यो कुरा कक्षा ९ मा पढदाखेरिको हो । पढ्ने भनेर दिदीले रुटिन बनाउनुभएको थियो । रुटिन, जो अरूको समयलाई कैद गरेर डेराको कच्ची कोठाको भित्तामा चिप्किएको हुन्थ्यो ।

बहिनीहरू अलि साना भएका हुनाले छिट्टै सुतिहाल्थे । म र दिदी भने अबेरसम्म बस्थ्यौँ । रुटिनले छुट्टाई दिएको समयअनुसार दिदी कतै ध्यान नबिराएर पढ्नु हुन्थ्यो । तर पहिलोपटक भएर हो वा योभन्दा पहिले कहिले पनि यसरी नपढेको भएर हो म ठूलो मारमा पर्न गएको थिएँ । म पढेको जस्तो गरेर अनेकथरी गरिबस्थेँ । अनेकथरीमा म केके गरेर बस्थेँ हुँला भनेर यसो सोचिहेरेको स्मरणमा खास त्यस्तो कुराहरू केही आएन ।

मैले अनेकथरी गरेको दिदीले कहिले पनि चाल पाउनुभएन । उहाँले चाल पाउनुभएन भनेर यसरी एकोहोरो घोषणा गरिहाल्नु खासमा असान्दर्भिक हुनजाला । किनभने बालापनका धेरै कुराहरू अहिले सोचिल्याउँदा हामी यथार्थभन्दा अलिबेसी प्रोजेक्ट गर्ने गर्छौँ । त्यसैले के भन्दा ठिक होला भने उहाँले चाल पाउनुभएको थियो होला तर मलाई नझपार्नु भएको होला । किनभने यदि झपारेको भए मलाई अलिकति भए पनि सम्झना हुनुपर्थ्यो ।

हुन पनि दिदीलाई साइन्सका भयङ्कर न्युमेरिकल र थ्यौरीबाट उम्केर मेरो हर्कत हेर्न कहाँ फुर्सद ! यदि हेरिहाले पनि मेरो हर्कतलाई सधैँ पूर्णविराम लगाउन झन् कहाँ फुर्सद !

एउटा रेडियो थियो । जो रुटिन चिप्किएको छेउ नजिकै किलामा झुन्डिएको हुन्थ्यो । रेडियो स्पष्ट झुन्डिएको हुन्थ्यो तर आत्महत्या गरिरहेको हो कि, हो कि जस्तो लाग्ने गर्थ्यो । थाहा छैन उतिखेर मलाई यस्तो लाग्थ्यो वा लाग्थेन । फेरि उतिखेर मलाई कुनै कुरा झुन्डिनु र त्यसले आत्महत्या गर्नु बीचमा तात्विक भिन्नता के छ ?  भन्ने बारेमा केही थाहा थियो वा थिएन यो पनि त थाहा छैन तर लेखिहालेँ । सोचेर लेखेको होइन । अवचेतनबाट स्वतः लेखिएको हो । फेरि लेखेको कुरा सत्य हुन्छ होला त, हगि ! कि असत्य पनि हुने गर्छ ? कुनै कुरा मलाई थाहा छैन वा मलाई यस कुराको स्मरण छैन भन्नुको मतलब अवचेतनबाट लेखिएको कुरा असत्य हो भनिहाल्नु, भनेर ठानिहाल्नु, ठानेर मेटाइहाल्नु जस्तो मुर्खता वा बुद्धिमता मैले गर्नु हुँदैन वा हुन्छ ? म ऊहापोह स्थितिमा छु ।

