
बेलायतको प्रसिद्ध अखबार द गार्डियनको साहित्यिक विशेष परिशिष्ट द गार्डियन रिभ्यु बन्द भएको छ ।
हरेक शनिबार पुस्तकलाई नै केन्द्रित गरी यो परिशिष्टांक निस्कने गथ्र्यो । १९० अंक निस्किएपछि यसलाई बन्द गर्ने निर्णय द गार्डियन पत्रिकाले गरेको छ ।
सन् २००२ मा द गार्डियनले ‘रिभ्यु’ निकाल्दा किताबमाथि मात्रै चर्चा गर्ने बेलायतभरिको यो पहिलो अखबारे परिशिष्टांक थियो । पछि अन्य अखबारहरुले पनि यसैको देखासिकीमा समग्र मनोरञ्जन उद्योगको परिशिष्टांक थालेका थिए ।
यो परिशिष्टांकमा आख्यान, गैरआख्यान, निबन्ध, अन्तरवार्ताजस्ता कुरा राखिएका हुन्थे । पुस्तक तथा साहित्यपारखीहरुका लागि यो संग्रहणीय अंक हुने गथ्र्यो ।
यो अन्तिम साता निस्केपछि अब यिनै कुराहरुलाई म्यागेजिन फम्र्याटमा अन्य कुराहरुसँगै पढ्न पाइने व्यवस्थापनले जनाएको छ ।
पुस्तकमाथि मात्रै चर्चा गर्ने एक मात्र परिशिष्टांक बन्द भएपछि बेलायतभरिका साहित्यकारहरुले दुःख व्यक्त गरेका छन् । त्यसै पनि साहित्य क्षेत्र स्वतन्त्र रुपमा हिँड्न सक्तैन र यसका लागि टेको चाहिन्छ भन्ने सोच यो परिशिष्टांकको अन्त्यसँगै मौलाउने सम्भावना बढेर गएको छ ।
रिभ्युको संस्थापक सम्पादक एनालिना म्याकेफी थिइन् । उनले ती दिन सम्झँदै भनिन्, ‘हामीले पुस्तकप्रति पागलपन देखाउनेहरुलाई ध्यानमा राखेर यो परिशिष्टांक निकालेका थियौँ । एउटा सपनाको परिशिष्टांक हामीले निकालेका थियौँ । यसमा जुलियन बन्र्स, जेडी स्मिथ, जेम्स फेन्टन, ए एस ब्याट, सल्मान रुस्दीजस्ता सर्जकहरुले माया मात्र गरेनन्, नियमित रुपमा लेखे पनि । हामीले स्तरीय समीक्षादेखि स्तरीय लेखनीको मानक स्थापना गरेका थियौँ ।’
एनालिनाले अखबारलाई सन् २००६ मा छाडेपछि उनको ठाउँमा लिसा एलर्डिसले सम्पादकको जिम्मेवारी लिएकी थिइन् । लिसाको आगमनपछि साहित्यमा ग्ल्यामरसमेत थपेकी थिइन् । सर्जकहरुको ठूला ठूला पोस्टर आकारका तस्बिर, तिनका सुरम्य कुराकानी तथा आकर्षक लेखनीले यो परिशिष्टांकलाई अझ पठनीय बनाएको थियो ।
खासगरी लिसाको सम्पादकत्वमा रहँदा निस्केको बेरिल बेनब्रिजको तस्बिरमा उनको डेस्कमा राखिएको बन्दुक र मस्तसँग चुरोट पिइरहेकी लेखिएका बेरिल विशेष रुपमा स्मरणीय छन् । यस्तै अर्का लेखक जे जी बलार्डको घरभरि रहेका नग्न महिलाका सररियालिस्ट पेन्टिङमुनि लेखकको तस्बिर पनि कम स्मरणीय तस्बिर मानिदैन । प्रायः यस्ता तस्बिर यसअघि अखबारमा ग्ल्यामरस तरिकाले प्रस्तुत गरिएको थिएन ।
रिभ्युले नै प्रख्यात उपन्यासकारहरुका नयाँ सिर्जनाको विशेष पुस्तक अंशहरु छाप्ने र तिनको व्यापक प्रचारप्रसार गर्ने काम गरेको थियो । विशेषगरी हिलारी मन्टेलका ‘वल्फ हल’ ट्रियोलजी तथा मार्गरेट एटवुडको द टेस्टामेन्टका का उपन्यास अंशहरु पाठकले पहिलो पटक यसबाटै स्वाद लिएर पढेका थिए ।
कुनै प्रख्यात साहित्यकारहरुलाई आफ्नो राजनीतिक टिप्पणी गर्नुपर्दा यही अखबारको रिभ्यु परिशिष्टांक छान्ने गर्थे । खासगरी इयान म्याकइवान, जोन ले कारजस्ता साहित्यकारले ब्रेक्जिटमाथि टिप्पणी गरेका थिए भने डेभ इगर्स र रिचर्ड फोर्डजस्ता साहित्यकारले ट्रम्पको उदयमाथि लेखेका थिए ।
रिभ्युले नयाँ पुस्ताका लेखकहरुको प्रख्यातिलाई पहिले नै आँकलन गरिसकेको थियो । त्यसैले त स्याली रुनी, एलेना फेरान्टे, चिमामान्डा न्गोजी अडिची र काजुओ इसिगुरोजस्ता साहित्यकार चर्चित हुनुअघि नै रिभ्युले उनीहरुलाई परिचित मात्र गराएन, भोलिको साहित्य क्षेत्रका ताजा हावा यिनै हुन् भनेर ठोकुवै गरेको थियो ।
अब यसरी किताबलाई नै प्रमुखता दिएर निस्किएको रिभ्यु बन्द हुनेछ । त्यसो त शनिबार निस्कने म्यागेजिन (सटर्डे म्यागेजिन)ले भने यिनै कुरालाई समेट्ने छ तर त्यसको मुख्य ध्येय भने पुस्तक मात्र रहने छैन ।
किताबलाई मात्र केन्द्रीकृत गरी निकालिएका परिशिष्टांकको एउटा प्रयोग यससँगै अन्त्य भएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










