पुष महिनाको समय । आँखा झमक्क पार्दा नपार्दै दिन ढल्किहाल्ने । आज पनि त्यस्तै भयो । म आफ्नो कार्यालय समय सकेर डेरामा पुगें । एउटा बिहे भोजमा सामेल हुन जानुपर्ने भएकोले फटाफट तयार हुनतिर लागें । अलि पुरानो मोडेलको काठको दराजमा झुन्डिएको कोट पाएन्ट झिकेर मज्जाले टकटक्याएँ । दुई वर्षअघि किनेर, काठमाडौँको सडकमा घिसार्दै आएको कालो रङ्गको छालाको जुत्तालाई पोलिस दलेर टलक्क टल्काएँ । दराजमा जडिएको पूर्णकदको ऐनाअगाडि उभिएर कोट, टाई–सुट पहिरिएँ । विदेशबाट नेपाल आउँदा एक मित्रले कोसेली ल्याइदिएको अत्तर, जिउमा छर्किएर आफूलाई मगमग बसाउने बनाएँ । अनि निस्किएँ बिहेभोजमा सामेल हुन । लगभग बिस मिनेटजति ट्याक्सीको यात्रा गरेपछि बिहेभोज स्थलमा पुगें । निम्तालुहरुको जमघट सुरु भइसकेको थियो । स्वागतको लागि किरण ढोकामै उभिएको थियो ।

किरण मेरो मित्र हो । आठ वर्षअगाडि जुन टोलमा म डेरा गरी बस्थेँ । त्यही टोलको रैथाने थियो किरण । उही किरणको छोराले विदेशमा उतैकी विदेशी महिलासँग विवाह गरेको थियो । उही छोरा–बुहारी नेपाल आएको मौकामा किरणले विवाह भोजको आयोजना गरेको हो । किरण र उसका छोराबुहारीसँगको भेटघाटपछि म खानपिनतिर लागें । वाइनको गिलास लिएँ । विभिन्न स्न्याक्सको साथमा वाइनको चुस्की लिन थालें । यसरी पहिलो, दोस्रो, तेस्रो वाइनको गिलास लिएपछि मेरो नजर अलि पर उभिएकी महिलामा पर्यो । जो आधुनिक पहिरनमा वाइनको चुस्की लिँदै मिठो मुस्कानका साथ कुराकानी गर्दै थिइन् । मेरो नजर उनीलाई नियाल्नमा व्यस्त भयो । उस्तै रूप । उस्तै रङ । उस्तै मनमोहक मुस्कान । उनको हातको गिलास पनि रित्तिदै भरिँदै गयो । म उनको मुस्कानमा आर्कषित हुँदै गएँ । उनको मुस्कानले बिस्तारै बिस्तारै अतीतको गहिराइमा डुबाउँदै लग्यो ।

निरजराज सुवेदी

कुरा त्यतिबेलाको हो । जतिबेला म उच्च शिक्षा अध्ययनको लागि गाउँबाट राजधानीतिर झरेको थिएँ । बिहेभोजमा मेरो नजरले जसलाई नियालिरहेको थियो । त्यतिबेला उनै अन्जनाको घरमा डेरा गरी बस्ने मौका मिलेको थियो मलाई ।

हो, अन्जाना हो उनको नाम । आमाबावुका चार सन्तानमध्येकी जेठी छोरी । उनीपछिका एक बहिनी र दुई भाइ थिए । उमेरको हिसाबकिताब मिलाउँदा मभन्दा एक वर्षले जेठी थिइन् उनी । बाबु सरकारी जागिरे । आमा गृहणी । दुई वर्षअघि एस.एल.सी.मा ब्याक लागेपछि उनी पढाइ छोडेर घर बस्न थालेकी थिइन् । मेरो कलेज बिहानको भएकोले दिउँसो अक्सर घरमै हुन्थेँ । त्यसकारण अन्जनासँग मेरो मिलजुल हुनथालेको थियो । त्यही क्रममा एकदिन बेलुकाको समयमा ब्याडमिन्टन खेल्ने निर्णय भयो ।

ब्याडमिन्टन र्याकेट त अन्जनाहरुसँग पहिले नै थियो । कर्क किन्ने जिम्मेवारी ममाथि आयो । मैले आफ्नो जिम्मेवारी पूरा पनि गरें । त्यसपछि नियमित रुपमा ब्याडमिन्टन खेल सुरु भयो । यहीबिचमा मैले काठमाडौँको खर्चबर्च चलाउन एउटा निजी कंम्पनीमा नोकरी सुरु गरेको थिएँ । त्यस दिन म आफ्नो ड्युटी सकेर डेरामा पुगें । कपडा खेल्न तयार हुँदै थिएँ । त्यति नै बेला बाहिरबाट अन्जनाले बोलाएको आवाज आयो । म बाहिर निस्किएँ । अन्जना हातमा र्याकेट र कर्क बोकेर उभिएकी थिइन् । उनका भाइबहिनी थिएनन् ।

