विश्व भुटानी सहित्य संगठनले स्थापना गरेको छ लाख नेपाली रुपैयाँ नगद राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार प्रथम पटक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ ।

जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सलभेनियामा आयोजित वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५ कार्यक्रममा उक्त पुरस्कार समर्पण गरिएको थियो ।

प्रमुख अतिथि सिक्किमका पूर्व मुख्यमन्त्री तथा कवि पवन चाम्लिङ विशेष अतिथि, डा. गोविन्दराज भट्टराईको बाहुलीबाट संस्थाको संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ, वर्तमान अध्यक्ष कर्ण गुरूङ र महासचिव पातलो अन्तरेको उपस्थितिमा पुरस्कार समर्पण गरिएको थियो।

भारतको असम, गुवाहाटीमा नै रहनु भएका क्षेत्रीको पुरस्कार कवियत्री दीपा राई पुनले ग्रहण गर्नु भएको थियो । यो पुरस्कारको राशी हरेक अनुष्ठानमा बढाउँदै लगिने जानकारी संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले बताउनु भएको छ ।

अर्को अनुष्ठान-६ बाट अन्य विधामा पनि पुरस्कार राखिने उहाँले बताउनु भयो ।

विश्व भुटानी सहित्य सगठनमार्फत स्थापित स्वीकारोक्ति फाउन्डेसन जीवनका जस्तोसुकै आरोह अवरोहलाई स्वीकार गर्दै अघि बढ्ने जीवन दर्शनलाई आत्मसात गर्दै स्थापित उक्त पुरस्कार अहिलेसम्मको नेपाली राशीको सबैभन्दा ठूलो पुरस्कार हो ।

बसाइँ, ब्रह्मपुत्रको छेउछाउ,अतृप्तजस्ता ओजनदार कृतिका कृतिकार क्षेत्री असममा बसेर आजीवन नेपाली साहित्यका क्षेत्रमा योगदान गर्ने साहित्यकार हुनुहुन्छ । यो पुरस्कार नेपाली साहित्य क्षेत्रमा अनवरत सेवा गर्ने व्यक्तित्वलाई प्रदान गरिने फाउन्डेसनले बताएको छ ।