मित्र ‘उराठी’ गौतम

आमाको मृत्यु हुँदा भाइ सञ्जय सानै थियो।भाइको रेखदेख गर्न माइतीमा बुवा एक्लै भएकोले गरिमा माइतीमा बस्ने निर्णय गरिन् । उनले शिक्षण गर्ने विद्यालय पनि माइतीनजिकै थियो । सगोल घरमै बसिरहेका उनका श्रीमान्‌ले पनि गरिमालाई माइतीमै बसेर शिक्षण पेशा गर्न अनुमति दिए । गरिमाको मायाँ, ममता, हेरचाहले सञ्जयले मातृवियोगको पीडा बिर्सँदै गयो ।
पत्नीको मृत्युपश्चात् बुवाले घरव्यवहारमा पनि ढिल छाड्दै गए । सोहीकारण घर व्यवहारको जिम्मेवारी पनि गरिमाले नै
उठाउनुपरेको थियो।
जसोतसो विद्यालय शिक्षा पूरा गरेको सञ्जयले उच्च शिक्षामा रुचि देखाएन । अध्ययन छोडेर व्यापार गर्ने विचार
गऱ्यो । व्यापार गर्ने कुरामा बुवाको पनि सहमति रह्यो । गरिमाले पनि विरोध जनाइनन् ।
व्यापारमा एक्लै भएपछि पारिवारिक सल्लाहमै सञ्जयको विवाह भयो । दिदीको नेतृत्वमा घरव्यवहार चलिरहेको
थियो । व्यापार पनि राम्रै भइरहेको थियो । समयक्रममा गरिमाको बच्चा जन्मियो ।
माइतीनजिकै विद्यालय र श्रीमान्‌को राम्रो सहयोगले गर्दा उनलाई खासै समस्या भएन । सबै कुरा सहज रूपमा चल्दै
थियो ।
एक रात सञ्जय र उसकी पत्नीबिच कोठामा झगडा भएको चाल पाइन् गरिमाले । अर्को बिहान सञ्जय पसल गएपछि
बुहारीलाई झगडाको कारण सोधिन् ।
“आजकल अल्कोहल पिएर आउनुहुन्छ र सानो सानो कुरामा निहुँ खोजी झगडा गर्नुहुन्छ” ,बुहारीले जवाफ दिइन्
गरिमाले भाइलाई सम्झाउने प्रयास गरिन् । दिदीको कुरा एक कानले सुन्यो अर्को कानले उडाइदियो । उसले घरमा कसैलाई
टेर्न छाडिसकेको थियो । विभिन्न बहानामा घरमा झगडा निकालिरहन्थ्यो ।
एकदिन त सञ्जयले पत्नीमाथि हातपात नै गऱ्यो । तथानाम बोल्न थाल्यो । छुट्याउने क्रममा सञ्जयलाई एक चड्कन लगाउँदै
भनिन्, “आमाको मृत्यु पछि तँलाई हुर्काउन पढाउन घर छोडेर माइती बसेँ । लथालिङ्ग हुन आँटेको घरव्यवहार सम्हालिदिएँ । अलि अलि खुट्टा टेक्ने भइस् अब फुर्ती देखाउँछस् ? घरमा सधै रडाको मच्चाउँछस् ?”
“मेरा लागि घर छाडेकी हौ र ? आफ्नो जागिरको सजिलाका लागि यहाँ बसेकी हौ । आफ्नो घरमा मिलेर बस्न नसक्ने । अर्काको घर पनि मिल्न नदिने । पर्दैन मेरो घरमा बस्न, आफ्नै घर जाऊ ।” सञ्जयले जबाफ फर्कायो।
भाइबाट यस्तो अनपेक्षित जबाफ सुन्दा गरिमालाई चट्याङ लागेजस्तै भयो ।
“मैले यत्रो त्याग गरेर सम्हालेको यो उसको मात्र घर ? म चाहिँ पराई ?”
सोचेर मूर्ति बनिन् गरिमा, कुनै शब्द निस्केन मुखबाट ।