विनोद ओली

 

विनोद ओली

सयपत्री फूल ढपक्कै ढाकी फुलेको देख्दैछु।
प्रवासबाट चेली तिमीलाई यो चिठ्ठी लेख्दैछु ।।
दशैँ र तिहार उमंग बहार कहाँ हुन्छ अपनत्व।
रहरहरू बन्धक हुन्छन् जन्जिर छ दासत्व ।।

ती फाँटहरूमा लहलह धान झुलेको देख्दैछु।
प्रवासबाट दिदी तिमीलाई यो चिठ्ठी लेख्दैछु ।।
बाध्यताहरू हरेर लान्छन विवशता शिरमा।
यो माइती आएन भनेर दिदी परौली पीरमा ।।

ती हिम शैल कञ्चन निर्मल खुलेको देख्दैछु।
प्रवासबाट बहिनी तिमीलाई यो चिठ्ठी लेख्दैछु।।
स्वदेशमा छैन रोजगारी अवसर विदेशको भरमा।
चाडबाड आउँदा उदासीपन छाउँछ घरमा ।।

सन्त्रासको श्याम मेघ गगनबाट हटेको देख्दैछु ।
दूरदेशबाट चेली तिमीहरूलाई यो पत्र लेख्दैछु ।।
यो सालको तिहार उल्लासमय हटेर कहर ।
यद्यपि मन विगतका तिहार सम्झन्छ हर प्रहर ।।