पाँच महिनाअघि नेदरल्यान्डको पूर्व औपनिवेसिक राष्ट्र सुरिनाम (यो देश कहाँ होला भन्ने सोध्नुहुन्छ भने ब्राजिलका अनेकन् छिमेकी मुलुकमध्ये एउटा हो भन्ने बुझ्नुस्)मा ठूलो खुसियाली छाएको थियो । किनभने त्यहाँका साहित्यकारले स्थानीय सानोतिनो पुरस्कार पाए पनि नेदरल्यान्डबाटै ठूलो रकमको पुरस्कार अहिलेसम्म कसैले पाएको थिएन ।

पाँच महिनाअघि चाहिँ कवि तथा उपन्यासकार एस्ट्रिड रोमेरले डच भाषामा लेखेको उपन्यास सर्वोत्कृष्ट भएको भन्दै पुरस्कारको घोषणा गरिएको थियो । सो घोषणाले सर्वत्र खुसियालीको वातावरण बनाएको थियो ।

साहित्यको सबैभन्दा ठूलो पुरस्कार प्रिज डेर नेदरल्यान्ड्स लेटेरेन (प्राइज अफ डच लेटर) बाँड्ने दिन नजिकिँदै गर्दा साहित्यकार एस्ट्रिड रोमेरले त्यहाँका पूर्व राष्ट्रपति डेसी बौतेर्सीलाई सबैभन्दा हिम्मतिला व्यक्तिका रुपमा आफूले चिनेको टिप्पणी गरेकी थिइन् ।

पूर्व राष्ट्रपति बौतेर्सी भने सन् १९८२ को कू पछि आफ्ना १५ जना विपक्षी नेतालाई फाँसीको सजाय दिने व्यक्ति थिए । बौतर्सीको सो कदमको पश्चिमा जगतले ठूलो विरोध गरेको थियो । मानव अधिकारको ठूलो अपहेलना भएको र गलत कदम उठाएको भन्दै उनीमाथि अनेकन् आरोप लगाइएको थियो । यसमा नेदरल्यान्डको खास आपत्ति थियो ।

बौतेर्सीको सो अपराधमा सुरिनामको सैन्य अदालतले सन् २०१९ मा २० वर्षको जेल सजाय तोकिएको थियो ।

तर तिनै राजनीतिज्ञको प्रशंसापूर्ण शब्द बोलेपछि देशको नीतिविरुद्ध कविको टिप्पणी आएको भन्दै सो पुरस्कार समारोह रोकिएको घोषणा पुरस्कार समितिले गरेको छ । त्यसअघि बाैतेर्सीबाट पीडित समूहले साहित्यकार एस्ट्रिडको भनाइप्रति आपत्ति जनाएका थिए । उनीहरूले मानवताको रक्षक हुनुपर्ने कवि लेखक कसरी एउटा तानाशाहकाे गलत क्रियाकलापलाई सही ठहर्याउन सकेको भनी प्रश्न गरेका थिए ।

त्यसो त कवि एस्ट्रिडलाई सो पुरस्कार नदिने घोषणा नै गरेको भने होइन । हक्की स्वभावकी एस्ट्रिडलाई पुरस्कार नदिइने भए पनि त्यसको कुनै मतलब हुने थिएन । तर यहाँ कार्यक्रम मात्र रद्द गरिएको हो । उनले पाउने ४० हजार पाउन्डको पुरस्कार रकम र उनलाई दिइने सम्मानपत्र भने यथावत् रुपमा पाउने नै छिन् ।