‘विद्या नपाए काशी जानू’ भन्ने पुरानो उक्ति आजसम्म जीवित रहेर नै त होला, संस्कृतको विद्यार्थी हुँ भन्दा मानिसले ‘काशीतिरै पढेको हो ?’ भनेर प्रश्न गरिरहन्थे । नेपालमा पनि आजभोलि संस्कृत पढाइ हुने कयौँ विद्यालय तथा महाविद्यालय सञ्चालनमा छन् भन्ने हेक्का नभएकाहरूको काशीप्रति देखिएको रूढ भावनाले म एक किसिमले आजित हुन्थेँ । मलाई काशी नपुगेकोमा खेद थियो ।
जागिरबाट यसो बिसाएका बेला कोही भेटे बनारस जाऊँ भन्ने सनक चढ्थ्यो, यद्यपि त्यसले सार्थकता नपाई बर्सौँ बितेको थियो ।

यसपालि कोही नभेटे एक्लै जाने भन्ने निर्णयमा पुगेर पहिले परिवारबाट यात्रा प्रस्ताव पारित गराएँ । केही साथीभाइमाझ प्रस्ताव पनि राखिहेरेँ, खासै इच्छुक कोही नपाएपछि लगभग निराश बनिसकेको थिएँ । यति लामो यात्रामा नजानू भन्ने श्रीमतीका स्नेहसिक्त भाषालाई मैले लत्याएरै काशी जाने योजना बनाएको थिएँ । मैले काम गर्ने स्कुलका केही सहकर्मी साथीभाइलाई यात्राबारे जानकारी गराएको थिएँ तर सुरुमा खासै रुचिकर कसैलाई लागेको थिएन । पछि कताबाट प्रधानाचार्य शान्तिराम तिम्सिनाले थाहा पाउनुभएको रहेछ, कोही नगए तपाईँ र ममात्र भए पनि जाऔँ भन्नुभयो । यात्राका लागि मजस्तै उत्सुक प्रधानाचार्यको प्रस्ताव केही संशयपूर्ण लाग्यो, किनभने आजसम्म कहिल्यै सँगै हिँडिएको थिएन । पछि यात्रामा सहायक प्रधानाचार्य र अर्का एकजना सर पनि थपिनुभयो । यात्राबारे खोजमूलक जानकारी दिने दिनेश पौडेल सरले झनै आँट बढाइदिनुभयो ।

भाइटीका लगाएर हामी सोही दिन रेल चढ्ने, दुई दिन घुमेर फर्किने योजनानुरूप अघि बढ्यौँ । अघिल्लो दिन टीका भएकाले सबै अबेला भोजन गरेर हिँडेका कारण बाटामा खासै खानेकुराको आवश्यकता भएन, त्यसमाथि तिहार भनेपछि सबैका झोलामा केही न केही मिष्ठान्न थिए सोही खायौँ । राति बाह्र बजेको हुँदो हो, कटिहारमा रेल बिसाएको मौकामा पुरी तरकारी पनि खान भ्यायौँ ।

अभिमन्यु अभिजित

जोगमनीदेखि मुगलसरायसम्म बाह्र घण्टाको रेलयात्रा मजादार भयो । भोलिपल्ट मुगलसरायबाट सीधा भगवान् गौतमबुद्धले उपदेश दिएको ठाउँ सारनाथ पुगेर हामीले आफ्नो गन्तव्य नियाल्न थाल्यौँ । पहिले त पेटपूजा नै गरौँ भन्ने मनसायले निकैबेरमा एउटा होटलमा पुगेर खाना खायौँ र विश्वशान्ति स्तूपतिर लाग्यौँ । हाम्रो भ्रमण तालिका अत्यन्त छोटो भएकाले मुख्यमुख्य स्थलको दर्शन र दुईचार तस्बिर लिनुमात्र थियो । औपचारिक रूपमा अध्ययन गर्ने शिलशिलामा जाने हो भने दुईवर्षमा पनि काशी छिचोल्न गाह्रो रहेछ ।

हामीलाई अटो चढाएर दिनभरका लागि हिँडेका मुरारिजी साह्रै मिजासिला व्यक्ति थिए । भोजन गरौँ भन्दा उनले नकारे तर दिनभर हँसमुख निराहार नै हामीलाई कुदाए । सारनाथको लघुदर्शनपछि हामी चुनार किल्ला, मिर्जापुरतिर लाग्यौँ । फराकिला सडक तर सवारी साधनको टिँटिँट आवाजले कान नै खाने ठाउँ, कता लगेर ठोक्काउने हुन् भन्ने जगजगी थियो । मुटु नै चिसो बनाउँदै हामी गङ्गाजी पार गरेर रामपुर किल्ला हुँदे मिर्जापुरतिर लाग्यौँ । रापुरदेखि उता लागेपछि बाटो पनि चौडा र काशीको भीडबाट केही उन्मुक्ति मिल्दै गएको अनुभूति हामीलाई भयो । अब डराउनुपर्ने भीड त्यहाँ थिएन । हामी मुरारिजीमा कुनै असुविधा नहोओस् भन्नेमा सजग थियौँ, त्यसैले टुटेफुटेका हिन्दीमा उनैसँग बात मार्दै हिँड्यौँ ।

‘मुरारि जी, आपका उम्र कितना होगया ?

