
नेपाली साहित्य आकासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल साहित्यकार हुन् विवस वस्ती । उनी गोलन्जोर ५ बिजय छापमा जन्मिएका हुन् । सिन्धुलीमा जन्म भई कर्मभुमी काठमाडौंलाई बनाउनु भएका साहित्यिक व्यक्तित्व विगत लामो समयदेखि अनवरत रुपमा साहित्यमा र पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । माहुरीका महजस्ता गुलिया रस लेखाइमा बनाउन सफल उनी कविता होस या कथा लेखनमा विभिन्न विषयवस्तुलाई टपक्क टिपेर कलात्मक ढ्ङ्गले आफ्नै मौलिक लेखाइमा ढाल्न सफल मुलतः एक कथाकार हुन। उहाँले तुवालोको हाताभित्र २०४९,र जब घर फर्किए २०५७ कवितासङ्ग्रह , नखनिएको खाडल २०५४,र अब उकालो चढिँदैन कथासङ्ग्रह २०६०, कम्प्युटरको बाघ २०५९ र सुचित्राको घडी २०६१ बाल कथासङ्ग्रह र पुनः देउदत्त र रानीमुखर्जीहरु २०७८ कथासङ्ग्रह प्रकाशित छन्। यसको मूल्य रु ४०० रहेको छ।
विशेष गरी उहाँको नवीनतम कथासङ्ग्रह देउदत्त र रानीमुखर्जी एक सफल र कथामा एउटा नयाँ शैली प्रयोग गरिएको

बाबुराम श्रेष्ठ यात्री
प्रगतिशील धारको कथा हो । यस कथासङ्ग्रहमा २३ वटा कथाहरु सङ्ग्रहित छन्। यो भुँडीपुराण प्रकाशन मार्फत बजारमा आएको हो । हरेक कथाका विषयवस्तुहरु शीर्षकअनुसार उपयुक्त छ्न् जसले समग्र नेपालको राजनीतिले हुर्काएका विद्रुप पात्रहरूको सामाजिक, राजनीतिक , आर्थिक घटना परिघटनाको सूक्ष्म परिक्षण र शल्यक्रिया गरेर आएका सरल तरल भावमा बहेका कथाहरु छन् । यी कथाहरु नितान्त मौलिक रसपान गराउने भाषा शैलीमा लेखिएका छन् । पढदै जाँदा गाउको झल्को धेरै दिन्छ पाठकलाई ।
साहित्य समाजको ऐना हो । समाजमा घटेका भएका साना ठूला यस सङ्ग्रहको मुख्य खजाना हो । साहित्य बीना समाज अधुरो रहन्छ । समाजका यथार्थ कुराहरू बाहिर ल्याएर आम पाठकलाई सचेत गराएको काम कथाहरुले गरेको छ । देश समाज र परिस्थिति सधैं एकनास रहँदैन । कथामा मानिसहरु समयअनुसार परिवर्तन हुँदै गएको पाइन्छ।
यस सङ्ग्रहको पहिलो कथा तल माथिले समाजमा ब्याप्त रहेको कुरीति कु-परम्परा जातजाति र छुवाछुत परम्परालाई उजागर गरेको छ । मानिसहरू सखसयल खोज्नको निमित्त मनहरु डुलाउने गर्छन् र पहाड छोडेर तराइ झर्न बाध्य भएको यथार्थ विषयवस्तु भएको सामाजिक घटना छ फेरि पहाडतिर । तराई र पहाड बिचको चर्केको द्वन्द्वले घर छोड्न बाध्य भएको पीडा बाटुली पात्रले भोगेको घटना छ।
राजनीति बिल्कुल सोचेभन्दा फरक तरिकाले चलिरहेको छ । राजनीतिज्ञ आफू सस्तो लोक प्रीयता कमाउनको लागि बारम्बार मिडियाप्रेमी बनेको र मिडिया नआउदा व्यक्ति मानसिक सन्तुलन गुमाउन सक्ने समेतको मिडिया फोबिया पात्रको चित्रण गरिएको छ मिडिया शीर्षक कथाले जुन अहिलेको आम मानिसले महसुस गरेको यथार्थ कुरा हो । किताबकै मुख्य शीर्षक बनेको कथा देउदत्त र रानीमुखर्जीहरु निकै व्यङ्ग्यपरक राजनीतिमा देखेको विचलित भाव झल्किएको छ।
