
नेता शर्माजी भनेपछि हाम्रो जिल्लामा नचिन्ने कोही छैन । उहाँलाई नचिन्ने यदि कोही छ भने त्यसलाई त्यो जिल्लाको मान्छे हैन भन्नु वेश हुन्छ । उहाँलाई देखेपछि जिल्ला भरिका कुकुरले समेत पुच्छर डोलाउँछन् । उहाँ एक वरिष्ठ समाजसेवी, सुधारक, राजनीतिज्ञ । अरूका दुःख पीडा उहाँ देख्नै सक्नुहुन्न । उहाँ समानताका कुरा गर्ने अग्रज हुनुहुन्छ । उहाँकै कारण जिल्लामा बेरोजगारी कम छन् । कसैलाई सहर त कसैलाई विदेश पठाइदिनु भएको छ उहाँलले । उहाँको नेतृत्वमा हाम्रो गाउँले त निकै ठूला(ठूला फाइदा लिइसकेको छ । ठाउँ ठाउँमा पाटी, पौवा, मन्दिर(स्मारक, चौतारो आदि सम्पूर्ण व्यवस्था भएको छ । भर्खर भए पनि बिजुलीको खम्बा गाडिएको छ, अब बत्ती पनि चाँडै नै आउनेछ । जे होस् उहाँ एक देशभक्त, सच्चा र इमान्दार राजनीतिज्ञ हुनुहुन्छ । म जस्ता बुद्धि(हीनका लागि त उहाँ पथप्रदर्शक नै हुनुहुन्छ । अरूका कुरा छोडर मेरै कुरा गर्ने हो भने यो गाउँमा उहाँबाट सबभन्दा धेरै फाइदा मैले नै लिएको छु । मेरो चारवटा छोराहरूमध्ये जेठो छोरोलाई उहाँले विदेश पठाइदिइसक्नुभो । अन्यलाई पनि व्यवस्था मिलाइदिन्छु भन्नु भाुछ । मेरी जेठी बुहारी त उहाँलाई औधी सम्मान् गर्छे, उहाँ गाउँमा गराउँदा हतार(हतार फूल टिपेर माला गाँसेर लगाइदिन्छे । नलगाइदेओस् पनि किन रु आफ्नो बरालिएर बसेको श्रीमान्लाई विदेश पठाइदिनु भएको छ । देउतै मान्दा पनि के फरक पर्छ र !
एकदिनको कुरो हो, शर्माजी एक हूल कार्यकर्तासहित हाम्रो गाउँमा आउँदा मेरी जेठी बुहारीले पूर्ववत् फूलमाला पहिराइदिई, त्यसपछि उहाँले मेरी जेठी बुहारीलाई छुट्टै एउटा कुनातिर लगेर कानमा कुरा गर्नुभो । कति उदार सत्चरित्रवान् हुनुहुन्छ उहाँ । साँच्चै भन्ने हो भने उहाँ जस्तो नेता पाउनु न देशकै लागि गौरवको कुरा हो ।

राजेन्द्र पराजुली
समयले पल्टाखाँदै गयो । मान्छेहरुमा परिवर्तन र विकासको भूत चढ्दै गयो । गाउँमा बरु आजकल शर्माजीका विरुद्ध गाइँगुइँ कुराहरु चःन थालेका छन् । हाम्रो गाउँको सबैभन्दा बढी पढेको कृष्णप्रसादको छोरो महेश नै थियो । एकदिन ऊ मकहाँ आयो र भन्यो–
‘थाहा छ काका, तपाईँलाई त्यो नेता भनाउँदो शर्माको करतुत ? … भष्ट्रचारी हो त्यो । गाउँका केटाहरुलाई मुग्लान भस्साएर कमिशन खान्छ त्यो, कमिशनखोर हो त्यो ….. ।’
उसले आफ्नो शब्द पूरा नगर्दै उसको गालामा एउटा दरिलो झापड हानेँ मैले । तैपनि ऊ रोकिएन–
‘गाउँका चेलिबेटीलाई त्यसले बेच्ने काम गर्छ, माथ्लाघरे रमा र झूमालाई त्यसैले बेचेको हो । हामीले अब त्यसको विरोध गर्नुपर्छ । त्यो छद्यभेषी राजनीतिज्ञले ओढेको खोल अब फुकाल्ने समय आएको छ, नग्यांउनुपर्छ त्यसलाई ।’, मैले उसको गालामा अर्को झापड थपेँ, लगत्तै मेरी जेठी बुहारीले पनि उसको ढाडमा लौरोले बजारी । त्यो दिन ऊ अवाक् फर्कियो ।
