साताका पुस्तकमा योपटक छ पुस्तक । मदन पुरस्कार विजेता पहिलो कृतिदेखि विपिको आर्थिक विचारसम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

१. ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन – महेन्द्र पी. लामा

दार्जीलिङका सुपरिचित लेखक एवम् प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक हाे, ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ । यो पुस्तक भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दाहरुमा केन्द्रित छ, तर त्यतिमा मात्रै सिमित छैन । यसले दार्जीलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढङ्गबाट चित्रण गरेको छ ।

लेखक नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडिजका वरिष्ठ प्राध्यापक एवम् विकास अर्थशास्त्री हुन् । उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि रहिसकेका छन् ।

४३० पृष्ठ लामो ‘ओ दार्जिलिङ !’ को प्रकाशन किताब पब्लिसर्सले गरेको हो । पुस्तक विभिन्न ६ वटा खण्डहरुमा विभाजित छः ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ । पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्– यी र यस्ता विषय पनि समेटिएका छन् ।

लेखक लामाले भारतीय राष्ट्रपति नेतृत्वका थुप्रै संस्थाहरुमा प्रतिनिधित्व गर्नुका साथै विश्वका धेरैवटा विश्वविद्यालयहरुमा पढाएका र सिक्किम केन्द्रीय विश्वविद्यालयमा भारतकै सबभन्दा कान्छो उमेरका संस्थापक कुलपति बन्ने कीर्तिमानसमेत कमाएका छन् । उनले यसअघि करिब दुई दर्जन पुस्तकको लेखन एवम् सम्पादन गरिसकेका छन् ।

२. विपी कोइरालाको आर्थिक विचार – डा.चिरञ्जीवी नेपाल

पूर्वगभर्नर डा.चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘विपी कोइरालाको आर्थिक विचार’ काङ्ग्रेसकाे चाैधाैँ महाधिवेशनकाे मुखमा बजारमा आएकाे छ । डा. नेपालले पुस्तकमा आफूलाई विपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा उल्लेख गरेका छन् ।

डा. नेपालले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा विचारकाे राजनीति नरहेकाे बताएका छन् ।उनले विपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसकेकाेमा चिन्ता व्यक्त गरेका छन् ।

पुस्तकलाइ शिखा बुक्सले बजारमा ल्याएकाे हाे ।

 

३. बागी अक्षरहरु – खनाल रेवतीरमण

खनाल रेवतीरमणको नविनतम् कवितासङ्ग्रह हो, “बागी अक्षरहरु” । साहित्य सङ्गम चितवनले प्रकाशनमा ल्याएको यो कवितासङ्ग्रहमा ५४ शीर्षकका कविताहरु सङ्ग्रहित छन् । सङ्ग्रहका कतिपय कविताहरु कथानक संरचनामा बुनिएका छन् भने के कतिमा स्वैर कल्पनाका उडान पाइन्छन् । खनालका कविताहरु जीवन र जगत्सँग जोडिएका छन् । कतिपय ठाउँमा स्वैर कल्पनाको भावावेगले लयविधानमा बाधा पुर्याएको छन्, तर सारमा समय, सत्ता र समाजमाथि कविताहरुका माध्यमबाट कवि कठोर वज्र प्रहार गर्न सक्षम भएका छन् ।

खनाल हृदयले प्रेमिल, विचारले विद्रोही चेत भएका कवि हुन् । उनका कवितामा समाजका विकृति र विसँगतीप्रतिको तीव्र आलोचना पाइन्छ । यो सङ्ग्रहमा कवि खनालले देखाएको कविताप्रतिको शैलीको प्रयोग र रुचि स्वागतयोग्य छ ।

४. गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा – डीबी नेपाली ‘दमु’

डीबी नेपाली ‘दमु’द्वारा लेखिएको अनुशन्धानमा आधारित पुस्तक हो, ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ । पुस्तक प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभागको अनुसन्धान परियोजनाअन्तर्गत तयार भएकाे हाे । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभाग प्रमुख डा. जगमान गुरूङका अनुसार लेखक नेपालीले गण्डकी प्रदेशमा बसोबास गर्ने शिल्पी समुदायमा परम्परादेखि प्रचलित तर अहिलेसम्म ओझेलमा परिरहेको मन्त्र सम्पदाको स्थलगत खोज–अनुसन्धान गरी पुस्तक तयार पारिएको हो । पुस्तकले प्रज्ञा–प्रतिष्ठानको समावेशी एवम् समन्वयात्मक नीतिलाई राम्ररी प्रकाश पार्नुका साथै जनस्तरमा प्रचलित महत्त्वपूर्ण सम्पदाहरूलाई बौद्धिक समाजसमक्ष प्रस्तुत गरेको छ ।

५१२ पृष्ठको पुस्तकको मूल्य रु. ५९० रहेको छ । पुस्तक प्रज्ञा भवन परिसरमा अवस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको पुस्तक बिक्री कक्षका साथै आधिकारिक विक्रेता मकालु प्रकाशन गृहको बिक्री कक्ष र देशका सातओटै प्रदेशमा उपलब्ध हुने बताइएको छ ।

५. पारिवारिक षड्यन्त्र – चित्तरञ्जन नेपाली

रत्न पुस्तक भण्डारबाट इतिहासविद् चित्तरञ्जन नेपालीको ‘पारिवारिक षड्यन्त्र’ नामक ऐतिहासिक महत्त्वको पुस्तक पुनः प्रकाशित गरिएको छ । चित्तरञ्जन नेपालीले राणाशासन तथा नेपालको शासनमा पारिवारिक जालझेल र षड्यन्त्रमाथि खोज गरी लेखेको ‘पारिवारिक षड्यन्त्र’  पुस्तक रत्न पुस्तक भण्डारले पुनः प्रकाशित गरिएको हो ।

२०१३ सालमा पहिलो मदन पुरस्कारबाट पुरस्कृत चित्तरञ्जन नेपालीको ‘पारिवारिक षड्यन्त्र’ पहिलोपटक २०५७ मा पहिलोपटक प्रकाशित भएको थियो । यो पुस्तकमा नेपालीले नेपालकाे शासनमा व्यवस्थामा भएका पारिवारिक जालझेल तथा षड्यन्त्र, त्यसमा पनि विशेषतः शाणा शासनमा भएका सत्ता हत्याउन भएका अनेकन षड्यन्त्रका बारेमा तथ्यगतरूपमा प्रकाश पारेका छन् ।

पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेकाे छ ।

६. प्रश्न – उदय अधिकारी

उदय अधिकारीको “प्रश्न” विभिन्न समयमा विभिन्न स्रष्टाहरुसँग लिइएको अन्तर्वार्ताको सँगालो हो । यो पुस्तकमा अभि सुवेदी, सरुभक्त, नारायण ढकाल, श्रवण मुकारुङ, मनु मञ्जिल र श्यामलसँग अधिकारीले सोधेका प्रश्नहरु तथा स्रष्टाहरुले राख्नुभएको आफ्नो विचार र चिन्तन समावेश छन् ।

अधिकारीलाई सोध्नुभएका प्रश्नहरु गहकिला छन् । स्रष्टाहरुले दिनुभएको उत्तर उहीमात्रमा गहिराले विचारउत्तेजक छन् । नेपाली साहित्यको आयतन बुझ्न यो पुस्तक उपयोगी रहेको छ ।