले त्यो झिल्कोलाई जगाउँछ, जसलाई विन्स्टनले लामो समयदेखि खोजिरहेको थियो । सङ्घर्षमा साथ दिने कोही अरु व्यक्ति ओब्रायनको उपस्थितिले अब विन्स्टनलाई पार्टीको विरुद्धमा अझ सहासिक कदम उठाउनको लागि प्रेरित गर्छ । अब विन्स्टनको ध्यान पार्टीको दमनको गहन प्रभाव र मानवताका सम्भावनाहरूमा केन्द्रित हुन्छ । ऊ आफ्नो र जुलियाको सम्बन्ध बारेमा सोच्छ; अन्ततः उनीहरू पक्राउ खानेछन्, उनीहरूलाई यातना दिइनेछ र सम्भवतः उनीहरूलाई मारिनेछ । तर उसको के विश्वास छ भने यदि उनीहरूले एक-अर्कोसँग आन्तरिक रूपमा घृणा गरेनन् भने हार्ने छैनन् । यही एकमात्र वास्तविक विद्रोह हो, जुन कुनै पनि सत्ताभन्दा ठूलो हुन्छ ।

विन्स्टनले एउटा सपना स्मरण गर्छ, जसमा उसले आफ्नी आमा र बहिनीलाई देख्छ । ऊ बच्चा भएको बेलामा उनीहरू भोकले मरेका थिए । पहिलो पटक उसले स्वयं बच्नको लागि उनीहरूको साथ छाडिदिएको थियो भन्ने ठान्छ । ऊ स्वयंलाई दोषी मान्छ । तर अब उसलाई के महसुस हुन्छ भने उसकी आमाको निस्वार्थ बलिदान एक यस्तो समयको प्रतीक थियो, जबकि प्रेम, बफादारी, आत्मत्याग अझै पनि जीवित थिए । ऊ सोच्छ, पार्टीले यस्ता सबै भावनात्मक मूल्यलाई मेटाइदिएको छ । कनिक तिनीहरू पार्टीको पूर्ण नियन्त्रणमा अवरोध बन्छन् । अब केवल भय, घृणा र अन्धभक्ति मात्र बाँकी रहेको छ । विन्स्टनलाई लाग्छ, भविष्यको आशा केवल प्रोल्स नै हुनसक्छन् । किनकि तिनीहरू अझै पनि मानवीय भावनाले भरिएका छन्, भलै उनीहरू राजनीतिक रूपले जागरुक छैनन् । विन्स्टनको लागि विद्रोहको अर्थ केवल सत्तासँग असहमति मात्र नभएर मानवीयताको रक्षा गर्नु पनि हो ।

विन्स्टन र जुलिया ओब्रायनको निमन्त्रणामा पहिलो पटक उसको घरमा जान्छन् । ओब्रायनको फ्ल्याट पार्टीका उच्च अधिकारीहरूकै जस्तो भव्य र सुसज्जित छ । त्यहाँ पर्खालमा टेलिस्क्रीन रहेको छ तर ओब्रायन त्यसलाई अस्थायी रूपमा बन्द गरिदिन्छ, जुन आम नागरिकको लागि सम्भव हुँदैन । यसले के सङ्केत गर्छ भने ओब्रायनसँग विशेष अधिकार छ र उसको पार्टीभित्र गहिरो स्थान छ । अब ओब्रायनले विन्स्टन र जुलियालाई पार्टी विरोधी गोप्य सङ्गठन ‘ब्रदरहुड’ को अस्तित्वको बारेमा बताउँछ । उसले भन्छ, ‘ब्रदरहुड’ को स्थापना इम्यानुइल गोल्डस्टिनले गरेको थियो । उसलाई पार्टीले आफ्नो मुख्य शत्रु बताउँछ । अब विन्स्टन र जुलियाले ओब्रायनको सामुन्ने आफूहरू ‘ब्रदरहुड’ मा सामेल हुनचाहेको कुरा स्वीकार गर्छन् । र, पार्टीलाई समाप्त गर्नको लागि जेसुकै गर्न तयार रहेको कुरा पनि बताउँछन् । ओब्रायन उनीहरूलाई धेरै गहन र कठोर प्रश्न सोध्छ; के तिमीहरू हत्या गर्न सक्छौं ? निर्दोष व्यक्तिको ज्यान लिन सक्छौं ? तिमीहरू आत्महत्यासम्मको लागि तयार हुनसक्छौं ? विन्स्टनले धेरैजसो कुरामा सहमति जनाउँछ तर एउटा कुरालाई लिएर ऊ अस्वीकार गर्छ; त्यो आफू र जुलिया अलग हुने कुरा थियो । ओब्रायनले उनीहरूलाई एउटा गोल्डस्टिनको किताब दिने बाचा गर्छ, जसमा पार्टीको वास्तविक कार्यप्रणाली, यसको नियन्त्रणको तरीका र ‘ब्रदरहुड’ का विचार विस्तारपूर्वक दिइएको छ । विन्स्टन र जुलिया व्यक्तिगत विद्रोहबाट अगाडि बढेर अब सङ्गठित र वैचारिक विद्रोहतिर अगाडि बढ्छन् । अब यहाँ व्यक्तिगत विरोधले अव्यवस्थित क्रान्तिको रूप लिन लाग्छ ।

