हुन त पाउलो कोएलोले आफ्ना उपन्यासलाई फिल्मका रूपमा रूपान्तर गर्ने कुरामा कुनै रूचि नभएको केही वर्षअघि बताएका थिए । उनको अरूचिको कारण चाहिँ उनका किताबले लोकप्रियताको जुन मानक बनाएका छन्, त्यसको छेउटुप्पो नै नरहने गरी फिल्म बनेका कैयन् उदाहरणहरू छन् । शायद यही कारण उनले फिल्म बनाउने कुरामा त्यति रूचि दिएका थिएनन् ।

तर चर्चित हलिउड अभिनेता विल स्मिथ र उनका साथीहरूले कोएलोको बहुचर्चित उपन्यास द अलकेमिस्टलाई फिल्मी रूपान्तरण गर्ने भएका छन् ।

यो किताब संसारमै सबैभन्दा बढी बिक्री भएको पुस्तकहरूको सूचीमा टप टेनमा पर्छ । हालसम्म यसको ६५ करोडप्रति बिक्री भइसकेको छ । यो त आधिकारिक प्रकाशकले जारी गरेको तथ्याङ्क हो । यसबाहेक पनि अनधिकृत रूपमा नक्कली अल्केमिस्ट त कति बिक्री भए, त्यसको कुनै हिसाब किताब नै छैन ।

अनुदित पुस्तकहरूमा सबैभन्दा बढी बिक्री हुने पुस्तकका रूपमा पनि यसलाई चिनिन्छ । संसारभरि सबै भाषामा अनुवाद भएका किताबको बिक्री जोड्दा एक अर्ब प्रति बिक्री भएको अनुमान छ ।

यस पुस्तकका प्रशंसकहरूले फेसबुकमा मात्र पाँच हजारभन्दा बढी समूह बनाएर किताबलाई समर्पित गरेका छन् ।

यस पुस्तकका बारेमा मासिक ५० लाखभन्दा बढी कुराकानी यसको प्रेरणाप्रद कन्टेन्टका बारेमा हुने गर्छ । संसारभरि नै यसका बारेमा ५० लाखभन्दा बढी मानिसले मासिक रूपमा छलफल चलाउने गरेका छन् ।

फिल्मको झलक जारी गर्दै निर्मातामध्ये एक विल स्मिथले आफूले पढेका किताबमध्ये यो सबैभन्दा प्रेरणाप्रद पुस्तक रहेकाले पनि फिल्म बनाउन रूचि जागेको बताएका छन् ।

यो फिल्मलाई केभिन फ्रेक्सले स्क्रिनप्ले लेखेका छन् भने उनैले निर्देशन पनि गरेका छन् । फिल्मलाई अधिकांशतः मोरक्कोमा सुटिङ गरिएको छ । फिल्मको कथानकसँग मिल्दोजुल्दो भूगोल मोरक्कोसँग मिल्ने देखिएकाले स्मिथले त्यहाँ सुटिङ गरेको बताएका छन् । यस्तै इजिप्टका केही भागमा पनि फिल्मको सुटिङ गरिएको छ ।

फिल्मको प्राविधिक पक्ष बलियो बनाउन लाइफ अफ पाइका निर्माता पनि यसमा जोडिएका छन् । उनले निर्माण गरेका द ब्लाइन्ड साइड, जस्ट मर्सी तथा लाइफ अफ पाइले संयुक्त रूपमा तीन खर्बभन्दा बढी रकम बक्स अफिसमा जुटाएका छन् । उनी दुई पटक अस्कर अवार्डका लागि उत्कृष्ट निर्माताका रूपमा नामाङ्कित पनि भएका थिए ।

यो टोलीमा थुप्रै अस्कर नामांकित प्राविधिकहरू जोडिएकाले फिल्म रिलिजलाई एउटा उत्सव बनाउने प्रयास गरेको निर्माता विल स्मिथले बताएका छन् ।

यो फिल्म कहिले रिलिज हुनेछ भन्ने अझै समय नतोकिए पनि पहिलो पटक सन् १९८८ मा पोर्चुगली भाषामा प्रकाशित यो उपन्यासका लेखक पाउलो कोएलोले भनेका छन्, ‘यो किताब फिल्म नबनोस् भनेर म धेरै सचेत थिएँ तर जब मैले यस फिल्ममा आबद्ध सबैलाई हेरेँ, तिनको चाह, प्रेम र प्रतिभा महसुस गरेँ, हुन्छ भन्न करै लाग्यो ।’

लेखक कोएलोले फिल्मको टिजरलाई फेसबुकमार्फत शनिबार राति रिलिज गरेका थिए । टिजरमा कोएलोको कुनै टिप्पणी छैन तर उनले यो फिल्म निर्माणमा पटक पटक आफ्नो रचनात्मक सुझाव दिएको बताएका छन् ।

अमेरिकामा पहिलो पटक यो पुस्तक सन् १९९१ मा प्रकाशित भएको थियो । तर बेस्टसेलर सूचीमा भने एकै पटक १९९३ मा मात्र परेको थियो ।

अझै पनि पेपरब्याक संस्करणमा उत्कृष्ट पाँचमा परिरहेको छ । कोएलोले गएको अप्रिल २५ मा लस एन्जल्स टाइम्सको बेस्ट सेलर सूची जारी गर्दै अझै पनि यो पुस्तक रूचाइएकामा कृतज्ञता व्यक्त गरेका छन् ।

फिल्मको रिलिजसँगै यो पुस्तक र कोएलोका अन्य पुस्तकहरूको बिक्री ह्वात्तै बढ्ने पक्का छ ।

यस उपन्यासमाथि फिल्म बनाउन भनेर सन् २०१६ मा नै ट्रि स्टार नामक फिल्म निर्माण कम्पनीले अधिकार लिएको थियो । यस फिल्मका लागि चाहिने ठूलो रकमको व्यवस्था हार्भे वेन्स्टिनले गर्ने भनिएको थियो । हार्भे सन् २०१८ को चर्चित मीटू यौन काण्डमा फसेपछि फिल्म निर्माण कार्य अधुरै रहेको थियो ।

[embedyt] https://www.youtube.com/watch?v=p0UQPviY1dQ[/embedyt]