संसारका अद्भूत चित्रकला हेर्ने क्रममा हामी यस पटक रोमन मिथकीय पात्रहरू बाकस एन्ड एरियाड्ने (Bacchus and Ariadne) का बारेमा जान्ने प्रयास गर्दै यी मिथकीय पात्रमाथि बनाइएको यो चित्र किन महत्त्वको छ भनी चर्चा गर्नेछौँ ।
मिथकअनुसार माइनसर नामक राजाकी छोरी एरियाड्नेलाई उनका प्रेमी थिसियसले एउटा समुद्र किनारमा छाडेर जहाजमा टाप कस्छन् । एरियाड्ने आफू छाडिएको थाहा पाएपछि जहाज पक्रनका लागि दौडेर बोलाइरहेका बेला अचानक ठूलो होहल्ला र आवाज सुन्छिन् । अचानक आएको होहल्लातर्फ उनको ध्यान मोडिदा बाकससँग आँखा जुध्छ । बाकस भारतमा लडाइँ गर्न गएका हुन्छन् र जितेर फर्किरहेका हुन्छन् । जितको उन्माद र रक्सीको मातको मिश्रणमा उनले अपूर्व सुन्दरी देख्दाको प्रभाव यहाँ देख्न सकिन्छ ।
रक्सीका देउतासमेत मानिने बाकस मदमस्त भएर नाच्दै गाउँदै आउँदा अपूर्व सुन्दरी एरियाड्नेलाई देख्दा यति बेसुध बन्न पुग्छन् कि उनी रथबाट हुत्तिन पुग्छन् । यो तस्बिरले छुटेको जहाजलाई बोलाउँदै गर्दा अकस्मात बाकससँग आँखा जुधेको क्षण र एरियाड्नेलाई देखेर बेसुध हुँदा रथबाटै पछारिने क्रमको समयलाई कैद गरिएको छ ।
यो चित्रको अद्भूत प्रयोग भन्नु नै गतिशीलता हो । हरकोही यस चित्रमा गतिशील छन् । मात्र जनावरहरू स्थिर देखिएका छन् ।
यस चित्रमा प्रयोग गरिएको रङको अद्भूत संयोजन पनि उम्दा छ ।
ल्याटिन भाषामा जब ओभिड र क्याटुलसले बाकस र एरियाड्नेको यो कथामा कविता रचे, यी दुईको प्रेम अमर बनाए । कथाले पछि बाकस र एरियाड्नेले सोही द्विपमा विवाह गरे भनी कथालाई सुखान्त मोड दिएको छ ।
यो चित्र टिटियानले बनाएका हुन् । यो कथानक शृंखलामा टिटियानले शृंखलाबद्ध तीन चित्र बनाएका छन् । अन्य दुई चित्रहरू भने वर्सिप अफ भेनस नामबाट बनाएका छन् ।
को हुन् टिटियान ?
१६ औँ शताब्दीताका भेनिसमा उनी निकै कहलिएका चित्रकार थिए । पुनर्जागरणकालीन चित्रकलामा उनको योगदान उच्च मानिनन्छ । उनलाई रङ संयोजनको महापण्डित मानिन्छ ।
इटालीको डोलोमाइट पर्वत छेउमा १४८८ मा जन्मिएका टिजियानो भेसेलियो नाममा जन्मिए पनि उनी पछि टिटियानका नामले प्रख्यात भए । युवावस्थामा उनी चित्रकार बन्ने लक्ष्यका साथ भेनिस नगर पुगे । त्यहाँ उनी जियोभानी बेलिनीको शिष्यका रूपमा काम गरे । त्यो बेला बेलिनी शहरको राजकीय चित्रकार थिए । सन् १५१६ मा बेलिनीको निधनपछि उनका अधुरा कार्यलाई पूरा गर्ने लक्ष्यका साथ अगाडि आए ।
उनले चित्रकलामा मिथकीय पात्रलाई ठाउँ दिएका छन् ।
चित्रमा के के हेर्ने ?
१. पहिलो नम्बरमा बाकसको हविगत हेर्ने । रथ अचानक रोकियो, रक्सीले मात्तिएका रक्सीका देउता बाकसले त्यही बेला परम सुन्दरी एरियाड्नेलाई देखे र त्यसै क्षण दुवैलाई दुवै प्रति प्रेम भयो । यस्तो लड्नै लागेको बेलामा बाकसका पहिरन हावामा जसरी लहराएका छन्, गुलाबी रङ जसरी अभिव्यक्त भएको छ, एरियाड्नेतर्फ जसरी हेरिरहेका छन् र लड्नै लागेको अवस्थाबाट जोगाउन खोजेका छन्, ती सबैको अभिव्यक्त यहाँ भएको छ । यससँगै पृष्ठभूमिमा हरिया, नीला र श्वेत रङको संयोजन उस्तै उम्दा छ ।
२. एरियाड्ने आफ्नो प्रेमी थिसियसले छाडेर पर क्षितिजमा पुगिसकेका छन्, जहाजमा । उनी चिच्याउँदै जहाज रोक्ने प्रयासमा छिन् तर अचानक छेउमा ठूलो बाजागाजाले उनको ध्यान अन्यत्रै मोडिन्छ । तर जब फरक्क फर्केर उनले हेर्छिन्, रक्सीका देवता बाकसलाई देख्छिन् र त्यसै क्षण उनी अडिन पुग्छिन् । यो कथा यही रफ्तारमा यहाँ प्रस्फुटित भएको छ । उनको लुगाको गति, एरियाड्नेको भावभंगिमा, उनको ठीक माथि बादलको अवस्थितिले एउटा अविष्मरणीय पल सिर्जना गरेको छ ।
३. तेस्रो चित्र तपाईंले एरियाड्नेभन्दा देब्रेतिर पर क्षितिजमा थिसियसको जहाज देखिन्छ । यो जहाज छुटाउनै नहुने पक्ष हो किनभने यो कथा नै एरियाड्नेलाई छाडेर जाने त्यस जहाजका कारण उत्पन्न भएको हो ।
४. माथि आकाशमा ताराहरू देखिन्छन् । यी ताराले यस क्षणको रोमान्टिक अन्त्यको संकेत गरेको छ । कथाअनुसार जब एरियाड्नेले बाकसलाई बिहे गर्न स्वीकृति दिन्छिन्, बाकसले एरियाड्नेले लगाएको क्राउन शिरबाट झिकेर आकाशमा फ्याँकिदिन्छन् र त्यो क्राउन तारा बन्न पुग्छ। यो कथाको सुखान्तलाई यी ताराको झिलमिलले व्याख्या गरिरहेका छन् ।
५. बाकसका चन्डमुन्ड र सहयोगीहरूको गति पनि यहाँ हेर्न लायक देखिन्छ । उनीहरूको मस्ती यहाँ झल्किएको छ । यी मिथकीय पात्रहरूको पनि बेग्लै कथा छ ।
६. सामान्यतः हामीले रथ तान्ने जनावरका रूपमा घोडा नै देख्ने गरेका छौँ तर बाकसको रथ तान्ने चाहिँ यहाँ चितुवा देखिएका छन् ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