ओब्रायनको भूमिका रहस्यमै हुन्छ तर विन्स्टन र जुलियाको लागि ऊ आशा र दिशा दुवै प्रतीत हुन्छ । विन्स्टनले ओब्रायनले दिएको इमानुयल गोल्डस्टिनको पुस्तक पढ्छ । ऊ यो किताब भाडाको कोठामा एकान्तमा बसेर पढ्छ । बाहिर ‘हेट विक’ को जुलुस र नाराबाजी चलिरहेको हुन्छ । पुस्तकमा लेखिएको छ, ‘जसले अतीतलाई नियन्त्रित गर्छ, उसले भविष्यलाई पनि नियन्त्रित गर्छ र जसले वर्तमानलाई नियन्त्रित गर्छ, उसले अतीतलाई पनि नियन्त्रित गर्छ ।’ गोल्डस्टिनको पुस्तकमा पार्टीको शासनका तीन स्तम्भ व्याख्या गरिएको छ; निरन्तर युद्ध, जनताको अज्ञानता र सत्ताको लागि शक्ति । के बताइन्छ भने तीन महाशक्ति ओसिनिया, युरेशिया र ईस्ट एशिया सधैं युद्धमा छन् । तर युद्धको उद्देश्य जित्नु होइन, बरु जनतालाई व्यस्त र नियन्त्रित राखिराख्नु हो । पार्टीको लक्ष्य सत्ता प्राप्त गर्नु मात्र होइन, बरु सधैंको लागि सत्तामा रहनु हो । गोल्डस्टिनको पुस्तकमा यो कुरा पनि लेखिएको छ – आन्तरिक पार्टी, बाह्य पार्टी र प्रोल्स तीनै वर्गको संरचना कृत्रिम रूपले बनाइएको हो, ताकि वर्गसङ्घर्ष कहिल्यै समाप्त नहोस् । सत्ता कायम राख्नको लागि पार्टीको मुख्य हतियार दोहोरो विचार हुन्छ । यो एक यस्तो मानसिक स्थिति हो, जसमा कुनै व्यक्तिले दुई परस्पर विरोधी कुरालाई एकसाथ साँचो मान्न सक्छ । जस्तो कि, युद्ध शान्ति हुन्छ, स्वतन्त्रता दासता हुन्छ र अज्ञानता शक्ति हुन्छ । यसरी पार्टीले शारीरिक नियन्त्रण मात्र चाहँदैन, बरु मानसिक यथार्थलाई पनि नियन्त्रित गर्न चाहन्छ । यो सच्चाईलाई आफ्नो इच्छा अनुसार परिभाषित गर्ने शक्ति हो । यहाँ सत्ता शासन मात्र हुँदैन, यो सोच, भाषा, इतिहास र सच्चाईसम्म पुग्छ ।

