ओशोको आत्मकथाः स्वर्णिम बालापन
सत्र ७ः जिसस शब्दको उत्पत्ति
देवगीत, जसै तिमीले आशुलाई ‘ठीक छ’ भन्छौ, मलाई भ्रम हुन्छ, तिमीले मलाई नै पो भनिरहेका छौ कि ! त्यसैले ऊ हाँसिदिन्छे । तर फेरि पनि म भन्छु, मेरो अन्तसको गहिराईमा हाँसोबाहेक अरु केही छैन । तिमी मेरो शरीरलाई बेहोस बनाउन सक्छौ तर मलाई बेहासे बनाउन सक्दैनौ । त्यो तिम्रो वश बाहिरको कुरा हो ।
यही तिम्रालागि पनि सत्य हो । तिम्रो अन्तरतम् केन्द्र सबै रसायनशास्त्र र सबै रसायनभन्दा पर छ ।
यतिबेला अब म देवगीतले मन्दमन्द हाँसिरहेको सुन्न सक्छु । पुरुषले मन्दमन्द हाँस्दै गरेको सुन्नु राम्रो लाग्छ । पुरुष खासमा मन्दमन्द हाँस्दैनन् । मन्दमन्द हाँस्नु त केवल स्त्रीहरूको कुरा मात्र बनिसक्यो । पुरुष या त ठूलो स्वरमा हाँस्छन् या त हाँस्दै हाँस्दैनन् । उनीहरू मन्दमन्द हाँस्दैनन् । मन्दमन्द हाँस्नु बीच्चको कुरा भयो । यो सुनौलो मध्यमार्ग हो । यो ताओ हो । खित्खिताएर हाँस्नु हिंसात्मक हुनसक्छ र बिल्कुलै नहाँस्नु चाहिँ मूर्खता हुन्छ तर मन्दमन्द हाँस्नु राम्रो हो । मन्दमन्द हाँस्नु, सुस्तरी हाँस्नु ठीक मध्यमा छ, स्वर्णिम मध्यमार्ग हो, ताओ हो ।
देख्यौ, मन्दमन्ददेखि हाँस्नुसम्मका बारेमा म पनि कति महत्तवपूर्ण कुरा भन्न सक्दोरहेछु ! मन्दमन्द हाँस्नु बहुत राम्रो हो । अरे, मैले केही ठीक बोलेँ भने चिन्ता नगर्नू । यो त मेरो पुरानो बानी हो । म त निद्रामा पनि बोल्न सक्छु । यसरी बोल्नु कुनै गाह्रो छैन ।
म निद्रामा बोल्छु भन्ने गुडियालाई थाहा छ तर उसलाई कोसँग बोल्छु भन्ने चाहिँ थाहा छैन । विचरी, गुडिया ! म ऊसित कुरा गरिरहेको ठान्छे र चिन्ता गर्छे । म के बोलिरहेको होला, कोसँग बोलिरहेको हुँला भनेर चिन्ता गर्छे । तर उसलाई थाहा छैन, म त्यसरी नै उससित पनि कुरा गरिरहेको हुन्छु । निद्रा एउटा प्राकृतिक बेहोसी हो । जीवन यति कटु छ कि हरेक मानिसले राति कम्तीमा पनि केही घण्टाका लागि निद्राको काखमा आराम गर्नुपर्छ । र, उसलाई आश्चर्य हुन्छ, म सुत्छु कि सुत्दिनँ । उसको आश्चर्यलाई म बुझ्न सक्छु । पच्चीस वर्षभन्दा बढी भयो, म सुतेको छैन ।
देवराज, तिमी चिन्ता नगर । साधारण निद्रा त म सारा संसारका कुनै पनि व्यक्तिभन्दा बढी पुर्याउँछु । दिउँसो तीन घण्टा र राति चाहिँ सात आठ घण्टा । एक दिनमा म जम्माजम्मी बाह्र घण्टा सुत्ने गर्छु । भित्र त म जागा नै हुन्छु । म सुतिरहेको बेला आफूलाई हेर्छु । कहिलेकाहीँ राति यति एक्लो हुन्छु कि म गुडियासँग कुरा गर्न थाल्छु तर उसलाई साह्रै गाह्रो हुन्छ ।