विज्ञान राज

ठुलोबुवाले रेडियो इन्डियाबाट ल्याउनु भएको थियो । हामीले त्यसलाई दैलेखको घरबाट यहाँ डेराको कोठामा ल्याएर राखेका थियौँ । रेडियो देख्दा ठूलोबुवालार्इ सम्झिहाल्छु । ठूलोबुवा सम्झिएपछि उहाँ बेपत्ता भएको आज ६ वर्षभन्दा बेसी भयो भन्ने पनि सम्झिहाल्छु । बेलाबखत ड्याडी र हजुरआमाले गुनगुन गरेको पनि सम्झिहाल्छु, “त्यो मरिसक्यो । नभए कसैले मारिसके ।” दशैमा घर जाँदा जवानिमै चाउरी परेको अनुहारमा ठुलीममीले लुकाउन खोजेको ठूलोबुवाको झझल्को पनि सम्झिहाल्छु । जो बाबुको छायाको खाँचो थियो त्यो बाबुको छाया आ—आफ्ना श्रीमानमा खोजिरहेका निरीह, विवश दिदीबहिनी पनि सम्झिहाल्छु । यसैयसै उहाँसँग जोडिएका धेरै कुराहरू सम्झिहाल्छु । फेरि कसैलाई सम्झिनु वा कसैको सम्झना आउनु यी फगत दर्दका बहाना न हुन ! कसरी पो आज रेडियो सम्झेथेँ । बस यही बहाना भयो माथि उल्लेखित कुराहरू सम्झिन । आफूलाई दर्द दिलाउन ।

हामी रेडियो दिउसोतिर फुर्सदमा निकै सुन्थ्यौ । तर रातिको आठ बजेको समाचार नेपाल दर्पणपछि त, कहिलेकाँही नेपाल दर्पण सकिए लगत्तै आउने बीबीसी पश्चात् अपवाद बाहेक हामीले सुनेको मलाई याद छैन । किनभने त्यसपछि त्यसको मुन्टो नमज्जाले प्याट्ट बेटारिन्थ्यो । त्यो बिना प्रतिकार चुप बस्थ्यो । त्यो चुप बसिसकेपछि आफूले पनि चुपचाप घोसेमुन्टो लगाएर एकोहोरो किताबमा हेर्नुपर्ने हुन्थ्यो । दिदीले बनाएको रुटिन पालना गर्नु बाहेकको विकल्प पनि त थिएन । रुटिन, जो अरूको समयलाई विभाजन गरेर डेराको कच्चि कोठाको भित्तामा चिप्किएको हुन्थ्यो ।

यस्तै एकदिन खै दिदीको मुड के बिग्रियो ! उहाँले रेडियोको मुन्टो प्याट्ट बेटार्नु भयो । त्यो बोल्न थाल्यो । भनिरहेको थियो तपाईँलाई बीबीसी पछि प्रसारण हुने कार्यक्रम श्रुतिसंवेगमा हार्दिक स्वागत छ । लगत्तै कुनै उपन्यासका पृष्ठहरू वाचन गर्न सुरु भयो । पैँचालीस मिनेटसम्म त्यो बजिरह्यो । म एकनासले सुनिरहेँ । पैँचालीस मिनेटपछि पुनः त्यसको मुन्टो बेटारियो । त्यो पुनः चुप बस्यो ।

त्यसबखत मलाई लागिरहेको थियो केवल म मात्र सुनिरहेको छु । तर होइन रहेछ । दिदी पनि सुनिरहनु भएको रहेछ । हेर्छु, उहाँको अनुहारको भावभङ्गी पूरापूरा बदलिएको छ । सायद कतै हराइरहनु भएको थियो । उहाँ मलिन पनि देखिरहनु भएको थियो । अनि म ? सम्झना भएसम्म म पनि सम्पूर्णतयः लाटिएको थिएँ । मन्त्रमुग्ध थिएँ । मानौँ म समुद्रको अन्तिम गहीराइमा पुगेर आइरहेको छु । मानौँ म आकाशभन्दा परपर पुगेर फर्किरहेको छु । आजभोलि सोच्छु, खासमा दिदीको मुड बिग्रेको होइन रहेछ ।