गोल्डस्टिनको पुस्तकले विन्स्टनको लागि अहिलेसम्मका सबै शङ्काको पुष्टि गर्छ । अब विन्स्टन र जुलिया त्यो भाडाको कोठामा सँगै छन्, जहाँ उनीहरूले आफ्नो सम्बन्धलाई सुरक्षित मान्दै आएका थिए । त्यो कोठालाई उनीहरूले पार्टीको निगरानीभन्दा पर एक शरणस्थल ठानेका थिए । अब यसले उनीहरूको भ्रमलाई तोडिदिन लागेको छ । उनीहरू शान्त वातावरणमा बसेका छन् । यही बेलामा अचानक कोठाको पर्खालबाट एउटा गोप्य टेलिस्क्रीनको आवाज आउँछ । यो टेलिस्क्रीन अहिलेसम्म लुकाइएको थियो । अब दुवैलाई आफ्नो स्थानबाट नहल्लिने आदेश दिइन्छ । विन्स्टन र जुलिया स्तब्ध हुन्छन् । कोठामा सशस्त्र सैनिक पस्छन् र उनीहरूलाई पक्राउ गरिन्छ । यो कोठा भाडामा दिने बूढो दोकानदार चारिङ्गटन पनि पार्टीको एक एजेन्ट हुन्छ । उसले आफ्नो भेष बदलेर उनीहरूलाई भ्रममा राखेको थियो । यो सबै खबर ओब्रायनले पाएको थियो । यो सम्पूर्ण योजनाको उद्देश्य विन्स्टन र जुलियालाई पार्टी विरोधी गतिविधिमा फसाउनु थियो । अब यहाँ पार्टीको निगरानीबाट कुनै पनि ठाउँ सुरक्षित छैन भन्ने कुरा पुष्टि भयो । प्रेम, स्वतन्त्रता र निजताको आशा गरिएको ठाउँमा नै सबभन्दा ठूलो विश्वासघात लुकेको थियो ।

भाग तीन : यातना, नियन्त्रण र आत्मसमर्पण

अब विन्स्टन र जुलियालाई मन्त्रालयको नियन्त्रण कक्षमा ल्याइन्छ, जहाँ उनीहरूले पार्टीको कडा दमनको सामना गर्नुपर्छ । अहिलेसम्म एक-अर्कोसँग रहेका विन्स्टन र जुलियालाई शारीरिक र मानसिक यातनाको सामना गर्नको लागि प्रेम मन्त्रालयको एउटा छुट्टै कोठामा बन्द गरिन्छ । विन्स्टनलाई पार्टीका अधिकारीहरूद्वारा अत्याधिक शारीरिक यातना दिइन्छ, जसको उद्देश्य उसलाई पूर्ण रूपमा पार्टीको नियन्त्रणमा ल्याउनु हो । विन्स्टनको मानसिक स्थिति लगातार बिग्रिंदै जान्छ । उसले स्वयंलाई एउटा कोठामा पाउँछ, जहाँ ऊ बिल्कुल एक्लो हुन्छ । तर उसलाई पछि कोठा नं. १०१ को बारेमा बताइन्छ । त्यो यस्तो ठाउँ हो, जहाँ मानिसले सबभन्दा भयानक स्थितिको सामना गर्नुपर्ने हुन्छ । विन्स्टनलाई यहाँ मुसाको डर हुन्छ, जुन उसको सबभन्दा ठूलो मानसिक कमजोरी हो । अब उसलाई पार्टीले आफ्नो आत्मालाई पनि संशोधन गर्न सक्छ भन्ने महसुस हुन्छ । विन्स्टन यहाँ सत्ताको हातमा मानसिक दमनमा रहेको छ । उसले आफ्नो पहिचान गुमाइसकेको छ र पार्टीको सामुन्ने उसको आत्मा पूर्ण रूपमा विनष्ट भइसकेको छ ।

विन्स्टनको यातना र पार्टीको दमनको एउटा नयाँ क्रम शुरुवात हुन्छ । विन्स्टनलाई अब कोठा नं. १०१ मा ल्याइन्छ, जहाँ उसले सबभन्दा ठूलो भयको सामना गर्नुपर्ने हुन्छ । त्यो कोठामा उसले अब पूर्ण रूपमा पार्टीको नियन्त्रणमा आइसकेको महसुस गर्छ । यो कोठा आत्मिक र शारीरिक रूप नष्ट गर्ने स्थान बनिसकेको छ । यहाँ प्रत्येक व्यक्तिलाई आफ्नो सबभन्दा भयानक सन्त्रासको सामना गराइन्छ । विन्स्टनलाई मुसादेखि धेरै डर लाग्छ । पार्टीद्वारा यो भयको प्रयोग गरेर उसको सामु मुसा ल्याएर उसलाई पूर्ण रूपमा विक्षिप्त बनाइन्छ । यहाँ ऊ मुसाहरूको सन्जाललाई देखेर आफ्नो आत्मालाई आन्तरिक रूपमा नष्ट भइरहेको महसुस गर्छ । अब ऊ आफ्ना सबै विश्वासलाई छोडेर एउटा शर्तमा आत्मसमर्पण गर्छ । अब ऊ जुलियालाई धोका दिनसक्छ, किनकि उसलाई अब के महसुस भइसकेको छ भने उसको आत्मसम्मान र व्यक्तित्व पार्टीको मर्जी अनुसार बदलिसकेको छ । पार्टीको उद्देश्य केवल शारीरिक यातना मात्र थिएन, बरु मानसिक रूपले विक्षिप्त बनाएर व्यक्तिलाई पार्टीप्रति पूर्ण भक्तिमा ढाल्नु पनि थियो । यसपछि मानव आत्मामाथि पूर्ण नियन्त्रण गरिन्छ ।