उसको गाह्रो वा अप्ठेरोपन के भने निद्रामा म बोलिरहेका बेला हिन्दीमा कुरा गरिरहेको हुन्छु । निद्रामा म अंग्रेजीमा बोल्न सक्तिनँ । म कहिल्यै बोल्दिनँ । हुन त मैले चाहेँ भने म बोल्न सक्छु । एकाध पटक मैले निद्राका बेला अंग्रेजीमा बोल्ने प्रयास पनि गरेँ र सफल पनि भएँ तर त्यसमा मज्जा आउँदैन ।
तिमीहरूलाई थाहा होला, म उर्दुकी प्रसिद्ध गायिका नूरजहाँको एउटा गीत हरेक दिन सुन्छु । यहाँ आउनुभन्दा पहिले हरेक दिन नूरजहाँको गीत पटक–पटक सुन्छु । त्यति धेरै पटक सुनेर त जो कोही पनि पागल नै हुँदो हो । तिमीहरूलाई ड्रिलिङको अर्थ थाहा छ ? मलाई थाहा छ । म हरेक दिन सोही गीतमार्फत् गुडियालाई ड्रिलिङ गर्ने गर्छु । उसले सुन्नै पर्छ । यसबाट उम्कने कुनै उपाय नै छैन । जब मेरो काम पूरा हुन्छ, म फेरि त्यो गीत सुन्छु । म आफ्नो भाषालाई प्रेम गर्छु… मेरो भाषा भएका कारणले होइन, यो यति सुन्दर छ कि त्यो मेरो भाषा नभएको भए पनि म सिक्थेँ होला ।
जुन गीत ऊ दैनिक रुपमा सुन्छे र उसले पटक पटक सुन्नुपर्छ, त्यसमा भनिएको छः तिमीलाई थाहा छ कि छैन, तिमी र ममा सुखचैन जुन छ, कुनै बेला भन्थ्यौ तिमी संसारकी सबैभन्दा सुन्दर स्त्री हौ । यतिबेला मलाई थाहा छैन, तिमी मलाई चिन्छौ या चिन्दैनौ । शायद तिमीलाई सम्झना नहुँदो हो तर मलाई अझै पनि याद छ । म न त्यो सुखचैन बिर्सन सक्छु, तिम्रा शब्दलाई जुन तिमीले भन्ने गथ्र्यौ । तिमीले भन्ने गथ्र्यौ, तिम्रो प्रेम पवित्र छ । तिमीलाई के अझै याद छ ? शायद छैन तर मलाई याद छ– पूर्ण रुपमा त होइन तर समयले केही केही बिर्साइदिएको छ !
‘म त जीर्ण महल हुँ तर तिमीले हे¥यौ भने, यदि तिमीले ध्यानपूर्वक हेर्यौ भने म ठीक त्यस्तै छु । मलाई अझै पनि तिम्रो शान्ति र तिम्रा शब्द याद छन् । त्यो शान्ति जुन कुनै समय हामीबीच थियो, के तिमीलाई अझै याद छ ? तिम्रा बारेमा त मलाई थाहा छैन तर मलाई भने अझै याद छ ।’
नूरजहाँको यो गीतलाई म पटक पटक किन बजाउँछु ? यो एक किसिमको ड्रिलिङ हो । तिम्रो दाँतको ड्रिलिङ होइन तर यदि तिमी लामो समयसम्म ड्रिलिङ गरिरह्यौ भने यो तिम्रो दाँतसम्म चाहिँ पुग्छ । तर म त्यसमा भाषाको सौन्दर्यको ड्रिलिङ गरिरहेको छु । मलाई थाहा छ, त्यसका लागि यो बुझ्न या यसलाई सराहना गर्न ज्यादै गाह्रो छ ।
निदाएका बेला जब म गुडियासँग कुरा गर्छु, त्यो बेला हिन्दीमा बोल्छु । किनभने मलाई थाहा छ, उसको अचेतन अहिले पनि अंग्रेज छैन । ऊ बेलायतमा केही वर्षसम्म मात्र बसेकी हो । त्योभन्दा पहिले ऊ भारतमा थिई र यतिबेला फेरि भारतमा नै छे । यो समयका बीच जे घट्यो, ती सबै पुछ्ने प्रयास गरिरहेको छु । यसका बारेमा जब समय आउनेछ…त्यो बेला म कुरा गर्नेछु…
