
कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गर्नुभयो।
कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल भइकन पनि गहिरो भाव व्यक्त गर्न सफल रहेको बताउनुभयो । ‘गुरुङका कविता सरल शब्दशैलीको भए पनि त्यसले दिने भाव गहिरो छ,’ शर्माले भन्नुभयो, ‘उहाँका कविताले आफैंसँग संलाप गरिरहेजस्तो लाग्छ ।’
समीक्षक राजकुमार बानियाँले भने कवि गुरुङले कविता सृजनामा देखाएको निष्ठाको प्रशंसा गर्नुभयो । ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन् । उनले कविताबाटै आफूलाई सम्पूर्ण रुपले पुष्टि गरेका छन्,’ बानियाँले भन्नुभयो ।
अर्का वक्ता कवि श्रवण मुकारुङले दशकौंपछि पढ्दासमेत पुराना नलाग्ने कविता सृजना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताउनुभयो । ‘सर्जकले आज सृजना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्नुहुँदैन । भोलिको समयलाई समेत सान्दर्भीक हुने रचना गर्नसक्नु नै लेखकीय सामर्थ्य हो,’ मुकारुङले भन्नुभयो।
‘जब एउटा मान्छे हराउँछ’मा ५० थान कविता समेटिएका छन् । २ सय ४९ रुपैयाँ मूल्य रहेको संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो । यसअघि गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ नामक कवितासंग्रह प्रकाशित भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










