
युवराज भण्डारी

याद छ
ममा वसन्तले पाइला टेकेपछि
टुसा पलाएर नयाँ पात निस्कदै थिए
उमंग बढ्दै गयो
मेरा फूलका आँकुराहरू फक्रिन लागे
रंगीविरंगी चराहरू
चिरबिर चिरबिर गर्न थाले
खेल्न थाले, नाच्न थाले
वैंशको उन्मादले
म हरियो भएँ
जवानी चढ्दै गयो
चरा चुरुंगीहरूले मेरो रसपान गर्दा
रसिला फल भोग गर्दा
मैले आनन्द लिन थालेँ
उनीप्रति प्रेम जाग्यो
प्रेमीजस्तै
उनैमा लिप्त
मुटुको टुक्राजस्तै
कहिल्लै नछुट्ने
अझ कसिलोसँग
बाँधिने लालसाले गर्दा
कस्तो !
म आफूलाई भुलिदिन्थेँ
या
आफ्नै सन्तान
काखमा राखेर
छातीमा च्यापेर
दिनरात नभनी
तिनकै लालन पालनमा
डुबुल्की मार्दा
अझ गहिराईमा पुग्ने इच्छाले
आनन्दित तुल्याउँदै गर्दा
ती मेरो शरीरमा खेल्दा
मायाजाल !
म आफूलाई भुलिदिन्थेँ
मेरा काखे पाखे
कतिले
जोडी बनाए
घर बसाए
बचेरा जमाए
म सुरक्षा दिन तल्लिन हुन्थेँ
पानी, हावा र घामसँग
उनीहरू मस्त हुन्थे
म प्रशन्न हुन्थेँ
उनको आवाजमा रम्थेँ
उनको धुनमा गुन्गुनाउँथेँ
कहिलेकाहीँ कौवा
मेरो घर आएर कराउँदा
बेसुर लाग्थ्यो
उदेक लाग्थ्यो
रिस उठ्थ्यो
लाग्थ्यो‑
कालो कौवाको तिखो आवाजले
रंगीचंगी चराहरूको
संगीत बिथोलिएजस्तो
साना बचेराहरूको
निद खल्बलिएजस्तो
कुनै चरा डरले अल्मलिएजस्तो
मलाई पीडा हुन्थ्यो
म कौवासँग
कराउँथेँ
रिसाउँथेँ
हकार्थें
र, भन्थेँ‑
जा मेरो घर नआ
अनि भगाउथेँ
धपाउँथेँ
ऊ जान्थ्यो
म शान्तिको अनुभूत गर्थें
उनै चुरुंगीसँग रमाउँथेँ
चिसो हावासँगै हिउँद लाग्न थालेपछि
मेरा फलफूल मबाट हराउन थाले
रसिला गाला झुर्री पर्न थाले
केश फुलेर झर्न थाले
दाँत फुस्कन थाले
सिख्रै भएँ
म कुरूप बन्दै गएँ
मेरा प्रेमी
मेरा सन्तान
मेरा छातीका टुक्राले
मलाई
घृणा गर्न थाले
एक‑एक गर्दै छोडेर
विदेश गए कि
सहर पसे कि
या मेरो छिमेकीकोमा बसे कि
कसैको केही खवर छैन
न त मेरो नै खबर
कसैले गर्छ
मतलब पुगेपछि
आफ्नैले भुल्दा
आफ्नैले छोड्दा
मन टुटेर
निराश
दुःखी
खिन्नभै
टोलाएर
बाँच्नुको अर्थ
खोज्दै गर्दा
आज सदाझैँ
कौवा मेरो घरमा बस्यो
तिखो आवाजले कराउन थाल्यो
उही रुखो बेसुरो आवाज
सधैँ एकनाश हुँदाहुँदै
किन आज प्रिय लाग्दैछ
म भन्दैछु
ए ! एकैछिन बस
तिमीलाई मप्रति कुनै स्वार्थ नभएर होला
सधैँ एकनास छौ
आउँछौ, जान्छौ
हालखबर सोध्छौ
तर
मैले आफ्ना मानेकाले
न सोध्छन्, न खोज्छन्
कौवा उड्यो अर्को
रुखमा बस्यो
मतिर फर्केर भन्यो‑
जीवन नै हो सुखदुःख
न मात्तिनू
नआत्तिनू
तिमीले जो आफ्नो सोच्छौ
फिरङ्गी हुन्
आउँछन्
माया लिन्छन्
पीडा दिन्छन्
मतलब पुर्याउँछन्
जान्छन्
जान्छन्
जान्छन्
तर
तिमी विचलित नहोऊ
अटल छौ
अटल रहू।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 









