आज कुरा यौन साहित्यको । स्स्स, अलि बिस्तारो है !
एकजना नाम चलेका कविले बालकोटमा एउटा पिस सुनाए । एउटा साथीले अर्को साथीलाई उक्केरा लाइदेछ— कस्तो राम्रो पो छ त, अहिले लागिराको फिल्म ! जा हेर्न ।
किन, कसरी— केही सोधेनछ । गएछ ।
एउटा दृश्य कस्तो भने, नायिका नुहाउन लागेकी नदीमा । लुगा फुकाल्ने तयारी सुरू भाको । गाउँलेले सासै नफेरी हेरेछ ।
नदीको वल्लो किनारमा रेलको लिक ।
नायिकको तयारी सुरू मात्रै हुन लागेको के थियो, रेल आएछ । छुक छुक छुक छुक ।
रेल पनि कति लामो भने, गाको छ, गाको छ, गाको छ, गाको छ, गाको छ…पाँच मिनेट स्वाहा !
रेल गइसक्दा दृश्य नै फेरिएछ । न नायिका, न खोला । नुहाउने कुरा त मारो गोली !
अब बिचरा गाउँलेले हेर्नै पाएन ।
आज यस्तै भयो, भोलि त देखिन्छ कि? भोलि पनि गएछ । कथा उही ।
पर्सि पनि गएछ । कथा उही ।
निकोर्सि पनि । कथा उही ।
कानेकोर्सि पनि । कथा उही ।
जानेकोर्सि पनि । कथा उही ।
यहाँबाट उता त शब्द पनि आएन । मिलाएर भन्दा धेरैचोटि गएछ ।
फिल्म त चल्यो नि !
मान्छेको दिमागले यस प्रकारले काम गर्छ भन्ने कुरा लेखकहरूले मज्जाले बुझेका छन् । केहीले त ‘यही मात्रै’ पनि बुझेका छन् ।
विदेश घुमेर नेपाल आएका साथीहरू भन्छन्— हाम्रा नेपालीहरू पढ्दै पढ्दैनन् । बाहिर कुइरेले उभिएर पनि पढ्छ । बसेर पनि पढ्छ । गाडी कुर्दा पनि पढ्छ । बाथरुममा पनि…यो चैँ भनेका छैनन् ।
ती साथीलाई के थाहा— नेपाली पनि खूब पढ्छन् भनेर ? तर ‘लुकेर’ । देखाएरै, हाक्काहाक्की पढ्ने त थोरै हुन्, जो अलि पृथक् साहित्य खोज्छन् । तर तिनले बजार धान्दैनन् । बजार त लुकेरै पढ्नेले धान्छन् ।
एकजनाले किस्सा सुनाए । (होइन कति सुनाउँदा रहेछन् हौ किस्सा पनि, यो ‘मएसे’ लाई भनेर भन्नुहोला ।) एउटा घरमा बाबु, आमा, छोरो र छोरी । एउटा घरसल्लाह गर्नुपर्ने, तर सबै कहिल्यै भेलै नहुने ! भर्खरै बजारमा एउटा सन्दिग्ध पुस्तक आएको । सबै त्यसैमा तर कसैलाई एकअर्काको कुरो थाहा नाइँ ।
बाबुले श्रीमती र छोराछोरीसँग लुकेर पढ्ने ।
आमाले श्रीमान् र छोराछोरीसँग लुकेर पढ्ने ।
छोराले बाआमा र बहिनीसँग लुकेर पढ्ने ।
छोरीले बाआमा र दाइसँग लेकुर पढ्ने ।
देख्दा वा सोध्दा कसैले पुस्तक पढेको छैन । उता पुस्तक सातौँ संस्करणमा गइसक्यो । लेखकले घर बनाइसक्यो । अब गाडी किन्ने ।
‘संयम’ सम्बन्धी पुस्तकले प्रकाशकको लगानी डुबाकोडुबाई । हरे शिव !
एक दिन आमाले भन्नुभयो, ‘महाभारत त कति ठाउँ पढिसक्नु छैन । बरु अचेलका उपन्यास अलि ठीक !’
कसैले साधिहाल्यो, ‘त्यो व्यास जन्मको कथा?’
मनमनै भनेँ— धेरैको । धेरैको । कुमार कार्तिकेयको । सत्यवतीको । कुरुको । बब्रुवाहनको । भीष्मकै पनि भनुम् न !
