
हरेक महिना गरिँदै आएको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा यस महिना ‘सेयर मन्त्र’ले बाजी मारेको छ । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईकाे यस पुस्तक मागकाे सुरूदेखि नै बजारमा आएकाे थियो । देशमा सेयर बजारमा चासाे राख्नेकाे लहर चलेका बेला बजारमा आएकाले याे पुस्तक देशभरबाट सबैभन्दा बढी बिक्री हुनेमा पर्न सफल भएकाे देशभरबाट प्राप्त रिपाेर्टले देखाएका छ । त्यस्तै, गत महिना याे सूचीकाे एक नम्बरमा रहेकाे अभिनेत्री मनीषा काेइरालाकाे पुस्तक जिजीविषा भने यो महिनाकाे बेस्ट सेलर सूचीकाे आठाैँ स्थानमा पुगेकाे छ ।
साहित्यपोस्टले गएको असोज महिनायता बेस्ट सेलर किताबहरुको सूची प्रकाशन गर्दै आएको छ । यसका लागि यस संस्थाले काठमाडौँ उपत्यकाका २०, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० वटा स्टेसनलाई बेस्ट सेलर बुकको सूचीलाई आधार बनाइरहेको छ ।
याे महिनाकाे सूचीमा फाइन प्रिन्टबाट बजारमा आएकाे इमन बटलरकाे अनुदित पुस्तक पुँजीवाद दाेस्राे स्थानमा रहेकाे देशभरबाट प्राप्त रिपाेर्टले देखाएकाे छ । यस पुस्तकमा विश्लेषक चैतन्य मिश्रकाे भूमिका भएका कारण पनि व्यापारमा फाइदा पुगेकाे देखिन्छन । त्यस्तै, अघिल्लाे महिना सूचीकाे दाेस्राे स्थानमा रहेकाे बाबुराम भट्टराईकाे अर्थ राजनीतिक विमर्श याे महिना सूचीबाट बाहिरिएकाे छ भने देवेन्द्रराज पाण्डेकाे पुस्तक एक ज्यान दुई जुनी सूचीकाे तेस्राे स्थानमा छ ।
विकसित देशहरुमा धेरै पुस्तक पढिने भएकाले त्यहाँका पत्रिकाहरुले हरेक साता बढी बिक्री हुने किताबहरुको सूची सार्वजनिक गर्दै आएका छन् । तीमध्ये सबैभन्दा अमेरिकाको न्युयोर्क टाइम्स र बेलायतको सन्डे टाइम्सको सूची बढी विश्वसनीय मानिन्छ । नेपालमा पनि त्यस किसिमको सुरुवात गोरखापत्रले २०४१ सालमा सुरु गरेको थियो । त्यस बेला न्युरोडको पिपलबोटमा बिक्री भएका किताबको आधारमा उक्त सूची प्रकाशन हुन्थ्यो । पछि पिपलबोटबाहेक अन्य स्थानमा पनि पुस्तक बिक्री हुन थालेपछि त्यो सूचीमा गडबडी हुन थाल्यो ।
त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको अभ्यास नै गरेन । धेरैपछि अंग्रेजी पत्रिका द काठमाडौँ पोस्टले हरेक आइतबार यस किसिमको सूची प्रकाशन गर्न थालेको थियो । तर नेपालमा पुस्तक बिक्रीको संख्या निकै थोरै भएकाले हरेक साता यस्तो सूची प्रकाशन गर्न गाह्रो भएपछि यो बन्द भयो । साहित्यपोस्टले पनि सुरुमा साप्ताहिक रुपमा यस्तो सूची निकाल्ने योजना बनाएको थियो तर नेपालभरि सातामा एक हजार पुस्तक पनि बिक्री नहुने थाहा भएपछि यसलाई एक महिनामा गर्ने योजना बनाएको हो । यसै नीतिअनुसार यसपटक साहित्यपोस्टले पाँचाैँ महिनाको सूची प्रकाशन गरेको हो ।
