
कवि परिचय :
वैश्विक महामारी कोरोनाले मानव जाति अस्तव्यस्त बनाएको बेला कलम समाएर कविता कोर्न थालेका प्रदीप शर्माले साहित्याकाशमा चाँडै कविका रूपमा आफ्नो नाम दर्ता गराए । सामाजिक सञ्जाललाई साहित्य चर्चाको माध्यम बनाएर अघि बढे । पछि फर्किएनन् । समसामयिक विषयहरूलाई समाएर कविता कोरे, सामाजिक सञ्जालमा पोस्ट गरे उत्साहवर्धक प्रतिक्रियाहरू प्राप्त गर्न समर्थ भए । तिनैलाई अघि बढ्ने साधन बनाए । हो, असमको विश्वनाथ जिल्लाअन्तर्गत गेलापोखरी गाउँ निवासी प्रदीप शर्माको साहित्यिक यात्राको सुरुवाती कथा यहीँ हो तर यसअघि पनि उनले साहित्य क्षेत्रमा काम गरेका थिए । साहित्यिक र सांस्कृतिक गतिविधिलाई स्थानीय तहमा निरन्तरता दिन जन्मिएको विश्वनाथ गेलापोखरीको ‘साझा कलागोष्ठी’ को मुखपत्र ‘नवप्रभात’ का पाँचओटा अङ्क सम्पादन गरेको अनुभव भने पहिलै थियो । मुखपत्र सम्पादन सहितै यस भेगको साहित्यिक गतिविधिमा पनि उनको योगदान रहेको छ । मौलिक कृति भने सन् २०२१ को ‘मलाई नसोध मेरो परिचय’ काव्यकृति हो ।
मलाई नसोध मेरो परिचय काव्यकृति र कविको वैचारिकता :
‘मलाई नसोध मेरो परिचय’ काव्यकृति सन् २०२१ मा साझा कलागोष्ठीले प्रकाशित गरेको हो । यस कविता सङ्ग्रहमा कुल ३१ ओटा कविताहरू समावेश गरिएको छ । यी कविताहरूले कोरोनाकालीन समयको प्रभाव सहितै असमेली गोर्खाहरूको सामाजिक पक्षलाई प्रकाश पारेको छ । कवि एक जना शिक्षक भएकाले होला कवितामा शिक्षा सन्दर्भका कुराहरूले पनि ठाउँ पाएको देखिन्छ । समाज परिवर्तनको स्वर मुखरित भएको पाइन्छ । सामाजिक, राजनीतिक व्यवस्थामा स्वच्छताको सन्देश छ । एक परिवर्तनधर्मी सामाजिक कार्यकर्ताका नाताले इमानदारी, समानता र स्वतन्त्रताको आवाजलाई रचनामा समावेश गरेका छन् । उनका यसखाले चिन्तन र विचारले एक जना सामाजिक यथार्थवादी सर्जकका रूपमा चिनिन मद्दत पुगेको छ । लेखन र जीवन शैलीको ढाँचा एकै खाले राख्ने सर्जकका रूपमा पनि उनी चिनिन पुगेका छन् ।
मलाई नसोध मेरो परिचय काव्यकृतिलाई सरसर्ती हेर्दा :
सन् १९९५-९६ तिर असमिया कविताबाट आरम्भ भएको काव्ययात्रा सन् २०२० को मार्च महिनामा आएर नेपाली कवितासामु आइपुग्छ । ‘कविता’ शीर्षक कविताले नेपाली कविता यात्रामा एउटा लक्ष्य दिन सफल हुन्छ । एउटा पुस्तक प्रकाश गर्ने आँट दिन्छ । यसो हेर्दा असमिया कविताको यात्रा लगभग २६ वर्ष भएको र नेपाली कविता यात्राले चाहिँ भर्खर २ वर्षको अवधि पार गरेको थाहा लाग्छ । नेपाली कविताले कोरोनाकालीन काल नै समातेर अघि बढेको हिसाबमा यस कृतिलाई लिन सकिन्छ । यस कृतिलाई सरसरती हेर्ने क्रममा निम्नवर्गीय संवेदनासँग सम्बन्धित कविता, नारी चेतका कविता, जातीय अस्मिताका कविता, वर्ग सङ्घर्षका कविता, जीवन विवशताका कविता, मुक्तिबोधका कविता भनेर वर्गीकरण गर्दै उदाहरणसहित सरसरती हेर्ने प्रयास गरिएको छ ।