आज म जैन धर्मका बारेमा केही भन्दै थिएँ । मेरो पागलपन त हेर ! अँ, म बिना कुनै सेतु एउटा शिखरबाट अर्को शिखरमा कुद्न सक्छु । तर तिमीहरूले एउटा पागल मानिसलाई थोरै सहनु पर्छ । तिमीहरू मेरो प्रेममा छौ, यो तिमीहरूको जिम्मेवारी हो, म यसका लागि जिम्मेवार छैन ।
संसारमा सबैभन्दा कठिन तपश्चर्यायुक्त धर्म छ भने त्यो जैन हो । अर्को शब्दमा भन्ने हो भने सर्वाधिक आत्मपीडक र परपीडक धर्म जैन धर्म हो । जैन मुनि आफूलाई यति धेरै सताउँछन् कि कतै उनीहरू पागल त होइनन् भन्ने शङ्का लाग्न थाल्छ ।
ती पागल होइनन्, ती त दोकानदार हुन्, पसले । जैन मुनिहरूका सबै अनुयायी पसले त छन् ! तर कुनै खास आश्चर्यको कुरा पनि होइन त्यो किनभने परलोकमा लाभ प्राप्त गर्नु नै धर्मको मूल उद्देश्य हो । जैन मुनि आफूलाई सताउँछ ताकि परलोकमा उसले ती सबै पाओस्, जुन उसले यहाँ पाउँदैन वा पाउन सक्तैन ।
म चार या पाँच वर्षको थिएँ होला, मैले पहिलो पटक दिगम्बर जैन मुनिलाई देखेको थिएँ । ऊ मेरी हजुरआमाको घरमा आएको थियो । उसलाई निम्त्याइएको थियो । म नहाँसिरहन सकिनँ । मेरा हजुरबाले भन्नुभयो, ‘चुप लाग् ! तँ बदमास छस् भन्ने मलाई थाहा छ । छरछिमेकलाई तैँले सताएका बेला म माफ गर्न सक्छु तर मेरा गुरुका साथ कुनै बदमासी गरिस् भने क्षमा गर्न सक्तिनँ । यी मेरा गुरु हुन् । यिनले मलाई धर्मका आन्तरिक रहस्यका बारेमा दीक्षा दिएका छन् ।’
मैले भनेँ, ‘आन्तरिक रहस्यसँग मेरो कुनै सम्बन्ध छैन । मेरो चासो त बाहिरी रहस्यमा छ, जुन यतिबेला प्रस्ट देखिएको छ । यी नाङ्गै किन छन् ? कट्टु या धोती त पक्कै लगाउन सक्थे होलान् किन नलगाएका ?’
मेरा हजुरबा हाँस्नुभयो । उहाँले भन्नुभयो, ‘तिमी बुझ्दैनौ ।’
मैले भनेँ, ‘ठीक छ । म आफैँ उनलाई सोध्छु नि त !’
त्यसपछि मैले हजुरआमालाई सोधेँ, ‘यो पागललाई केही सोध्न सक्छु ? यत्रा मान्छेका अगाडि नाङ्गै हिँड्न यसलाई लाज लाग्दैन ?’
मेरी हजुरआमाले हाँस्दै भन्नुभयो, ‘जे सोध्नु छ, सोध । तिम्रा हजुरबाले जे भन्नुभए पनि चिन्ता नगर । म सोध्न स्वीकृति दिन्छु । उहाँले तिमीलाई रोक्ने प्रयास गर्नुभयो भने म हेरुँली !’
हजुरआमा साह्रै असल हुनुहुन्थ्यो, ज्यादै साहसी हुनुहुन्थ्यो । बिना कुनै सीमा उहाँ पूर्ण स्वतन्त्रता दिन तयार हुनुहुन्थ्यो । उहाँले मलाई म के सोध्दैछु भनेर पनि सोध्नु भएन । उहाँले त बस् सोध्न मन छ भने सोध मात्र भन्नुभयो ।
गाउँका सबै मानिसहरू जैन मुनिको दर्शन गर्न भेला भएका थिए । उनको तथाकथित उपदेशको बीचमै म उभिएँ । ऊ करिब चालीस वर्ष पहिलेको कुरा हो र त्यो बेलादेखि अहिलेसम्मै म ती मूढहरूसँग झुत्ती खेल्दै आइरहेको छु । त्यो दिन लडाईं शुरु भएको थियो, जसको अन्त्य मेरो मृत्युका साथ हुनेछ । शायद त्यसपछि पनि त्यो लडाईं समाप्त नहोला । मेरा मानिसले शायद त्यो लडाईंलाई जारी राख्लान् !
