मिखाइल नाइमी

मिखाइल नाइमीको जन्म सन् १८८९ मा भएको थियो । उनी मध्यपूर्वी देश लेबनानको समुद्री तट नजिकैको एउटा गरिब किसान परिवारमा जन्मिएका थिए । परिवार ईसाई धर्म मान्थ्यो । स्कूलको उत्कृष्ट विद्यार्थी भएको फलस्वरूप उनले छात्रवृत्ति पाए । त्यसको सहयोगमा १९०६ देखि १९११ सम्म, पाँच वर्ष रुसमा उच्च शिक्षा अध्ययन गरे । त्यसपछि फेरि लेबनान फर्किए । केही महिना त्यहाँ बिताएपछि संयोगवश उनलाई अमेरिका जाने अवसर मिल्यो । थप अध्ययनको लागि उनी अमेरिका गए । त्यहाँ उनको परिचय आफ्नै देशका प्रख्यात लेखक खलिल जिब्रानसँग भयो । जससँग उनले आफ्नो मातृभाषा र अरबी साहित्यलाई नयाँ जीवन दिन गतिशील आन्दोलनको सुरुवात र नेतृत्व गरे । नाइमी १९३२ मा आफ्नो देश फर्के । त्यसपछि आफ्नो बाँकी जीवन त्यहीं बिताए । सन् १९८८ मा उनको मृत्यु भयो ।

नाइमीले १९४६-४७ मा ‘द बुक अफ मिर्दाद’ लेखे । त्यसपछि यसलाई अरबीमा अनुवाद गरे । मूल अंग्रेजी भाषामा पहिलो पटक सन् १९४८ मा लेबनानको राजधानी बेरुतमा प्रकाशित भएको थियो । यसको अरबी अनुवाद सन् १९५२ मा त्यहीं प्रकाशित भएको थियो ।

मिखाइल नाइमीका दुई दर्जनभन्दा बढी पुस्तकहरूमध्ये, पश्चिमी पाठकहरूमाझ यो सबैभन्दा धेरै रुचाइएको पुस्तक हो । नाइमी आफैं पनि यसलाई आफ्नो उत्कृष्ट कृति मान्थे ।

 

अध्याय चार

मानिस कपडाले बेरिएको ईश्वर हो

मानिस कपडाले बेरिएको ईश्वर हो । समय, अन्तरिक्ष र शरीर सबै शाखा हुन् । इन्द्रिय र वस्तुहरु उनीहरु मार्फत प्रकट हुन्छन् । आमालाई राम्ररी थाहा छ । शाखाहरू सन्तान होइनन् । तर सन्तानलाई यो थाहा छैन ।

हिजोआज मानिसले आफ्ना शाखाहरूलाई धेरै ध्यान दिन थालेका छन् । जुन हरेक दिन र युगमा परिवर्तन भइरहन्छ । उसको चेतना निरन्तर परिवर्तन हुन्छ । चेतना ईश्वरको कर्म हो । त्यसैले, उनका शब्द अर्थहरू कहिल्यै स्पष्ट र निश्चित हुँदैनन् । उनको अन्तस्करण बादलले ढाकेको छ । र त उनको जीवन असन्तुलित छ । यो एउटा ठूलो समस्या हो ।

मानिस सहायताको लागि प्रार्थना गर्छ । यसको पुकार अनादिकालदेखि नै गुन्जिरहेको छ । उसको विलापले वायु दूषित भएको छ । नुनिलो आँसुले समुन्द्र झन् नुनिलो भएको छ । उनीहरूको चिहानले पृथ्वीलाई कुण्ठित र त्रसित बनाएको छ । प्रार्थनाले स्वर्ग बहिरो भएको छ । उसले आफ्नो ‘म’ को अर्थ बुझेको छैन । जो उसको शाखा र उसैमा बेरिएको सन्तान हो ।

‘म’ भन्दै गर्दा, मानिसले शब्दलाई दुई भागमा बाँड्छ । पहिलो, उसको शाखा । दोस्रो, ईश्वरको अमर अस्तित्व । के ! मानिसले अविभाज्यलाई विभाजित गर्न सक्छ ? यस्तो नहोस् । कुनै शक्तिले अविभाज्यलाई विभाजन गर्न सक्दैन । ईश्वरको शक्तिले पनि सक्दैन ।

मानिस अपरिपक्क छ । र त ऊ विभाजनको कल्पना गर्छ । मानिस एक बालक हो । अनन्त अस्तित्वलाई आफ्नो अस्तित्वको शत्रु मान्छ । लडाइँको लागि कम्मर कस्छ । युद्धको घोषणा गर्छ ।

