अनेसासको सचिव तथा लामो समयदेखि नेपाली साहित्य सेवामा समर्पित विमला निरौलाको दुई कृतिका बारेमा आइतबार छलफल गरिएको छ ।

अनेसास शब्द सारथि कार्यक्रमको चौधौँ श्रृङ्खलाअन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले कृतिको बारेमा विचार राख्नुभयो ।

जूम प्रविधिका माध्यमबाट सम्पन्न कार्यक्रममा ‘काव्य-पराग’ मुक्तक कृतिका बारेमा तीर्थराज अधिकारीले कृतिको समीक्षा गरे भने शकुन्तला ज्ञवालीले कृतिबाट मुक्तक वाचन गर्नुभयो ।

‘ओथारो बसेको सपनाहरू’ कविता कृतिका बारेमा गोविन्द गिरी प्रेरणा र भारती गौतम समीक्षात्मक धारणा राख्नुभयो भने दीपा राई पुन, गोमा न्यौपाने, राजेन्द्र श्रेष्ठ लगायतले सङग्रहमा संगृहीत कविता वाचन गर्नुभयो ।

प्रमुख अतिथि सरूभक्तले विमलाको कृतिबारे बोल्दै सर्जक अघिअघि हिँड्ने र समालोचक पछिपछि आउने विचार राख्नुभयो । उहाँले प्रवासमा बसेर सिर्जना गर्नु ठूलो तपस्या रहेको बताउँदै विमलाको लेखनको प्रशंसासमेत गर्नुभयो ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेसास बिओटी सभापति गीता खत्री, साहित्यकार गंगा लिगल, अनेसास महिला समिति संयोजक उर्मिला निर्दोषी, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजालगायतले शुभकामना मन्तव्य तथा विचार व्यक्त गरे ।