पढ्नुहोस्, यसपटक बेस्ट सेलर सूचीमा परेका पुस्तक र बिक्रेताहरुको अनुभवका आधारमा ती पुस्तक बिक्री हुनुका कारणसहितः
१. सेयर मन्त्रः
सेयर बजार विश्लेषक रविन्द्र भट्टराईकाे पुस्तक सेयर मन्त्र माघकाे पहिलाे हप्तादेखि बजारमा आएकाे थियो । नेपालमा सेयर बजारमाथि लगानी गर्नुपर्ने कुरामा जागरण नै चलेकाे तथा लेखक स्वयम् सेयर बजारमा ज्ञाता भएका कारण यस पुस्तककाे बिक्री अध्याधिक रहेकाे बिक्रेताहरू बताउँछन् । लगानीप्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनोट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।
२. पुँजीवादः
फाइन प्रिन्टले बजारमा ल्याएकाे, इमन बटलरकाे नेपाली अनुदित पुस्तक पुँजीवाद सूचीकाे दाेस्राे स्थानमा रहेकाे छ । पुँजीवाद शब्दको निमार्ण नै गाली गर्न भएको थियो । हालकाे विश्व पुँजीवाद यति व्याप्त छ कि यसकै समर्थकहरूले पनि यो असलमा के हो भन्ने बुझन सकेका छैनन् । त्यसैले उनीहरू वास्तविकता बताउनभन्दा बरु त्यही बिद्रुपताको प्रतिरक्षा गर्न पुगेका छन् । यो पुस्तकले पुँजीवादका बारेमा रहेका भ्रम तथा सत्यहरूकाे बारेमा प्रकाश पार्छ । विश्लेषक चैतन्य मिश्रकाे भूमिकाका कारण पनि पुस्तककाे बिक्री राम्राे भएकाे बिक्रेताहरू बताउँछन् ।
३. एक ज्यान दुइ जुनीः
देवेन्द्रराज पाण्डेकाे पुस्तक एक ज्यान दुई जुनी सूचीकाे तेस्राे स्थानमा पर्न सफल भएकाे छ । काठमाडौंको मध्यमवर्गीय परिवारमा जन्मे-हुर्केका र २०१७ सालमा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका देवेन्द्रराज पाण्डे अर्थ-सचिवसम्म भए । जागिर सुरु गरेको १८ वर्षमै अर्थ मन्त्रालयको सचिव बनेपछि उनले आफ्नो बाहुबलले भ्याएका सुधारका काम गर्न खोजे । तर, राजनीतिक परिवेशको जटिलताले अनि देशप्रतिको निष्ठा जोगाउने कर्तव्यले जनमत सङ्ग्रहका बेला उनले राजीनामा दिए । ८१ वर्षीय पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरखण्डलाई मानेका छन् । पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनबारे एकदमै कम, तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डोर्याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेका छन् ।
४. जातवार्ताः
गएको महिना सूचीको पाँचाैँ स्थानमा रहेको आहुतिको पुस्तक जातवार्ता यस महिना चाैथाे स्थानमा उक्लिएकाे छ । विश्वभक्त दुलालबाट समाजमा अपहेलित भएका ‘आहुति’ राजनीतिकर्मी र लेखक हुँदै गर्दा प्रसिद्धि कमाएका छन् । उनको ‘गहुँगोरो अफ्रिका’ प्रसिद्ध पुस्तकमध्ये पर्दछ । इन्जिनियरिङ् पढ्दै गर्दा कम्युनिस्ट राजनीतिमा लागेका आहुति माओवादी शान्तिवार्तामा आएपछि सार्वजनिकरुपमा चिनिन थालेका हुन् । उनका कविता र राजनीतिक लेख निकै रुचाइन्छन् । यसैबीचमा आएको ‘जातवार्ता’मार्फत् उनी लगतार बेस्टसेलरमा पनि उक्लिएका छन् ।
५. महाभारतमा के छ ?
