नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका कविताहरूलाई एउटै सङ्ग्रहमा प्रकाशन गर्ने भएको छ । २०२२ सालदेखि सुरु भएको राष्ट्रिय कविता महोत्सव हालसम्म पनि निरन्तर चलिरहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवस असार ९ गते हरेक वर्ष हुने महोत्सवमा २०४६ सालसम्म राजाबाट दिइएको शीर्षकमा कविहरूबाट कविता सिर्जना गरी प्रतिस्पर्धा गराउने प्रचलन थियो भने २०४७ पछि तोकिएको विषय र शब्दसङ्ख्यामा कविहरूका स्वतन्त्र कविताको प्रतिस्पर्धा हुँदै आएको छ ।

राष्ट्रिय कविता महोत्सवमा २०२२ देखि २०४६ सालसम्म पुरस्कृत सम्पूर्ण कविताहरूलाई प्रज्ञा–प्रतिष्ठानले ‘कविता महोत्सवः पच्चिस वर्ष’ (२०४६) कृतिमा प्रकाशन गरिसकेको छ । त्यसपछिका पुरस्कृत कविताहरूलाई प्रा.डा. हेमनाथ पौडेल, डा. देवी नेपाल र शशी लुमुम्बुको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सवः पुरस्कृत कविताहरू’ शीर्षकमा प्रकाशन गर्न लागिएको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।
२०४६ देखि २०७६ सम्मका तीस वर्षमध्येमा राजनीतिक परिवर्तनका कारण २०४७ सालमा एक वर्ष र प्राज्ञ परिषद् नभएका कारण २०६३–२०६६ सालमा चार वर्ष गरी जम्मा पाँच वर्ष महोत्सव आयोजना हुन नसकेको हुनाले बाँकी पच्चिस वर्षमा पुरस्कृत १२५ जना कविहरूका १२५ ओटा कविताहरूलाई एउटै कृतिमा प्रकाशन गर्न लागिएको जानकारी काव्य विभाग प्रमुख तथा कृतिका सम्पादक प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले दिए । उनले भने, ‘पुरस्कृत कविताहरू त्यस वर्ष सहभागी भएका कविताहरूमध्येमा सर्वोत्कृष्ट रचनाहरू हुन् । कविताका जिज्ञासुहरूलाई कुन वर्ष कस्ता कविताहरू पुरस्कृत भएछन् भन्ने बारेमा चासो जाग्नु स्वाभाविक हो । त्यही कुरालाई ध्यानमा राखेर पुरस्कृत कविताहरूलाई एउटै सङ्ग्रहमा ल्याउन लागिएको हो ।’

उक्त कृतिमा पुरस्कृत कवि र कविताहरूका साथमा राष्ट्रिय कविता महोत्सवको समग्र इतिहाससमेत समेटिने कुराको जानकारी अर्का सम्पादक प्राज्ञ डा. देवी नेपालले दिएका छन् । उनले भने, ‘यस कृतिमा प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवको समग्र शब्दचित्र आउने छ जसले कविताका पाठकहरूलाई ऐतिहासिक सूचना र कवितात्मक आनन्द दुवै प्रदान गर्नेछ ।’

सधैँ असार ९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सव यस वर्ष भने कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी प्रभावका कारण स्थगित भएको थियो । उक्त महोत्सव यही मङ्सिर २९ गते भौतिक दूरी कायम गरी प्रज्ञा–प्रतिष्ठानमा नै सम्पन्न गरिने र यही महोत्सवमा उक्त कृति पनि पाठकसम्म पुर्याउने लक्ष्यका साथ प्रतिष्ठानले काम गरिरहेको जानकारी कृतिका अर्का सम्पादक तथा सञ्चार विभाग प्रमुख प्राज्ञ शशी लुमुम्बुले दिएका छन् ।