अरू खाले कथा पनि छन् नि । किन कसैको जन्ममा मात्रै अल्झिनु र?
विचित्रवीर्यको मृत्यु के कारणले भयो? कतिपय भन्छन्— अति सम्भोगका कारण !
विश्वामित्र र मेनकाको कथा पढौँ ।
ऊर्वसी र अर्जुनको कथा पढौँ ।
कामदेव र रतिको कथा पढौँ ।
इन्द्र र अहिल्याको कथा पढौँ ।
कुरा के भने नि, यो ‘शाश्वत कथा’ धेरैले भने । आजसम्म भनिरहेका छन् । कतिलाई त लाग्छ, यौनबिना लेखन निरस हुन्छ ।
हो कि जस्तो पनि लाग्छ ।
होइन कि जस्तो पनि लाग्छ ।
एकजना सहृदयी साथीले सल्लाह दिए, ‘तपाईंको कथामा अलिअलि मसला हाल्नुप-यो, थोरै टुच्च ।’
मसला? सेन्च्युरी मसलाको बोरा नै खन्याएँ होला भन्ने सोच्थेँ । खास मसला त पुगेकै पो रहेनछ !
दिग्भ्रमित । फनफनी घुम्दैछु । नयाँ कथाको काम सुरू हुनै सकेको छैन ।
कुरा यौन साहित्यको । यो ताँदो नछोडौँ है !
यसो विश्वसाहित्यको सुराकी गर्छु । नेपालतिर पनि फर्कन्छु । केके भेट्छु केके !
— मैथुनरत क्रौन्चलाई व्याधाले मारेछ । भाले म-यो, पोथीको हृदयविदारक चीत्कार । वाल्मीकिले सुने । भित्रैबाट भक्कानो पूर्वको छन्दसाहित्यको पहिलो श्लोक बनेर प्रस्फुटित भयो । यानि, काव्यको पहिलो प्रस्तुतिमा यौनको हात छ ।
— दार्शनिक नित्सेले भने— महिला र पुरुषको मिलनजस्तै हो कलाको जन्मका लागि मान्छेभित्रका सकारात्मक र नकारात्मक ग्रन्थीको घर्षण । सिर्जनाका लागि विम्ब त फेरि यौनकै !
— फ्रायडलाई लाग्यो दमित इच्छा, विशेष गरी यौन इच्छा, सिर्जना बरर प्रकट होइदिन सक्छन् ।
— मैथुनरत सर्पलाई हिर्काउँदा टाइरेसियसले श्राप पाए— दृष्टिविहीन हुनू, नपुङ्शक हुनू । ग्रिसेली साहित्यको ठूलो हिस्सा उनै त्रिकालदर्शी टाइरेसियसका भविष्यवाणीको वरिपरि घुमेको छ ।
— एरिस्टोफेनिसको एउटा नाटक छ, ‘लाइसिस्ट्राटा’ । कुरो के छ भने, पुरुषजति सबै युद्ध गर्न भन्दै हिँडिजाने । पिलोपोनिसियाको युद्ध, कहिल्यै नसकिने ! घर फर्केरै नआउने । कहिलेकाहीँ आउने, तिर्खाले आकुलब्याकुल भएर । लाइसिस्ट्राटाले आइडिया लाइछिन्— अब यसरी आउनेलाई यौन हडताल । बन्द । सबै श्रीमतीहरूलाई गोलबन्द गरिछिन् । छुट्टीमा आएका योद्धाहरू बहुलाए । युद्धमा जानै छोडे । युद्ध बन्द । शान्ति स्थापना । यानि, द्वन्द्व–व्यवस्थापनको नयाँ काइदा । यो भयो प्राचीन ग्रिसेली साहित्यको कुरा ।
— प्राचीन साहित्यमै अगस्टाइनको ‘कन्फेसन्स’ पनि पर्छ होला । ‘कन्फेसन्स’ यौन साहित्य होइन । यो यौनको दलदलबाट उठ्नु र धार्मिक मार्गमा लाग्नुको कथा हो । तर, यसले कुन सत्य उजागर गर्छ भने, त्यो बेला पनि यौनकाण्डको बिगबिगी नै हुँदोरहेछ र कतिपय मान्छे यस्तै कार्यमा डुब्दारहेछन् ।
— इभ कोसोफस्काई सेज्विक नाम गरेकी एकजना लेखिकाको एउटा निबन्ध छ, ‘बिट्विन मेन’ । त्यहाँ एउटा गोप्य कुरा छ । सो के भने, ईसापूर्व चौथो शताब्दीतिरका दार्शनिक प्लेटोले ‘सिम्पोसियम’ भन्ने रचनावलीमा त्यसताकाका तरूण केटाहरूलाई वयस्क पुरुषहरूले यौनको तालिमै दिन्थे रे !