“खै त अरू ?” मैले आश्चर्य मान्दै प्रश्न गरें ।

“आज त कोही पनि छैनन् । सबै हजुरआमालाई भेट्न गएका छन् ।” अन्जनाले भनिन् । त्यसपछि हामीले खेल सुरु गर्यौँ । खेल चलिरहेकै थियो । यतिमै अन्जनाले हानेको सटले कर्क उडेर घरको भित्तामा चढेको अङ्गुरको लहरामा अल्झियो । तन्किएर हातले झिक्न मिल्ने स्थानमा कर्क थिएन । म कर्क झिक्ने उपाय सोच्दै थिएँ ।

“तिमी मलाई बोक । म कर्क झिक्छु ।” अन्जनाले भनिन् । मलाई पनि उपाय सही लाग्यो । मैले उनलाई बोकेँ । उनीले मेरो गर्दनपछाडिबाट जोडले अङ्गालो हालिन् । उनीले त्यसरी अङ्गाल्दा मेरो अनुहार अन्जानाको छातीमा टाँस्सियो । मेरो आँखा बन्द भयो । उनको छातीको कोमल अङ्गलाई मेरो अनुहारले स्पर्श गर्यो । म झसङ्ग भएँ । डरले मुटु थर्र काम्यो । मैले साहस गरेर आफ्नो अनुहारमाथि उठाएँ । अब मेरो चिउँडो उनको छातीमा टाँस्सियो । मैले आँखा खोलेर हेंरें । उनी कर्क नझिकी निहुरिएर मलाई हेरिरहेकी थिइन् । मैले आँखा खोलेर हेर्नासाथ उनी मुसुक्क मुस्कुराइन् । मेरो अनुहार र उनको छातीबिच भएको स्पर्शको अनुभूति अन्जानालाई भयो भन्ने सङ्केत थियो उनको त्यो मुस्कान ।

म डराएँ । उनलाई ओराल्न चाहन्थे । तर अझै पनि उनको अङ्गालो बेसरी कस्सिएकै थियो । हाम्रो नजर एकअर्कासँग जुधेकै थियो । उनको मुस्कान यथावत् नै थियो । मैले उनलाई बोकेको हात थोरै खुकुलो बनाएँ । अन्जनाको अङ्गालो पनि खुकुलो भयो । मैले बिस्तारै उनलाई ओराल्न थालें । उनको शरीर मेरो शरीरबाट तल सर्दै गयो । अन्जनाको ओठ, मेरो निधार हुँदै मेरो ओठसम्म आइपुग्यो । उनको स्पर्शले मेरो पूरै शरीर सिरिङ्ग भयो । मैले एक कदम पछाडि सरेर उनीबाट थोरै दूरी बनाएँ ।

“लौ ! किन ओरालेको ? मैले कर्क झिकेकै छैन ।” अन्जनाले हाँस्दै भनिन् । म मौन नै भइरहें ।

“फेरि बोक, म कर्क झिक्छु ।”, भन्दै उनी एक कदमअगाडि आइन् । हामीबिचको दूरी हरायो । मैले उनलाई उसैगरी बोकें । जसरी अघि बोकेको थिएँ । उनले पनि उसैगरी अङ्गालिन् । जसरी अघि अङ्गालकी थिइन् । अर्को हात बढाएर कर्क झिकिन् । निहुरिएर उसैगरी मलाई हेरिन्, जसरी अघि हेरेकी थिइन् । हाम्रो नजर जुध्यो । उनी मुसुक्क मुस्काइन् । यसपटक अन्जनाको मुस्कानमा मिठो आर्कषण थियो । नवयौवना गुलाबको फूलझैँ । मैले बिस्तारै उनलाई तल ओरालें । यसपटक अन्जनाको मुख मेरो कानमा पुग्यो ।

