तखल्लुस भनेको उपनाम हो, अर्थात्, गजलको भाषामा शायर वा गजलस्रष्टाको उपनाम ।

अरबी भाषामा, पुलिंगी शब्दका रूपमा पाइने तखल्लुस को अर्थ हुन्छ : शायर वा कविको त्यस्तो नाम, जसलाई उसले आफ्नो कवितामा प्रयोग गर्ने गर्दछ, अर्थात् नेपाली भाषामा भनौँ : उपनाम । गजलको अन्तिम शेर अर्थात् मक्तामा तखल्लुस को प्रयोग गर्ने गरिन्छ । यहाँनेर उर्दूका विश्वविख्यात शायर, महाकवि गालिबको यो प्रसिद्ध गजल सम्झन मन लाग्छ :
ये न थी हमारी किस्मत कि विसाले यार होता
अगर और जीते रहते, यही इन्तजार होता ।

यो भयो गजलको मत्ला अर्थात् पहिलो शेर ।

शेर भन्छ ः आफ्नो प्रेमास्पदसँग मिलन हुनु त मेरो भाग्यमा नै थिएन, म अरु बाँचिरहेकै थिएँ भने पनि सधैँ यही प्रतीक्षामात्र हुने थियो ।

अनि गजलको अन्तिम शेर मक्ताको रूपमा यसरी आउँछ ः

ये मसाइले तसव्वुफ, ये तेरा बयान गालिब
तुझे हम वली समझते, जो न बादाख्वार होता ।

यो गम्भीर आध्यात्मिक विषयवस्तुको प्रस्तुति, त्यसमाथि ए गालिब ! तिम्रो यो अद्भुत काव्यशैली, तिमीलाई त हामी साँच्चै देवदूत नै मान्ने थियौं नि, यदि तिमी पियक्कड मात्रै नभइदिएको भए ।

डा. सनतकुमार वस्ती

यहाँ मिसरा–ए–उला का अन्त्यमा आएको गालिब नै तखल्लुस हो, उपनाम हो । गालिबको मूल नाम असदुल्लाह खाँ हो र उपाधिचाहिँ मिर्जा । यसरी उपाधि र उपनाम सहित उनको पूरा नाम लामो बन्दछ ः मिर्जा असदुल्लाह खाँ गालिब । मूल नामको पहिलो पद असद लाई पनि कहिलेकाहीं उनले तखल्लुस बनाएका छन् र मक्तामा प्रयोग गरेका छन् ः

गम–ए–हस्ती का असद किससे हो जुज मर्ग इलाज
शम्अ हर रंग में जलती है सहर होने तक ।

अस्तित्वका पीडाको उपचार मृत्युबाहेक अन्यत्र कहाँ सम्भव छ र ? आखिर बिहान होउन्जेलसम्म हर हालतमा दीयोले जल्नै पर्दछ ।

यो अत्यन्त मार्मिक शेरमा असद तखल्लुसको प्रयोग गरिएको हामी पाउँछौं । गालिबका गजलमा प्रायः तखल्लुस राखिएकै हुन्छ ।

..

ऐच्छिकता तखल्लुसको
गजलमा, गजलको मक्तामा तखल्लुसको प्रयोग गर्नैपर्छ भन्ने कुनै कडिकडाउ नियम छैन, कतिपय गजलमा तखल्लुस राखिँदैन । कति शायरको तखल्लुस नै हुँदैन, भए पनि शायरले आफ्ना सबै गजलमा तखल्लुसको उपयोग गरेकै हुन्छन् भन्ने पनि हुँदैन ।
..

यी तखल्लुसधारी !
नेपाली भाषामा गजलको श्रीगणेश गर्ने बहु आयामिक प्रतिभाशाली युवा कवि मोतीराम भट्टका प्रायः सबै गजलमा तखल्लुसको प्रयोग गरिएको पाइन्छ, जस्तै ः

अघी पर्न सक्दैन है मो हरीका
नजर्बाट मोती पनी झर्न लागे ।

यहाँ आएको मोती युवाकविको तखल्लुस हो । मोती युगका, विशेषतः मोती मण्डलीका सबै गजलस्रष्टाहरु तखल्लुसधारी थिए, हेर्नुहोस् ः

मोतीराम भट्ट मोती
लक्ष्मीदत्त पन्त इन्दु
गोपीनाथ लोहनी नाथ
नरदेव पाण्डे सुधा
मियाँ अमजद हुसेन अन्जान
रत्नलाल रत्न
शम्भुप्रसाद ढुंगेल शम्भु

यी नामूद तखल्लुसधारीहरुलाई हेर्दा के स्पष्ट हुन्छ भने ः आफ्नै नामको एकांशलाई तखल्लुसका रुपमा प्रयोग गर्ने प्रवृत्ति सुगम रहेछ ।
..
तखल्लुस किन ?
प्रश्न उठ्छ ः तखल्लुस किन राखिन्छ ?