अन्ठावन्न साल । क्योँ ?

क्युँ कि आप सोलह साल का दिखरहे हो ।

कैसे ?

क्युँ कि जब हम काशी के गली पे था आप बीस के स्पीड मे गाडी चलारहा था, अब तो आप साठ पे

गति लेरहे हो, कुछ जवान लगरहे हो’

हाहाहा …..

हामी सोध्दैखोज्दै, गुगल गर्दै चुनार किल्ला पुग्यौँ । सन् १९९५ तिर भारतीय टेलिभिजनमा चलेको सिरियल चन्द्रकान्ताका राजपरिवारलगायत हाम्रा विक्रमादित्यले समेत सोह्र पुस्ताले राज गरेको चुनार किल्लाको वास्तुकला, त्यहाँको निर्माणशैली हेरेर हामी चकित पर्यौँ । गङ्गाजीका तटैनजिक केही उच्च भागमा अवस्थित किल्लाको भित्रभित्रै सुरुङ, फाँसी दिने ठाउँ, शत्रु पराजयका निम्ति बनाइएको चौडा पर्खाल, गोही र सर्प पाल्नाका लागि बनाइएको तलाउ, करिब २०० फीट गहिरो इनारजस्तो तलाउ, तलाउको अन्तसम्म पुगिने सिँढी, हातहतियार राख्नका लागि बनाइएका सुरुङजस्ता अलौकिक इन्जिनियरिङले उहिलेको शासनकलाबारे छोटकरीमा जानकारी दिनसक्थ्यो । अझ पूर्वका महान् कवि भर्तृहरिले साधना गरी समाधि प्राप्त गरेको भूमि पनि त्यहीँ हुँदा मन फुरुङ्ग बनाउँथ्यो । मुरारिजीको मिस्कलले हाम्रो घुमफिरले बिट मारेर पहिलो काशीबासका लागि रवाना भयो ।

नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको ससुराली घर, रामनगर किल्ला गङ्गाघाट वाराणसी

साँझ अस्सीघाटमा उतारेर मुरारिजीले नसोचेको माया लगाउँदै बिदाबारी भएर गए । हामीले निकैबेरमा एउटा लजमा बासको प्रबन्ध गरेर गङ्गाजीका किनारतिर लाग्यौँ । जहाँ सायङ्कालीन आरतीको बेला भएको थियो । काशीमा पनि गजब चाहिँ के रहेछ भने त्यहाँ पनि साम्प्रदायिक समस्या रहेछ । दुईतिर एकैपटक आरति उही तरिकाले हुने तर समलय र भावका साथ एकैपटक नगर्ने थोरै अघिपछि हुँदोरहेछ । बरमझियाको असली बुढो बाजेको पेडाको रोइलोजस्तै यहाँ पनि कुन असली भन्ने बुझ्न गाह्रो भयो । एकैपटक गरेको भए मजा आउँथ्यो, आएन । अर्को कुरा पशुपतिनाथको आरतिजस्तो रौनक यहाँ देखिएन किनकि यहाँ क्यासेट बजेको थियो ।

भोलिपल्ट हामी बिहानै गङ्गास्नानका लागि पुग्यौँ । फोहोरमैलाले गुजुल्टिएकी गङ्गासँग सशङ्कित हुँदै हामी नुहाएर फर्कियौँ । दिनभर कसैको जिउ नचिलाएपछि गङ्गा जतिसुकै फोहोर किन नहुन्, यो त मानवीय दोषका कारण उनले पनि नियति भोगिरहेकी छिन् । उनी कसैका शरीरमा घाउ बनेर देखा पर्दिनन्, एजर्ली बनेर चिलाउँदिनन् । हाकीलाई गङ्गाप्रति अझै श्रद्धाभाव जागेर आयो ।

अस्सी घाट वाराणसीको सायङ्कालीन दृश्य

प्रायः नेपालका सबै नदनदी मिसिएर तरुण बनेकी गङ्गा धमिलिएकी छिन् । यही गङ्गा हुँदै हाम्रा पूर्वजहरूका अस्तु महासागरमा विलय भए । आफ्नै अस्तु पनि बगेर जाने ठाउँ त यतै हो । गङ्गा यति ठूली भएर पनि शान्त थिइन् । यिनमा खहरेको जस्तो उत्ताउलोपन कतै थिएन ।

