
छविलाल खड्का
अनेक बहाना बनाएर कपिलले हाकिमसँग छुट्टी माग्यो । हाकिमले पनि अनकनाउँदै “हुन्छ” भन्यो । ऊ खुसीले सात बित्ता उफ्रँदै बजारतिर हानियो । बजारमा धेरै वर्थ डे गिफ्ट आइटमहरू हेऱ्यो । मीराका च्वाइसका केही सामग्री किन्यो । राम्रा प्याकिङ्ग गर्न भन्यो । नभन्दै आकर्षक प्याकिङ्ग बन्यो । खुसीले प्रफुल्लित हुँदै पसलबाट निस्क्यो ।
ऊ सरासर रेस्टुरेन्ट छिऱ्यो । सामान काउन्टरमा राख्न दियो । एक कुनाका टेबुलनिर बस्यो । एक प्याक लियो । काउन्टडरमा बिल तिर्दै आफ्ना सामान माग्यो ।
“ए ! त्यो सामान त म्याडमले लानुभो ।” काउन्टरवाला ।
” ह्वाट … ! का म्याडम ? तपाईँ के भन्दै हुनुहुन्छ ? यहाँ मेरो कोही मेडम छैन ।” कपिल रिसायो ।
” सरि सर । मिसेज कपिल भन्नुहुन्थ्यो ।” साहू ।
” मिसेज कपिल ! वाइह्यात ! ”
धेरै वादविवाद पश्चात् निराश मुद्रामा ऊ निस्कियो । निकै दुःखका साथ उसले मीरालाई म्यासेज गऱ्यो – ” ह्याप्पी वर्थ डे टु यु मीरा । तिम्रो वर्थ डेमा भौतिक रूपमै उपस्थित हुन नसके पनि अन्तर्मनबाटै विस गरिरहेको छु ।”
मरेको बिराला काखी च्यापेर ठिमीका उकाला लागेझैँ ऊ लाथ्ऱ्याकलाथ्ऱ्याक घरतिर लाग्यो । घरपुग्दा घरका वातावरणको रौनक अर्कै देख्यो । ऊ बिलखबन्दमा पऱ्यो । साँच्ची हो कि दृष्टिभ्रम ? आफू कतै मीराकै घर त पुगिनँ । हैन हैन यो त मेरै घर हो । ऊ सम्हालियो ।
बैठक रुममा मान्छेहरू जम्मा भएका थिए । त्यहाँ हाकिमलाई पनि देख्या । ऊ नर्भस भयो ।
“कपिलजी, तपाईँ त दिउँसै अफिसबाट आउनुभएको, किन ढिला ? के भयो ? ” मन नपर्ने हाकिमले प्रश्नको वर्षा गरायो ।
” हैन सर । बाटामा एउटा एक्सिडेन्ट भा रैछ । त्यसैले ढिलो भयो ।” बहाना बनायो ।
” हजुरलाई सरप्राइज दिनलाई मेरो वर्थ डे भनेकी थिइन् । आउनुहास् केक काटौँ । मेरो विवाहपछिको पहिला जन्मदिन मनाऔँ ” मिसेज कपिलले भनी । केक काट्न सुरु भयो । सङ्गीतमय धुन बज्यो । एकै स्वरमा घन्कियो – “ह्याप्पी वर्थ डे टु यु ।” तर एक सुरमा कपिल भनिरहेकै थियो – ” ह्याप्पी वर्थ डे टु यु मीरा ……..।”
” को मीरा ! म त शिवानी यानेकी मिसेज कपिल ।”
कपिल झल्याँस्सै भयो। आफूले दिउँसा बजारमा किनेको गिफ्ट हयाम्पर पनि यहीँ देख्यो । ऊ छक्क पऱ्यो ।
” हैन हैन । पौराणिक कथाकी पात्र मीराजस्तै हुनू भनी कामना गरेको ।” उसले कुरा माड्यो ।
काहलपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 