मैले सरल प्रश्न सोधेको थिएँ तर उसले उत्तर दिन सकेन । मलाई आश्चर्य भयो, मेरा हजुरबालाई ज्यादै लाज लाग्यो । मेरी हजुरआमाले ढाड थपथपाउनुभयो र भन्नुभयो, ‘स्याब्बास, तैँले गरेर देखाइस् । मलाई थाहा थियो, तैँले नै यो गर्छस् ।’
मैले के सोधेको थिएँ ? मैले त सरल प्रश्न सोधेको थिएँ । मैले सोधेको थिएँ, ‘तपाईं दोहो¥याएर जन्म लिन चाहनुहुन्न ?’ जैन धर्ममा यो सरल प्रश्न हो किनभने जैन धर्मको जम्माजम्मी प्रयास नै यही हो कि दोहो¥याएर जन्म लिन नपरोस् । पुनर्जन्म रोक्ने पूरा विज्ञान नै जैन धर्म हो । मैले उसलाई आधारभूत प्रश्न सोधेको थिएँ, ‘तपाईं दोहो¥याएर जन्म लिन चाहनुहुन्न ?’
उसले भन्यो, ‘अहँ, कहिल्यै लिन चाहन्नँ ।’
मैले फेरि सोधेँ, ‘तपाईं आत्महत्या किन गर्नुहुन्न ? तपाईं अहिले आफ्नो श्वास किन लिइरहनु भएको छ ? किन खाना खाइरहनु भएको छ ? किन पानी पिउनु हुन्छ ? ती सबै बन्द गर्नुहोस् र आत्महत्या गर्नुहोस् । सानो कुराका लागि तपाईंले यति उपद्रव किन गर्नुहुन्छ ?’
ऊ चालीस वर्ष भन्दा बढी उमेरको थिएन । मैले उसलाई भनेँ, ‘तपाईं यसरी बाँचिरहनु भयो भने त अर्को चालीस वर्षसम्म या त्योभन्दा बढी समयसम्म बाँच्नुपर्छ ।’
एउटा वैज्ञानिक तथ्य के हो भने, जो मानिस कम खान्छ, ती लामो समयसम्म बाँच्छ । देवराज निश्चित रुपमा मसँग सहमत हुनेछ । यो त पटक पटक प्रमाणित गरिसकिएको कुरा हो, तपाईं कुनै पनि प्राणीलाई उसको आवश्यकताभन्दा बढी भोजन दिनुभयो भने त्यो मोटो र सुन्दर तथा सुडौल त पक्कै हुन्छ तर उति नै चाँडो मर्छ पनि । तपाईंले तिनको आवश्यकताभन्दा कम वा आधा भोजन दिनुभयो भने ती सुन्दर त देखिँदैनन्, सुडौल पनि हुँदैनन् तर आश्चर्यजनक तरिकाले लामो आयु पाउँछन् । औसतभन्दा करिब करिब दुई गुणा बढी समयसम्म ती बाँच्छन् । यसको अर्थ होः आधा भोजन खाए, दुई गुणा आयु । दुई गुना भोजन खाए, आधा आयु ।
मैले ती जैन मुनिसँग भनेँ–– तर त्यो बेला मलाई ती तथ्य थाहा थिएनन् र पनि भनेँ, ‘यदि तपाईं दोहो¥याएर जन्मन चाहनुहुन्न भने अहिलेसम्म ज्यूँदै किन हुनुहुन्छ त ? के मर्नका लागि ? मर्नका लागि ज्यूँदै हुनुहुन्छ भने अहिले नै आत्महत्या किन नगर्ने ?’
