“अलिकति बचेखुचेको साख पनि मट्टीमै मिलाउने भयो । यस्ता बाह्रमासे भङ्ज्याहाको के कुरा गर्नु ?” गाउँलेहरूले बाबुको कुरा काटेको छोराछोरीका कानमा पर्यो ।
“यस्तो त भएन । हजुरका कारणले हामीलाई समाजमा मुख देखाउनै लाज भइसक्यो । अब हजुरले त्यो आदत छोड्नै पर्छ बा ! नत्र …,”
“नत्र ! नत्र के ?” जेठोको कुरो नटुङ्गिँदै जिद्दीप्रसाद कड्किए ।
“चरी फाल परेर यत्रो धपेडी किन गर्नुहुन्छ ? हजुरले अब यो गृहस्थी हामीलाई सुम्पिदिए हुँदैन ?”
“तिमेरुलाई ? सम्हाल्न सक्छस् ?” छोराछोरीलाई होच्याउँदै जिद्दीप्रसाद फिस्स हाँसे ।
“जिम्मा दिनुस् न ! अनि थाहा हुन्छ ।” जेठाले आँट देखाए ।
“हामी बाका विकल्प होइनौँ ।” दाजुको प्रस्तावलाई साइँला माइलाले ठाडै अस्वीकार गरे ।
“त्यसो हो भने हामी पनि अर्को विकल्प सोच्न बाध्य हुन्छौँ ।”
“विद्रोह ? हिम्मत छ ?” साइँला माइलाले हियाए ।
“मरता, क्या नहीँ करता ?” जेठाले हिन्दी उखान हाले ।
“लु त्यसो भए जा । तुरुन्तै निक्लिहाल् । तेरा लागि यहाँ कुनै स्थान छैन ।” जिद्दीप्रसादले जेठालाई गलहत्त्याए ।
बाबुले जेठो दाजुलाई बेदखल गरेपछि सानुकान्छी, सानुकान्छोहरूले त्यसो नगर्न अनुरोध गरे । तर टेरेनन् । जति सम्झाए पनि उनले तिकडम र खुराफातीको व्यसन छोडेनन् । माइलो, साइँलोको आडमा सानाहरूमाथि अङ्कुश लगाए । कतिलाई निलम्बन गरे । परिणामतः विद्रोह भयो । ताकिताकी अनाडीमा डन्डा बर्साए । हताहती भयो । ‘आफू राँण, देशै भाँण’ मैमत्ता जिद्दीप्रसादको दम्भले तबाही मच्चियो । त्यही मौकामा छद्मीहरूले अगुल्टो झोसे । छँदाखाँदाको घर र पुर्खाको नासो क्षणभरमै जले । भस्म भए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