त्यसदिन सुन्दा, उपन्यासका मध्यमतिरका पृष्ठहरू वाचन भइरहेका थिए । एक दुई हप्ता खै के कारणले सुन्नै पाइएन । तीन चार हप्तापछि सुन्दा नँया उपन्यास सुरु भैसकेको थियो । त्यसपछि हप्ताका दुई दिन मङ्गलबार र शुक्रबार निरन्तर बीबीसी सक्किएपछि रेडियोको मुन्टो बटारिन थाल्यो । तर त्यो उपन्यास त्यसपछि कहिल्यै बजेन ।

अरू थुप्रो उपन्यास वाचन भए । मिलेसम्म सुनेँ । तर त्यो उपन्यासले जति अरू कसैले पनि लामो समयसम्म बाध्न सकेनन् । मैले पूरै उपन्यास सुनेको पनि होइन । मध्यतिरका केही पृष्ठहरू मात्र सुनेको हुँ । तर ती पृष्ठहरूले मेरो बाल मस्तिष्कमा यस्तो अमिट छाप बसालिदिएका थिए कि मैले पहिलोपटक जीवनबारे सोचेँ । जगत्बारे सोचेँ । आफूलाई गहिरिएर झ्याँक्न अभिप्रेरित भएँ ।

यत्रो पृष्ठभूमि लेखेर खासमा बताउन खोजेको कुरो के हो भने पैँचालीस मिनेट अवधिभर मलाई वाचन भइरहेको उपन्यास कुन हो ? यसको लेखक को हो ? होस नै रहेन । सुनिँदा, हास्यास्पद सुनियो होला । तर यथार्थ यही हो ।

कसरी मलाई होस रहेन ? अहिले म यकिन कारण भन्न सक्दिनँ । तर अनुमान भने लगाउन सक्छु । हुनसक्छ, मलाई कथाले, वाचनले अथवा वाचन र वाचक दुवै रोकिएका बखत बीचमा बज्ने शास्त्रीय सङ्गीतले यसरी तानेको होस् कि म बेहोसीमा पुगेको हुँ । जब कार्यक्रम सकियो र म होसमा आएँ, मलाई होस नै नरहेको होस् उपन्यास कुन थियो ? त्यसको लेखक को थियो ?

अथवा हुनसक्छ, उपन्यासको नाम र लेखकको नाम सुनेको थिएँ हुँला तर त्यतिखेर मेरो चेतना र उमेर परिपक्क नभएको हुनाले मैले भुलेँ । फेरि मैले एकबार मात्र हो सुनेको । एकबार सुनेका कतिधेरै कुराहरू हामी सम्झिदैनौ । यो प्राकृतिक प्रकिया पनि हो । यसकारणले पनि विस्मरण भएको हुनसक्छ ।

खैर ? जे सुकै कारणले विस्मरण भए पनि एउटा कुराले भने म अचम्मित छु । त्यो कुरा के हो भने मलाई कथा स्मरण छ । स्मरण के छ भने त्यस उपन्यासको मुख्य पात्र जोगी हो । जो जीवन जगत्का अनेक रहस्यहरूलाई मन्थन गर्दै नयाँनयाँ ठाउँ डुलिहिँडेको छ । एउटा दृश्य धुमिल रूपमा स्मरण भइरन्छ । नदी किनारमा केही स्त्रीहरू कपडा धोइरहेका हुन्छन् अथवा नुहाइरहेका हुन्छन् । ती मध्येः एउटी स्त्रीसँग जोगीको अचानक सम्भोग भएको छ । तर कसरी उनीहरूबीच सम्भोग हुनगयो ? मलाई स्मरण छैन । त्यसपछि डुल्दैडुल्दै जोगी एउटा शहरमा आइपुग्छ । त्यहाँ उसले देख्छ त्यस शहरकी महारानीलाई । ऊ अत्यन्तै सुन्दर हुन्छे । तत्क्षण  ऊ महारानीको प्रेममा परिहाल्छ  र दरबारमा गएर सायद प्रेम प्रस्ताव पनि राखिहाल्छ । त्यहाँ महारानी र जोगीबीचमा प्रेमका परिभाषा, मान्यता र विश्वास उपर दार्शनिक तहमा गहन बहस हुन्छ । मतभेद हुन्छ । त्यसपछि मलाई स्मरण छैन ।