— मध्ययुगमा पनि यौन यत्रतत्रसर्वत्र (एउटै डिकोमा लेखेको) । कवितातिर पनि । उता जोन डोन । यता मोतीराम । दक्षिणतिर घनानन्द ।
नामै काफी छैनन् त ?
उसो भए कुरा के त ?
महाभारत कालमा देखिने गरेको यौनिक उदारता सायद मध्ययुगमा अलि खुम्चियो । साहित्यले बढी ‘धार्मिक’ हुन खोज्यो । पूर्वमा पनि, पश्चिममा पनि ।
मध्ययुगका रुढ पाटपूर्जा खुकुल्याउन धार्मिक कट्टरतामाथि प्रहार गर्नु थियो — ड्याङ कि ड्याङ ! धार्मिक कट्टरतामाथि प्रहार गर्ने एउटा अस्त्र यौन हो । कारण, अवाञ्छनीय यौनलाई धर्मले वर्जित गर्छ । वाञ्छनीय यौनलाई, विशेष अवस्थामा बाहेक वर्जित गर्दैन, तर त्यसको चर्चालाई गर्छ । जसको कुरा नगर्नू भनेको छ, त्यसैको चर्चा गर्देपछि के हुने?
के हुने?
डीएच लरेन्सलाई लण्डनबाट खेदाउने ।
पेरिसमा आएर बस्ने । पेरिस तुलनात्मक रूपमा कम कट्टर, बढी उदार ।
उनका पुस्तक स्वदेशमा नछापिने । रोकिने । प्रतिबन्धित । पेरिसमा भने छापिने । तर खै कसरी लण्डन छिर्थे वा छिराइन्थे, दैवै जानून् । किताब लण्डनमा हिट । लेखक फेमस । ऊबेला मात्रै हो र ? आज पनि ।
एकचोटि एमएमा ‘लेडी च्याटर्लीज लभर’ पढाउनुपर्ने भयो । विद्यार्थीले भने— ‘सर, फिल्म छ यसको । त्यो हेरौँ ।’ हुन्छ भनेँ । पढाउनु नपर्ने भएपछि मास्टरलाई के चाहियो ?
ल्याए । तानातिर्कुटा जोडे । ल्याप्टप टाँसे । सुरू ।
हेर्दै लग्यौँ । हेर्दै लग्यौँ । हेर्दै लग्यौँ….
ती मेरो विद्यार्थीले कतिबेरसम्म हेरे थाहा पाइनँ । म निस्केर हिँडेको सुइँको पनि पाएनन् तिनले ।
हेरिसक्नु भएन बीचतिर । भागेँ ।
यो त एउटा उदाहरण मात्रै हो । कति छन् कति यस्ता ।
नाटक हेर्दा हुन्छ — ‘डिजायर अन्डर र एल्म्स’ । लेखक युजिन ओ निल ।
नाटक हेर्दा हुन्छ — ‘ए स्ट्रिट कार्ट नेम्ड डिजायर’ । लेखक टेनेसिज विलियम्स ।
उपन्यास पढ्दा हुन्छ — ‘म्याडम बेभोरी’ । फ्लउबर्टका ।
उपन्यास पढ्दा हुन्छ — ‘अ पर्सनल म्याटर’ । कान्जाबुरो ओय ।
यो सूची लामो छ ।
हैन लुकीलुकी यस्तै मात्रै पढ्छ कि क्या हो भन्ने भयो होला । तर केही त यहाँ नभनीकन लुकाएर राखेँ नि ! पुष्कर लोहनीको नाम लिएँ त ? सीता पाण्डेको ?
लिइनँ ।
यी तमाम विषयका बारेमा जब बहस चल्छ, केही रेडिमेड तर्क अगाडि सारिन्छ ।
क. जैविक आवश्यकता हो नि त ! ‘बायोलोजिकल निड’ ।
सोच्छु— साहित्यले जीवन विज्ञान पढाउने हो र ?