यस्तो प्रश्न उसलाई त्यतिञ्जेल कसैले शायदै सोधेको होला । शिष्टाचारको यो संसारमा कसैले पनि वास्तविक प्रश्न सोध्दैन । आत्महत्याको प्रश्न त झन् वास्तविक प्रश्न हो ।
मार्शल भन्छ, आत्महत्या नै एक मात्र दार्शनिक प्रश्न हो । त्यो बेला म मार्शललाई चिन्दिनँ थिएँ । शायद त्यो बेला न त मार्शल थियो, न त उसको पुस्तक त्यो बेला लेखिएको थियो । तर जैन मुनिसँग मैले त्यही भनेँ, ‘तपार्ईं जीवनमा पुनर्जन्म चाहनु हुन्न भने, त्यसको आकांक्षी हो भने तपाईं किन बाँचिरहनु भएको ? केका लागि ? आत्महत्या गर्नु नि ! म तपाईंलाई बाटो देखाइदिन सक्छु । यद्यपि संसारका बाटोका बारेमा म धेरै कुरा जान्दिनँ तर जहाँसम्म आत्महत्याको प्रश्न छ, म तपाईंलाई केही सुझाव अवश्य दिन सक्छु । तपाईंको गाउँको अग्लो पहाडबाट हाम्फाल्न सक्नुहुन्छ या नदीमा फालहाल्न सक्नुहुन्छ ।’
नदी गाउँभन्दा चार किलोमिटर टाढा थियो । त्यो यति गहिरो र यति चौडा थियो कि त्यसमा पौडिएर पारि तर्न बडा मजा आउँथ्यो । नदी तर्नुअघि कयौँ पटक मलाई अर्को किनारा पुग्न सक्तिनँ होला वा मेरो अन्तिम क्षण यही रहेछ भन्ने लाग्थ्यो ।
त्यो नदी साह्रै फराकिलो थियो । खासगरी असार साउनको भेलका बेला त कयौँ किलोमिटर चौडा हुन्थ्यो र करिब करिब समुद्रजस्तै लाग्थ्यो । वर्षाका बेला त त्यसको अर्को किनारा नै देखिँदैनथ्यो । जब बाढी आउँथ्यो, म त्यो नदीमा पौडिन दौडन्थेँ । लाग्थ्यो, म अर्को किनारा पुग्नका लागि या मर्नका लागि पौडदैछु । बढीजसो सम्भावना त म अर्को किनारा नपुग्ने नै हुन्थ्यो ।
मैले जैन मुनिलाई भनेँ, ‘वर्षात्का बेला तपाईं मसँग नदीमा हाम्फाल्न सक्नुहुन्छ । केहीबेर म तपाईंसँगै हुनेछु । त्यसपछि त तपाईं डुब्नु हुनेछ । मर्न सक्नुहुन्छ र म चाहिँ अर्को किनारा पुग्नेछु । म राम्रोसँग पौडन सक्छु ।’
उनले मतिर यति रिसाएर हेरे कि मैले नै उनलाई भन्नुपर्यो, ‘तपाईंले अर्को जन्म लिनु नै पर्नेछ, याद राख्नुस् किनभने तपाईंमा अझै पनि क्रोध देखिन्छ । चिन्ताको यो संसारबाट मुक्त हुने यो तरिका होइन । तपाईं यति रिसाएर मलाई किन हेरिरहनु भएको ? मेरो प्रश्नको उत्तर शान्तिपूर्ण तरिकाले दिनु न ! आनन्दले दिनू । तपाईं उत्तर दिन सक्नुहुन्न भने मलाई थाहा छैन भन्दिनू तर यति धेरै नरिसाउनू ।’
उनले भने, ‘आत्महत्या पाप हो । म आत्महत्या गर्न सक्तिनँ । तर म दोहो¥याएर जन्म नहोस् भन्ने चाहन्छु । सबै वस्तुलाई म विस्तारै विस्तारै त्याग गरी म त्यो अवस्थालाई प्राप्त गर्नेछु ।’
मैले भनेँ, ‘कृपया मलाई भन्नुस्, तपाईंसँग छ नै के ? किनभने यसो हेर्दा तपाईं नाङ्गो हुनुहुन्छ, तपाईंसँग त केही पनि छैन । के छ त तपाईंसँग ?’