विन्स्टनको आत्मसमर्पण पार्टीको लागि एउटा ठूलो विजय हुन्छ तर यससँगै विन्स्टनको सम्पूर्ण पहिचान र मानवतालाई पनि नष्ट गरिन्छ । विन्स्टनको मानसिक र शारीरिक परिवर्तनको प्रक्रिया पूरा भइसकेको हुन्छ । ऊ पार्टीद्वारा गरिएको दमन र मानसिक यातनापछि पूर्ण रूपले विक्षिप्त भइसकेको हुन्छ । अब ऊ पार्टीका विचार र नियन्त्रणलाई स्वीकार गर्छ । अब उसको संसार केवल पार्टीका आदेश र विचारहरूको वरिपरि घुम्छ । विन्स्टनको जीवन अब एक सशक्त र कठोर द्वैध विचारको स्थितिमा बदलिसकेको छ । उसलाई सच्चाईको कुनै स्थिर रूप हुँदैन बरु सच्चाई पार्टीले बताएको कुरा हो भन्ने कुरा सिकाइएको छ । अब ऊ पार्टीको वास्तविकतालाई नै सच्चाई मान्छ । पहिले सोचेको कुरा उसलाई अब निरर्थक लाग्छ । यो प्रक्रियाले अब पूर्ण रूपले उसलाई भङ्ग बनाइसकेको छ ।

विन्स्टनले आन्तरिक रूपमा आफूलाई मृत्युको निकट पुगेको महसुस गर्छ । अब उसको मानसिकता पूर्ण रूपमा बदलिसकेको छ । ऊ पहिले अस्वीकार गरिएका विचारलाई स्वीकार गर्छ । ऊ पार्टीको लागि स्वयंलाई समर्पित गर्नको लागि तयार छ, किनकि उसले अब पार्टीको शक्तिले नै सबै वास्तविकताको निर्धारण गर्छ भन्ने कुरा बुझिसकेको छ । विन्स्टनको सामना अब सच्चाईको पुष्टिसँग हुन्छ, जसले उसलाई पूर्ण रूपमा विनष्ट गर्ने प्रक्रियामा पुर्‍याइदिन्छ । अब ऊ पार्टीको सच्चा अनुयायी बनिसकेको छ । पार्टीका नीतिहरूलाई पूर्ण रूपमा स्वीकार गर्छ ।
विन्स्टनले आफूभित्रका सबै विरोधहरूलाई स्वीकार गर्छ । पार्टीको विचारविरुद्ध ऊ कुनै पनि दृष्टिकोण राख्दैन । उसको लागि अब सच्चाई त्यही हुन्छ, जुन पार्टीले निर्धारित गर्छ । सच्चाईको कुनै स्थायी रूप हुँदैन, बरु पार्टीले भनेको कुरा नै साँचो हुन्छ भन्ने कुरा पनि उसले बुझ्नलागेको छ । यो बुझाईले उसको मानसिक स्थितिलाई पूर्ण रूपमा बदलिदिन्छ । पार्टीले नै उसको अस्तित्वलाई निर्धारित गर्छ भन्ने कुरा उसलाई थाहा भइसकेको छ । यसरी पार्टीको दमनबाट एउटा व्यक्तिको अस्तित्व पूर्ण रूपमा बदलिन्छ । विन्स्टनको मानसिक यात्राको अन्त्य हुन्छ, जहाँ उसले आफ्ना सम्पूर्ण मूल्य र विश्वासलाई त्यागिदिन्छ र पार्टीको अधिकारलाई पूर्ण रूपमा स्वीकार गर्छ ।