सोच्दै, विचार गर्दै जाँदा शायरले आफ्नो व्यक्तित्व झल्काउन तखल्लुस वा उपनामको प्रयोग गर्ने गरेका हुन् कि ! भन्ने लाग्दछ । अरुले नै तय गरेको वा जुराएको जागतिक नामलाई चटक्क छोडेर आफ्नै रुचिअनुसारको उपनाम राख्ने चलन आजभोलि पनि केही मात्रामा पाइन्छ नै । यस्तो उपनाम आफ्नो आन्तरिक स्वभाव, रुचि–अभिरुचि, आफूले चिने जानेको आफ्नै स्वरूप, व्यक्तित्व, शैली वा आफूलाई मन पराउने व्यक्तिले गर्ने गरेको कुनै प्रिय सम्बोधन आदिका आधारमा राख्ने गरेको देखिन्छ । विशेषतः साहित्यिक एवम् अभिव्यञ्जक उपनाम वा तखल्लुस राख्ने चलन कविकुलमा चलेको हामी पाउँछौं ।

फेरि अर्को जिज्ञासा जाग्दछ ः गजलको अन्तिम शेरमा तखल्लुस राख्ने चलन किन चल्यो होला त ?

गहिरिएर विचार गर्दै जाँदा यी कुराहरु स्पष्ट रूपमा सामुन्ने आउँछन् ः गजलको कुनै खास शीर्षक हुँदैन, सबै गजल गजल शीर्षपद लिएर नै हाम्रा सामु आउँछन् । यस्तोमा एकातिर शीर्षकै नहुने रचनामा रचयिताको नाम राख्नु पनि असहज हुन्छ भने अर्कातिर नाम नराख्दा कुन गजल कसले रचेको हो ? भन्ने थाहा पाउन पनि गाहारो पर्न जान्छ ।

कालान्तरसम्म पनि शायरको कीर्ति उसको गजल रचनासँग जोडिएर अमर बनोस्, रचना पनि बेनामे नबनोस् भनेर मक्ता वा अन्तिम शेरमा तखल्लुसको प्रयोग गर्ने गरिएको जस्तो देखिन्छ । एउटा गजलका शेरहरु एउटै सूत्रमा उनिएका हुन्छन्, त्यहाँ काफिया र रदीफको सिलसिलाबद्धता हुने हुँदा ती सबै मक्तामा उल्लिखित तखल्लुससँग सम्बन्धित बन्न पुग्छन् । यसरी एकातिर गजल सँगसँगै शायरको परिचय सुरक्षित रहन्छ, अर्कातिर कुनै पनि गजलको शेरले अपरिचयको शिकार बन्नुपर्दैन । आफ्नो रचनालाई अरु कसैले मेरो हो भनेर दाबीसमेत गर्न सक्दैन । यसरी तखल्लुस राख्नुका पछाडि गहिरो तर्क र होशियारी रहेको स्पष्ट आभास पाइन्छ । गजल र गजलस्रष्टा, सिर्जना र सर्जकका बीच अद्भुत सम्बन्धसूत्र बन्न पुगेको हुन्छ तखल्लुस ।
..

तखल्लुसमा तात्पर्य
मक्तामा आउने तखल्लुस फगत् शायरको संकेतकमात्र पनि हुँदैन । कुशल शायरले राखेको तखल्लुसमा खास तात्पर्य र रोचक संकेत लुकेको हुन्छ । त्यहाँ आफ्नो व्यक्तिगत कथ्य पनि हुन्छ र गहिरो काव्यिक अभिव्यञ्जना पनि, जस्तै ः

दिलैमा साँचिराखेको पुरानो प्रेमको प्याला
नजर्को मोती भै ढल्दा उसैलाई म सम्झन्छु ।

यहाँ मोती तखल्लुस हो । एकातिर यसले शायरको परिचय संकेत गर्दछ भने अर्कातिर आँशू लाई पनि जनाउँछ, अनि आँशूको अनमोलता पनि अभिव्यञ्जित गर्दछ ।