कृष्णनील कार्की (असम)
(क) निम्नवर्गीय संवेदनासँग सम्बन्धित कविता : लेखनमा छेउछाउको परिवेशले प्रभाव पार्छ नै । कवि पनि छेउछाउको परिवेशमै हुर्किएको एउटा पात्र हो । प्रदीप शर्माले पनि सानैदेखि गरिब-निमुखाहरूको जीवनशैली देखेका हुन् । त्यसैले उनका कविताहरूमा निम्नवर्गका सुस्केराहरू पाइन्छन् । निम्नवर्गप्रतिको संवेदना र उनीहरूको जीवनमा आउनुपर्ने परिवर्तनको कामनाका हरफहरू पनि कवितामा भेटिन्छन् । यस भावसित मिल्दाजुल्दा कविताहरूमा कृषक, पीडाभित्र आशा, अचानो आदि रहेका छन् । हेरौँ त कविताका केही हरफहरू-
“सधैँ अवहेलित, शोषित र पीडित
कसैले सुनेनन् वेदनाका मर्मस्पर्शी गाथा
भोगवादमा मुछिएको कठोर समाजमा
असह्य दुःख लुकाएर बाँचेको ।” (कृषक, पृ-१७)
“…अचानोझैँ सहनुबाहेक
छैन परित्राणको उपाय
अशान्त मन
केवल अवाक्
तापनि
यताउता हेर्छन् आशालु नजरले
कि त
भोलिको नयाँ बिहानीले
उनीहरूको जीवनमा
खुसी ल्याउने हो कि ।” (पीडाभित्र आशा, पृ-२९)
“मुक्त भई युगौँदेखिको बन्धबाट
सही शिक्षा दिन धारिलो हतियारलाई
दैलो ढकढकाउने नयाँ विचारधाराको
अपेक्षा हुँदै छ एउटा युगद्रष्टाको । “ (अचानो, पृ-३६)
(ख) नारी चेतका कविता : पुरुषप्रधान समाजमा नारीहरू असुरक्षित रहेको सत्यता आजको होइन । समय, परिवेश, पात्रहरू बदलिँए तर सोच अहिले पनि सम्पूर्ण रूपमा बदलिन सकेको छैन । त्यसैले होला दिनप्रतिदिन हामी नारीमाथिका अनेकौँ अत्याचारहरू देख्न, सुन्न पाउँछौ । कतै कतै पुरुषहरू पनि नारीको अत्याचारमा मुछिएका छन् तर कम्ती मात्रामा । जबसम्म कुनै पनि नारी घर अथवा समाजमा सुरक्षित रहँदैनन् तबजसम्म उन्नति र प्रगतिको नारा केवल नारामै सीमाबद्ध रहन्छ । यसखाले उन्नति र प्रगतिले मानवीय सोचमा के पो परिवर्तन ल्याउँला ? यसर्थ नारीलाई समअधिकार र सम्मान दिने समाजको निर्माण हुनुपर्छ । यसखाले नारी चेतका कविताहरू प्रदीप शर्माका कलमबाट निस्केका छन् । चीत्कार, दुर्दशा, हेर सुन्दरी, फूल आदि कविताहरूमा यसखाले भावहरू व्यक्त गरिएको छ ।
“यहाँ त
धनको ताकतले
सजिलै उम्किन्छन् अपराधीहरू
बिचारा पीडितको परिवार
न्यायालय धाउँदाधाउँदै थाकेर
धिकार्छन् आफैँलाई
कस्तो अनौठो चलन
सुरक्षित छैनन् कतै नारीहरू ।” (चीत्कार, पृ-२०)
“अफसोस नगरी कुनै
फ्याँक्ने फ्याँक्दै छन् टिपेर
आज मात्रै त होइन आखिरी
हिजो पनि फ्याँक्दै थिए
के निश्चित छ भोलि फ्याँक्दैनन् भन्ने?