“आई लव यू ।” अन्जनाको मधुरो आवाज मेरो कानमा गुञ्जियो । मैले आश्चर्य मान्दै उनलाई हेरें । उनी लाजले मुस्काउँदै एउटा र्याकेट मेरो हातमा थमाएर खेल्न तयार भइन् । त्यसपछि आँखाले कर्क देखिन्जेल हामी खेल्यौँ । खेल सकेर म आएर बरन्डामा बसें । उनी पनि स्वाँ–स्वाँ गर्दै मसँगै बसिन् । यतिमै कम्पाउण्डको आइरन गेट खुलेकोे आवाज आयो । त्यो आवाजले अन्जना झस्कँदै उठेर थोरै पर गइन् र गेटतिर हेरिन् । उनका आमाबाबु र भाइबहिनी फर्किएका रहेछन् । उनको कान्छो भाइ कुदेर भित्र आयो ।

“आम्मै ! अझै ब्याडमिन्टन खेलिराको ?” भन्दै र्याकेट र कर्क टिप्यो । अनि माथितिर उक्लियो । अरु पनि सरासर माथि उक्लिए । अन्जना सबैभन्दा पछि लागिन् । म पनि उठेर आफ्नो कोठातिर बढ्दै थिएँ । अचानक अन्जना आँधीझैँ हुत्तिएर आइन् । झ्याप्प पछाडिबाट अङ्गालिन् । गालामा किस गरिन् र जुन गतिमा उनी आएकी थिइन्, उही गतिमा फर्किन् । एकक्षणको लागि मेरो होसहवास् उड्यो । पछाडि फर्किएर हेरें । उनी गइसकेकी थिइन् । सपनाझैँ लाग्यो । तर घट्ना यथार्थ थियो । म चुपचाप फर्किएर आफ्नो कोठामा पुगें । ढोका ढप्काएँ । बेडमा पल्टिएँ । टिभी अन गरेँ । तर आँखा अगाडि उही दृश्य ।

मेरो अनुहार र उनको छातीबिचको त्यो स्पर्शको दृश्य ।

कर्क झिक्न छोडेर मुस्काउँदै मलाई हेरेको त्यो दृश्य ।

मेरो कानमा मधुरो स्वरमा उनीले आई लव यु भनेको त्यो दृश्य ।

अचानक आँधीझैँ आएर मेरो गालामा उनीले किस गरेको त्यो दृश्य ।

ती सबै दृश्यहरुको सम्झनाले मलाई रोमाञ्चित गरायो । आखिर पुरुष मन न हो । विपरीत लिङ्गीको स्पर्शले रोमाञ्चित हुनु स्वभाविक नै हो । म पनि भएँ ।

एकदिन खेल सकेर म कोठामा बसिरहेको थिएँ । अचानक ढोका उघारियो । उठेर ढोकातिर हेरें । ढोकामा अन्जना उभिएकी थिइन् । उनको हातमा एउटा थाल थियो । थाललाई माथिबाट पत्रिकाले ढाकिएको थियो ।

“के ल्याएको ?” मैले आश्चर्य मान्दै प्रश्न गरें ।

“खाना ।” भन्दै भित्र आइन् र खानाको थालछेउको कुर्सीमा राखिन् ।

“किन ? आज केही विशेष थियो कि क्या हो ?” भन्दै मैले सोधेँ ।

“विशेष यही हो कि, खाना मैले आफैँले बनाएकी हुँ । ल, अब छिटोछिटो खाइहाल । नत्र सेलाउँछ ।” भनेर उनी कोठाबाट निस्किएर गइन् । यसरी बेला–बेलामा अन्जनाले खाना खाजा ल्याएर खुवाउन थालिन् । अन्जनाको यस्तो व्यवहारले मलाई डर लाग्न थाल्यो । किनकि यो कुरा अन्जनाका आमाबाबुले थाहा पाए भने मलाई नराम्रो हुनसक्छ । नराम्रोभन्दा पनि मैले यहाँबाट डेरा सर्नुपर्ने अवस्था सिर्जना हुन्छ । फेरि काठमाडौँ भन्नासाथ सजिलै डेरा कहाँ पाइन्छ र ?

समय बित्दै गयो । अन्जनाको त्यो व्यवहार निरन्तर चली नै रहेको थियो । एकदिन म बेलुका टेलिभिजन हेरेर बसिरहेको थिएँ । मैले सानो ब्ल्याङ्केटले खुट्टा छोपेर बसेको थिएँ । अन्जना कोठामा आइन् । उनी पनि मसँगै ब्ल्याङ्केटभित्र खुट्टा छिराएर बसिन् ।

मैले उनीलाई आफ्नो डरको कारण बताएँ । तर अन्जनाको जवाफ मेरो लागि आठौं आश्चर्यझैँ भयो ।