भारतभरकै देवाधिदेव महादेव श्रीविश्वनाथ जाने तरखरमा जुटेर हामी तत्काल आसपासमा पुग्यौँ । मन्दिर जाने बाटो देखाइदिएबापत एकजना ऐरेखैरे साधुले चिया खान भा. रु. तीस टप्काइहाले । बाटामा त्रिपुण्ड्र भष्म लगाउँदै दक्षिणा माग्ने भुराभुरीदेखि त जोगियौँ तर फ्री लाँकर (लकर) मा मोबाइल राखिदिएर तीनगुणा बढीको फूलमाला बेच्ने भैयाहरूबाट जोगिन सकिएन किनकि उनले पहिले आतिथ्य प्रकट गरे र दाम अन्तिममा घोषणा गरे ।

दसौँ हेक्टर जमिनमा फैलिएको विश्वनाथ बाबाको छेउमा ठडिएको नेपाली शैलीको मन्दिरले नेपालको पुरातत्त्व विभागलाई गिज्याइरहेको थियो। गत चैतमा भारत भ्रमण गरेका शेरबहादुर देउवाले जीर्णोद्धार गरेको भनिएको शिलालेख टाँसिएको त थियो तर जीर्णको उद्धार देखिएन ।
पशुपतिनाथकै कदमा बनेको मन्दिरभित्र प्राचीन कलाकौशल त देखिन्छ तर जीर्णप्रायः बनेको रहेछ । मन्दिरभित्र केही नेपाली बटुकहरू भोजन गर्नमा तल्लीन थिए। बसौँसम्म शिष्टाचार नपाएपछि तोरीलाउरेहरूलाई कोट्याइरहन उचित लागेन । हामी पनि नेपालबाट आएका हौँ भन्दा पनि तिनका हातमुख सरासर जोडिइरहे। खासै सोधिएका प्रश्नका उत्तरबाहेक खुलेनन् । बनारसमा बसेका छौँ, ठूलै हौँ भन्ने हुँदो हो ।

विश्वनाथ मन्दिर आसपासमा नेपाली शैलीमा बनेको पशुपतिनाथ मन्दिर

एकजना भारतीय शिक्षक भेटिए, जो नेपाली पनि बुझ्दा रहेछन् । जर्मन–फ्रेन्च पढाउँछु भन्थे । उनका दृष्टिमा नेपाली सरसफाइका काममा त्यहाँ बसेका छन्, जो हिन्दू भएर पनि मन्दिर जाँदैनन्, फोहोरै बस्छन् । यही यथार्थका रूपमा विश्वनाथ प्राङ्गणमा कुची लगाउँदै गरेका नेपालीले घर कहाँ भन्ने प्रश्नको उत्तर दिएनन् । संशय भएको हुँदो हो । बनारसको जागिरप्रति उनमा घमण्ड पो भयो कि ? उनले नेपाली लवज पो भुले कि ? अचम्म लाग्यो ।

हामीलाई फर्किनेबेला टिकट कसो गर्ने भन्ने चिन्ताले सताएको थियो, गङ्गा–प्रसादका रूपमा तत्काल टिकट पनि मिलिहाल्यो । बनासरका गल्ली छिचोल्दै हामी दुई त्यहाँ रह्यौँ । बनारसी सारीदेखि स्फटिकसम्म हेर्यौँ तर किन्न चाहिँ सकेनौँ । त्यहाँ बेच्न कम ठग्नका लागि व्यापार गर्नेहरू बढी थिए । यत्रो यात्राका लागि स्वीकृति दिने गृहमन्त्रीलाई सगुन केही न केही त लिएरै जाने योजनानुरूप एउटा कारखानामा पुगेर केही थान सारी किनियो । त्यहाँका बोसले बनासरको प्रसिद्ध टमाटर चाट खुवाएर आतिथ्यको सीमा नै तोडे, किनभने हामी उनका कारखानामा ग्राहक बनेर पुगेका थियौँ, ससुराल गएका थिएनौँ ।

मणिकर्णिका घाटमा नाउ चढ्न तानातान गर्ने भैयाहरूबाट बँचेर दुईचार शव डढेको हेरियो । प्रतिघण्टा पाँचवटासम्म लास आइरहेका थिए । गल्ली राम नाम सत्यले मात्र गुन्जिरहेको थियो । काशी आएका बेला पितृहरूलाइृ पनि सम्झने काम गर्दै आफ्नै पाराले श्राद्धादि कर्म पनि सम्पन्न गरियो । बनारसका जम्मा चौरासी घाटमध्ये मुख्यमुख्य घाट सबै चहारेर लखतरान हुँदै हामी कोठा फर्किन्थ्यौँ । अध्ययनका क्रममा काशी बसेका मनोजजीसँग हामी तुलसीदासले साधना गरेर रामचरितमानस लेखेको तुलसी घाट पुग्यौँ । मनोजजीको सिफारिसमा बनारसी कचौडी खाँदै प्रसिद्ध र प्राचीन मन्दिर सङ्कटमोचन मन्दिर पनि पुग्यौँ ।

