‘मोहनराजका असामयिक मृत्यु…!’

एकाबिहानै कृष्णभक्तको कानमा रेडियोको आवाज पर्यो । उनी हिंड्दाहिंड्दै टक्क रोकिए र झल्झल्ती मोहनराजलाई सम्झिरहे ।

‘उनी जेठा छोराप्रति चिन्तित देखिन्थे । मधेशको जग्गामा विचौलिया दुःख थिए भन्थें ।’

आँखामा राखे पनि नबिझाउने उनी सबैको त्यत्तिकै प्रियपात्र थिए ।

‘अकालको मृत्यु थाह पाएको भए, उनको इच्छा पूरा गरिदिन्थें, एउटै दामलीका हामी !’  उनले पछुताउ माने । कृष्णभक्तले त्यस बिहान बाटोमा चियानास्ता समेत खाएनन् । तत्कालै बेलुकी पार्टी भोज पनि फोनमार्फत् क्यान्सिल गरे । अफिस समेत नजाने निर्णयमा पुगे । उनलाई ६ महिना अघि उनकै पहाड घरको गल्लीमा भेटेको स्मरण गरे ।

घर पुग्नासाथ पहाड घरकी श्रीमतीलाई फोन गरे,  ‘… के बोल्नुभा त्यस्तो ! भर्खरै त्यहींबाट दुई हजार सापट लिएर आको छु ।’

त्यसपछि उनले लामो सास फेरे र हत्तपत्त डर्लङ्ग ओछ्यानमा लडे ।