जब
हात काम्न थाल्छन् पुजारीकै
कहाँ सुरक्षित छन् र फूलहरू ?” (दुर्दशा, पृ-४६)
“क्षणिक इच्छा पूर्ण गरी आफ्नो
निःसङ्कोच हत्यासम्म गर्छन्
तिम्रो यौवन नै यमदूत बन्छ
मृत्युको कारक हुन्छ तिम्रो नाम नै
तिम्रो सौन्दर्य नै दुश्मन हुन्छ
त्यसैले
चिन्नुपर्छ भित्री मान्छे
सम्पूर्ण भरोसा गर्नुअघि । “( हेर सुन्दरी, पृ-५७)
(ग) जातीय अस्मिताका कविता : जातीय अस्मिताले पनि कविलाई घचघचाएको छ । आफ्नै माटामा विदेशीको मार्कालिएर हिँडिरहँदा कविमन आक्रोशित पनि भएको हो । रैथानेको मर्यादा प्राप्तिका निम्ति चलेको सङ्घर्षमा कविले कलम उठाएकै हुन् । आफ्नो हक, अधिकारहरू मागेकै हुन् । विदेशी भन्नेलाई कडा जबाफ फर्काउन पनि कवि पछि हटेका छैनन् तर अहिलेको परिप्रेक्षमा असम सरकार अथवा यहाँका रैथानेहरूको गोर्खाहरूलाई हेर्ने दृष्टिकोण बदलिएको छ । गोर्खाहरू पनि रैथाने भइसकेका छन् । रैथानेझैँ अधिकारहरू पाउन थालिसकेका छन् । तापनि कवि अझै ढुक्क भएर बस्न खोजेका छैनन् । हक, अधिकारहरू पाउन सङ्ग्राम गर्नैपर्छ भन्ने कुरामा अडिग छन् । त्यसैले उनको कलमले दिनौँ कोरेको छ जातीय अस्मितासँग सम्बन्धित कविताहरू । मलाई नसोध मेरो परिचय, व्यथा, ढुङ्गो, मनका प्रश्नहरू, झुम्रो आदि कविताहरूमा जातीय अस्मिताको भाव देखिएको छ ।
“मलाई नसोध मेरो परिचय
परिचय दिँदादिँदै वाक्क भएँ तिमीलाई
एउटै जबाफ दिनुपरेको पटकपटक
अब त किन हो जिस्काएझैँ पो लाग्न थाल्यो तिमीले । “ (मलाई नसोध मेरो परिचय, पृ-२३)
“अनादिकालदेखि
पुर्खाले दिएको अभिन्न हिस्सा
बोझ बोकेर थाप्लोमा सकेसम्म
पीडा खप्दै असह्य
हिँडिरहेको निरन्तर
थकित पाइलाहरू ।“ (व्यथा, पृ-३७)
“ढुङ्गालाई मूक बधिर
लाचार देखेर
बढ्दै छ यहाँ अत्याचार
अब कति दिन थिचोमिचो सहेर बस्ने हो कुन्नि ?” ( ढुङ्गो, पृ-४०)
“अनावश्यक
तिरस्कृत
अवहेलना खपेको सधैँभरि
अस्मिता खोसिएको युगौँदेखि
परित्यक्त झुम्रो । “ (झुम्रो, पृ-६७)
(घ) वर्गसङ्घर्षका कविता : समाजमा विभिन्न किसिमका वर्गहरू हुन्छन् । विशेष गरी आर्थिक कारणहरूबाटै वर्ग विभाजन सुरुवात भएको हो भन्न सकिन्छ । आदिम साम्यवादको अन्त्यपछिदेखि पुँजीवादसम्मको मानवजातिको ऐतिहासिक विकासमा देखा परेका सामाजिक रूपहरू वर्गीय समाज हुन् । समाजमा धनीगरिब, सम्पत्ति भएका र नभएका, शोषक र शोषित आदि वर्गहरू पाइन्छन् । कवि प्रदीप शर्माले पनि आफ्ना कविताहरूमा वर्गसङ्घर्ष अथवा वर्गभेदका विषयहरू भित्राएका छन् । अनुतप्त, डोरेटो, विषालु हावा आदि कविताहरूमा वर्ग सङ्घर्षले ठाउँ पाएको छ ।
“के भन्न सक्छौ
यी गरतका बोतलहरूमा
रगत छ कुन जात र धर्मको?