युद्धमा मानिसले आफ्नो मासु टुक्रा टुक्रा पार्छ । रगतको खोला बगाउँछ । तर ईश्वर ! जो आमा र बुवा दुबै हुन् । उनी सबैलाई स्नेहले हेर्छन् । उनी राम्रोसँग जान्दछन्, मानिसले आफ्नो बाक्लो पर्दाहरू मात्र च्यातिरहेको छ । तीतो पित्तलाई जताततै बगाइरहेको छ । जसको लागि जो कोहीलाई मारिरहेको छ ।

लड्नु । रगत बगाउनु । बेहोश हुनु । अन्तमा व्युँझेर ‘म’ भित्रको दरारलाई आफ्नो मासुले बेर्नु । त्यसलाई रगतले लिपपोत गर्नु जस्ता काम मानिसको नियमित बानी हो ।

साथीहरू हो ! तिमीहरूलाई सावधान गरिएको छ । बुद्धिमानी अनि सावधानीपूर्वक ‘म’ को सकेसम्म कम प्रयोग गर्नू । जबसम्म ‘म’ भनेको शाखा र उनीहरूमा बेरिएको बालक मात्र बुझ्छौ, तबसम्म यो तिम्रो लागि नियमित बानी बन्छ । यो तिम्रो बानी निखार्ने धातु भने होइन । तिमी आफ्नो व्यर्थको घमण्डलाई छान्ने काम जारी राख्नेछौ । अन्ततः यसले जन्माएको सबै पीडा सहित केवल मृत्युलाई जम्मा गर्नेछौ ।

 

अध्याय पाँच

ईश्वर र मानिसको वचन

मिलन ईश्वरको वचन हो । उनी जे पनि सृष्टि गर्न सक्छन् । सबैलाई एउटै वस्तुमा मिलाउन सक्छन् । त्यसलाई न असलको रूपमा स्वीकार, न त खराबको रूपमा नै अस्वीकार गर्छन् । ईश्वरीय ज्ञानले पूर्ण भएकोले सजिलै बुझ्छ कि सृष्टिको एउटा भागलाई अस्वीकार गर्नु भनेको सम्पूर्णलाई अस्वीकार गर्नु हो । सम्पूर्णलाई अस्वीकार गर्नु भनेको आफैंलाई अस्वीकार गर्नु हो । त्यसैले यसको उद्देश्य र नियत सधैं एउटै रहन्छ ।

छलकपट मान्छेको शब्द हो । ऊ जे बनाउँछ त्यसलाई द्वन्द्वमा हाल्छ । कसैलाई आफ्नो मित्रको रूपमा त कसैलाइ शत्रुको रूपमा अस्वीकार गर्छ । प्रायः हिजोको मित्र आजको शत्रु हुन्छ । आजको शत्रु भोलिको मित्र ।

मानिस आफू विरुद्ध क्रूर र अर्थहीन युद्धको बीज रोप्छ । उसमा पवित्र शक्तिको अभाव छ । यही अभावले उसलाई झस्काउँछ कि, ऊ र उसको सृष्टि एक हुन् । शत्रुलाई त्याग्नु भनेको मित्रलाई त्याग्नु हो । किनभने ‘शत्रु’ र ‘मित्र’ दुवै शब्द उनकै सृष्टि हुन् । उनको ‘म’ को सृष्टि ।

जुन वस्तुलाई घृणा गर्छौ । खराब भनी त्याग्छौ । त्यसलाई अरू कसैले असलको रूपमा ग्रहण गर्छ । के, एउटै वस्तु एकै समयमा दुई विपरीत हुन सकछ ?

न ऊ एक हो ? न त दुई ? तिम्रो ‘म’ ले उसलाई खराब बनाएको छ । अरू ‘म’ ले असल बनाएको छ ।

जसले सृष्टि गर्न सक्छ, उसैले विनास गर्न सक्छ । जसरी कसैलाई शत्रु बनाउँछौ, त्यसरी नै उससँगको शत्रुता मेटाउन सक्छौ । शत्रुलाई मित्र बनाउन सक्छौ । यसका लागि तिम्रो ‘म’ बन्नु पर्छ । यसका लागि दिव्य ज्ञान चाहिन्छ ।

फेरि पनि म तिमीलाई भन्छु, यदि कुनै चीजको लागि प्रार्थना गर्छौ भने, केवल ईश्वरीय ज्ञानको लागि प्रार्थना गर ।