खासमा मलाई यत्ति मात्र स्मरण छ । फेरि मलाई आजसम्म यत्ति मात्र कसरी स्मरण भइरह्यो ? म अक्सर अनुत्तरित भएर टोलाइरहने गर्छु ।

हुर्किँदै गएपछि वा साहित्यमा अभिरुचि जाग्दैदेखि त्यो पुस्तकको खोजी गरेँ । त्यतिखेर म पुस्तक पसलतिर अक्सर गैरहन्थेँ । पुस्तक किन्ने अभिप्रयाले त ठिकै हो जानु तर म पैसा नभएको बेला पनि गैरहन्थेँ । हेरिरहन्थेँ, सडकछेउका बाटामा सजाएर राखेका, पुस्तकका लामहरू । कतै त्यो पुस्तक देखी पो हाल्छु कि भन्ने झिनो आशामा ! सुर्खेत जिल्लाको बुद्धपथनेर रहेका पुस्तक पसल अगाडि यसरी कोही उभिराखेको देख्नुभएको थियो भने, ढुक्क हुनुहोस त्यो मान्छे पक्का म थिएँ ।

त्यतिखेर खासमा म सेलिब्रेटी लेखकहरूलाई वा पाठकहरूलाई पनि पच्छाइरहेको हुन्थेँ । कास ! कसैले त्यस पुस्तकबारे केही लेखोस् वा कसैले सिफारिस गरोस् भनेर । अहँ, कसैले पनि लेखेको वा सिफारिस गरेको फेला परेन ।

अब त बिस्तारै के लाग्दै गइरहेको छ भने त्यो पुस्तक कहिले पनि फेला नपरोस् । किनभने फेला नपरेका चिजहरूको खोजीमा लागिरहनु एउटा विशेष किसिमको आनन्द हुने गर्दो रहेछ । त्यसकारण म जीवनभर त्यो पुस्तकलाई खोजी गरिरहन चाहन्छु । तर फेला नपरोस् भन्ने अभिप्रायले । हुन्छ नि, मरीचिका जस्तो । ठिक त्यस्तै, त्यो पुस्तक फेला पार्ने र फेला पारेर पढने जुन अभिलाषा छ मनमा, त्यो अभिलाषा केवल मरीचिका होस् भन्ने चाहन्छु ।

मरीचिका होस् भन्ने मेरो एउटा चाहना न हो ! चाहना बेगर त्यो पुस्तक भेटिहाल्न सक्छ अथवा भेटाइहाल्न पनि त सक्छु । उसो त चाहना यस संसारमा कहिले पो पूरा भएका छन् र ?

त्यसैले पुस्तक संयोगवश भेटिहाल्यो भने म के गरूँला ? भन्ने बारेमा पनि मैले सोच्न भ्याइसकेको छु । जो यसप्रकार छ । जुन दिन म त्यो पुस्तकलाई फेला पार्नेछु । सुर्खेतमै भए एरिचोक नजिकको अन्डरगराउन्ड क्याफे वा अन्तकतै भए त्यही सहरको चोक वा गल्ली नजिकको अन्डरगराउन्ड क्याफेमा छिर्ने छु । दश दश मिनेटको अन्तरालमा छ कप चिया दायाँतिरको अन्तिम पर्दा भित्र ल्याइदिनु होला भन्दै म अन्तिम पर्दा भित्र हतारहतार छिर्ने छु । छिर्न बित्तिकै त्यस पुस्तकलाई जथाभावी मिल्काउने छु । त्यो भुइँमा लमपसार पर्ने छ । म त्यस पुस्तकलाई एकतमासले हेरिरहने छु । कपहरू आउनेछन् । कप ल्याउनेले हरेकपटक भुइँमा लम्पसार परेको पुस्तक देख्ने छ । हरेकपटक मेरो आँखामा हेर्ने छ । तर केही भन्ने छैन । जाँदा ऊ हरेकपटक पर्दा खुल्लै छोडेर जानेछ । हरेकपटक म उठेर पर्दा मिलाउने छु । अनि आएर त्यसै गरी बस्ने छु । पुस्तकलाई हेरिरहने छु । अन्तिम कप आउन जब बाँकी रहनेछ, म जुरुक्क उठेर अन्तिम पर्दाबाट बाहिर निस्किने छु । लामो सास फेर्ने छु । सिधै पुस्तक पसल पुग्ने छु । त्यै पुस्तक किन्ने छु । अनि आफ्नो गृहतिर लाग्ने छु ।