विन्स्टनको यात्राले अब एउटा अर्को महत्वपूर्ण मोड लिन्छ । ऊ अब पूर्ण रूपले पार्टीको नियन्त्रणमा छ । उसको मानसिक स्थितिले अब पार्टीको विरुद्धमा सोच्ने कल्पना पनि गर्नसक्दैन । एक समयमा स्वतन्त्रता र सच्चाईको बारेमा व्यक्त गरिएको विन्स्टनको विचार अब शून्य भइसकेको छ । विन्स्टन अब पार्टीको आदेश अनुसार पहिले सिकिएका र सोचिएका कुराहरूलाई पूर्ण रूपमा नकार्छ । उसले पार्टीको सिद्धान्त अनुसार स्वयंलाई समर्पित गरिसकेको छ । उसको लागि अब कुनै अर्को मार्ग छैन । उसले आफ्नो पहिचानलाई पूर्ण रूपमा भुलिसकेको छ । उसको भूतकालको कुनै पनि स्वतन्त्र विचार अब निरर्थक हुन्छ । अब ऊ हरेक विचार, हरेक निर्णय र हरेक पार्टीका आदेश र विचारधाराबाट निर्धारित गर्छ । उसको व्यक्तिगत स्वतन्त्रता अब पार्टीको अधीनमा छ । पार्टीप्रति आफ्नो निष्ठालाई पूर्ण रूपमा स्वीकार गर्छ । विन्स्टन अब ती सबै विरोधाभासी विचारबाट मुक्त भइसकेको छ, जसले उसलाई कुनैबेला पार्टीको विरुद्ध सोच्नको लागि प्रेरित गर्थे । अब ऊ पार्टीलाई पूर्ण रूपले आफ्नो मालिक मान्छ र कुनै पनि असहमतिलाई नष्ट गरिदिन्छ । उसका सबै भावना र विचार पार्टीका आदेश र दृष्टिकोण अनुसार हुन्छन् । उसका मानसिक संवेदनाहरू नष्ट भइसकेका छन् र ऊ एक नयाँ प्रकारको मानिस बनिसकेको छ ।

अब विन्स्टनको कथा अन्तिम चरणतिर अगाडि बढ्छ, जहाँ पार्टीको शक्ति र विज्ञान एकजुट हुने भयानक तस्विर सामुन्ने आउँछ । विन्स्टनको जीवन अब पूर्ण रूपमा पार्टीका आदेश र विचार अन्तर्गत चलिरहेको छ र अब ऊ कुनै पनि स्वतन्त्र विचारबाट मुक्त छ । विन्स्टनको लागि पार्टीको आदेश र पार्टीको सच्चाई नै उसको अस्तित्वको मूल आधार बनिसकेको छ । ऊ कुनै पनि विरोधी विचारधाराबाट टाढा भइसकेको छ । अब विन्स्टनका भूतकालका सबै कष्ट र स्मरण मेटिइसकेका छन् । उसको वर्तमान केवल पार्टीको वर्तमान सत्तालाई स्वीकार गर्नु हुन्छ । यहाँ पार्टीसमक्ष व्यक्तिगत स्वतन्त्रताको कुनै स्थान छैन । यसरी विन्स्टनको पहिचान पूर्ण रूपमा पार्टीसँगै समाहित भइसकेकोपछि उपन्यासको अन्त हुन्छ ।

सन्दर्भ स्रोतहरू

1. Orwell, George. Nineteen Eighty-Four. Secker & Warburg, 1949.
2. Hitchens, Christopher. Why Orwell Matters. Basic Books, 2002.
3. Orwell, George. Collected Essays, Journalism and Letters, Volume IV: In Front of Your Nose 1945–1950. (Edited by Sonia Orwell and Ian Angus)
4. Orwell, George. Collected Essays, Journalism and Letters. Ed. Sonia Orwell and Ian Angus.
5. Atwood, Margaret. “Orwell and Me”, The Guardian, 2003.
6. The Guardian, “Nineteen Eighty-Four sales soar after NSA leaks,” June 2013.
7. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.
8. https://www.planetebook.com/free-ebooks/1984.pdf