मेरा साथीहरू हो ! कहिल्यै फिल्टर नबन । ईश्वरको वचन जीवन हो । जीवन मिलन हो । जसमा सबै चीज अविभाज्य बन्छन् । सबै कुरा पूर्णतया सन्तुलित छन् । यसको सृष्टिकर्ता पवित्र चीजहरूको लागि योग्य छ । कति धेरै चीज तिम्रो लागि योग्य छन् ।

मेरा साथीहरू हो ! कहिल्यै फिल्टर नबन । जब तिम्रो व्यक्तित्व महान् र सर्वव्यापी बन्छ, तब तिमीलाई भित्र राख्न सक्ने कुनै अज्ञान भेटिनेछैन ।

मेरा साथीहरू हो ! कहिल्यै फिल्टर नबन । पहिले शब्द सिक । तिमी आफ्नो शब्द जान्न सक्छौ । जब तिमीले आफ्नो शब्द जान्छौ, तब आफ्नो अज्ञानता आगोमा अर्पण गर्नेछौ । तिम्रो वचन र ईश्वरको वचन एउटै हो । फरक यति हो कि, तिम्रो वचन अझै पर्दा पछाडि लुकेको छ ।

ईश्वरको वचनको लागि समय र स्थानको कुनै अस्तित्व छैन । के त्यहाँ कुनै समय थियो ? जब तिमी ईश्वरसँग थियौ । के त्यहाँ कुनै ठाउँ छ ? जहाँ तिमी ईश्वरमा छैनौ ? त्यसो हो त अनन्तकाललाई किन काल र ऋतुको साङ्लोमा बाँध्छौ ? इन्च र माइलमा किन सीमाना तोक्छौ ?

परमात्माको वचन त्यो जीवन हो, जुन जन्मिएको छैन । त्यसैले यो अविनाशी छ । त्यसोभए तिम्रो वचन किन जन्म र मृत्युमा लपेटिएको ? के तिमी ईश्वरको जीवनमा बाँच्न सक्दैनौ ? जो मृत्युबाट मुक्त छ, त्यो कहिल्यै मृत्युको स्रोत हुन सक्छ ?

ईश्वरको वचनले सबै वस्तुको मिलन गराउँछ । यसभित्र कुनै बाधा वा साङ्लो छैन । त्यसोभए तिम्रो वचन किन बाधा र साङ्लोले बाँधिएको ?

म तिमीलाई भन्छु । तिम्रो हड्डी र मासु तिम्रो मात्र होइन । तिम्रो हातसँगै अन्य हातहरू पनि धर्ती र आकाशको एउटै भाँडोमा डुब्छन् । जहाँबाट तिम्रो हड्डी र मासु आउँछन् र फर्किन्छन् ।

न त तिम्रो आँखाको ज्योति नै तिम्रो मात्र ज्योति हो । सूर्यको ज्योति सबैको ज्योति हो । ममा उज्यालो नभएको भए तिम्रो आँखाले मलाई देख्न सक्थ्यो ? यो मेरो ज्योति हो, जसले मलाई तिम्रो आँखामा देख्छ । यो तिम्रो ज्योति हो, जहाँ मेरो आँखाले तिमीलाई देखाउँछ । म पूर्ण अन्धकारमा छु र तिमीले मलाई हेर्यौ भने, तिम्रो आँखामा पनि पूर्ण अन्धकार हुनेछ ।

न त तिम्रो फोक्सोको सास तिम्रो मात्र सास हो । एक पटक सास फेर्ने सबैले तिम्रो फोक्सोमा सास फेरिरहेका छन् । के आदमको सासले तिम्रो फोक्सो भरिरहेको छैन ? के यो आदमको हृदय होइन ? जुन अझै पनि तिम्रो हृदयभित्र धड्किरहेको छ ?