ख. फ्रायडवाद । फ्रायडवाद ।
सोच्छु— हामीले फ्रायडमाथि दुईवटा अन्याय ग-यौँ । पहिलो, उनलाई हामी धेरैले यौन र केवल यौनका दार्शनिक बुझ्यौँ । उनका अरू कुरालाई गोली मा-यौँ । यही एउटा कुराले रात बिथोल्यौँ । दिन बिथोल्यौँ । र दोस्रो, फ्रायडलाई हामीले हाड, छाला र मासुको कोणबाट मात्रै हे-यौँ र अन्ध भएर, पूर्णतामा उनलाई सुपर–सत्य मान्यौँ । तर नि, फ्रायडका सीमा उनकै चेलाचपेटाले सतहमा ल्याए । त्यो थाहा पाएर पनि नपाएजस्तो ग-यौँ । फाइदा छैन जस्तो लाग्यो सायद हामीलाई । मान्छेको स्वभाव निर्माणमा केवल यसको इच्छा वा कुण्ठाको होइन, सामाजिक अवचेतनको पनि भूमिका हुन्छ । यो सामाजिक अवचेतनको कुरा ‘कार्ल गुस्ताभ युङ’ का तर्कको निकट छ । हाम्रो जस्तो धार्मिक–सांस्कृतिक समाजले व्यक्तिको स्वभाव निर्माणमा कसरी भूमिका खेल्छ, त्यसको व्याख्या फ्रायडमा कम र युङमा बढी पाइन्छ । तर ‘मजा आउँदैन’ भनेर हामी फ्रायडमै सति गयौँ कि !
ग. ‘भाइ, लाज नमानी गर्दिनू ल अनुवाद ! अलिअलि मिसाएकी छु । नमिसाई किताब चल्दैन अचेल ।’
सोच्छु— साहित्यलाई यौनको जहाज चढाएर पाठकको दिमागमा क्र्यास गर्ने उपक्रम भइरहको छ यहाँ । यानि, पोर्नको मनोविज्ञान । साहित्यकारले कुरो बिकाउकै लागि पाठकमा उत्तेजना उत्पन्न गर्ने ठेक्का लिने? भायग्रा र साहित्यको फरक बताइपाम ! कथाले मागेरै आयो भने आयो । त्यो कथामा सटीक बस्छ । बसेकै हो नि— ‘सुम्निमा’ मा । ‘माधवी’ मा । ‘पवित्रा’ मा । ‘पल्लो घरको झ्याल’ मा । ‘भाँडो’ मा । ‘कर्नेलको घोडा’ मा । ‘गालाको लाली’ मा । कति कति ! एउटा हालचालै आएको थप्छु— पुष्कर लोहनीको ‘अदृश्य मान्छे’ जसले नभनेरै भन्छ धेरे कुरा । कथाले मागेको, र बजारले मागेर टाँसेको काट्टे मिल्दैन ।
घ. ‘आधुनिक/उत्तराधुनिक लेखन हो नि त । अलिअलि त आइहाल्छ नि ।’ यी दुई कुरामा गोरु बेचेको मात्रै साइनो होला । त्यसो त यौन र साहित्यका बीच, जुनै युगमा पनि गोरु बेचेको साइनो हुन्छ ।
ङ. हामीले यौनलाई केवल ‘यौनक्रीडा’ पो बुझ्यौँ कि ? सायद सोच्यौँ— यही लेख्दा चल्छ । यसैले टिकाउँछ । आशय के भने— यौन मान्छेको कमजोरी हो, र त्यसै कमजोरीले किताब बिकाउँछ । होला पनि । तर किताब बिकाउनु एउटा कुरा होला । एउटा उच्च, सुन्दर र कालजयी साहित्य लेख्नु अर्कै कुरा होला नि त ! हामीले यत्रो बहस गरेको एउटा पोर्न चलचित्रको पटककथाकै लागि मात्रै हो र ? जेम्स जोयसको एउटा सानो कथा छ, ‘अरबी’ । जवान हुनुको पहिलो अनुभूति यसको विषयवस्तु हो । सारमा, यौन हो । पढुम् न एकचोटि । अलिकति, इत्तिपित्ति पनि कथा बिथोलिएको भए… नभनेरै भनेका छन् । नदेखाएरै देखाएका छन् ।