साहित्यपाेस्टमा भाषिक शुद्धिकरण अभियान चलाएका डा. मतिप्रसाद ढकालकाे पुस्तक महाभारतमा के छ ? माघ महिनाकाे बेस्टसेलर सूचीकाे पाँचाै स्थानमा रहेकाे छ । याे पुस्तकमा महाभारतमा भएका कुराहरू सरल भाषामा बुझाइएका छन् । महाभारत हिन्दूहरूकाे महान् ग्रन्थ भएकाे र यो पुस्तकले महाभारतमाथि नै प्रकाश पारेका हुनाले पनि बिक्री राम्रो भएकाे बिक्रेताहरू जनाउँछन् ।
६. महारानीः

गएको असोज र कार्तिकमा निरन्तर सूचीको पहिलो स्थानमा रहेको चन्द्रप्रकाश बानियाँको मदन पुस्कार विजेता उपन्यास महारानी गएको पुस महिनामा सूचीको साताैँ स्थानमा पुगेको थियो । जुन यो महिना एक स्थान माथि उक्लिदै छैटाैँ स्थानमा रहेको छ । सुरूका दुई महिनासम्म बिक्रीको मानक खडा गरेको थियो यस उपन्यासको बिक्री तेस्रो महिनादेखि केही सुस्तताको देखिन्छ । यसको बिक्री काठमाडौँ उपत्यकाको तुलनामा सहरोन्मुख गाउँमा बढी भइरहेको छ ।
७. देश देशावरः
सफल व्यवसायी एवं लेखक जीवा लामिछानेको पुस्तक ‘देश देशावर’ गएको मंसिरमा साहित्यपोस्ट बेस्ट सेलर सूचीमा प्रथम स्थानमा रहेको थियो । पुस महिनामा भने यो पुस्तक दुई स्थान तल झरेर सूचीको तेस्रो स्थानमा पुगेको यो पुस्तक माघमा आइपुग्दा साताैँ स्थानमा पुगेकाे छ ।
यसअघि लामिछानेको नियात्रा संग्रह ‘सरसर्ती संसार’ बजारमा आएको थियो । उक्त पुस्तक पनि दुई वर्षअघि त्यस वर्षको बेस्टसेलर पुस्तक मध्येको एक बनेको थियो । नेपालमा ५ हजार भन्दा बढी बिक्री हुने पुस्तकलाई बेस्टसेलरको उपाधि दिने गरिन्छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं प्रसिद्ध व्यवसायी भएका कारण पनि लामिछानेलाई त्यसको लाभ प्राप्त भएको देखिन्छ । नियात्रामा फरक भूगोलको यात्रा भित्रका ज्ञान सरल भाषामा दिएका कारण उनको पुस्तक पाठकहरुले रुचाएको देखिन्छ ।
८. जिजीविषाः
नेपाली मूलकी बलिहुडकी सफल अभिनेत्री मनीषा कोइरालाको पुस्तक जिजीविषा गएकाे पुस महिनाकाे साहित्यपोस्टको बेस्ट सेलर सूचीको पहिलो स्थानमा परेको थियो । यो पुस्तक माघमा भने सूचीकाे आठाैँ स्थानमा झरेकाे छ ।
अभिनेत्री कोइरालाको किताबको चर्चा धेरै अघिदेखि भए पनि बजारमा यसै महिनाको सुरूमा आएको हो । मनिषा कोइरालालाई क्यान्सर रोग लागेपछिका अनुभूति यस पुस्तकमा समेटिएका हुनाले पनि यस पुस्तकमा पाठकको विशेष रूची रहेको छ ।
९. सेयरबाट कराेडपतिः
रविन्द्र भट्टराईको सेयर बजारसम्बन्धी पुस्तक सेयरबाट कराेडपति पुस महिनाको बेस्ट सेलर सूचीको चौथो स्थानमा रहेकाे थियो । यो महिना भट्टराई नयाँ पुस्तक सेयर मन्त्र बजारमा आएपछि यसकाे बिक्री केही सुस्ताए पनि बेस्ट सेलर सूचीकाे नवाैँ स्थानमा पर्न सफल भएकाे छ । सेयर बजारमा आएको उछाल तथा युवा पुस्तामा बढ्दो सेयर बजारसम्बन्धी चासोको कारण यो महिना यस पुस्तकको बिक्री सुखद् रहेको अनुमान गरिएको छ ।
१०. करियाः
रक्तकुण्ड जस्ताे सनसनीपूर्ण उपन्यास लेखेर चर्चामा आएकाे कृष्ण अविरलकाे पुस्तक करिया यस महिनाकाे बेस्ट सेलर सूचीकाे दशाैँ स्थानमा पर्न सफल भएकाे छ । अविरलले यस पुस्तकलाइ करिब १०० वर्षअघिकाे राणाकालीन समाज र करिया प्रथाकाे खाेज तथा अनुसन्धान गरेर औपन्यासिक रूप दिएका छन् । बजारमा आएकाे साताभित्र सूचीमा अट्नुले करियाकाे बिक्री आगामी महिनामा सुखद् रहने अनुमान गर्न सकिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ असार २०८३, मंगलवार 