अर्को एउटा मक्ता हेरौं ः

सागर से छलकती ही रही मय की ये बूँदेँ
क्या सोचके क्योँ मुँह से लगाया न जमाने ने ।

यहाँ पहिलो शब्द शायरको उपनामका रूपमा आएको छ ः सागर, यो भयो तखल्लुस । सागरबाट यस्तै गजलामृतका बूँदहरु छचल्किरहे, तर खै किन हो कुन्नि ! त्यसको आस्वादन कसैले पनि गरेन भनेर एकातिर भावकसमाजमा सहृदयताको कमी भएको कुरा ध्वनित गरिएको छ भने अर्कातिर उर्दूभाषामा सागर को अर्थ प्याला भएकाले यस प्यालाबाट मस्तीका मधुबिन्दु छचल्किरहे, तर खै के सोचेर हो ? तिनको कसैले पनि स्वाद लिएन, भन्ने ताच्छील्यमय कथ्य पनि यहाँ प्रकट भएको छ । यी रसबूँदहरु एकदमै ताजा र अनास्वादितपूर्व हुन् भन्ने अभिव्यव्यंग्यार्थ पनि यहाँ झल्किएको अनुभूत हुन्छ ।

यसै गरी सागर को अर्थ समुद्र पनि भएकाले गजल समुद्रका यी लहरमा छचल्किरहेको आनन्द तरंगलाई आजसम्म के सोचेर हो, कसैले पनि ग्रहण गरेन भन्ने मीठो गुनासो पनि शायरले पेश गरेको बुझिन्छ । यसरी तखल्लुसले सिपालु शायरका बहुरंगी भाव सम्पदालाई अत्यन्त सहजताका साथ वहन गरेको पाइन्छ ।
..

अन्त्यमा
यसै गरी गहन अभिव्यञ्जनाका साथ प्रस्तुत गरिएका केही तखल्लुसदार मक्ताहरु अन्त्यमा गुणी भावकवर्गका समक्ष सुनाउँदैछु ः

प्रसिद्ध उर्दू शायर दाग को गजलमा प्रयुक्त मक्ता ः

फूल ही फूल हमने माँगे थे
दाग ही दाग जिन्दगी में मिले ।

हुन त मैले फूलै फूल मागेको हुँ नि, तर जिन्दगीमा चाहिँ यो दागलाई दागै दाग÷काँडै काँडा मात्र मिल्यो ।
घनश्याम न्यौपाने को गजलमा आएको मक्ता ः

घनश्याम घुम्दैछ पागल्सरी
कुनै ज्यान पायौ, तिमी आइनौ ।

यहाँ घनश्याम वितत आकाशमा बरालिँदै घुम्ने बादल पनि हो, गोपिकाहरुसँग रमाउने कृष्ण पनि हो, स्वयं गजलकारको नामसंकेत तखल्लुस पनि ।

सबिना सिन्धु को गजलमा आएको मक्ता ः

जता जान्छु त्यो याद बन्दै सतायौ
भई सिन्धु बग्ने गरेको छु आफैँ ।

यहाँ सिन्धु नदी बनेर बगेकी छन्, सके यिनी नयनबाट बग्ने अश्रुधार पो हुन् कि ? जे भए पनि शायराले यहाँ तखल्लुसको सार्थक अभिव्यञ्जक प्रयोग गरेकी छन् ।
..

यसरी मतलाबाट प्रारम्भ गरेको गजलयात्राले विभिन्न शेरहरुका चरण पूरा गर्दै तखल्लुसको सुरुचिपूर्ण चरणचापले समन्वित मक्तामा पुगेर विश्राम लिन्छ, परिपूर्णता प्राप्त गर्दछ ।

यो रोचक काव्ययात्रामा राखिएका हरेक शेर चरणहरु आफ्नै मौलिक पदविन्यास र भावभंगिमाका वैभवले समृद्ध हुन्छन्, आआफ्नै रूपमा रमाएका हुन्छन्, आफ्नो कथ्य आफैँमा समेटेर बसेका हुन्छन्, आ–आफ्नो अभिव्यक्तिमा आफैँ परिपूर्ण हुन्छन् ।

कसरी हुन्छन् परिपूर्ण ?

प्रिय रसिकवृन्द, आउनुहोस् अर्को आइतवार चर्चा गरौँ ।