यसरी नै विरोधको स्वरहरु दिन प्रतिदिन गाउँबाट जिल्ला, जिल्लाबाट अञ्चल, अञ्चलदेखि राष्ट्र हल्लिन थाल्यो । तर मलाई भने शर्माजीको विरोध गरेको पटक्कै मन परेको थिएन । के गर्ने अहिलेको समय नै उहाँकाृ पक्षमा थिएन । गाउँका १५–२० धुरीबाहेक अरु सबै उहाँको विरोधी थिए । तर मचाहिँ उहाँको परम्भक्त थिएँ र छु पनि, मेरो मानसिकतामा कुनै परिवर्तन आएको छैन ।
यस्तै क्रम–उपक्रमहरु जोडिदै राजधानी आन्दोलन हुन थालेछ । चम्कने र मत्थर हुने अनि फेरि चम्कने परिस्थितिका बाबजूत करिब दुई महिनापछि मैले सुनेँ– देशमा त प्रजातन्त्र आएछ । र सोचेँ, यी जनातलाई कस्तो प्रजातन्त्र चाहिएको हो । शर्माजी जस्ता उदार राजनीतिज्ञ छँदाछँदै अब के चाहिएको हो यिनीहरुलाई ? म प्रजातन्त्रका पछिका दिनमा सधैँ मनमा यस्तै कुरा खेलाउँथेँ । कुरै कुरामा एकदिन मेरो माहिलो छोरोले भन्यो– ‘आजकल शर्माजी भूमिगत हुनुभएको छ । गाउँलेहरुले उहाँबाहिर निस्कनु भयो भने जुत्ताको माला र कालो मोसो मुखमा दलेर गाउँ घुमाउने रे !’
‘हैन यी मान्छेहरु बौलाए कि क्या हो ? विनासकाले विपरीत बुद्धि भनेको यही हो । हेरिराख न, यी गाउँलेहरुले ठूलो पछुतो मान्नुपर्ने स्थिति आउने छ भोलि ।’
समय हो, समयले फेरि हाम्रो गाउँमा पनि संसदीय निर्वाचनको लहर ल्यायो । मान्छेहरु आआफ्नो दुनो सोझ्याउनतिर लागे । मेरो भने पक्ष शर्माजी नै हुनुहुन्थ्यो । उहाँले पनि बडो हठका साथ देशको सर्वोत्तम पार्टीको चुनाव टिकट पाउनु भो । त्यतिखेर मैले सोचेँ आखिर यी गाउँलेको सेवा गर्न शर्माजी नै निस्कनु पर्यो ।
चुनावका दुई चार घटनाबाहेक समग्रमा शान्ति नै भयो, त्यसैले शर्माजीले जित्नु पनि भो । अहिले गाउँ फेरि शर्माजीप्रति आशावादी भएको छ, केही उग्रवादीलाई छोडेर ।
गाउँका जानिफरहरु शर्माजीलाई मन्त्री बनाउनुपर्छ भनेर दबाब दिन राजधानी गएका छन् । राजधानी जाने बखतमा मेरी जेठी बुहारीले नै शर्माजीलाई बिदाई गरेकी । कति माया गर्नुहुन्छ उहाँ मेरी जेठी बुहारीलाई । छोरीलाई जस्तै, उमेर पनि त बाबु–छोरीकै जस्तो छ ।
सायद मेरी बुहारीलाई शर्माजीको प्रस्थानले चोट पुर्याएको छ मनमा र नै उनी त्यहाँबाट बिदाई कार्यक्रम सिध्याएर सोझै माइतीतिर गइन् ।
शर्माजी ठूलो संघर्षपछि मन्त्री हुनुभएको खबर मैले राजधानीबाट फर्केको गाउँलेबाट पाएँ । जसको खबरले म त पागतजस्तै बनेको थिएँ केहीबेर । सोचेँ, अब त मेरा बाँकी छोराहरुले पनि राम्रै काम पाउने भए । के छ र शर्माजी आफ्नो दाहिने हात, त्यसमाथि जेठी बुहारीले भनेपछि असम्भव नै के ?
