

योगेन्द्र तिमिल्सिना
खाल खालका दाह्री देखेको छु मैले । जिङ्ग्रिङ्ग परेका, काला, फुस्रा, तिलचामले, लट्टे, कोरेका, बाटेका यस्तै यस्तै । बोके दाह्री त्यस्तै एक खालको दाह्री हो । खसी नपारेको, बाख्राको छिप्पिएको पाठो वा छिप्पिएको बोकाको चिउँडा मुनि चुस्स झुन्डिने दाह्रीलाई बोके दाह्री भनेर जान्दै आएको थिएँ । आधुनिक समाजमा मानिसहरूले देखासिकी गर्दा गर्दै केही बाँकी राखेनन् । काकाको एउटा छोराले देखासिकी गरी बोकेदाह्री पाल्न थालेपछि बोकाको दाह्री पनि आजकल एउटा फेसन भए झै लाग्यो । ‘ए बाबु, किन बोके दाह्री पालिस हँ?’ भनी सोधेको त मुखभरिको जबाफ पाएँ । त्यति पनि थाहा छैन दाइ ? यो फ्रेन्च कट हो । यसले मानिसको विशेष पहिचान दिन्छ, फेरि मानिसको चिउँडो अनुसार पनि सुहाउने, नसुहाउने हुन्छ । खुल्दुली भयो, यस्तो कटबाट कसरी मानिसको विशेष पहिचान हुन्छ !
साथीभाइसँग बुझ्दै जाँदा धेरैले रमाइलो त माने तर कसैले पनि घतलाग्दो जबाफ फर्काएनन् । केही साथीहरूले भन्नुभयो, यो बोकेदाह्री नै हो तर हजामकहाँ गएर छाँट पारेर मिलाएको दाह्री हो । गाउँघरमा यसलाई बोकेदाह्री नै भन्छन् तर सहरमा त्यसो भन्न गाह्रो मान्दछन् । एउटा जबाफ यस्तो पनि थियो, हुँदा खानेको त्यस्तो दाह्रीलाई बोकेदाह्री र हुनेखानेको दाह्रीलाईचाह्रिँ फ्रेन्चकट भनिन्छ । एक जना बेरोजगार क्रान्तिकारी नेताले यस्तै नमिलाइएका बोके दाह्री पालेका थिए तर एउटा क्रान्तिकारी मन्त्रीले भने त्यस्तै दाह्रीलाई छोटो पारी मिलाएका थिए । एउटा चर्चित एफ एमका एक जना नेपाली आरजेले तिनको दाह्रीलाई फ्रेन्चकट भनिदिएपछि के चाहियो र ! मलाई मुखभरिको जबाफ मिल्यो ।
अब मेरो दिमाग घुम्न थाल्यो । नेपालको मौलिक बोकेदाह्री कसरी फ्रेन्चकट भयो । हुन सक्छ फ्रान्सेलीहरू बडो चलाख हुन्छन्, हाम्रो मौलिक बोकेदाह्री कति छिटै सुटुक्क चोरेर फ्रान्स पुऱ्याएछन् ! त्यसलाई मोडल बनाएर आफ्नै मौलिक नाम पो दिइसकेछन्, फ्रेन्चकट ।
मेरो काकाको छोरो जने उर्फ जनकप्रसाद शर्मा होमागाईँ ‘दिवाकर’ समानुपातिकको कोटाबाट फ्याट्ट संस्कृति तथा पर्यटन मन्त्री पो भइदियो । लौ भएन त पहिचान, उसको विशेष पहिचानले नै त ऊ मन्त्री भएको हो ! फ्रेन्चकट दाह्री, विशेष पहिचान !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










