
मित्र ‘उराठी’ गौतम
मेरो गाँउले साथी अजय र म सँगैसँगै हुर्के बढेका र सँगै पढेका ।अजय पढ्न भन्दा घरायसी काम, खेती किसानीमा बढि
रुची राख्थ्यो र सिपालु पनि थियो । म भने यस्तो काममा अलि जाँगर नगर्ने सायद उसको भन्दा मेरो पढाइ केही राम्रो
भएकोले पनि मलाई घरमा अलि पुलपुलाइएको हुन सक्छ ।
दुबैले एसएलसी दियौं पास भयौँ, अजयको भन्दा मेरो अङ्क केहि बढि थियो ।घरायसी आर्थिक कारणले एसएलसी पछि
ऊ काकालाई घरायसी काम र खेतीपातीमा सघाउने उद्धेश्य साथ गाउँकै स्कूलमा भर्ना भयो ।मैले भने सहर गएर पढ्ने
विचार गरेकोले मेरो बुवाआमाले दुःख सहेर भए पनि मेरो इच्छा मार्नु भएन त्यसैले म सहर पसेँ।
अजयले १२ पास गर्न नसकेपछि व्यावसायीक खेती र बाख्रा पालनमा लाग्यो त्यसैमा उसको रस बस्यो। मैले स्नातक सकेर
केही समय जागिरको खोजी गरेँ तर कहाँ पाउनु जागीर ? उमेर पुगीसकेको र घरको जेठो छोरो भएको कारण यहि
बिचमा बिवाह पनि गरियो तर विवाह पछि श्रीमतीलाई चुरा पोतेको लागि पनि बाबुसँग आश्रीत हुने अवस्था आएकोले
बडो वेस्वाद भयो ।त्यसैले घर सल्लाहमा पुछारको केही अंश खेत बेचेर खाडी पसियो ।
विदेश आउजाउ चल्दै गर्दा बच्चाबच्ची पनि जन्मिए ।अब भने छोराछोरी पढाउन श्रीमतीजी सहर बस्ने भइन् ।दिनरात
पसीना बगाउँदै हाड घोट्दा पनि कमाइले सहरको डेराभाडा, छोराछोरीको पढाइ शुल्क र श्रीमतीको सौख पुरा गर्नै हम्मे
पर्न लाग्यो, बाआमालाई थोरैतिनो खर्च सघाउन पनि नसकिने अवस्था भयो ।
विदेशमा कमाएर सहरमा घर बनाउँला, बाआमालाई सुख दिउँला, छोराछोरीलाई राम्रो विद्यालय पढाउँला, आनन्दसँग
परिवारमा रमाउँला भन्ने सपना चकनाचुर भयो ।
परिवार सहरमै भएकोले विदेशबाट आउँदा गाउँ नगएको पनि थुप्रै भएको थियो र अजयसँग नभेटेको कारण हालचाल
पनि थाहा थिएन ।
यसपटकको लकडाउनमा नेपाल बसाइ अलि लामो भयो, लकडाउन खुकुलो भएकोले अस्ती मात्र बजार निस्कँदा सँयोगले
अजयसँग भेट भयो ।व्यवसायीक खेति र बाख्रापालनबाट मनग्गे आम्दानी गरि उसले यहि सहरमा घर बनाएको रहेछ
भेटे पछि उसको घर नगइ सुख दिएन ।
अजयका बुढाबुढी गाउँमा खेतिपातीमै व्यस्त छोराछोरी यहि घरमा बसेर पढ्दै रहेछन् ।अजयसँग गफगाफ चल्दै थियो
छोरीले चियाखाजा लिएर आइन् ।चियाखाजा खाएर निस्कनै लागेको थिएँ किचनमा अजयको छोराले चियाखाजा
खाएका भाँडा माझ्दै गरेको देखियो ।
अजयको घरबाट आफ्नो डेरा सम्म आइपुग्दा मथिङ्गल नराम्ररी चड्कियो ।
कति स्वाबलम्बि र नैतिकवान छोराछोरी अजयका ।आफ्ना भने बिहान छक्काल भइसक्दा पनि नउठेर, स्कूल जाने बेला भो
भन्दै बल्लबल्ल उठाइ, फकाइ फकाइ खुवाउँदै विद्यालय पठाउनु पर्ने कस्तो विडम्वना !
यसको दोषी को ? जवाफ खोजीरहेछु ।
—अस्तु—
अमरपुर- गुल्मी, हालः बुटवल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ असार २०८३, मंगलवार 








