कुर्सी खाली थियोे । त्यस कुर्सीमा बस्न कुर्सीको वरिपरि केही मान्छेहरूबीच हानथाप र घम्साघम्सी चलिरहेथ्यो ।

तर कुर्सी भने एकदम रिसाइरहेको थियो र कसैलाई पनि आफू नजिकै आउन मनाही गरिरहेको थियो ।

सबैजना आश्चर्यमा परेर कुर्सीलाई टाढैबाट नियालिरहेका थिए ।

वातावरण एकदम तनावपूर्ण देखिन्थ्यो ।

” तिमीहरू ममाथि धेरै पटक बस्यौ । जतिपटक बस्यौ आफ्नै स्वार्थमा लिप्त भयौ । दशकौँसम्म मेरो गरिमाको अपमान र बेइज्जत मात्रै गर्यौ । मैले कति सहनु त्यो अपमान ? त्यसैले ममाथि तिमीहरूको छायासम्म पनि पार्न चाहन्नँ । अब तिमीहरूको त्यो रक्तरञ्जित हातको स्पर्शबाट म सधैँका लागि टाढा हुन चाहन्छु ।” कुर्सीले आफ्नो पीडा र त्यसको कारणसमेत भन्यो ।

कुर्सीको त्यस्तो कुरा सुनेपछि कुर्सीका दावेदारहरू एकले अर्काको अनुहारमा हेर्न थाले । तिनीहरू प्रत्येकको अनुहारमा भ्रष्टाचारको कालो धब्बा थियो । त्यो देखेर उनीहरू आश्चर्यमा परे । 

तब उनीहरूले आँखा चिम्लेर विगतका आफ्ना काला कर्तुतहरू एकएक गरी सम्झिन थाले ।

कुर्सी चाहिँ उनीहरूलाई चुपचाप नियालिरह्यो ।

 जब उनीहरूले आँखा खोले – कुर्सी त्यहाँ थिएन ।

आकाशवाणीबाट कुर्सीले भन्यो -“आज बल्ल आफूलाई चिन्यौ हैन ? ”