यौनको एउटा पाटो ‘व्यापार’ भयो — साहित्यका नाममा । संभागको । यौनको अर्को पाटो छ । यौनक्रीडा यौनको मनोवैज्ञानिक भवसागरको एउटा सानो अभिव्यक्ति हो, राम्रो पनि र नराम्रो पनि, परिस्थितिअनुसार । प्रयोजनअनुसार । तर, क्रीडालेखनमा कुनै दम हुँदैन । पाठकलाई उत्तेजित तुल्याउनु लेखनको प्रयोजन होइन । त्यस उत्तेजनासम्म पुग्नुपूर्वको मान्छेको मनोविज्ञानको लेखन बरु मनोवैज्ञानिक लेखनको एउटा हिस्सा हो । हामीले भेद छुट्याएनौँ कि? हामीले यौन साहित्य र पोर्न साहित्यबीचको भेद छुट्याउनु जरुरी छ ।
यस समस्याले लेखकहरूको उम्रँदै गरेको पु्स्तादेखि माथिसम्मै असर पारेको छ । किशोर अथवा युवा अवस्थाका केही लेखकहरूका उपन्यास पढेको सम्झन्छु । एकाध पाण्डुलिपि पनि । भन्न मन लागिरहने तर बोलेर भन्न नमिल्ने कुरा ‘उपन्यासमा चैँ लेख्न पाइन्छ, फ्रेङ्क हुनुपछ । बीपीले पनि लेखे,’ भन्ने भ्रामक सल्लाह सुनेका ती युवाका ती उपन्यास आए, गए । तिनको मनोविज्ञान यसो पढ्छु । जीवनमा भर्खर युवावस्थामा पुगेका उनीहरूको ‘त्यो अनुभव’ नयाँ हो । ‘साहित्यमा नयाँ लेख्नुपर्छ केट्केटी हो’ भन्नुभाछ गुरुले । लु, यो नयाँ भयो मलाई । भर्खरै हुन थालेको । अस्ति रातिबाट । लेख्दिम् ।
लेखिदिहाल्छन् । के बिर्सन्छन् भने, उनीहरूभन्दा ठूलाहरू सबै ती अनुभवबाट गुज्रेर आएका हुन्, र भोलि, उनीहरू पनि त्यसबाट पारपाचुकै भएपछि उनीहरूलाई लाग्ने छ— ह्या, यो नयाँ भनेको त सबैभन्दा पुरानो विषय पो रहेछ !
यो लेख्न नपाइने होइन । पाइयो । तर, कति कलात्मक बनाउन सकिन्छ, एकचोटि ‘क्याचर इन द राय’ हेरौँ न सेलिङ्गरको । अथवा ‘टोम स्वोयर’ हेरौँ न मार्क ट्वेनको । नेपालमा ? अहिले नहेरौँ । किशोर साहित्य करिब करिब नगण्य छ भन्दा पनि हुन्छ । अलिअलि भएको भए अब मलाई मार्छन् भोलि फेसबुकमा ।
एकचोटि कुनै विश्वविद्यालयले ‘सेक्सोलजी’ पढाउने विज्ञापन गरेछ । विद्यार्थी गुरुरु । कक्षा सुरू । सबै पढाउँदारान् तर यौनको कुरो कहिल्यै नआउने ! सोधेछन् । भनिएछ— यौन माने के ? पोर्न ? त्यो पढाउनुपर्दैन ।
अर्कै केके केके पढाएछन् । तर पनि कोर्स ‘सेक्सोलोजी’ कै ।
उसो भा कुरा के हो त?
कुरा थाहा भएन । तर, केही ज्यादती भएको देखिन्छ । त्यस ज्यादतीको मानकीकरणको प्रयास भएको देखिन्छ । सबै यस्तै छ भन्ने होइन, तर कतिपय लेखनमा यस्ता कुरा पाइन्छ । त्यसमा छलफल जरुरी देखिन्छ ।
— सबै सबै सबै पुरुष जनि अति नै कामुक । यौन पिपासु । जसरी पनि, जहाँ पनि, जतिखेर पनि महिलालाई त्यसै दृष्टिले हेर्ने । पहिलोचोटि कुनै सुन्दरीलाई देखेको छ, ऊ लल्याकलुलुक भइहाल्छ, त्यो पनि उः पर, आइतबारे हाटमा, दिउँसै । मुखै सुकिहाल्छ उसको । हैट् ! कतै पढेथेँ— यसरी टोलाएछ अरे, कि हातमा बोकेको बरफ सबै पग्लेर झरिसकेछ अरे ! हातमा बाँसको छेस्को मात्रै बाँकी रहेछ अरे ! बेट्री डाउन !
