विराटनगर आज फेरि डुबेको थियो । नालामा पानी मात्र होइन, फोहोर र प्लास्टिकले थुनिएको थियो । सडकभरि रहेका पानीमा चप्पल लगाएर हिँड्दा छप्लाङछप्लाङ ध्वनिले संगीतमय बनाएको थियो ।

घरमा थलिएर चिया पिइरहेको बेला मोबाइल बज्यो, इटहरीको पशुपति मोडेल अस्पतालबाट – “डाक्टर साब, एउटा इक्टोपिक प्रेगनेन्सीको केस छ,  धेरै गम्भीर छ । पठाउँदैछौं । हेरिदिनु हुन्छ ?” झरीले मेरो ढोका थुनेको थियो, थाकेको शरीरलाई केही गर्ने जाँगर थिएन । तर धेरै गम्भीर भन्ने शब्दले ढोका मात्र होइन, मनको ढक्कन पनि उघारिदिए ।

“पठाउनुहोस्,” मैले भनें । त्यो आवाज मेरै जस्तो लागेन ।

थोरै बेरमै अस्पतालमा गाडी आइपुग्यो। गुलाबी रबर सीट नै रगतले रातो भएको स्ट्रेचरमा एउटी महिला थिइन् । आधा बेहोस, आधा जिन्दगी । त्यै आधा बेहोसीले जिन्दगीलाई टेको दिइरहेको थियो उनको । उनी थिइन्– रेनु ।

तीन दिनदेखि पेट दुखिरहेको, आज बिहान अचानक अत्तालिएर इटहरीको पशुपति मोडेलमा पुगिन् । त्यहाँका डाक्टरले अल्ट्रासाउन्ड गरेपछि अण्डाबहिनी नलिमा ‘गर्भ’ बसेको र फुटेको थाहा पाउनासाथ एम्बुलेन्स बोलाएछन् ।

अल्ट्रासाउन्ड हेरें । अण्डाबाहिनी नलीमै टाँसिएको भ्रूण थियो, भ्रुण पाठेघरमा पुग्नु पर्थ्यो । तर पुग्न सकेन, अण्डाबहिनी नलीमा नै टाँसिएर बढ्न थाले । त्यसैले नल च्यातियो र च्यातिएको ठाउँबाट रगत बग्न थालेको थियो । केही रगत पेटमा, त केही योनीमार्ग हुँदै बाहिर ।

रगतको प्रत्येक थोपासँगै रगत गुमाउँदै गरेकी थिइन् । तर ब्लड बैंकमा रगत नभएको स्थिति थियो हाम्रो ।

“रगत नपाए अब केही गर्न सकिन्न,” एनेस्थेसियाले स्पष्ट शब्दमा भन्यो ।

“म व्यवस्था मिलाउँछु !”

भन्न त सजिलै गरी भनें । मिलाउन सकिएला र भन्ने पनि आफूआफैमा डराएको पनि थिएँ ।

यस्तो केस आएपछि चाहिं लाग्छ रगतको कारणले कोहीकसैको ज्यान खतरामा नपरोस् ।

“दुई युनिट त तुरुन्तै चाहिन्छ होला ।”

अत्तालिंदै म आफैसँग कुरा गर्न थालें । मेरो यो गम्भीर अरूले नदेखोस् र उनीहरूको आत्मविश्वासमा आँच नआओस् भनेर सम्हालिएँ । गोत्लिंदै गर्दा एकाएक ती दुई जना सधैं रक्तदानमा तैनाथ रहने रक्तदाताहरूलाई सम्झिएँ । हामी नामले भन्दा पनि कामले र कामले भन्दा पनि मनले चिनेका थियैं ।

एक जना थिए – प्रभात चौधरी, अर्को – हिमांशु राई । बिरामीको आवश्यक रगत समूह तिनी भाइहरू तुलना गरें । धन्न मिलेको छ । लामो श्वास फेरें । आनन्दको श्वास फेरें ।

दुवैलाई पालैपालो फोन गरें- “अहिले रगत चाहियो भाइ ! एक जना बहिनी जिन्दगी र मृत्यको सीमामा उभिएकी छिन् ।” उनीहरूले केही पनि सोधेनन्, “आउँदैछौं !” मात्र भने । शल्यकक्षको चिसो गन्ध, पोटाका रक्तपात्र, ऐनेस्थेसियाको सुई, र म- एकदम मानिस जस्तो डाक्टर !

रेनुका आँखाहरू सुत्नुअघि पनि डराइरहेका थिए, उनका नाडीहरू ओइलिएका थिए, सुस्केरा दिंदै थिए । त्यही सुस्केरालाई मैले मेरो तागत बनाएँ ।

शल्यक्रिया सफल भयो । रगतले जिन्दगीमा रङ भर्न सफल भयो । केही घण्टा लाग्यो, तर रेनु बाँचिन् ।

शल्यकक्षबाट बाहिर निस्कँदै थिएँ, एउटा झुत्रो कोटमा उभिएका व्यक्ति अचानक मेरो छेउ आइपुगे ।

उनी रेनुका श्रीमान् रहेछन् – रामबहादुर ! उमेर चालिस नाघेको जस्तो, तर आँखामा अठार वर्षे अनाथको जस्तो कलिलो र निस्वार्थ आशा झल्केको थियो । सहायताको भीख मागे जस्तो । बेसहारा ठिङरिङ उभिएको । उनी अचानक झुके । सिधै मेरो खुट्टामा टाउको राखे ।

र भने “बचाइ दिनुभयो… डाक्टरसाब, … मेरी रेनु… मेरी रेनुलाई,” उनको रुन्चे स्वरमा एक प्रकारको खुशी व्यक्त थियो ।

आँसु उनका आँखामा मात्र थिएनन्, मेरा पनि थामिएनन् । केही बोल्न सकिनँ । पानी अझै धर्किरहेकै थियो । तर त्यो झरीमा ढोगको ताप थियो । त्यो ढोग, आभारको मात्र थिएन।  त्यो ढोग, एक अपरिचित मानिसको समर्पण थियो । एउटा विश्वास थियो । अनि त्यो ढोग एउटा डाक्टरलाई ‘मान्छे’ सम्झाउने प्रमाण थियो ।