मेरा हजुरबाले मलाई रोक्ने प्रयास गर्नुभयो । मैले हजुरआमातिर झुलुक्क हेरेँ र हजुरबालाई भनेँ, ‘मैले हजुरआमासँग स्वीकृति लिइसकेको छु र मलाई कसैले पनि रोक्न सक्तैन । तपाईंले पनि मलाई रोक्न सक्नुहुन्न । मैले हजुरआमासँग तपाईंका बारेमा कुरा गरिसकेको थिएँ किनभने मैले तपाईंको गुरुलाई उनको वाहियात र तथाकथित उपदेशका बीचमा रोकेँ भने तपाईं रिसाउनु हुन्छ भन्ने थाहा थियो । हजुरआमाले नै मलाई हजुरबा रिसाउनुभयो भने मतिर हेर्नु भन्नुभएको थियो । चिन्ता नगर भन्नुभएको थियो । मैले हजुरआमातिर हेर्नेबित्तिकै उहाँले तपाईंलाई चुप लगाउनु हुनेछ ।’
र, आश्चर्य ! ठीक त्यस्तै भयो । हजुरआमाले उहाँलाई हेर्नुभयो र हजुरबा चुप लाग्नुभयो । पछि हजुरआमा र म खुब हाँस्यौँ । मैले उहाँलाई भनेँ, ‘उहाँले तपाईंतिर हेर्नु पनि भएन !’
हजुरआमाले भन्नुभयो, ‘उहाँले हेर्नै सक्नुहुन्न त कसरी हेर्नुहोस् । उहाँलाई चुप लाग्नुस्, केटाकेटीको कुरामा बाधा नपु-याउनुहोस् भनुँली भन्ने डर थियो होला । त्यसैले हेर्नु पनि भएन । मबाट जोगिने एउटै मात्र बाटो तिमीलाई बाधा नपु-याउनु नै थियो ।’
खासमा उहाँले आफ्नो आँखा बन्द गर्नुभयो, मानौँ उहाँ ध्यानमग्न हुनुहुन्छ । मैले उहाँलाई भनेँ, ‘हजुरबुवा, तपाईं रिसाउनु भएको छ, भित्रभित्रै किटकिट हुनुहुन्छ । भित्रभित्रै आगो हुनुहुन्छ भने आँखा बन्द गरेर ध्यान गरेजस्तो किन गर्नुहुन्छ ? तपाईंका गुरु पनि रिसाउनु भएको छ । मेरा प्रश्नले उहाँलाई क्रोधित बनाएको छ । तपाईं रिसाउनु भएको छ किनभने तपाईंका गुरुले उत्तर दिन सक्नु भएको छैन । तर म त भन्छु, यो मानिस जसले उपदेश दिइरहेको छ, त्यो मूर्ख छ ।’
म त्यो बेला चार या पाँच वर्षको पनि थिइनँ । मेरो त त्यो बेलादेखि नै यही भाषा शैली छ । म त मूढलाई एकै झमटमा चिन्छु । त्यो जहाँसुकै होस्, जो कोही पनि होस् । मेरो एक्सरे आँखाबाट कोही पनि बच्न सक्तैन । म मानसिक अपाङ्गतालाई या कुनै पनि चिजलाई तुरुन्तै देख्न सक्छु ।
केहीअघि मैले मेरो एक संन्यासीलाई त्यो फाउन्टेन पेन दिएको थिएँ, जसले मैले उसको नयाँ नाम लेखेको थिएँ । मात्र स्मृतिका लागि यो पेन दिएको थिएँ । उसकी पत्नी पनि त्यहीँ थिई । मैले उसकी पत्नीलाई पनि संन्यासका लागि बोलाएँ । ऊ यसमा सहमत थिई र थिइन पनि । डामाडोल थिई । यस्तो अवस्थाका बारेमा तिमीहरूलाई थाहा छ, प्रायः महिला त्यस्तै हुन्छन् । योतिर पनि र अर्कोतिर पनि हुन्छन् तिनीहरू । त्यसैले तिमीलाई उनीहरूका बारेमा ठ्याक्कै थाहा हुँदैन । कतिसम्म भने उनीहरू कार चलाउँदै गर्दा दायाँ हात देखाए भने दायाँतिरै मोडिएलान् भन्ने पक्का हुँदैन । उनीहरूले हावाको झोँक्का पो महसुस गरिरहेका हुन् कि ? उनीहरू जे पनि गरिरहेका हुन्छन् । त्यो स्त्री पनि त्यस्तै थिई, डामाडोल । एक किसिमले पूरै स्त्री ! ऊ हुन्छ, म संन्यास लिन चाहन्छु पनि भन्न चाहन्थी र तर पनि भन्न सकिरहेकी थिइन । ऊ चाहन्नँ भन्न चाहन्थी तर पनि भन्न सकिरहेकी थिइन । यस्ती स्त्री थिई ऊ । ९९ प्रतिशत महिलाहरू त्यस्तै हुन्छन् बुझिराख्नू । मात्र दशमलव एक प्रतिशत अलि फरक हुन्छन् । ऊ महिलाहरूको प्रतिनिधि थिई ।