बहस नगर अब व्यर्थको
उच्च-नीचको भेदभाव ल्याई
हिंसा फैलाई धर्मको नाममा
के चाहिँ पाउँछौ र ?” (अनुतप्त, पृ-५९)
“मासिएर होला डोरेटो
साँघुरिँदै गयो मनमुटु
हराउँदै गयो आत्मीयता । “ (डोरेटो, पृ-७९)
“हक र अधिकार खोसिएको थियो मेरो
केवल एउटा नीरव दर्शक हुनुपरेकाले । “ (विषालु हावा, पृ-७७)
(ङ) जीवन विवशताका कविता : जीवन जिउनुको नाम हो । जीवन यात्रामा अनेकौँ घातप्रतिघातहरूको सामना मान्छेले गर्छ नै । यस्तैमा उसले अनुभवहरू बटुल्छ । प्रदीप शर्माले पनि जीवनको विवशतालाई नजिकैबाट हेर्ने मौका पाएर होला उनका कविताहरूमा यस खाले भावहरू व्यक्त भएका पाइन्छन् । अनुभव, मनको वेदना आदि कविताहरूमा जीवन विवशताको चित्रण पाइन्छ ।
“हुन त
जीवनको शिशिरमा पुगेपछि
त्यो चहकिलो अनुहार अतीतको
चाउरी परेर डरलाग्दो
मांसहीन
निस्तेज
शक्तिहीन
फोस्रो आवरण भएर
निराधार
हुनुपरेको होला निःसङ्ग ।“ (अनुभव, पृ-३०)
“कस्तो कठिन यात्रा
जता हेऱ्यो उतै रोकावट
अवाञ्छित पर्खालले छेकेको
विषालु काँडा तेर्सिएका बाटाभरि.. ।“ (मनको वेदना, पृ-६१)
(च) मुक्तिबोधका कविता : जीवन जिउनु नाममा मानिसले सङ्घर्ष गरेको हुन्छ । उतारचढावको यात्रा तय गरेको हुन्छ । सुखदुःख भोगेको हुन्छ तर उसको भित्री मन जतिसक्दो उति नै जीवन सुन्दर बनाउनेमा तल्लीन हुन्छ । परिवर्तन खोजिरहेको हुन्छ । जीवन शैलीको परिवर्तन, सामाजिक व्यवस्थाको परिवर्तन । यस्तै सोचले कविमा जुझारु र परिवर्तनधर्मी चेतनाको प्रवाहमा गति दिन्छ । अनि जन्मिन्छन् मुक्तिबोध र जीवनबोधका कविताहरू । फागुन, अनौठो सपना, अनुभवहरूको लुकामारी आदि कविता यस किसिमका हुन् ।
“फागुनलाई देखेर
वसन्तले लुकामारी गर्दै चिहाइरहेको छ
प्रकृतिलाई पुनर्जीवी त पार्ने इच्छाले ।“ (फागुन, पृ-४१)
“सधैँ आनन्दमा बिताएका सुनौला पलहरू
बाँधिएर भातृत्वको दर्बिलो बन्धनमा
सत्य र अहिंसाको वातावरण भएको
सत्ताका लागि हानाथाप नभएको
फिँजारिएको मानवताको विचारधारा
स्वर्गजस्तो अनुपम
सारै सुखमय जीवन ।“ (अनौठो सपना, पृ-५२)
“हिजोआज
अनुभवहरू
मनमा गुम्सिन नसकेर धेरै दिन
तर्खर गर्दै छन् बाहिर आउने ।“ (अनुभवहरूको लुकामारी, पृ-५८)
उपसंहार :
प्रदीप शर्माका कविताहरूले परिवर्तन र मुक्तिको स्वरलाई प्रमुखता दिएको पाइन्छ । सामाजिक, राजनीतिक, आर्थिक आदि विभिन्न क्षेत्रमा देखापरेका विकृतिविसङ्गतिलाई कतै स्वच्छन्दतावादी भावुकतासहित प्रस्तुत गरिएको छ भने कतै यथार्थवादी ढङ्गको पनि प्रयोग पाइन्छ । यिनका कवितामा निराशावादी स्वर कतै-कतै देखिए तापनि आशावादी सहितै जीवनवादी स्वरको आधिक्य बढी पाइन्छ । भाषाशैली सरल छ । सरलाताकै कारण होला सुबोध छ । धेरैजसो कविताहरू विवरणात्मक रूपमा प्रस्तुत भएका छन् । एउटै कविताबाट थुप्रै सन्देशहरू प्रवाह भएका छन् ।
मलाई नसोध मेरो परिचय भनी गुनासो गर्ने कविको उपस्थिति साहित्याकाशमा भइसकेको कुरा नकार्न सकिँदैन । अब उनको परिचय अरूले नै दिने सम्भावना बढी भएको कुरा स्विकार्नु नै पर्छ । कविको दर्बिलो परिचय आगामी दिनमा हुने सम्भावना र अपेक्षासहित काव्ययात्राको प्रारम्भलाई स्वागत गर्दै कविताहरूमा अझ निखार र परिपक्वता आओस् भन्ने कामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ असार २०८३, मंगलवार 