‘माहिलो भन्सारतिर ।’
‘साहिँलो वनतिर ।’
‘कान्छोलाई मालपोततिर पार्नुपर्छ ।’
अनि जेठोलाई प िनयतै बोलाउनुपर्छ, बिचरी जेठी बुहारी ….. जसको पनि त समस्या बुझिदिनु पर्छ । यतिखेर मैले मेरो मुखबाट निस्किएको र्याललाई पेडा जस्तै गुलियो पाएको थिएँ ।
फेरि राजधानीबाट खबर आयो– गाउँमा बाटो नबनाई शर्माजी यहाँ आउँदै नआउने रे । हुन पनि शर्माजी निकै बहादुर मान्छे हुन् ।
बाटो बनाउने कार्यक्रम एकदम चाँडै सुरु भयो । अब एक हप्ता जतिमा पूरा हुन्छ । यता म भने निकै छट्पटिइरहेको थिएँ शर्माजीको दर्शनार्थ । किनकि मलाई आफ्नो व्यथा जति सक्यो चाँडो फुकाउनु थियो ।
आज राजधानीबाट शर्माजी यही नयाँ बाटो भएर गाउँ आउने । तर एउटा कुराचाहिँ मलाई चित्त बुझेको थिएन, शर्माजीले साथमा नयाँ श्रीमती पनि लिएर आउने रे ! यो बूढेसकालमा के जोश चलेको हो बूढालाई कुन्नि ? जे होस्, हाम्रो गाउँले पनि मोटर देख्न पाउने भो । म निकै उत्सुक थिएँ । उत्सुकताले धेरै भात पनि रुचेन । म हातमा भर्खर टिपेका फूलहरु लिएर घरबाट बाहिर निस्किएँ । बाटोमा सबै गाउँलेहरु भेला भैसकेका थिए । सर्वप्रथम मेरा आँखा जेठी बु्हारीलाई खोज्न थाले । उनी माइतबाट आउनुपर्ने । उनी आइसकेकी हुनुपर्छ । उनी कतै कुनातिर बसेकी होलिन् हातमा फूलका मालाहरु लिएर । उनी औधी राम्री छिन् जसले गर्दा भीडमा पनि उनलाई सजिलै देख्न सकिन्छ, तर मैले देख्न सकिराखेको छैन ।
जेठी बुहारीलाई खोजिरहेका मेरा आँखा लगत्तै फेरिएर टाढाबाट आइरहेको कालो कारमाथि पर्छन् । गाउँलेहरु सबै थपडी मार्न थाले– ‘मन्त्रीज्यू आउनु भो, मन्त्रीज्यू आउनु भो,’ भनेर । सबैले जस्तै अझ जोडले म पनि थपडी मार्न थालेँ । कालो कार धूलो उडाउँदै नजिक–नजिक आइरहेको थियो ।
अहिले कार गाउँलेहरुको माझमा आइसकेको छ । मेरो दृष्टि कार भित्रका मन्त्रीज्यूतर्फ परे ……. तुरुन्तै दृष्टि फेरिएर आकाशतर्फ मोडिए, आँखाले धोका खाएको हो कि भनेर मैले फेरि कारभित्रै दृष्टि पुर्याएँ । आँखाले देखेको सत्य थियो ।
मन्त्री शर्माजीसँगै आउने भनेकी उनकी नयाँ श्रीमती मेरी जेठी बुहारी नै थिई ।
फूल चढाउन उठेका यी हातहरुबाट कुनबेला फूल भुइँमा झरे मलाई थाहा भएन ।
यी हातहरुमा ढुङ्गा कुनबेला आए, त्यो पनि मलाई थाहा भएन ।
यी हातहरुबाट कुनबेला छुटेर ढुङ्गाहरु मन्त्रीको कारको सिसा फुटाउन पुगे त्यो पनि मलाई थाहा भएन ।
सबैभन्दा ठूलो कूरो त यी हातहरु हथकडीमा बन्द भएर कुनबेला र कसरी यो कैदखानामा आइपुगे, त्यो पनि मलाई थाहा भएन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 









