“रितु ! मलाई थाहा छ, माफीयोग्य गल्ती भएको होइन मबाट। कसम, जानाजान त्यसो गरेकै होइन।” राजनको मुहारलाई ग्लानिले कुरूप बनाएको थियो।
रितुले तरकारी काट्दै गरेको चक्कु थपक्क टेबलमा राखेर केही बेर राजनका आँखा पढी। मुट्ठी कस्सियो। बढो मुस्किलले मधुरो तर स्पष्ट स्वरमा उसले भनी, “मैले पनि तपाईंलाई एउटा कुरा भन्नु थियो। पहिला मै भन्छु।”
रितुको त्यो गम्भीर प्रस्तुति राजनलाई निको लागेन। उसले केही सोच्न नभ्याउँदै रितुले रहस्यको पोको खोली।
“बिहेपछि एक्कासि त्यसरी पवनसँग भेट होला र त्यो भेटले अनेक भेटहरू निम्त्याउला भनेर मैले कहिल्यै सोचेकी थिइन। अस्ति कुन शक्तिले मलाई एउटा सानो झोलामा आशै आशा भरेर उसको ‘कतै टाढा जाऔँ’ भन्ने प्रस्ताव स्वीकार गर्न उक्सायो, म सम्झन चाहन्न। तर बेलैमा चेत भने आयो। आखिर प्रेम, खुशी जस्ता अर्थहीन कुराका पछि लागेर समाजले मुखैमा थुक्ने काम गर्न कहाँ हुन्थ्यो ? जीवन भनेकै सम्झौता त हो नि। आफ्नो र तपाईंको इज्जत सम्झेर बिच बाटोबाट फरक्क फर्किएँ।”
राजन छेउको कुर्सीमा थचक्क बस्यो। अब उसको मुहारबाट आत्मग्लानिको आवरण हटिसकेको थियो। आँखाभरि अविश्वास, आश्चर्य र अनेकौँ अवर्णनीय भावहरू तैरिरहेका थिए। ऊ मौन रह्यो। रितुका कुरा अझै सकिएका थिएनन्।
“गल्ती सबैबाट हुन्छ। तपाईंबाट पनि भएछ, मबाट पनि भयो। अब को हो, किन जस्ता बेकार प्रश्न गरेर म तपाईंसँग रोई कराई पनि गर्दिन। तपाईं पनि मेरो इमानदारिताको कदर गर्नुस्।”
यस पटक भने राजन अलमल्ल पर्यो। “कस्तो गल्ती ? मैले त तिमीले हिजो मात्र ल्याएको सिसाको कप भर्खर मेरो हातबाट खसेर टुक्राटुक्रा भएको कुरा गरेको। भुइँभरि सिसाका टुक्राहरू…”
ऊ जुरुक्क उठेर आफ्नो कोठामा पुग्यो र खाटमा पल्टियो। एकनासले घुमिरहेको पङ्खा हेरिरहँदा उसको मस्तिष्कमा एउटै वाक्य गुन्जिरह्यो, “जीवन भनेकै सम्झौता त हो नि।”
रितु टेबलमा सुस्ताइरहेको शान्त चक्कु हेरेर टोलाइरही।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 