र, पनि मैले उसलाई फकाउने प्रयास गरेँ– मेरो भनाइको मतलब हो, उसलाई संन्यासका लागि मनाउने प्रयास गरेँ । मैले केहीबेर खेल जारी राखेँ र त्यहाँ ऊ हुन्छ भन्नै लागिरहेका बेला म टक्क रोकिएँ । म पनि त त्यति सीधा छैन नि, जति बाहिर देखिन्छु । मेरो अर्थ, म जटिल छु भन्न खोजेको होइन । अर्थ त, म कुराहरू यति स्पष्ट देख्न सक्छु कि कहिलेकाहीँ मलाई आफ्नो सिधापन र त्यसको त्यसको निमन्त्रणा फर्काउनुपर्ने हुन्छ ।
जब ऊ करिब करिब हुनछ भन्नै लागेकी थिई, उसले आफ्ना पतिको हात पक्डिई । ऊ अब संन्यासी भइसकेको थियो । उसले स्वास्नीलाई ज्यादै सताएको थियो । खासमा उसले के आशा गरिरहेको थियो भने ऊ संन्यासी भएपछि स्वास्नीले दया गर्नेछे र छाडिदिनेछे । म उसको चिन्ता देख्न सक्थेँ । जब मैले उसकी पत्नीलाई संन्यास लिनका लागि फकाउने प्रयास गरिरहेको थिएँ, ऊ मनमनै भनिरहेको थियो, ‘हे भगवान्, ऊ यदि संन्यासी भई भने रजनीशपुरममा पनि म शान्तिले बस्न सक्ने छैन ।’
ऊ यो कम्युनको अंग बन्न चाहन्थ्यो । ऊ धनी छ र करोडौँको व्यापार छ उसको । ऊ सबै कुरा कम्युनलाई दान दिन चाहन्छ ।
ऊ डराइरहेको थियो । मैले संन्यासी र उसकी पत्नीलाई प्रस्ट रुपमा वारिपारि देख्न सक्थेँ । ती दुईका बीच कुनै सेतु थिएन, पहिले पनि थिएन । उनीहरू अंग्रेज दम्पति थिए । तिमीहरूलाई थाहा छ… तिनले किन बिहे गरे भन्ने परमात्मालाई नै थाहा होला र परमात्मा नै छैनन् भन्ने त तिमीहरूलाई पनि थाहा छ । म पटक पटक यो कुरा दोहोर्याउँछु, किनभने मलाई सधैँ के लाग्छ भने तिमीहरू वास्तवमै सोच । के सोच भने परमात्मा वास्तवमै जान्दछन् कि जान्दैनन् त !
परमात्मालाई केही थाहा छैन किनभने त्यो नै छैन । परमात्मा त यस्तो शब्द हो, जस्तो जिसस शब्द छ । यसको कुनै अर्थ छैन । यो त केवल एउटा विस्मयबोधक शब्द हो । जिससले त्यो नाम कसरी पाए होला थाहा छ ?
जोसेफ र मेरी आफ्ना बालकका साथ बेथलेहमबाट घरतिर जाँदै थिए । मेरी बालकका साथ गधामा बसेकी थिइन् । जोसेफले गधाको डोरी आफ्नो हातमा पक्डिएको थियो र गधाभन्दा अगाडिअगाडि हिँडिरहेको थियो । अचानकै उसको गोडा एउटा ढुङ्गामा ठोक्कियो । निकै ठूलो चोट लाग्यो । ऊ चिच्यायो, ‘जिसस !’ र, तिमीहरूलाई स्त्रीहरूको तरिका त थाहा छँदैछ… मेरीले भनिन्, ‘जोसेफ, मैले बच्चाको नाम सोचिरहेकी थिएँ, तिमीले भर्खरै साह्रै राम्रो नाम सुनायौ– जिसस !’
