परदेशमा रहेर लामो समयदेखि साहित्यिक गतिविधि गर्दै आएको संस्था “सगरमाथा साहित्य प्रतिष्ठान” ले अक्षयकोष स्थापना गरेको छ ।

संस्थाको भर्खरै सम्पन केन्द्रीय समितिको बैठकले आगामी दुई वर्षभित्र लक्ष्य पूरा गर्ने गरी न्यूनतम १० लाख रुपैयाँ बराबरको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षकोषको पूर्णतापछि साहित्य, कला तथा सङ्गीत क्षेत्रमा आबद्ध कुनै संस्था वा व्यक्तिलाई योगदानको मूल्याङ्कनका आधारमा सम्मानसहित पुरस्कार दिने घोषणा गरिएको छ ।

पुरस्कारको रकम छनोट समितिले निर्धारण गरिने र संस्थाको स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने साथै पुरस्कारको नाम “सगरमाथा बर्ष पुरस्कार” राखिने अध्यक्ष जीवित खड्का मगरले बताउनु भएको छ ।

अक्षयकोषका स्थापनाका लागि संस्थाका केन्द्रीय सदस्य तथा पदाधिकारी र अन्य व्यक्ति, संघसंस्थाबाट रकम संकलन गरिने जनाएको छ । केन्द्रीय कमिटी युएई रहेको, सगरमाथा साहित्य प्रतिष्ठान, हाल विभिन्न प्रदेश कमिटी बनिसकेको र अन्तर्राष्ट्रिय शाखा निर्माण गर्ने अभियानमा छ ।

अक्षयकोषको रकम संकलन, व्यवस्थापन र सञ्चालनको लागि तत्कालको लागि संस्थाका केन्द्रीय सचिव डि एल घिमिरेको संयोजकत्वमा केन्द्रीय सह-सचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू र केन्द्रीय सदस्य रविन दर्लामी मगर सदस्य रहेको तीन सदस्यीय “अक्षयकोष व्यवस्थापन समिति” बनाइएको छ ।