काशीमा रहँदा कचौडी, डोसा, पनिर रोल, इटली, मड्का चिया र मोदीजीले पान खाएर ब्राण्ड बनेको हरिदास गेटको केशव ताम्बूल भण्डारमा हाम्रा बीपी–किसुन बा’ले पनि पान खाएको कुरा कम्ता हर्षको कुरा होइन । आआफ्ना स्वादअनुसार हामीले ताम्बूल खाँदै प्रसिद्ध व्यापारी राजेन्द्रजीसँग सेल्फी पनि लियौँ ।

गङ्गा आरति

बनारसमा उहिल्यैदेखि प्रचलित अन्नपूर्ण भोजनालयको किस्सा त बाँकी नै छ । हामीलाई यात्राका दिन आत्मीयता देखाएका मुरारिजीले अन्नपूर्ण भोजनालय पनि पुग्नका लागि सिफारिस गरेका थिए । सोहीअनुसार हामी खोज्दै त्यहाँ पुग्यौँ । होटलतिरको भन्दा फरक किसिमले त्यहाँ भोजनका लागि आसन, पातका टपरा आदिले हामीलाई नयाँपन दिलाएको हो । मैले गुरुकुलीन दिनलाई सम्झिएँ, जहाँ मन्त्रोच्चारणपूर्वक अपोशान गरेर मात्र भोजन गरिन्थ्यो । भोजन सकेपछि हामी शुल्क तिर्न काउन्टर खोज्न थाल्यौँ । खासमा त्यहाँ दैनिक जति पनि आउँछन् निःशुल्क भोजनको प्रबन्ध गरिएको अन्नक्षेत्र रहेछ । शुल्क नलिएकोमा हामी लजायौँ, शुल्क नलाग्ने ठाउँ थाहा पाएर भोजन गर्न आएका नेपालीहरू हामीलाई देखेर लजाए ।

हामी जहाँजहाँ पुग्थ्यौँ त्यहाँ हामीलाई आर्मीका मान्छे भनेर चिन्थे । हामीलाई आसामी वा सिक्किमेलीभन्दा हाम्रो नमिलेको हिन्दीले न्याय दिएको थियो । नेपाली नभनेरै हामी दौडिइरह्यौँ । हामी बास बसेको होटेलका मालिकले नेपाली भन्ने थाहा पाएर खुब चियोचर्चो गरे, कतिसम्म भने हामी दिनभरका यात्राबारे गफगाफ गरेर मात्र सुत्थ्यौँ उनीहरू हामीमाथि शङ्कालु नजरले हेर्थे, विज्ञापनका लागि भन्दै सुतिसकेका हामीलाई उठाएर कोठाको फोटो खिच्न आए । दरभङ्गाबाट काशीबासका लागि आएका ती होटेलवाला साहुजीले वाक्क बनाएका थिए । तर हाम्रो नियत सफा थियो, डराएनौँ ।

भारतीय प्रहरीसँग अनुमति लिँदै, गुगल गर्दै जहाँजहाँ पुगियो सबैमा विशिष्टता झल्किएको थियो । काशी विश्वसभ्यता हो, मौका मिलाएर सबैले जानुपर्छ । भारतीय पण्डा, दलाल, व्यापारीदेखि पाकेटमार हुँदै अटोवालासँग जोगिनसके हामी अझै राम्रा कुरा देख्न सक्छौँ । हुन ता राष्ट्रवादका कुरा गर्नेहरू बरु युरोप जानू भारत नजानू भन्छन् तर हाम्रो हैसियतले युरोपभन्दा पहिले काशी जा भन्छ । रामनगरको पृथ्वीनारायण शाहको ससुराली घर, सारनाथको बौद्ध विरासत र चुनारको विक्रमादित्यको इतिहास बुझ्न पनि काशी जानुपर्छ ।

विश्वव्यापी समस्याका रूपमा चुलिएको फोहोरको समस्याबाट बनारस अछुत छैन यद्यपि मथुरा–वृन्दावनभन्दा सफा नै हो। विद्या लिन पुगिने काशी घुम्न जानु पनि अहोभाग्य हो। काशी धरतीको पवित्रतम धाम हो। विशिष्ट नाम हो ।

चलते रहो काशी
सभी देशवासी …!

सारनाथ
जहाँ भगवान् गौतमबुद्धले उपदेश दिनुभएको थियो।

बनारस हिन्दू विश्वविद्यालयभित्र रहेको कलाकेन्द्र