न त तिम्रो विचार तिम्रो आफ्नै हो ? मानव सागरले दावी गर्छ कि यी विचारहरू आफ्नै हुन् । तिमीसँग जोडिएका अन्य विचारधाराका प्राणीहरूले पनि यही दावी गर्छन् । न त तिम्रो सपना मात्र तिम्रो हो ? सारा ब्रह्माण्डले तिम्रो सपनामा आफ्नो सपना देखिरहेका छन् ।

न त तिम्रो घर तिम्रो मात्र हो ? यो तिम्रो पाहुनाको घर हो । त्यो झिंगा, त्यो मुसा, त्यो बिरालो र तिमीसँग भएका ती सबै प्राणीहरूको पनि ।

त्यसोभए सावधान रहनू । तिमीले पर्खालभित्र भ्रम मात्रै हुल्छौ र सत्यलाई पर्खालबाहिर फाल्छौ । जब आफूलाई पर्खालभित्र देख्न थाल्छौ, तब मृत्युलाई आफ्नो अगाडि उभिएको पाउँछौ । जुन भ्रमको अर्को नाम हो ।

मेरा प्यारा साथीहरू हो ! ईश्वरबाट कोही अलग हुन सक्दैन । उनी पनि आफ्ना सँगी, मानव तथा अन्य प्राणीहरूबाट अलग हुन सक्दैनन् । उनीहरू पनि शब्दबाटै उत्पन्न भएका हुन् ।

शब्द सागर हो । तिमी बादल हौ । यदि सागर नै नभए बादल हुन सक्छ ? निस्सन्देह, त्यो बादल एउटा मूर्ख हो । जसले आफ्नो रूप र अस्तित्वलाई सदाको लागि आकाशमा झुन्ड्याउने प्रयासमा जीवन बर्बाद गर्न चाहन्छ । अधुरो आशा र तीतो घमण्डबाहेक उसले आफ्नो मुर्खतापूर्ण परिश्रमबाट अर्को के फल पाउन सक्छ ? ऊ आफूलाई गुमाउँदैन भने, आफूलाई भेट्टाउन पनि सक्दैन । ऊ मर्दैन र बादल नै रहिरहन्छ भने, उसले आफू भित्रको सागर भेट्टाउन सक्दैन । जुन उसको एकमात्र अस्तित्व हो ।

मानिस एउटा बादल हो । जसले ईश्वरलाई बोक्छ । यदि ऊ आफैंबाट खाली हुँदैन भने, आफूलाई भेट्टाउन सक्दैन । आहा ! खाली हुनु कस्तो आनन्दको कुरा !

सदाको लागि आफ्नो वचन गुमाएनौ भने, तिमीले शब्द बुझ्न सक्दैनौ । जो तिमी छौ । जो तिम्रो ‘म’ हो । आहा ! हराउनुमा कति आनन्द !

म तिमीलाई फेरि भन्छु । ईश्वरीय ज्ञानको लागि प्रार्थना गर । जब तिमीभित्र दिव्य ज्ञान प्रकट हुन्छ, तब ईश्वरको विशाल राज्यमा केही पनि हुनेछैन । जसले तिम्रो प्रत्येक ‘म’ लाई खुसीले चिच्याउँदा पनि जवाफ दिँदैन ।

अन्ततः मृत्यु तिम्रो हातको एउटा हतियार मात्र हुनेछ । जसबाट तिमी मृत्युलाई हराउन सक्छौ । त्यसपछि जीवनले तिम्रो हृदयलाई असीम हृदयको चाबी दिनेछ । त्यो प्रेमको सुनौलो चाबी हो ।

शमदाम: भाँडाकुँडा सफा गर्नको लागि एउटा झोला र कुखुराबाट यति धेरै बुद्धि निस्कन सक्छ भनेर मैले सपनामा पनि कल्पना गरेको थिइनँ । (उनी मिर्दादको नोकर बन्ने संकेत थियो । )

मिर्दाद: ज्ञानीहरूको लागि बुद्धि हीराको भण्डार हो । अज्ञानीहरूका लागि बुद्धि मूर्खताको घुम्टो हो ।

शमदाम: तपाईंको जिब्रो साँच्चै नै निकै चलाख छ । यो अचम्मको कुरा हो । यसलाई यति लामो समयसम्म कसरी नियन्त्रण गर्नुभयो ? तर तपाईंका शब्दहरू निकै कठोर र बुझ्न नसकिने छन् ।

मिर्दाद: मेरो शब्द सरल छ शमदम ! बरू तिम्रो कानले कठोर सुन्छ । अभागी उही हो, जो सुनेर पनि सुन्दैन । अभागी ती हुन्, जो देखेर पनि देख्दैनन् ।

शमदाम: मैले धेरै सुनेको छु । देखेको छु । सायद आवश्यकता भन्दा अलि बढी । तैपनि शमदाम र मिर्दाद दुबै एउटै हो भन्ने बकवास कुरा चाहिँ सुनेको छैन । मालिक र सेवकमा कुनै भिन्नता छैन भनी कसरी पत्याउँ ?