— अलिकति सुन्दर महिला पात्रको चित्रण, ‘परम्परागत’ तर अहिलेसम्म बाक्लै अवशेष बोकेर बाँचेको शैलीकै वरिपरि घुमेको छ— मृगको जस्तो चाल, चञ्चल आँखा, गुलाबी ओठ, सुगन्धित वा मादक स्वास, घना–लामा केश, समतलबाट थोरै उठेका सुन्दर थुम्काजस्ता स्तन…. यहाँबाट उता तपाईंहरू आफैँ भन्नुस् ल ? तपाईंहरूलाई आउँछ ।
— ती माथिका सुन्दर महिलाको मन पनि लेखे । कोमल, भावुक, अति संवेदनशील, प्रेमिल, ममत्त्वपूर्ण, शीलवती….केही थप्नुस् न । सबै यस्ता हुँदैनन् भन्ने त तपाईंलाई पनि थाहा छ । विशेष गरी विवाहितलाई बढी थाहा हुन्छ यो कुरा ।
ठोकेरै भन्दा अचेलको हाम्रो यौन साहित्यले पुरुष वा महिलालाई ठीक ठीक तरिकाले चित्रण गरेकै छैन । अतिशयोक्तिको पहाड छ जताततै । पूर्वाग्रहको पनि । विकृत बनाइएको चित्रणको भारी छ । हामीले बीपी, गोठाले, भिक्षु र दौलतविक्रमहरूले बनाइदिएको सुनको बाटोलाई जबर्जस्ती मोडेर कि वेश्यालय पु-यायौँ, कि घाट ।
ठ्याक्कै भन्दा माथिको ‘तिलस्मी’ चित्रण ठीक ठीक मिल्ने महिला नै हुँदैनन् । भइहाले भने पनि ती आम महिला चाहिँ होइनन् । मैलेचाहिँ आजसम्म देखेकै छैन । त्यस्ता अलौकिक महिलाको चित्रणलाई ‘यथार्थवादी साहित्य’ को विषय मान्नुपर्ने बाध्यता जो छ ।
ठ्याक्कै भन्दा माथि भनिएजस्ता पनि हुँदैनन् ‘आम’ पुरुष । हुन्छन् कोही कमजोर कापुरुष, विकृत मानसिकताका । तर तिनकै चित्रणलाई सामान्यीकृत गरिन्छ, र सबै पुरुष यस्तै हुन्छन् भन्ने भ्रम फैलाइन्छ । साहित्यले यसै अ–यर्थावादी कुरालाई यथार्थ बनाएर फैलाइरहेको छ ।
कुरा आआफ्नो हो, तर प्रेमा शाहको ‘पहेँलो गुलाब’ को विकृत पुरुषले सबै पुरुषहरूको प्रतिनिधित्व गर्दैन । तर कसो कसो त्यो कथा मानक कथा हुनु पुग्यो । हामीले बनायौँ । परिस्थिति विशेषलाई बोकेर उभिने चीज मानक हुँदैन । मानक भनेको परिस्थिति विशेषलाई बोक्ने कुरा मात्रै होइन ।
नाबोकोभको ‘लोलिता’ले विश्व हल्लायो । प्रतिबन्ध झेल्यो । देश निकाला झेल्यो । गाली झेल्यो । केके झेल्यो । सबैको गोप्य–गीता हुन पुग्यो । तर दुर्भाग्य — लोलिताको अन्तर्यको मनोवैज्ञानिक सन्देश कतै पुगेन । यसको आवरण भने छ्याप्छ्याप्ती पस्यो हाम्रा लेखनमा । हामी क्लोन भयौँ, सर्जक भएनौँ ।
यौनलाई नवीन दृष्टिले सोच्नु जरुरी छ ।
यौनमा ‘कुरो उही त हो, कसरी नवीन दृष्टिले सोच्नु र?’ स्वाभाविक प्रश्न । तर ‘उही त हो’ भन्नेले नै बिगारे । उही होइन । ‘उही त’ हुँदै होइन ।
एकजना कविले भनेका थिए— महेशजी, प्याला फेरियो । माटाका प्याला हुँदै फलाम, पित्तल, स्टिल वा सुनकै प्यालासम्म हामी आयौँ होला । तर तिर्खा फेरिएको छैन । उही हो ।
हैट् !