यसरी ती विचरो बच्चोले आफ्नो नाम पाए । यो संयोग मात्र होइन । जब हतौडी तिम्रो हातमा लाग्छ, त्यो बेला तिमी चिच्याउँछौ– जिसस भन्छौ । त्यो बेला म जिससलाई सम्झन्छु भनेर मख्ख नपर्नू । चोट लागेपछि जोसेफले चिच्याएजस्तै तिमीहरूले चिच्याएको मात्र हो ।
जब म श्वास फेर्न बन्द गर्छु, त्यो बेला के गर्ने हो भन्ने देवराजलाई थाहा छ । यद्यपि ऊ आंशिक यहुदी हो तर पनि उसमाथि विश्वास गर्न सकिन्छ । मलाई थाहा छ, ऊ आफूलाई आंशिक यहुदी हुँ भन्ने मान्दैन । ऊ सोच्छ, उसका परिवारका केही मानिस कुनै बेला यहुदी थिए होलान् तर ऊ यहुदी होइन । सबै यहुदी त्यस्तै सोच्छन्– आंशिक यहुदी पनि त्यही सोच्छन् । ऊ त पूरै यहुदी नै देखिन्छ । सत्य त के हो भने यहुदी सधैँ पूरा यहुदी नै हुन्छ । तिमी भित्रको यहुदीपनको एक थोपाले पनि तिमीलाई पूरा यहुदी बनाउन काफी छ ।
तर म यहुदीहरूलाई प्रेम गर्छु, र म यहुदीमाथि विश्वास गर्छु । यो ‘नोआज आर्क’मा नै एक झमट हेर तः यहाँ अढाई यहुदी छन् । म त पूरा यहुदी हुँ । देवगीत पूरा यहुदी होइनः केवल यहुदी मात्र हो । देवराज आंशिक यहुदी हो र ऊ यसलाई लुकाउने प्रयास गरिरहेको छ– तर यसले उसलाई अझ बढी यहुदी बनाउँछ । तिमी आफ्नो यहुदीपनलाई लुकाउन सक्तैनौ । आफ्नो त्यो यहुदी नाकलाई कसरी लुकाउँछौ ? पूरै शरीरमा त्यही त एक मात्र छ, जुन लुक्नै सक्तैन । नाकलाई छाडेर तिमी अरु सबै कुरा लुकाउन सक्छौ किनभने तिमीले श्वास पनि त लिनु पर्यो !
म के भन्दै थिएँ भने जिसस– यहाँसम्म कि जिसस पनि नाम होइन । बरु विस्मयबोधक शब्द हो, जसलाई जोसेफलाई ठेस लागेपछि फुत्त मुखबाट निस्किएको थियो । यसरी परमात्मालाई जब कसैले ‘हे भगवान्’ भन्छ, यसको अर्थ ऊ भगवान्मा विश्वास गर्छ भन्ने होइन । उसले त केवल गुनासो गरिरहेको हुन्छ । यदि आकाशमा कोही सुन्नका लागि बसेको हुँदो हो त, जब कसैले भगवान् भनेको बेला जसरी सरकारले कागजातमा लेखेको हुन्छ, ‘जो कसैसँग सम्बन्धित छ भने’, ठीक त्यसैगरी हे भगवान् भन्दा त्यसको अर्थ, ‘जो कसैसँग पनि सम्बन्धित छ भने’ मात्र हो । र, माथि कोही पनि छैन भने ‘माफ गर, यो कसैसँग पनि सम्बन्धित छैन । यो त केवल विस्मयबोधक शब्द मात्र हो र यसको प्रयोग गर्नबाट म आफूलाई रोक्न सकिनँ ।’
कति समय भयो ? किनभने म पहिल्यै आधा ढिला भइसकेँ र तिमीहरू पनि ढिला होऊ भन्ने म चाहन्नँ । कहिलेकाहीँ म असल बन्छु । तिमीहरूलाई स्मरण गराउनका लागि मात्र… तिमीहरू अब जसरी बसेका छौ, त्यसमा यो सबै राम्रो छ । ज्यादै राम्रो छ । कतिसम्म भने जब ज्यादै राम्रो हुन्छ, त्यो बेला ‘पुग्यो’ भनेर कसरी भन्ने थाहा हुन्छ ।
ज्यादै सुन्दर छ यो…
अति सुन्दर छ ।
बस् । पुग्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 











