बाबुराम न्यौपाने

————
मगमगाउदो नाजुक फूल सम्झन्छ
भोग्य निर्जिव वस्तु ठान्छ
अँध्यारो छिँडीमा सुम्सुम्याउछ
गुलाफको वास्ना लिन्छ
रस चुस्छ
एकदिन खोस्टा बनाएर मिल्काउँछ
जब म भद्र बिद्रोहमा उत्रन्छु
सबैले देख्नेगरि
खुला सडकमा नङ्ग्याउछ
पुरुषार्थको इज्जत धानेकोमा गर्वगर्छ।
मुम्बई दिल्ली पेरिसका……..
कालाकोठीमा
वेश्याको झीरमा उँनीदा बगेका
मेरा बलिन्द्र आँसुधारा
वेदनामय छट्पटीको नरकमा पोखिन्छन्
असैह्य
शरीर जलाउने घातक पीडा
प्रेमालु मृदुस्पर्शको निर्मम हत्या गर्छ
प्यासा आँसुमा तिर्खा मेटाउँछ
स्नेहका शीतल जून
मध्येरातमै अस्ताउँछन्
औंसीको अन्धकार रात आेढाएर
कुरुप कुटुनी सभ्यता
बुझ्पचाउँदै
आँखामा कालोपट्टी लगाउँछ।
चराहरु
मीठो गीत गाउँन बिर्सन्छन्
आत्मसम्मान
तिरस्कारको घात व्यहोर्छ
” बलात्कारी रक्तिम पन्नामा
आँसु र रगतको मसीले
एकापट्टी
पवित्र प्रेमको कविता रच्छ
अर्कोपट्टी
काइते प्रेमपत्र लेख्छ
भाका मिलाएर संसारलाई सुनाउँछ।”
बोक्सीको झुटो आरोपमा
अपमानको तातो फलामले
मुटुमै डाम्छ
कोपिलामा तेजाब खन्याएर
सपाट अनुहार दागी बनाइदिन्छ
यौवनका
कुतकुती रहरहरु – शूलीमा चढ्छन्।
उता
विधवा माथि पोखिने विषालु नजर
समाजको चेतनातिर फर्किएर
मुसुक्क मुस्कुराउछ
मेरा आँखाबाट खस्ने
आँसुका धारालाई
ऊ ! मेरो कमजोरी ठान्छ ।
जब सहनशील हृदयको
बाँध फुटेर
मेरा आँखाबाट
आँसुको सुनामी उर्लन्छ
हेर्दाहेर्दै युगौंयुग थुप्रिएका
सबैसबै शोषणहरु बगेको देखेर
दलाल आफ्नू महान् सत्ता
तासको घरझै ढलेको हेर्न नसकी
बीच सडकमा
निर्बस्त्र ढलेर मूर्छापर्छ।
त्यही लज्जाबोधको चिहानबाट
नारी र पुरष प्रेमका
नयाँ पुष्पबिज टुसाएर
नूतन सभ्यता पुलकित हुनेछ ।

 

दमक, झापा