गत पुस ३० गतेका दिन पाेखराथाेक साहित्य संगमकाे आयोजनामा वाटिका पत्रिकाकाे विमाेचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम सङ्गमका अध्यक्ष हरि भट्टराईको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथिका रूपमा बगनासकाली गाउँपालिकाकी प्रमुख सरस्वती चिदी हुनुहुन्थ्यो। उहाँले दीप प्रज्ज्वलन गरी कार्यक्रमकाे उद्घाटन गर्नुभयो ।

यसलगत्तै वाटिका पत्रिकाको लाेकार्पण गर्ने काम भयो । विमाेचित वाटिका पत्रिका वर्ष २० अंक २१ माथि प्रकाश पार्ने काम टंकप्रसाद पन्थबाट भयो । तीन सय साठी पृष्ठमा निर्मित यस अंककाे मूल भागमा सन्तानब्बे वटा लेख रचनाहरू समेटिएका छन् । अन्तर्वार्ता, जीवनी, समालोचना, लेख, निबन्ध, नियात्रा र पत्र, कथा/ लघुकथा, कविता, गीत, गजल, मुक्तक, साइनो, हाइकु आदि विधालाई समेटिएको छ । कक्षा ६ का कलिला सर्जकदेखि प्राैढ साहित्यकारहरूका रचनाले वाटिकामा स्थान पाएकाले याे वास्तवमै विविध फूलहरू फुलेको वाटिका बन्न गएको छ ।

स्थानीय तथा राष्ट्रमै नाम चलेका स्रष्टाहरूलाई गाेल्याउने महत्त्वपूर्ण काम वाटिकामा भएको छ । पत्रिकाकाे अन्त्य भागमा संगमकाे कार्यसमिति, विविध अक्षयकोषकाे विवरण, आजसम्मसंस्थाबाट सम्मानित व्यक्तिहरूकाे सूची तथा दुई सय बयानब्बे जना आजीवन सदस्यहरूकाे नामावलीसमेत प्रस्तुत गरिएको छ । कृति सङ्ग्रहणीय रूपमा आएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि चिदीले साहित्यका माध्यमबाट बगनासकालीलाई चिनाउने काम पाेखराथाेक साहित्य सङ्गमले गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । समाज परिवर्तनमा साहित्यकाे प्रमुख भूमिका रहेकाे कुरालाई जाेड दिई विद्यालयबाटै प्रतिभाहरूलाई साहित्यमा क्रियाशील गराउन पालिकाका तर्फबाट पनि कार्यक्रम बनाएरै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

विशिष्ट अतिथि राजेन्द्रगाेपाल सिंहले साहित्यमा लाग्नेहरूमा निरन्तरता, क्रियाशीलता र प्रतिबद्धता चाहिने कुरामा जाेड दिनुभयो । विशिष्ट अतिथि डा. शंकरप्रसाद गैरेले पालिकाले सहयोग गर्दा पहिलो स्थानमा पाेखराथाेक साहित्य संगमलाई राख्नुपर्ने विचार प्रस्तुत गर्नुभयो ।

वडाअध्यक्ष तीर्थप्रसाद भट्टराईले संगमले आफ्नो स्थापना कालदेखि साहित्यका क्षेत्रमा गरेको याेगदान प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

सम्मानित स्रष्टा खगेन्द्रप्रसाद बस्यालले संस्थालाई धन्यवाद व्यक्त गरी हामीले लेखेको साहित्य सबैका लागि भयो कि भएन भन्ने प्रश्नले मलाई घचघच्याइरहन्छ भन्ने विचार व्यक्त गर्नुभयो । सम्मानित स्रष्टा शम्भु अर्यालले याे सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बाेध गरी साहित्य संगमलाई धन्यवाद प्रकट गर्नुभयो।

अर्का सम्मानित स्रष्टा गाेमविक्रम क्षेत्रीले यो सम्मानले आफूलाई अझ क्रियाशील हुन प्रेरित गरेको विचारसहित संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
सम्मानित नारी स्रष्टा गीता रेग्मीले आफैँ संलग्न रहेकाे संस्थाबाट सम्मानित हुन पाउँदा गाैरवकाे अनुभूति भएको बताउनुभयो ।

स्याङ्जाका स्रष्टा मिलन समीरले पाेखराथाेकसँगकाे साहित्यिक सम्बन्धलाई झल्काई यतिबेला शीर्षकको विद्रोही चेतना पाेतिएकाे कविता वाचन गर्नुभयो । सिर्जनशील साहित्यिक समाज भैरहवाका सल्लाहकार नारायणप्रसाद भण्डारीले पाेखराथाेक साहित्य संगमसँगकाे पुरानो सम्बन्धलाई उल्लेख गरी सम्माननीयज्यू हाेसियार हुनुस् शीर्षकको राष्ट्रचेतनामा आधारित कविता वाचन गर्नुभयो ।

धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पाैड्यालले वाटिका प्रकाशनका लागि धन्यवाद व्यक्त गरी सम्मानित स्रष्टाहरूलाई बधाई ज्ञापन गर्नुभयो । वाङ्मय प्रतिष्ठान पाल्पाका अध्यक्ष गाेपालप्रसाद बस्यालले शुभकामनाका साथमा कविता सुनाउनुभयो ।

पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गरी व्यङ्ग्यात्मक शैलीको गजल वाचन गर्नुभयो ।
साहित्यकार धातानन्द शर्माले साहित्य संगमले वाटिका प्रकाशनकाे कामलाई निरन्तरता दिई अनुकरणीय काम गरेको विचार राख्नुभयो ।

उपस्थित अतिथिहरूलाई स्वागत गर्ने काम उपाध्यक्ष विश्वनाथ गैरेले गर्नुभयो भने सम्मानित स्रष्टाको परिचय काेषाध्यक्ष गाेविन्द खनालले गराउनुभयो । कार्यक्रमकाे सञ्चालन संगमकी सचिव जानुका नेपालले गर्नुभएको थियो ।