
असफल गौतम
गण्डकी प्रज्ञा प्रतिष्ठानले कार्यालय उद्घाटन, अवलोकन र गजलवाचनसहित एक सय ५६ औं मोती जयन्ती मनाएको छ ।
प्रतिष्ठानका संरक्षक गण्डकी प्रदेशका सामाजिक विकास, संस्कृति, विज्ञान तथा प्रविधि मन्त्री मेखलाल श्रेष्ठले मोती जयन्ती समारोहसहित प्रतिष्ठानको कार्यालय भवन् उद्घाटन गरे ।
मन्त्री श्रेष्ठले राजनीतिकर्मीका उद्देश्यलाई पूरा गर्ने दायित्व विज्ञ र प्रशासकको भएकाले गण्डकी प्रदेश गण्डकीको मात्र राजधानी नभएर कला, संस्कृतिको पनि राजधानी भएकाले तेरो मेरो नभनेर काम गर्न सुझाव दिए । मन्त्री श्रेष्ठले राम्रो काम गर्दा कसैप्रति आश र त्रास पाल्नु नपर्ने धारणा राखे ।
स्मरण रहोस्, पृथ्वीनारायण क्याम्पसको स्वर्ण जयन्तीमा निर्माण भएको स्वर्णजयन्ती भवन र हललाई गण्डकी प्रज्ञा प्रतिष्ठानले भाडामा लिएर मोती जयन्तीबाट आफ्नो कार्यालय विधिवत स्थापना गरेको हो । उक्त समारोहमा सभाहलकोसमेत अवलोकन गरी मन्त्री श्रेष्ठले हल मर्मतका लागि मन्त्रालयबाट यथोचित बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
प्राज्ञ तीर्थ श्रेष्ठले मोतीराम भट्टको चिनारी राख्दै भट्टलाई आदी शंकराचार्यसँग तुलना गरे । श्रेष्ठले मोतीरामले ३० वर्षको उमेरमै नेपाली साहित्यमा बाबुको मुख देखाएर छोडेकाले उनको जीवनदर्शनबाट हरेक स्रष्टा साधकले पाठ सिक्नुपर्ने धारणा राखे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईले प्रजातन्त्रमा स्रष्टाको सम्मान हुन्छ भनेको आदर्शवाणी आजसम्म आदर्श बन्न नसक्नु विडम्बना रहेको बताए । बिखर्चीले महाकवि देवकोटाद्वारा स्रष्टाहरू गाइने साइला र मोहन कोइरालाद्वारा स्रष्टा सारंगी जस्तै भइरहने छन् भनेका हिजोका धारणा आज देशमा पूर्ण गणतन्त्र स्थापना हुँदा पनि परिवर्तन हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
समारोहमा प्रकट पंगेनी शिवको नेतृत्वमा उदीपराज ढुंगाना, मन क्षत्री, कपिल शर्मा सञ्जोग र सरला लामिछाने सरुले गजल सुनाएका थिए । यस्तै कलाकार पवित्रा गुरुङ, सरिता मगर, सोनु दुरा र अर्पिता गुरुङले नृत्यसमेत प्रस्तुत गरेका थिए ।
नृत्य तथा गजल वाचन गर्ने कलाकारलाई प्रतिष्ठानकातर्फबाट अर्थपूर्ण सम्मान गरिएको समारोहमा उपकुलपति गोरे गुरुङ सदस्य सचिव मनकुमार श्रेष्ठ, हार्मोनी पोखराकी उपाध्यक्ष कौशिल्या गुरुङलगायतले बोलेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