कुरो ‘उही हो’, मान्छु तर कुराको चुरो उही होइन । चुरोमा हाम्रो अचेलको लेखन पुगेको त के प्रवेश पनि गरेको छैन ।
अचेलको यौन साहित्य ज्यादै बिग्रेको ठीक साँचो हो । दृष्टि दिँदैन, तृप्ति दिन खोज्छ । लेखकको कुण्ठा कसो कसो शब्दमा आएर बसेको पाउँछु ।
उता व्यवहारमा भन्न नमिलेर पात्रमार्फत् यता आएजस्तो नि !
लेखनको उच्च, आदर्शवान् र उदात्त प्रयोजन लगेर लप्सीकै फेदमा विसर्जन !
तर कतिपय मान्छेहरू चेतनाका झ्यालढोका उघारेर सोच्छन् ।
स्टेन्ली कुनिजले एउटा कवितामा निकै बूढा र निकै बूढीको कुरा ल्याए । निकै बूढा र अशक्त भएका बूढा आफ्नी बूढीलाई भन्छन्— मलाई छोऊ न एकचोटि ! म को हुँ, त्यसको स्मरण गराऊ न !
एलबी क्षेत्रको कथा ‘व्रतभङ्ग’मा महिला पात्र आफ्नै लोग्नेलाई भन्छिन्— “लुगा लगा । नाङ्गो शरीरमा तँ आज घिनलाग्दो र कुरूप देखिएको छस् ।”
मनोविज्ञानको कुन तह हो, जहाँ दाम्पत्य जीवनको यौन पनि वितृष्णाको कारण हुन्छ? र यौन दार्शनिकहरूले भन्ने गरेको महिलाको मस्तिष्कमा नाङ्गा पुरुष र पुरुषको मस्तिष्कमा नाङ्गा महिलाको मोह हुन्छ भन्ने गरेको र हामीले झ्याली पिटेको कुरा कहाँ पुग्यो?
मेरी ओलिभरले कविता त मह काड्नेबारे लेखिन् । त्यसमा रुख चढ्नु, मह खानु, ओर्लनु, फेरि उक्लनु, फेरि मह खानु र स्वन्त्रताको अनभुव गर्नुको कुरा छ । यस कविताको मूल मुद्दा के हो ? थाहा भएन । अनि कुनै पनि यौन साहित्यको नि ? थाहा छ, तर भन्न मिलेन ।
प्रकृतिसँग सशरीर खेल्नुलाई ‘इको इरोटिसिज्म’ भनिएको छ । यसले फरक फाटक उघार्छ चिन्तनमा । दबदबे हिलोमा खेल्दा किन मज्जा आउँछ ? झारमा लडीबुडी गर्दा ? रुख चढ्दा–ओर्लंदा ? पौडी खेल्दा ?
तर, यसबारे पछि ।
जोन स्टैनबेकको ज्यादै लोकप्रिय उपन्यास हो ‘अफ माइस एण्ड म्यान’ । लामो कथा त भन्दिनँ तर एउटा पात्र लेनी छ । उसका हातहरू कोमल र भुवादार कुरा समाउन सधैँ सक् सक् सक् सक् गरिरहन्छन् । कस्तो अवस्था ? कस्तो मनोविज्ञान ? उसका औँलामा छ स्पर्श सुख । मनमा छैन । यौनाङ्गमा त्यो प्यास कतै पनि देखिँदैन ।
कसरी सोच्छन् मान्छे ? कसरी नवीन मोड लिन्छ यौन वा मनोवैज्ञानले ? हैट् !
हामीले किताब चलाउन यौन लेख्यौँ । कति बिक्यो कति !
दिमाग चलाउन लेख्यौँ के ? कला, चेतना र दृष्टिका लागि नि ?
यौन विमर्शमा एउटा नयाँ पाना थपियो के ?
एउटा नयाँ दृष्टि आयो के ?
भो नबोलुम् । यो वर्जित विषय हो । स्वस्थानीको व्रतको महिना जो चलेको छ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