“ममीलाई सबै कुरा थाहा छ ।” भन्दै अन्जनाले जवाफ दिएकी थिइन् । मैले आश्चर्य मान्दै उनलाई हेरेँ । उनले लजाउँदै मुसुक्क मुस्काएर नजर झुकाइन् । आफ्नो खुट्टाको बुढी औँला मेरो खुट्टामा दल्न थालिन् । त्यो घर्षणले तनमनमा तरङ्गगित भयो । मिठो न्यानोपनको आभास भयो । अन्जनाले एक हातले पछाडिबाट अङ्गालिन् । हामीबिचको सानो दूरी पनि हरायो । दुवैको शरीर एकअर्कासँग जोडियो । उनको कोमल ओठले मेरो गालाको स्पर्श गर्यो । गालाबाट उनको ओठ बिस्तारै सर्दै मेरो ओठमा पुग्यो । दुवैको ओठमा चुम्बकीय शक्ति थियो । एकअर्कासँग कहिल्यै नछुट्टिनेगरी जोडिएको थियो । त्यसले क्षणभरको लागि संसार भुलायो । सिमा नाघ्न बाध्य गरायो । वासनाको भुमरीले चुर्लुम्म डुबायो । मायापिरतीको मिठो अनुभूति गरायो । जब हामी होसमा आयौँ । झसङ्ग भयौँ । एकअर्काको अङ्गालोबाट छुट्टियौँ । उनी बिस्तारै कोठाबाट निस्किएरमाथि उक्लिन् । म चुपचाप बेडमा पल्टिरहें ।

भोलिपल्ट अन्जानाको कान्छो भाइ कुद्दै आयो र माथि उसको ममीले बोलाउनुभएको छ छिटो आउनु भनेर हिंड्यो । मेरो मनमा डर बस्यो । म बिस्तारामाथि उक्लिएँ । बैठक कोठमा अन्जना पहिले नै बसिरहेकी थिइन् । उनकी आमा बैठकको ढोकामा उभिएकी थिइन् ।

“बस्नुुस् । तपाईसँग एउटा सल्लाह गर्नुछ ।”, भन्दै उनकी आमाले बस्ने आदेश दिइन् । मैले आदेशको पालना गरें । उनकी आमा पनि मेरो सामुन्ने अन्जानसँगै बसिन् ।

“एकपटक तपाईँको चिना मगाउनुस् है ?” अचानक अन्जनाकी आमाले भनिन् । म अलमल्लमा परें ।

“चिना किन ?” मैले आश्चर्य मान्दै प्रश्न गरें ।

“खासमा हामी अन्जनाको विवाहको लागि केटाको खोजीमा थियौं । तर, तपाईँहरु एकअर्कालाई मन पराउनुहुन्छ भन्ने कुरा हिजो मात्र अन्जनाले मलाई भनी । त्यसैले हामी अन्जना र तपाईँको जोडी बाँधिदिन चाहन्छौँ । त्यसको लागि तपाईँहरु दुबैकोे चिना जुराउन त पर्यो नि ।” उनकी आमाले भनिन् ।

मैले बिस्तारै आफ्नो नजर अन्जनामा पुर्याएँ । उनले मुस्काउँदै थोरै नजर झुकाइन् । त्यसपछि म चिना मगाउने बाचा गरेर त्यहाँबाट निस्किएँ, र गाउँबाट चिना मगाएँ ।

अन्जनाको परिवारका पुरेतले चिना हेरे । तर हाम्रो चिना मेल खाएन । हाम्रो वैवाहिक जीवन निक्कै कष्टकर हुने, सम्बन्ध लामो समय नटिक्ने कुरा चिनामा पुरेतले देखे । हाम्रो विवाह नहुने निर्णय भयो । त्यसै दिनदेखि म डेरामा भएको समयमा अन्जना तल आउन छोडिन् । उनी मबाट टाढिदै गइन् ।

हाम्रो ब्याण्डमिन्टन खेल पनि बन्द भयो । म पनि त्यो टोलबाटै डेरा सरेर टाढा पुगें । त्यसपछि हाम्रो भेट कहिल्यै भएन । त्यहाँबाट डेरा सरेपछि मैले उनलाई देखेको आजैमात्र हो । अचानक बजेको म्युजिकको आवाजले मलाई झस्कायो । म अतीतबाट व्रतमनमा फर्किएँ । यताउता नजर घुमाएँ । अलिपर अन्जना उनको चिनाले जुराएको श्रीमान्को साथमा त्यहाँबाट फर्कदै थिइन् । म भने आफ्नो नजुरेको चिनालाई सम्झदै उनीलाई हेरिरहें ।