यत्ति भनिसकेर म पाँचौँ कपको अन्तिम चुस्की लगाउँदैछु । तिमी मलाई एकोहोरो हेरिरहेकी छ्यौ ।

अनायासै मेरा गह तलमाथिका परेलाहरू भिजिरहेका छन । सायद तिमीले थाहा पायौ हौली म रोइरहेको छु । त्यसैले तिम्रो हात मेरो गह पुछ्न आइरहेको छ । मेरो गह पुछ्न आइरहेको तिम्रो हातलाई मैले च्याप्प समातेको छु । आफ्नो गाला मुसार्न थालेको छु ।

तिमी अझै पनि मलाई एकोहोरो हेरिरहेकी छ्यौ । बोल्न पनि कत्ति बोलेकी छैनौ ।

हामी एरिचोक नजिकको अन्डरग्राउन्ड क्याफेमा छौँ । जबदेखि हामी यहाँ आयौँ तिमी चुपचाप नै छ्यौ । मैले त्यत्रो कुरा गरेँ । अहँ, तिमीले प्रतिक्रियाको रूपमा केही पनि भनिनौ । मात्र तिमी मलाई एकोहोरो हेरिरहेकी छ्यौ । जसरी एउटा मूर्ति मन्दिरमा ठडिएर सजिएर केवल हेरिरहन्छ्यौ ।

छैटौँ कप ल्याएर वेटर केटो जब अन्तिम पर्दाभित्र छिर्छ । त्यहाँ उसले देख्छ म केही भनिरहेको छु । के भनिरहेको छु भन्देखिन् भने, “ठूलोबुवा र त्यो पुस्तक एउटै हुन् । जो भेटिनका लागि हराएका होइनन । ती हराउनका लागि हराएका हुन् ।”

वेटर केटो चकित परेको जस्तो देखिएको छ । उसले, मैले केही भनेको मात्र देखेको हो । खासमा उसले, मैले कसलाई भनेको हो त्यो देखेको होइन । त्यसैले ऊ चकित पर्नु स्वाभाविक हो ।

अझै पनि तिमी मलाई एकोहोरो हेरिरहेकी छ्यौ । जसरी एउटा डाडाँ पहाडमाथि अग्लिएर क्षितिजलाई केवल हेरिरहन्छ ।

वेटर केटोले आत्तिएको आवजमा कराएको छ, “दाइ, यहाँ कोही पनि छैन । कोसँग बोलिरहनु भएको हो ? भुइँमा हजुरको भोलिदेखि बजारमा आउन लागेको उपन्यासको पहिलो प्रति खसेको छ । सायद खसेको होइन हजुरले पछार्नु भएको हो । एकचोटि होइन बारबार पछार्नु भएको हो । यी यहाँ हेर्नु त च्यातिएको छ ।”

म झसङ्ग भएको छु । एकाएक गाला मुसारिरहेको तिम्रो हात गायब भएको छ । मलाई एकोहोरो हेरिरहेको तिम्रो आँखा गायब भएको छ । छेउमा बसिरहेको तिम्रो शरीर गायब भएको छ । अन्ततः तिमी सम्पूर्णतय गायब भएकी छ्यौ ।

पर्दा नजिक वेटर केटो चियाको अन्तिम कप समातेर उभिएको छ । ऊ क्वारक्वार्ती मलाई हेरिरहेको छ ।

अस्तु !