
अशेष मल्ल

अशेष मल्ल
निर्वाचनपछि
सदाका लागि
पुस्तकभित्रै कैद
र पुनः
अर्को चुनावका सङ्घारमा
बग्रेल्ती अक्षरहरू
झण्डा बोकेर आउने
शब्दजालको पुलिन्दा हो
घोषणापत्र
घोषणापत्र भनेकै
अक्षरहरूका जादूगरी बयान
हर चुनावपछि कैदखानामा
बन्द हुन सिर्जिएका
अघोषित बकपत्र
घोषणापत्र भनेकै
पल्टाएर पढ्न
फुर्सद नपाएर
ढुसी परेका
अक्षरहरूको एउटा
बेनामी बहिखाता
सपनाहरूको अनाम थैली
बदनाम गीतहरूका
व्यर्थका अलाप
आकाशका तारा
खस्ला कि खस्ला कि
सधैँको मीठो भ्रम
र कहिल्यै बाली नलाग्ने
कागजको खेती
घोषणापत्र भनेकै
नदी किनारमा
केटाकेटीले बनाएको
बालुवाको घर
क्षणभरको रहर ।
चुनाउको मौसम छ यतिखेर
राजनीतिको खेतीमा
घोषणापत्रका बालाहरू
लहलह झुलिरहेछन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 