हरेक कथाले छुट्टाछुट्टै समय समयमा भएका परिवर्तन, गै-राजनितिक मूल्य एवम् विकृतिहरु, विचलित राजनीतिक घटनाक्रम, जनताको नैरश्यता, बन्दहड्ताल, अन्धाधुन्ध स्वीकारेका परम्परा जुन बिल्कुल समसामयिक समाजिक घटनाहरुमा आधारित कथाहरु हुन् । गाउँमा अहिले पनि जातभाव धनी गरिबको खाडल रहेको र त्यसले प्रत्यक्षरुपमा समाजमा परेको प्रभावको चित्रण छ अन्य कथाहरुमा । केही मायाप्रेमका कथाहरु बिचमा घुसेको छ । अन्याय अत्याचारको पराकाष्ठाले समाजमा सिर्जित समस्याहरु बग्रेल्ती रहेको भन्ने कुरा पाठकहरुलाई जानकारी गराउँदछ केही कथाले । स्माइल प्लिज शीर्षकको कथामा एउटा फोटोग्राफले फोटो खिच्न महिला पात्रको तर उनी प्राकृतिक हाँसो हाँस्न सक्दिन्न । उनको मनमा पीडाहरु छन्
जुन उसले भोगेको र फोटो ग्राफरले विगत कुराहरू कोट्याउदै पूर्व प्रेमीको मायाका धर्साहरु उप्काउन खोजेका छन् तर मायाले साकार रुप नलिएको र स्वार्थसिद्ध माया सम्झन नचाहने कुरा जुन माओवादी सशस्त्र युद्धकालको प्रेमको हो । जब फोटोग्राफर उनको अनुहारमा हासो बटुल्ने प्रयास गर्छ तर सफल देखिँदैन । पछि एक्कासि फोनमा मृत्यु भएको खबरले उसको मन विक्षिप्त हुन्छ ।
त्यस्तै टेन्डर कमरेड शीर्षकले इमान्दारी हराएको र फटाहा काम गर्नेहरुले धन मनग्गे कमाएर समाजमा प्रतिष्ठित व्यक्तिको रुपमा उभ्याइएको कथा आएको छ । माओवादी सशस्त्र युद्धको थालनी र शान्ति प्रक्रियापछि केहीले भागडोर सम्हाले तर तिनीहरुमा विचलन आएको कुरा पनि कथाले बोकेको छ । आम किसानका समस्या पनि उठेको छ कथामा । कालाकाला क्षितिज शीर्षक कथाले गरिबका लागि लड्ने गरिब मुक्तिमोर्चाका मान्छेहरुको जीवन शैली फेरिँदै गएको यथार्थ विषयवस्तु पस्किएको छ । यसैगरी निसहाय कथाले जति समाजमा झगडा भए पनि छिमेकी फेर्न नसकिने भाव प्रकट गरेको छ । आर्थिक स्थिति कमजोर भएपछि जति पीडामा पनि मौन बस्न पात्र बाध्य भएको घटना पस्किएको छ।
आम मानिसले अवस्था बदलिए पनि राज्य प्रणालीको काम गर्ने शैली नबदलिएको तितो अथार्थ र उपार्जनको लागि काम गर्नु पर्ने र यदि नगरेको खण्डमा पेट भोको हुने कारुणिक पीडा कथामा पोखिएको छ। आर्थिक स्थिति कमजोर भएकाहरुको मनमा निरासा छाएको छ अहिले पनि समाजमा । खुसी परिवारहरुको संख्या कमी हुँदै गएको छ। केही कथाहरुमा विभिन्न परिस्थितिमा पात्रहरुले बारम्बार विमति आक्रोश र असन्तुष्टि जाएर गरेका छन् । हात हात शीर्षक कथाले आन्दोलनमा भित्रिएको विकृतिलाइ उजागर गरेको छ जहाँ दिवाकर पात्रले नभाचिएको हात भाँचिएको बहाना भनाएर राजनीतिक आन्दोलनको खिल्ली उडाएका छन् ।
बास्तवमा कथा मौलिक छ । धेरै जसो कथाहरु सिन्धुली ,सर्लाही र काठमाडौं आसपासमा घुमेको छ । शहरभन्दा पनि गाउँका कथाहरु लेखकले लेखेका छ्न् । सरल भाषामा भएकोले कथाहरु बुझ्न सजिलो छ। कथाहरु केही छोटा र केही लामा छ्न् जति पढ्यो उती पढ्न मन लाग्छ र पाठकहरुले पढ्दा एकपछि अर्को के हुन्छ विषयवस्तुहरुले मनमा खुल्दुली लगाउँछन् कथाहरु जुन सम्वाद शैलीमा छ । कथाहरु निकै सशक्त छन् । धेरै जसो कथाहरुले सामाजिक परिवेश आधारित भएर वर्तमान अवस्थालाई चित्रण गरिएको छ । त्यसैले देउदत्त र रानीमुखर्जीहरु कथासङ्ग्रह एक सशक्त कथाहरुको सँगालो भन्न मिल्छ। हाल कथाकार काठमाडौं महानगरपालिका-१६ वनस्थली, खरिबोटमा बस्छ्न् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










